साहित्यपोस्ट डट कम

उत्तरअमेरिकामा युगकविको सुयश छर्दै बालबालिकाहरू

उत्तरअमेरिकामा युगकविको सुयश छर्दै बालबालिकाहरू

क्यानडा । सन् २०२६ मे १५ का दिन उत्तरअमेरिकामा युगकवि सिद्धिचरण श्रेष्ठ को योगदानमाथि आधारित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

युगकवि सिद्धिचरण प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय बालसमितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा क्यानडा र अमेरिकाका विभिन्न शहरहरूबाट नेपाली मूलका बालबालिकाहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

क्यानडाका एडमण्ड, अटवा, टोरण्टो र विण्डसरका साथै अमेरिकाका एटलान्टा (जर्जिया), न्यूयोर्क, सिकागो लगायतका शहरबाट २२ जना बालप्रतिभाहरूले भाग लिएको प्रतियोगिता अनेसासको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । १८ वर्षसम्मका सहभागीहरूले नेपाली र अङ्ग्रेजी दुवै भाषामा आफ्ना वक्तव्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम सुरेन उप्रेती को अध्यक्षता तथा अनेसास केन्द्रका अध्यक्ष सर्वज्ञ वाग्ले को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । महासचिव राजु सिटौला ले प्राविधिक सहयोग प्रदान गर्नुभएको थियो भने मिरा कोइराला ले कार्यक्रम सहजीकरण गर्नुभएको थियो । स्वागत मन्तव्य पद्मा लिङ्खा मगर ले राख्नुभएको थियो ।

प्रतियोगिताको मूल्याङ्कन डा. प्रकाश पौडेल, देवेन्द्र के.सी. र आचार्य राजन ले गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भ युगकविको कालजयी गीत “बाँचिरहोस् यो बाको छोरो” बजाएर गरिएको थियो ।

प्रतियोगितामा अपूर्व पन्त प्रथम, संस्कृति बुढाथोकी द्वितीय र श्रीराज कार्की तृतीय भएका थिए । विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सबै सहभागीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राजेन्द्र श्रेष्ठ, डा. मुकुन्द वाग्ले लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा बालबालिकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयाे ।

वक्ताहरूले प्रवासमा हुर्किरहेका बालबालिकामा नेपाली भाषाप्रतिको लगाव र आत्मविश्वासपूर्ण प्रस्तुति सराहनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष उप्रेतीले सबै सहभागी, अभिभावक, अतिथि तथा आयोजकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अन्य महादेशहरूमा समेत यस्ता प्रतियोगिता विस्तार गरिने जानकारी दिनुभयो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.