साहित्यपोस्ट डट कम

उत्कृष्ट दश बान्तावा कवि छनोट

उत्कृष्ट दश बान्तावा कवि छनोट

इलाम । फिक्कलमा आयोजना हुने ‘बान्तावा साहित्य महोत्सव’अन्तर्गतको ‘२१औँ बान्तावा कविता प्रतियोगिता’का लागि उत्कृष्ट १० कविहरू छनोट हुनुभएकाे छ । बान्तावा भाषामा प्रकाशित बुङ्वाखा मासिकको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि निर्धारित समयभित्र ३५ वटा कविता प्राप्त भएको जनाइएको छ ।

नेपाल, क्यानडा र अमेरिकाबाट आउनुभएकाे कवितामध्येबाट उत्कृष्ट १० कवि छनोट गरिएको असीम सोङ्मेनले जानकारी दिनुभयो । छनोट हुनुभएकाे कविहरूले आगामी वैशाख २६ गते फिक्कलमा उपस्थित भई कविता वाचनमार्फत प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई ‘बुङ्वाखा–श्यामराज दुब्देङहाङ स्मृति अक्षयकोष’बाट क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । उक्त अक्षयकोष बान्तावा रेडियोकर्मी स्वर्गीय श्यामराज दुब्देङहाङ राईको स्मृतिमा उनकी छोरीहरूद्वारा स्थापना गरिएको हो ।

उत्कृष्ट १० मा छनोट हुने कविहरूमा अमिरा राई, अर्जुन सोरोङ राई, कमला बुत्ताङ राई (इलाम), नुलोक ईशारा राई र गजेन्द्र सोझे राई (पाँचथर), सुजाता राई र सेचेन बुङ्छेन राई (मोरङ), प्रदीप हाङ्खिम राई (भोजपुर), खारुमि राई (ललितपुर) तथा तमन्ना बान्तावा राई (सुनसरी) रहनुभएकाे छ ।

यसैबीच प्रतियोगितामा अतिथि कविका रूपमा विष्णुसिं राई, कविता राई ‘गाउँले’ र अमित थेबेलाई आमन्त्रण गरिएको आयोजक पदम राईले जानकारी दिनुभयो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.