साहित्यपोस्ट-नपढी सुखै छैन...

वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस

वी.पी. स्मृति दिवसमा साहित्य र पुस्तकालयको अन्तरसम्बन्धबारे बहस

कोहलपुर । ४४औँ वी.पी. स्मृति दिवसको अवसरमा ‘लेखक, साहित्य र पुस्तकालयको अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ ।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर–११, बाँकेको सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता ज्ञानोदय सामुदायिक पुस्तकालयका अध्यक्ष एकराज शर्माले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा राजनीतिक विश्लेषक तथा साहित्यकार नरेन्द्रजङ्ग पिटर सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा बोल्दै नरेन्द्रजङ्ग पिटरले सूचना र ज्ञानका स्रोतहरू परिवर्तन भइरहेका वर्तमान समयमा पुस्तकालयले पठन संस्कृतिको विकास, जिज्ञासा र वैचारिक चेतना अभिवृद्धिमा थप सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थानका रूपमा नभई ज्ञान, बहस र वैचारिक संवादको केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले वी.पी. कोइरालाको साहित्यमा देखिने अराजकतावादी विमर्श तथा नेपाली साहित्यमा उहाँको योगदानबारे पनि चर्चा गर्नुभयो ।

कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष डा. खोपीराम वली क्षेत्रीले ‘वी.पी. कोइरालाको साहित्यिक योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले वी.पी.का कृतिमा प्रगतिशील चेतनाले महत्वपूर्ण स्थान पाएको उल्लेख गर्दै ‘तीन घुम्ती’ उपन्यासकी पात्र इन्द्रमायालाई त्यसको सशक्त उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य महानन्द ढकालले साहित्यिक कृति, दस्तावेज र बौद्धिक सम्पदाको संरक्षण तथा ज्ञानको प्रसारमा पुस्तकालयको भूमिका अपरिहार्य रहेको बताउँदै साहित्य र पुस्तकालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रलेसका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिनाले वी.पी. कोइरालाको राजनीतिक र साहित्यिक योगदानको चर्चा गर्दै उहाँलाई मनोवैज्ञानिक आख्यानका सशक्त स्रष्टाका रूपमा मूल्याङ्कन गर्नुभयो । साहित्यकार र पुस्तकालय एकअर्काका परिपूरक रहेको उहाँको धारणा थियो ।

कार्यक्रममा बलराम भुजेल, यज्ञबहादुर वली, इन्द्रबहादुर बस्नेत, सागर गैरे, शेखर दहित, हरी सुवेदी, जे. पाण्डेलगायतले पनि पुस्तकालय, साहित्य र पठन संस्कृतिको विकासका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा अध्यक्ष एकराज शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समापनका अवसरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले धन्यवाद ज्ञापन गर्दै वी.पी. कोइरालाको साहित्यिक तथा राजनीतिक योगदानको स्मरण गर्नुभयो । उहाँले पुस्तकालयलाई जीवन्त बनाउन लेखक, विद्यार्थी र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले बदलिँदो सूचना–प्रविधिको युगमा पनि पुस्तकालयलाई ज्ञान उत्पादन, संरक्षण र प्रसारका साथै समाजको बौद्धिक, सांस्कृतिक र लोकतान्त्रिक चेतनाको केन्द्रका रूपमा सुदृढ बनाउनुपर्ने साझा धारणा व्यक्त गर्नुभएकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.