ड्यालस (अमेरिका) कवि तथा साहित्यकार वैकुण्ठराज आचार्यको नवीनतम कृति ‘द ब्युटिफूल ग्रे हेयर’ टेक्ससको युलेसमा विमोचन गरिएको छ ।
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहार) मा आयोजित कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा पुस्तकको आवरण अनावरण गर्दै कृति सार्वजनिक गर्नुभएकाे थियाे ।
आचार्यद्वारा लिखित यस कृतिमा अंग्रेजी भाषामा रचिएका १५ वटा कविताहरू समावेश छन् । कार्यक्रममा बोल्दै लेखक आचार्यले आफूले देखेका, भोगेका र अनुभव गरेका सानातिना जीवनानुभवलाई आधार बनाएर कविता सङ्ग्रह तयार पारेको बताउनुभयाे ।
पेशाले इन्जिनियर आचार्य लामो समयदेखि अमेरिकामा बसोबास गर्दै साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ । यसअघि उहाँले ‘न्यास्रो जन्मभूमिको’, ‘आज फेरि’ र ‘The Lost Pebble’ जस्ता कृतिहरू प्रकाशित गरिसक्नुभएकाे छ ।
कार्यक्रममा समीक्षक तथा इन्जिनियरिङ साहित्यिक समाजका पूर्व अध्यक्ष विजयराज भट्टराईले कृतिमा स्मृति, प्रेम, वियोग, अभाव, एकान्त, आत्मखोज, जीवनदर्शन र अस्तित्वबोध जस्ता विषय समेटिएको उल्लेख गर्दै कविताहरूले पाठकलाई भावुक बनाउने धारणा व्यक्त गर्नुभयाे ।
अर्का समीक्षक विनोद रिजालले कवि आचार्यसँगको आफ्नो निकटता उल्लेख गर्दै कृतिका कविताहरू मार्मिक रहेको बताउनुभयाे । “वास्तवमा मानिसले पुस्तक पढ्ने होइन, पुस्तकले मानिसलाई पढिरहेको हुन्छ,” उहाँले भन्नुभयाे ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौंका अंग्रेजी साहित्य विभागका प्राध्यापक महेश पौडेलले नेपालमा अंग्रेजी साहित्यका पुस्तकहरू कम चर्चा र कम बिक्री हुने गरेको उल्लेख गर्दै आचार्यको सिर्जनात्मक साहसको प्रशंसा गर्नुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल तथा नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले समेत साहित्य क्षेत्रमा आचार्यले पुर्याएको योगदानको चर्चा गर्नुभएकाे थियाे ।

