साहित्यपोस्ट डट कम

‘उर्वशी’को सौन्दर्य

‘उर्वशी’को सौन्दर्य

प्रा.डा.देवीप्रसाद सुवेदीको ‘उर्वशी’ उपन्यासको सौन्दर्यले रसाप्लावित भएको प्रतिक्रिया हो यो । विसं २०८२ मा प्रकाशित यो कृति १८२ पृष्ठमा फैलेकाे छ ।

अठार अध्यायमा लेखिएको यस उपन्यासमा –

१. पहिलो अध्यायमा उर्वशी, सुनयना र सुकेशी मन्दाकिनी नदीमा डुङ्गामा चढेर ऐलराज बुधको राज्यको पुष्पक वनप्रान्तमा आउँछन् । त्यहाँ युवकसित भेट हुन्छ । उर्वशीको खुट्टामा बिझेको काँडो पुरुरवाले निकालिदिन्छ र अप्सराहरू फर्कन्छन् । पुरुरवाले ठूलो पत्थर(जुर)मा बसेर हेरिरहन्छ । यहाँ यिनीहरूको प्रेमको भेद खुल्दैन । त्यो पछि खुल्छ । भाषा विशेष संस्कृत तत्सम भाषा छ, पदलालित्य र बिम्बले कादम्बरी जस्तै बनेको छ ।

२. उर्वशीमा चिन्ता— अमरावतीको अप्सरा ग्राममा उर्वशी छन्, उनमा इलापुत्र पुरुरवा सम्झेर अनिद्रा र चिन्ता छ । गणनायिका रम्भा हो निर्देशिका नृत्यकी । यी विश्वावसु, तुम्बरु, घृताची यो अध्याय त नाटकको एक दृश्य जस्तै छ । अन्तमा पाठकलाई अभिज्ञान हुन्छ, विक्षिप्त भएकी उर्वशीको नृत्यका दर्शक पुरुरवा थिएनन् बरु उनका पिता बुध थिए । उर्वशीले बुधलाई पुरुरवा सम्झेकी थिई । पाठकलाई पनि पछि यसको भेद रम्भा र सुकेसीबाट खुल्छ । उनी त बुध थिए यसको संयोजन कलामा देवीलाई धेरै धन्यवाद दिनुपर्छ । उपन्यास लेखन एक नाटक लेखन पनि हो र एउटा कविता लेखन पनि हो । नाटक र कविताको संयोजन यहाँ कुशलतापूर्वक गरिएको छ । यो अत्यन्त सराहनीय छ । पाठकले यही एउटा मात्र च्याप्टर पढे पनि त्यसको पूरा आनन्द पाउँछ ।

३. पुरुरवामा चिन्ता, बुध फिर्ता, बिमार, देवलोक जान तयार हुनेसम्म । देवलोक र ऐल पर्वतीयभाग पढ्दा लाग्यो देवलोक कैलाश मानसरोवरपारिका देश तिब्बत र चीनका माथि काजकिस्तान, तुर्किस्तान, यानी सोभियत युनियनबाट छुटेका मध्यएसियाका आजका विकसित देश जस्तै लाग्यो । यसमा सोमका तीनपुस्ते पात्र छन्, ऐल पर्वतमा जहाँ असुरसितको रक्तसम्मिश्रणले बनाएको समाज छ । जहाँ देवलोक कृषिमा निर्भर छ र हाम्रो लाग्ने ऐल क्षेत्र पशुपालनमा निर्भर भएको समाजको

प्रा.डा.देवीप्रसाद सुवेदीको ‘उर्वशी’ उपन्यासको सौन्दर्यले रसाप्लावित भएको प्रतिक्रिया हो यो । विसं २०८२ मा प्रकाशित यो कृति १८२ पृष्ठमा फैलेकाे छ ।

अठार अध्यायमा लेखिएको यस उपन्यासमा –

१. पहिलो अध्यायमा उर्वशी, सुनयना र सुकेशी मन्दाकिनी नदीमा डुङ्गामा चढेर ऐलराज बुधको राज्यको पुष्पक वनप्रान्तमा आउँछन् । त्यहाँ युवकसित भेट हुन्छ । उर्वशीको खुट्टामा बिझेको काँडो पुरुरवाले निकालिदिन्छ र अप्सराहरू फर्कन्छन् । पुरुरवाले ठूलो पत्थर(जुर)मा बसेर हेरिरहन्छ । यहाँ यिनीहरूको प्रेमको भेद खुल्दैन । त्यो पछि खुल्छ । भाषा विशेष संस्कृत तत्सम भाषा छ, पदलालित्य र बिम्बले कादम्बरी जस्तै बनेको छ ।

२. उर्वशीमा चिन्ता— अमरावतीको अप्सरा ग्राममा उर्वशी छन्, उनमा इलापुत्र पुरुरवा सम्झेर अनिद्रा र चिन्ता छ । गणनायिका रम्भा हो निर्देशिका नृत्यकी । यी विश्वावसु, तुम्बरु, घृताची यो अध्याय त नाटकको एक दृश्य जस्तै छ । अन्तमा पाठकलाई अभिज्ञान हुन्छ, विक्षिप्त भएकी उर्वशीको नृत्यका दर्शक पुरुरवा थिएनन् बरु उनका पिता बुध थिए । उर्वशीले बुधलाई पुरुरवा सम्झेकी थिई । पाठकलाई पनि पछि यसको भेद रम्भा र सुकेसीबाट खुल्छ । उनी त बुध थिए यसको संयोजन कलामा देवीलाई धेरै धन्यवाद दिनुपर्छ । उपन्यास लेखन एक नाटक लेखन पनि हो र एउटा कविता लेखन पनि हो । नाटक र कविताको संयोजन यहाँ कुशलतापूर्वक गरिएको छ । यो अत्यन्त सराहनीय छ । पाठकले यही एउटा मात्र च्याप्टर पढे पनि त्यसको पूरा आनन्द पाउँछ ।

३. पुरुरवामा चिन्ता, बुध फिर्ता, बिमार, देवलोक जान तयार हुनेसम्म । देवलोक र ऐल पर्वतीयभाग पढ्दा लाग्यो देवलोक कैलाश मानसरोवरपारिका देश तिब्बत र चीनका माथि काजकिस्तान, तुर्किस्तान, यानी सोभियत युनियनबाट छुटेका मध्यएसियाका आजका विकसित देश जस्तै लाग्यो । यसमा सोमका तीनपुस्ते पात्र छन्, ऐल पर्वतमा जहाँ असुरसितको रक्तसम्मिश्रणले बनाएको समाज छ । जहाँ देवलोक कृषिमा निर्भर छ र हाम्रो लाग्ने ऐल क्षेत्र पशुपालनमा निर्भर भएको समाजको कुरा छ । बुधले ऐल दरबारमा आएर उनकी रानी भद्रेसित र उर्वशीको घटना भन्न खोज्दा त्यो भन्न नपाउदै राजयक्ष्मा बेमारले अवाक् हुन्छन् । त्यो प्रसङ्ग उनीसित देवलोक गएको अमात्य चन्द्रचूडबाट पुरुरवाले सुन्छन् । उर्वशी बन्दी छे भन्ने यहाँ मर्त्यमा थाहा पाएपछि पुरुरवा उर्वशीलाई मुक्त गर्न देवलोक जान घोडा छान्न हिँड्छन् । लेखनकलाले देवलोक नेपालको नजिकै छ जस्तो अनुभूति गराउँछ । यसमा पात्र— इला, बुध, भद्रे, पुरुरवा, चन्द्रचूड, र मार्गचित्रज्ञाता सैनिक पृष्ठभूमिमा इला, बुध, र भद्रे छन् । सुकेशीले उर्वशी बनेर कैदमा बस्छे र उसका कपडा उर्वशीलाई लगाउन लगाएर छम्द भेषमा उसलाई पुरुरवा भएको ठाउँमा भाग्नको लागि पठाउँछे । सुकेशीको यो त्याग उल्लेखनीय छ ।

४. अध्याय चारमा यी वस्तु उल्लेखनीय छन्—पुरुरवाको चिन्ता र चासो, बुधको वर्णन र बिमारीको घटना, अमात्य चन्द्रचूडको हिजको आज बखान पुरुरवासित, देवलोक जाने मार्गचित्र दिने सैनिक, पुरुरवाको अश्वचयन र अश्वारोहण, छद्मभेषमा— देवलोक गमन, छद्मभेषमा— सुकेशी उर्वशीको भेषमा कैदी बनेर बस्नु र उर्वशी सुकेशी बनेर भाग्नु, पुरुरवाबाट उर्वशी हरण ।

५. पुरुरवाले उर्वशी भगाएर ल्याउँदै छ । ऐल राज्यमा यौटा गाउँमा पसेपछि गन्धर्वराज मुखियासित भन्यो —यिनी तिम्री पुत्री हुन् उर्वशी । हामीले गन्धर्वविवाह गर्यौं भन्छन् । गरिसके । उनका पिता बुधले पनि इलासित पनि गन्धर्व विववाह गरेका थिए । पुरुरवाको यो कुरा सुने पछि गन्धर्व मुखियाको चित्त बुझ्छ र आशीर्वाद दिन्छ । पुरुरवा र उर्वशी फर्कदा उही पुष्पक वन्यप्रान्त पुग्छन् । त्यहाँ उर्वशीले सुकेशीको त्याग सम्झन्छे । सान्त्वना दिएर पुन्नागवृक्षको आशीर्वाद लिएर घर लैजान घरतिर आउँछन् । त्यो पुन्नागवृक्ष उनीहरूको अगाधप्रेमको साक्षी हो ।

६. वैजयन्त नाट्यशाला सुनसान छ । गणिकाग्राममा रम्भा गणजनायिकाबाट अपराधी उर्वशी र सुकेशीको खोज हुँदैछ । पात्र रम्भा, सुजुर्णी— रम्भा र मेनका आदिका छलफल । उर्वशी मात्र हैन मेनकालाई विश्वामित्रको तपस्या भङ्ग गर्न इन्द्रले नै पठाएका थिए । यस्तो धेरै भएको छ । रम्भा, मेनका, सुजुर्णी, तिलोत्तमा, घृताची, सुनयना, सुकेशी पात्रहरूको भूमिका छ ।

७. यसमा मेनकाले आफ्नो कथा आफै प्रथमपुरुष दृष्टिबिन्दुमा भन्छे भनौँ आत्मनेपदमा । सम्बालासित म विश्वामित्रकहाँ जान हिँडेँ । महेन्द्र पर्वतबाट सम्बालालाई फर्काएर म विश्वामित्रको आश्रममा पुगेर भनेँ— म मेनका अमरावतीकी नृत्याङ्गना । यो प्रसङ्ग अत्यन्त सुन्दर लाग्यो र लेखेँ — कसैले उपन्यास लेख्न सिक्नु छ भने पहिले यो उर्वशी उपन्यास पढोस् । मेनकाको आत्मकथा र वृन्दा लगायतका अप्सरागणको सभामा उर्वशी र सुकेशीलाई दण्डित गर्नुभन्दा मेनकाले आफ्नो आत्मकथा सुनाएर हामी अप्सरालाई धेरै पटक त्यस्तो अप्ठेरो पारिएको छर्लङ्ग बताइन् । उर्वशीले जे गरिन् त्यसको लागि उनलाई बधाइ र सुकेशीको त्यागको लागि हाम्रो समर्थन नै छ । नारीको अधिकारको इन्द्रसभाले जहिले पनि अतिक्रमण गरेको छ । हामी सबै त्यसका शिकार भएका छौँ । यसमा नारीले विद्रोही कदम चाल्नैपर्छ भन्ने निष्कर्षमा त्यो गणिका गणसभा पुग्छ । यहाँ उपन्यासकारले आजका नारीलाई पनि नारी अधिकारको लागि उत्प्रेरित गर्नसम्म गरेका छन् । यो उपन्यासको सबल पक्ष हो ।

८. गन्धमादन पर्वत, व्याक्ट्रियामा उर्वशी, पुरुरवा, इला आदि छन् । उर्वशीले घर समाल्छे । सासू इलाले नातिनी देख्न चाहन्छे । पुरुरवाले पनि छोरो देख्न चाहन्छ । उर्वशी पनि दोमन छे । बुध मरेको छैन । इलाको हातमा राज छ । यहाँ इला र उर्वशीको सम्वाद लामो छ । इलाको नै हैकम चल्ने राज हो यो । नेपाली गाउँकी चप्पाकली नै विकसित देशमा स्वर्गमा पुराएर अप्सरा गणिका बन्न पारेको बाध्यताको कुरा छ ।

उर्वशी यौटा गरिब परिवारकी छोरी थिई । त्यो आत्मकथा उसले अध्याय नौमा सुनाउँछे ।

९. उर्वशी यौटा गरिब परिवारकी छोरी थिई । मलाई यो पढ्दा रुकुमकी केटी जस्तै लाग्यो । उसको दाज्यू अमेरिका जान भनेर डङ्कीरोडबाट गएको उतै मरेर पनि फेरि छोरी दलालको हात पठाए जस्तो लाग्यो । उर्वशी यौटा गरिब परिवारकी छोरी थिई । दाजु पैसा कमाउन विदेश गएको ऊ उतै हराए तापनि विदेश गएर प्रशस्त पैसा कमाई जीवन सुखी बनाउन सकिन्छ भन्ने लोभ देखाएर सुषेणले चम्पाकलीलाई अमरावती लान्छ र अप्सराग्राममा पुराएर ऊ हराउँछ दलाल जस्तै । चम्पाकली के गर्ने बिचरा, उसलाई ती सम्पन्न देवताले धोइपखाली चम्काएर नचरी अप्सरा बनाउँछन् । तैपनि चम्पाकलीले सिक्छे र कलाको प्रदर्शन गर्छे र उसले उर्वशी (नाद) नाम पद प्राप्त गर्छे । यो बिर्सन हुन्न – ऊ पैसाको लागि गणिका नै हो । उसको पीडाले आउने अध्यायमा यी कुरा देखाउँछन् के र उपन्यासको मर्म नै यही हो । स्वर्ग सम्झेर भएका आप्रवासी आफ्नो देश फर्कन कति आतुर छन् । त्यो उहाँ उर्वशीले बोकेकी छे । त्यसैले यौटा छोरा पाइन्जेल मात्र भए पनि आफ्नै देशमा फर्केर आई । छोरो पाएर छोडी फर्कन्छे । फर्कनु उसको कर्मको फल थियो ।

उर्वशीको अर्थ, अप्सराको अर्थ, टाटु जस्तो गणचिन्ह ‘निर्झरिणी’ खोपिन्छ । अप्सराको अर्थ— आप+सरा=अप्सरा, जलक्रीडा बढी गर्ने भएकोले कश्यपले दिएको नाम हो । दर्शककी उरु वशी । यो इन्द्रले दिएको नाम पद हो, सम्मान हो । कटी उरु प्रान्तको सौन्दर्यले वशीभूत बनाउने अप्सराहरूमध्ये उच्च उर्वशी ।

यस अध्यायमा नै सोमवंशका कथा र चप्पाकली कसरी उर्वशी भै भन्नेसम्मको कथा यसमा छ । यस अनुसार सोम वंश—

सोम वंश—

(ऋषि) अत्रि वृहस्पति(तारा) विवस्वान

सोमवंश सोम तारा वैवस्वत मनु, सरण्यु,

बुध इला इला

पुरुरवा उर्वशी

आयु

सोम र तारा, बुध र इला, पुरुरवा र उर्वशी सबैको गन्धर्व विवाह भएको छ ।

कश्यपका २ पत्नी

दिती अदिती

असुर दैत्यहरू

आर्य र अनार्यको राजमा

गन्धर्व विवाह गर्थे । देवताहरू

केहीआर्य पश्चिमितर

लागेर देवलोक भनाए ।

सोमवंशी उर्वशीको छोरो हुनुपर्छ । राजा पुरुष भए पनि यो ऐल राजमा राज्य चलाउने नारीले नै, ऐले इला छिन् पछि उर्वशीले नै भन्ने सम्वाद इला र उर्वशीको हुन्छ । चम्पाकलीका कथा १० मा बढ्छ । कथा उपकथाहरू उपदेशात्मक र ऐतिहासिक, अनुशीलनपरक भएकाले पढौँ पढौँ लाग्ने मनोहारी छन् ।

अध्याय दशपछि वस्तु, समग्रमा उर्वशीमा नेपाल बोल्छ । उर्वशी नेपाली हो । उर्वशी चम्पाकली हो, चम्पाकली नै नेपाली हो । उर्वशी हाम्रै नेपाली आजको समाज अझ आर्थिक दृष्टिले पछि परेको घरपरिवारकी छोरी हो । उसको नाम नेपालमा चम्पाकली थियो । ऊ मरेर स्वर्ग गएर उर्वशी भएकी हैन बरु ऊ बाआमाको गरिबी देखेर त्यसबाट पार पाउन वा पैसा कमाउन विदेश गएकी हो । दाजु पहिले विदेश गएको पैसा कमाउन ऊ पनि विदेश गएकी हो । दाजु पहिले विदेश गएको उतै हरायो । यो छोरीले बेलैमा ठाउँ पाई भने २, ४ पैसा कमाएर हातमा थमाउँछे र आफ्नो जीवन पनि सुधार्छे कि भनेर बाआमाले आफ्नै गाउँको गन्धर्व काका भनिने त्यस दलालको हात जिम्मा लगाए विदेश यानी अमरावतीमा पठाएका हुन् । सुषेणले त चम्पाकलीलाई विदेशको यौटा नाट्यशालाको ढोकामा पुराएर हरायो । ऊ गन्धी गाउले केटीलाई त्यो नाट्यशालाले नुहाइ धुवाइ गरेर मयल फालेर कपाल कोरी बाटी नाच्ने केटी बनायो । पैसावालाको ठाउँ ! उनीहरूलार्इ ठिटी नाचेको हेर्न पाए भैहाल्यो । चम्पाकलीलाई सरम लाग्यो । दुःख लाग्यो । तैपनि उसको त्यहाँ अरू कुनै सहारा थिएन । नाचेर पनि खाने, बाँच्ने बाटो गरी । यसो गर्दैगर्दा त्यो ठाउँमा उसको नाच र क्रियाकलापले प्रभावित पार्दैगयो र इन्द्रले त्यहाँको मालिकले उरुमा बश पार्ने शक्ति भएकोले अब चम्पाकली हैन अब तिम्रो नाम उर्वशी भनेर नाम पद सम्मान दियो । कश्यपले यिनीहरूलाई अप्सरा नाम राखेका रहेछन् ।

यसरी ऊ उर्वशी अप्सरा भै । आफ्नो जन्मभूमि मातापिता आफ्नो प्रकारको रमाइलो स्वतन्त्र जीवनको याद आइरहन्थ्यो । पैसाको लागि जीवन बेचेको अनुभव भैरहन्थ्यो । ऊ खुश थिइन । स्वर्गै गए पनि एक दिन वनविहार गर्दैगर्दा जनलोक पसेको बेला पुरुरवासित भेट भो । आफ्नै ठाउँथलाको साथी भेटेपछि दुवैको आँखा जुधे, प्रेम बस्यो । चम्पाकली त उर्वशी नामको बन्धनमा थिई तर पुरुरवा पौरखी र राजकुमार थिए । छद्मभेषमा अमराती पुगेर भगाएर ल्याई वनदेवीको थानमा लगेर गन्धर्वविवाह गरी ल्याएर भित्र्याए । उर्वशीबाट आयु छोरा पनि पाए ।

विदेशी दुश्मनले उर्वशी फिर्ता गर अन्यथा आक्रमण गर्ने धम्की दिन्छ । पुरुरवा लड्न तयार भए तर उर्वशी छोड्न चाहेनन् । तर उर्वशीलाई भगाउँदा जेल बसेकी सुकेशी अझै जेलमा थिई । उर्वशी फिर्ता भए मात्र सुकेशीलाई छोड्न सकिन्छ भन्ने शर्त दुश्मन देशको थियो । उर्वशीले पुरुरवालाई सम्झाइन्— यो युद्ध लड्ने हैन, सम्झौता गर्ने बेला हो । उर्वशी भगाउँदा उर्वशीको रूप लिएर जेलमा बसेकी त्यागी सुकेशी जेलमा थिई । उसलाई जेलमुक्त गर्न आत्मसमर्पण गरेर उर्वशी अमरावती जान्छे र सुकेशीलाई जेलमुक्त गर्छे । सुकेशी नाच छोडेर जोगिनी भई बसी । उर्वशीले पनि सेवानिवृत्त हुने बेलासम्म काम गरी नाचको कामबाट निवृत्त भै सुकेशीका नै कुटी जस्तै कुटीमा बसी दुवैले परमार्थको खोजमा नृत्यका देवता शिवको प्राप्तिको सङ्कल्पमा लागे । भजन र नर्तन उनको जीवन बन्यो । ऐल राज्यलाई आयु राजकुमार दिएर आइसकेकी थिइन् । जीवनमा पछि फर्किने कुरा आएन । प्रेम आफ्नो ठाउँमा छ । उर्वशी र सुकेशी शिवप्राप्तिको लागि कैलाश मानसरोवरतिर फर्किएर गन्धर्वराज हुदै उकालो लागे ।

यो पढ्दा कस्तो लाग्छ भने काठमाडौंको सुषेण दलालले रुकुमकी चम्पाकलीलाई त्यो हिमाली अनकन्टार उकालो ओरालो चडाइ पार गर्दै हिमाल पारि काजकिस्तान (अमरावती) डान्सक्लब र फ्रीसेक्सको बजार छ त्यहाँ पुराएर बेचेको र पछि चम्पाकली त्यहाँको रुख्खा सुखशयल अर्थहीन पाएर जीवनको उत्तरार्ध कैलाश मानसरोवर नै आउन पहाड चढ्दै हिमाली भेक गन्धर्वको देश ऐल राज्यको शिर मानसरोवरको यात्रामा हिँडेको जस्तो लाग्छ, नेपाल नै फर्केको जस्तो । उपन्यासमा यो भूगोल र भूमार्ग हाम्रो प्यारो नेपाल पश्चिमोत्तर पारि अमरावती र फर्कदा कैलाश आफ्नै जस्तो लाग्छ । पौराणिक कथालाई यसरी नेपालीपन दिनु र नेपालका समसामयिक सबैप्रकारका यथार्थलाई चित्रित गर्नु उपन्यासकारको सफलता हो ।

अन्तमा काजकिस्तानको अमरावती विदेशबाट फर्केर उर्वशी र सुकेशी राडीपाखी ओड्दै, उकालो ओरालो हिँड्दै, घोडाखच्चरको बाटो हुँदै कैलाश पर्वत पुगेर नृत्यबाट नै शिव प्राप्तिको अनुभूतिसाथ लर्केर सुकेशी मानसरोवरको बहाबमा बग्छिन् र उनको हात समात्न जाँदा उर्वशी पनि मानसरोवरमा लवलीन हुन्छिन् । नेपालबाट विदेश र विदेशबाट नेपालको आजको घुम्ती यायावरीय जीवन वर्णन यसरी इति हुन्छ । लेखेर सकिन्न यो यथार्थ र आदर्शको सङ्गमको विवधपक्ष अनुसन्धाताले मात्र पार पाउन सक्छ ।

====

‘उर्वशी’ कथा विज वेद, पुराण र काव्यहरूमा पाइन्छ तर डा.देवीले ती पुराना पात्रलाई समसामियक परिप्रेक्षमा उतारेर नयाँ दृष्टि दिए । यही नै मूल्यवान् कुरा हो ।

पात्र—

पुरुष—पुरुरवा— साहसी राजकुमार हो । त्यो पनि ऐल पर्वतीय क्षेत्रको । ऊ अश्वारोही छ । मनाङ्ग र मुस्ताङ्गका राजा जस्तै । आकर्षक र साहसी पनि छ । यो बहिर्मुखी पात्र हो । त्यसैले त ऊ वियोगमा पनि भित्रै डिप्रेसन भएर बस्दैन । बरु उपाय खोज्छ । देवलोक पुगेर उर्वशी हरण गरेर ल्याउँछ । घर बसाल्छ । पछि उर्वशी फर्कन पर्दा पनि ऊ हतोत्साहित हुन्न, धैर्य गरेर बस्न सक्छ । हिम्मत गरेर टिक्न सक्छ । तर ऊ उर्वशी र सुकेशी कैलाशमा समर्पित हुँदा पनि उर्वशी उर्वशीको प्रतिध्वनि दिइरहन्छ । पुरु उच्च रव स्वर उच्च ध्वनिको सम्वाहक हो । त्यसैले बादल बादल बराबर उर्वशीसित खेल्न उसलाई आनन्द आउँछ । तापनि साँसारिक राज्यव्यवस्थाको कर्तव्यबाट च्युत नभैकन उसले समाजको राजाको दायित्व पूरा गर्दछ ।

सोम—सोमले वृहस्पतिकी छोरी तारालाई अपहरण गरी गन्धर्व विवाह गरेर बुध जन्माए । देवराजले तारा फिर्ता लगेपछि ताराको छोरा बुधलाई नै पर्वतीय राज्य चलाएर बस्ने सम्झौता गराएर र सोमवंश चलाए । यो वंश सुर र असुरको बीचको वंश हो ।

बुध— बुध पनि पराक्रमी राजा हुन् । उनी नायक पुरुरवाका पिता हुन् । बुधले देवराज्यका वैवश्वत मनु र सरण्युकी छोरी विवस्वानकी नातिनी इलालाई भगाएर ल्याई गन्धर्व विवाह गरे । देवराज्यले इलाकैलागि सन्धि गरी उनको नाममा पूर्वी पहाडी भाग ऐल राज्य दिनुपर्यो । बुध रोगी भए पनि पराक्रमी ख्यातनामा राजा थिए । इन्द्रले पनि सम्मान गर्दछ । बुध राजयक्ष्मा रोगबाट पिडित भएकाले राज्यको कार्यकारी सत्ता इलामा नै रहन्थ्यो । कार्यकारी नारी प्रधान जस्तै भएपनि सम्वैधानिक राजा त बुध नै हुन् । यिनी अन्तर्मुखी परुष पात्र हुन् ।

इन्द्र— इन्द्र भन्ने पात्रले शक्तिको बलमा शोषण गरेको छ । यो अर्धविकसित देशमाथि विकसित देशको शाशकको बिम्ब इन्द्र यो पात्र खलनायक हो । हरएक पटक युद्ध छेड्छ र उसको नै शर्तमा सन्धि गराउँछ । बलियासित निर्बलियाको के लाग्छ र ? अन्यायमा परेकाहरू हार त कहिल्यै मान्दैनन् । त्यसैले देवासुर सङ्ग्राम सदा सर्वत्र भैरहन्छ । उपन्यासले खास गरी इन्द्रको धज्जी उडाएको छ । नाम देवता तर काममा धन यौवन सपन्न अन्धो शासक हो इन्द्र ।

सुषेण— यो आजको दलाल हो । यौटा दलाल हाम्रो देशका युवायुवतीलाई धनसम्पत्तिको लोभ देखाएर विदेश लैजान्छ । ऐलम पहाडी राज्यका युवायुवती हिमालपारिका देवलोक अमरावती लाने भनेको त्यो दलाली काम हो । ऊ मान्छे त्यहाँ पुराए पछि हराउँछ । जस्तो कि चम्पाकलीलाई उर्वशी बनाउन बेच्न नै लगेर गएको थियो । यो गन्धर्व देश ऐलमकी चम्पाकलीको नामले काका पर्ने व्यक्ति नै दलाल हो सुषेण ।

आयु— यहाँ शिशु नै छ पुरुरवा र उर्वशीको पुत्र, राजकुमार भविष्यको यो ऐलम राज्यको राजा हो ।

यस्तै चन्द्रचूड बुधको अमात्य हो । गन्धर्व गन्धर्व प्रदेशको मुखिया हो । अभिजित देवदूत हो । चम्पाका बाबा आमा छन् । यी सबै सहायक पात्र मात्र हुन् ।

नारी पात्र— उर्वशी— उर्वशी अन्तर्मुखी, पीडित, धर्म अर्थ काम मोक्षको पथगामिनी पात्र हो । उर्वशीका ४ व्यक्तित्व छन् । १. चम्पाकली, २. उर्वशी, ३. गृहिणी, ४.जोगिनी ।

१. पहाडिया किशोरी ‘चम्पाकली’ १४ वर्षकी उमेरकी नेपाली केटी केही कमाएर खाऊँ, केही गरेर खाऊँ भन्ने र आमाबाको आर्थिक अवस्था सुधार्न कदम चाल्ने ठिटी हो । त्यो विदेश गएर पनि पैसा कमाएर परिवार माथी उठाउन चाहन्छे ।

२. अविवाहित विदेशमा नर्तकी— ऊ विदेश गएर हराए जस्तै कसैले नर्तकीको रूपमा उपयोग गर्छ । त्यसमा ऊ रतिन्छे र घर पनि बिर्सेर गएर पनि पैसा कमाएर पत्थर जस्तै पृथ्वीको मान्छेले हैन जस्तो कोरा प्रकृति बादल र बिजुली मात्र, ती सम्पन्न पुँजीपतिको हतियार बन्छे । त्यसैमा उर्वशी स्वयम् सम्पन्न बन्छे ।

३. आफ्नो देशमा गृहिणी— ऊ त्यो भौतिक सम्पन्नताको जीवनबाट वाक्क हुन्छे । उसलाई यो सम्पन्नताको घेराबाहिर गएर मानवीय प्रेम प्यार धर्मसित खेल्न मन लाग्छ । यो दुनिया आफ्नो जन्मको जनजीवनको मिठास र आनन्द लिन मन लाउँछ र पुरुरवाको प्यारमा आउँछ । वियोगमा रुन्छे र अपहरणमा पुरुरवासित भाग्छे । पुरुरवाकी रानी बन्छे । भेडाको मातृता देखेर पनि पाठ लिन्छे र छोरो पाउँछे आयु । यसरी यो संसारको मजा लिन्छे । ४. बैरागी, योगिनी— उर्वशी पुनः उर्वशी नै बने पनि उसलाई त्यो स्वर्गीय आनन्द खोक्रो लाग्छ । ऊ बैरागी बन्छे र धनको लागि नाच्नभन्दा अब बुढेसमा शिवको शरण कैलास पुगेर विलय हुन्छे ।

इला—विवस्वान ऋषिकी नातिनी भएकीले सभ्य, शिक्षित होनहार बुद्धिमान् महिला हुन् । नारीको हातमा राज राम्रो चलेको उदाहरण हो यो । उर्वशीलाई योग्य राजकुमार जन्माउन प्रेरणा दिने पनि इला नै हुन् । गन्धर्व विवाहले मान्यता पाउँदैन कि भन्ने सङ्कोच गर्नुपर्दैन । सोमवंशको यही परम्परा रहेको छ । इला यौटी प्रबुद्ध बहिर्मुखी नारी पात्र हुन् जसले पुरुरवाको जन्म दिइन् र त्यो छोराले नै अमरावती पुगेर उर्वशी भगाएर ल्याई उत्तराधिकारी दिइरहेछ ।

तारा— एक व्यभिचारिणी नारी हुन् । वृहस्पति गुरुपत्नी तारा चेला सोमसित गर्भवती भएर अमरावतीबाट यता तल धरतीमा आउछे । पछि देवलोक अमरावतीले युद्ध गरी गुरु वृहस्पतिकी पत्नी तारालाई फर्काएर लैजान्छन् । तर सोमलाई त्यही पर्वतीय भागमा बुधलाई पाली सोमवंश चलाएर बस भन्छन् । तारा पुरानै पतिसँग फर्कन्छे । आइमाईले जे गरे पनि हुने रहेछ त्यो बेला । नारीको स्थान सानो देखिन्न । तारा बैमान भए पनि फेरि त्यो स्वर्ग र त्यो देवगुरु सबै पाउछे ।

सुकेशी— सुकेशी स्वर्गकी अप्सरागणकी यौटी अप्सरा हो । ऊ अप्सरा भए पनि देवता जस्तै अमानवीय छैन सहृदयी छे, मानवीय गुण छन् । सुकेशी त्याग र प्रतिभाकी प्रतिमूर्ति हो । यो एक नर्तकी हो देवलोककी । त्यो देवलोकभनेको आजको काजिकिस्तान (मध्यपूर्व एसिया) बनाए जस्तो देखिन्छ । पहाड हिमालबाट पश्चिमोत्तरपारि तर टाढा हैन किनकि पुरुरवा घोडाबाट नै २, ३ दिनमा त्यो अमरावती पुग्छ । २, ३ दिनमा ऐले रकेटबाट मान्छे चन्द्र र मङ्गलमा नै जान्छन् भने उही आर्यअनार्यको छिमेकी देश —देवलोक र जनलोकमा किन आवतजावत नहुने? त्यसैले जनलोकका छोरीहरू नै देवलोकका नर्तकी भएका छन् । त्यसैले सुकेशी जस्तो कमलो हृदय भएकी पात्र छे । उर्वशीलाई त्यो स्वर्गको भौतिक सुखभन्दा जनलोकको आफ्नो भूमिको सिस्नो फाँडो प्यारले खाएको उत्तम लाग्थ्यो र ऊ त्यहाँबाट मुक्त हुन चाहन्थी । यो कुरा सुकेशीलाई थाहा थियो र उसले जो उर्वशी त्यहाँ कैदी, कैदको भेषमा थिई उसको भेषमा आफू कैद बसेर उसले आफ्ना कपडा लगाइदिएर उर्वशीलाई पुरुरवाको साथ भाग्न मदत गरेकी छ । यो उसको ठूलो त्याग हो ।

पछि उर्वशी फिर्ता नगरेसम्म सुकेशीलाई कैद मिनाह हुदैन, उर्वशी फिर्ता गर नभए युद्ध गर भनेर देवलोकको हाँक आएपछि र सुकेशीको जेल उर्वशी आएपछि मात्र फुक्का हुन्छ भन्ने एलान इन्द्रले गरेकोले सुकेशीलाई जेल मुक्त गरी भारा तिर्न पनि उर्वशी आत्मसमर्पण गरेर अमरावती गई । देवासुर युद्ध रोकियो । सुकेशी जेलमुक्त भई । त्यसपछि सुकेशी पर्णकुटिरमा जोगिनी जस्तै भएर बसी । धेरै वर्षपछि उर्वशीलाई पनि देवलोकको त्यो भौतिक भोगविलासले तृप्ति भएन र इन्द्रबाट रिटायरमेन्ट मागी । सुकेशीसित पर्णकुटिरमा बसेर ध्यान गरी नृत्यमा नै शिवतत्व रहेको र नृत्य गर्दागर्दै नै कैलाश मानसरोवर यात्रा दुवैले सँगै गर्छन् र अमरावती काजिकिस्तान जस्तो नग्ननृत्य खुला भएको स्थान त्यागेर गन्धर्वदेश पहाडी चोटी हुँदै जन्मभूमि भएर कैलाश मानसरोवर पुगेर अन्तिम सास फेर्छन्, मुक्तिको सास फेर्छे । सुकेशी नर्तकी भए पनि उसको उर्वशी जस्तै पूर्वापर जीवन गतिको अवलोकन गर्दा यो आदर्शोन्मुख यथार्थ पात्र पनि हो । यत्ति त्यागी ऐले मान्छे भैदिए स्वर्ग हुन्थ्यो त म भन्दिनँ, आदर्श समाज हुन्थ्यो ।

मेनका— मेनका पुराण र काव्यप्रसिद्ध अप्सरा हो । इन्द्रले मेनकाको सौन्दर्यको दुरुपयोग गर्दै इन्द्रासन हल्लाउने शक्तिशाली व्यत्तिको शक्तिक्षय गर्न प्रयोग गरेका छन् । विश्वामित्रको व्रह्मचर्यबाट च्युत गराएर कमजोर बनाउन मेनकालाई प्रयोग गरेको छ । मेनकाले अप्सरा गण सभामा उर्वशीलाई समर्थन गर्दै आफ्नो कथा सुनाउँछे— शकुन्तलाको जन्म कसरी भयो ? मातृहृदयको पक्षमा छे ऊ । छोरी छोडेर स्वर्ग फर्केर नाच्न बाध्य छे यो । यहाँ मेनका नारी अधिकारको पक्षमा छे ।

अन्य नारी पात्रहरू प्रशस्तै छन् । समग्रमा हेर्दा देवलोकले जनलोकको प्रशस्त शोषण गरेको छ । देवलोक त्यो धनी पश्चिमा देशले अपेक्षाकृत गरिबदेश जनलोकका नरनारीको अति शोषण गरेकोले ती देशमा गएका व्यक्तिहरूमा जन्मभूमिमा जस्तो आत्मसन्तोष नभएको पाइन्छ । यो आर्य जाति र अन्य अनार्य जातिको सम्मिश्रण भएको जातिको मान्छे बेचबिखन गर्नेहरूको नै कथा हो ।

परिवेश— स्थान क्षिर सागर, मन्दाकिनी, अमरावती हिमालपारि, ऐल राज्य हिमालवारि छ । काल कथाविज पौराणिक भए पनि आजको नेपाल र डायस्पोराको काल चित्रित छ ।

स्थान नेपाल जस्ता पहाडिया राज्यमा पशुपालन थियो र यी अलि अल्पविकसित रूपमा प्रस्तुत गरिएको छ । देवलोक भनेर आर्यका उपल्ला जातजाति र अलि कृषिमा अगाडि बढिसकेका आजका विकसित देश जस्तो काजकिस्तान, तुर्किस्तान जस्तोलाई देवलोक परिवेश बनाएर यो परिवेश सबै यही धर्तीको आजको नै वातावरणभित्र निर्माण गरिएको छ । कालमा उर्वशीको चम्पाकली १४ वर्ष भएदेखि उसको मृत्यु कैलासमा हुनसम्मको छ । राजाहरूमा सोम, बुध, पुरुरवा र आयुसम्म वर्णित छ । तर पौराणिक कथावस्तु भएर पनि यसका स्थान काल र पात्रको परिवेश भनौँ वातावरण आजकै अल्पविकसित देश र विकसित देशको जस्तै बनाइएको छ । सुषेणले पैसा कमाउन भनेर चम्पाकली हिँडालेर लगेको बाटो पढ्दा ठ्याक्कै नेपाली युवायुवती दलालको साथ तल्लो बाटोबाट अमेरिका आउन हिँडेको जङ्गल, पाखो पखेरो, दक्षिण अमेरिका र सेन्ट्रल अमेरिकाका वनजस्ता लाग्छन् ।

प्रविधि— पूर्वदीप्ति, कथाको बिचबाट पुराना यादको माध्यमबाट कथा ल्याइन्छ । जस्तै—उर्वशीले इलासित चम्पाकलीको व्याख्या गर्छे । सञ्चेतना प्रविधि पनि प्रयोग भएको छ । तृतीयपुरुष, प्रथमपुरुष दृष्टिविन्दुको प्रयोग गरिएको छ ।

भाषा— काव्यमयी अभिजात्य भाषा छ । प्रसाद गुणयुक्त छ । तत्सम संस्कृतमय पदलालित्य सम्पन्न भाषा छ । यसमा बिम्ब, अलङ्कार, रस आदिको अध्ययन आवश्यक छ ।

उद्देश्य— ऋग्वेदको त्यो सानो कथालाई लिएर आजको यथार्थ जीवन प्रस्तुत गर्दै भौतिक सम्पनताले मात्र प्रेमको प्राप्ति हुनसक्दैन । त्यसको लागि मर्त्य र स्वर्गभन्दा माथि अविकसित र विकसित देशको विभेदभन्दा माथि उठेर नटेश्वर शिवको कैलासको उचाइ र गहिराइमा पुग्न सके मात्र आत्मिक प्रेममा लवलिन हुन सकिन्छ । यो उर्वशीले नाच्ने उत्ताउलो उद्देश्य बोकेको छैन वरू नृत्यलाई पनि नटेश्वर शिवसित जोडेर कैलासमा पुगेर उर्वशीले शिवमा आत्मसमर्पण गरेर गएकी छ । आत्मिक प्रेम र आत्मसन्तुष्टि जीवनको लक्ष्य हुनुपर्छ भन्ने नै यसको उद्देश्य हो ।

कथानक— नेपाल जस्तै अविकसित पहाडी प्रदेशमा ऐल राज्य छ । त्यहाँ यौटा परिवार छ—बा, आमा र छोरी चम्पाकली । छोरा पनि थियो तर ऊ विदेश गएर २,४ पैसा कमाएर ल्याए छाक टार्न हुन्थ्यो, साहुको रिण तिर्न हुन्थ्यो भन्ने धेयले पैसा कमाउन विदेश गएको, ऊ उतै हरायो । मरे जिउदो थाहा भएन । छोरी छे चम्पाकली । चौध वर्षकी मात्रै । के के न गर्छु जस्तो गर्छे । त्यो बेलामा सुषेण त्यही गाउँको चम्पाका नै काका नातो पर्नेले माग्छ र भन्छ— चम्पाकली मलाई देऊ । देवलोक (विकसित देश) पुराई दिन्छु, यसले त्यहाँ कमाईभने त तिम्रो खाँचो टर्छ ऊ पनि सप्रिन्छे । यसो भनेर फकायो ।

यो प्रसङ्ग पढ्दा त मलाई लाग्यो—यो सुषेण भन्ने पक्का दलाल रहेछ । सुषेणको फकाइमा बाबु लोभियो, के र हिम्मत गर्यो तर आमाले छोरी छोड्न सकिन । यौटा छोरो हरायो, छोरी पनि । पछि सम्झाई बुझाई गरेपछि हुन्छ भन्छे । सुषेणले चम्पाकलीलाई देवलोक भन्ने विकसित देशमा लान्छ ।

त्यो बाटोको वर्णन पढ्दा लाग्छ—कुनै बेला नेपालको पहाडी डाँडा खोला तर्दै मुस्ताङजस्तो हिमाली भेक उक्लेर हिमालपारि हिँडे जस्तो लाग्छ । अर्को तल्लोबाटो दलाल मार्फत अमेरिका पस्ने बेलामा हिँड्ने युवा युवतीहरू दक्षिण अमेरिका र सेन्ट्रल अमेरिकाका घनघोर वन जङ्गलमा त्रस्त भएका युवायुवती जस्तै गरी हिँडालेर उसले चम्पालाई देवलोक (विकसित देश)को नाट्यशालाको ढोकामा पुराएर ऊ हराउँछ ।

बेचरी चम्पाकली गाउँकी मैलीधैली गनाउनेलाई उनीहरूले नुहाइ धुवाइ गरेर कोरीबाटी अत्याधुनिक साजसज्जाले सुन्दर देखिने बनाएर नृत्य सिकाउँछन् । ऊ एक्ली थिई । सहारा थिएन । त्यो नाट्यशालाकाले जे जे भन्छन् त्यही गरेर बाँच्ने बाटो गरी । प्रतिभाकी त धनी छँदैथिई । केही दिनमा नै ऊ नृत्यमा नाम कमाउछे । एक दिन त्यो नाट्यशालाको मालिक इन्द्रले भन्छ— चम्पाको नृत्यमा कमर भाँच्ने कलाले उरु भागमा बश गरेर दर्शकको आँखा तान्न सफल भएकीले चम्पा अब तिम्रो नाम चम्पा होइन उर्वशी हो । यो तिम्रो नाम हो, पद हो र तक्मा हो । उर्वशीलाई हौसला मिल्यो । केही समयमा ऊ अप्सरा गणकी नै नायिका भई । उसले भौतिक सुख सबै प्राप्त गरी तर ऊ स्वतन्त्र थिइन । जन्मभूमिको जस्तो नारी धर्म छोरी बन्नु, आमा बन्नु, पति, पत्नी प्रेमप्यारको लागि त्यहाँ कुनै ठाउँ थिएन । कालान्तरमा उसले निरस जीवनको अनुभव गर्न थालेकी थिई । अरू नर्तकी, अप्सरामा पनि यो वैभव र पीडा त थियो तर जन्मभूमि धर्तीको पराइदेशमा ममता कहाँ पाउने ? उर्वशीको यो मानसिक अवस्थामा नै उपन्यासकारले कथा प्रारम्भ गरेका छन् । योभन्दा माथिको कथा पछि फ्ल्यासब्याकमा उर्वशीले सासू इलासित भन्छे ।

उपन्यास यहाँबाट सुरु हुन्छ । एकदा मन्दाकिनी पार गरेर उर्वशी, सुनयना र सुकेशी डुल्दै मन्दाकिनीपारि गए । त्यो ऐल राज्यभित्र पर्दथ्र्यो । त्यहाँ अचानक पुरुरवासित भेट भो । प्रेम बस्यो भित्र, तर लाजले तत्काल प्रेम बाहिर देखाउन भएको थिएन । त्यो दिन उनीहरू आआफ्नो घर जान्छन् । इन्द्रको आज्ञाले बेलुकी उर्वशीले पाहुनालाई नृत्यप्रदर्शन गरी । त्यसो गर्दा पुरुरवा नै देखी र उतै लहसिन थाली । पाहुना राजा पुरुरवा हैन पुरुरवाका पिता बुध थिए । दुवै हमसकल भएकाले उर्वशी प्यारमा झुक्किएर नाचो बिग्रन गयो । इन्द्रले जेल हाले ।

बुध आफ्नो घर आएर रानी इलालाई त्यो घटना सुनाउँदै थिए । राजयक्ष्मा बेमारीले उनी खाँस्दाखाँस्दै बोल्नै सकेनन् । कुरा बाँकी रह्यो । यता पुरुरवाले त स्वर्गमा के भो उर्वशीको कुरा पनि आउँछ कि भनेर —चियोचर्चो गरेर सुनेका थिए तर कुरा सुन्न पाएनन् । पुरुरवाले उर्वशीलाई के भो भनेर बुधका अमात्य चन्द्रचूड जो बुधसित स्वर्ग गएका थिए । उनलाई एकान्तमा बोलाएर सबै घटना पत्ता लगाएर उर्वशी भगाई ल्याउन तत्काल घोडसबार भए ।

यौटा घोडा चढेर पहाड, नदीहरू सब काट्दै हिमालपारिको देवलोकको कैदमा पुगेर सुकेशीलाई उर्वशी जस्तै बनाई जेलमा छोडेर उर्वशी सुकेशीको भेषमा घोडामा चढाई भगाएर ल्याउँदा आफ्नो राज्यको पहाडमा भएको भूमेदेवीको मन्दिरमा गन्धर्व विवाह गरी त्यहाँका मुखियाको आशीर्वाद लिएर आफ्नो एल राजदरबारमा भित्राए ।

रहँदाबस्दा रानी इलालाई नाति देख्न मन लाग्यो । उर्वशी सङ्कोचमा थिई गन्धर्वविवाहले दरबारमा मान्यता पाउला कि नपाउला, ल्याइताको छोरो भनी छोरो राजकुमार नहुने हो कि ? फेरि गर्भवती नहुने टाटु अप्सरा कुमकुममा छ ? यी अव्यक्त छंदै इला एक मनोवेत्ता पनि भएकोले उनले सुनाइन् — यो गन्धर्वविवाह आर्यकहाँ चल्दैनथियो तर यो ऐले यो पर्वत एलम राज्यमा चल्छ । किनकि सोम ताराको विवाह गन्धर्व थियो । बुध र इलाको विवाह पनि गन्धर्व नै थियो । पुरुरवा र उर्वशीले पनि गन्धर्व विवाह गरे । यो सोम वंश हो । यहाँ गन्धर्वविवाह वैधानिक मानिन्छ ।

इलाले भनिन्— नाति देख्न मन लाग्यो । ऐलमलाई पनि उत्तराधिकारी राजकुमार चाहियो । उर्वशी अवाक् भई । उर्वशीको मनमा लाग्यो—ऊ त अप्सरा हो, उसको कुममा अझै अप्सराको कुममा लगाउने ‘निर्झरिणी’ टाटु खोपेको छ । यो छाप हो । यस्तीले बच्चा पाउन कहाँ हुन्छ ? पछि झगडा हुन्छ कि ?

एकदिन भेडा, भेडागोठालो र भेडीले बच्चा पाएको अनि त्यो बच्चालाई भेडीले माया गरी चाटेको उर्वशीले देखी । त्यहाँबाट उसको मातृहृदय द्रवित भयो । त्यो भेडी र पाठो पनि किनेर ल्याई, दरबारमा राखी । पशुले त छोराछोरीलाई यति माया गर्छभने हामी त मान्छे हौँ । इन्द्रको डरले बन्ध्या किन बस्ने ? यो कुराले उर्वशी पग्ली र पुरुरवाबाट पुत्र राजकुमार आयु जन्माई ।

आर्य र अनार्य देश, देवलोक र जनलोक, अविकसित देश र विकसित देशको सदा झगडा र मनमुटाव भैरहन्थ्यो । उर्वशी जस्ती उत्तम नर्तकी ऐल राज्यका राजकुमारले भगाएर लगेकोले इन्द्रलोक खिन्न थियो । तयारी गर्दागर्दै ४ वर्ष बितेपछि इन्द्रले युद्ध गरेर पनि उर्वशी फर्काएर स्वर्ग लगेर नाट्यशालाको शोभा फेरि बढाउने निर्णय गर्छ । इन्द्रदूत अभिजित सेना सहित एल राज्य घेरा हाल्न पुग्छन् र हाँक दिन्छन् कि उर्वशी फिर्ता देऊ नभए युद्ध गर, हामी जितेर लान्छौँ । अहिले अप्रिल, २०२६ मा ट्रम्फले इरानलाई धम्की दिए जस्तै हाँक ।

पुरुरवा निडर लडाकु थिए । लड्न तयार भए तर उर्वशीले सोची, भनी र गरी—देवराजको सेनाभन्दा हाम्रो सेना सानो छ । त्यसमा पनि मैले आत्मसमर्पण नगरेसम्म सुकेशी जेलबाट मुक्त नगर्ने रे । ऐलम राज्यलाई मैले राजकुमार दिएकी छु, मलाई केही दोष लाग्दैन । म आत्मसर्पण गरेर भए पनि सुकेशी जसले मेरो भेषमा आफू जेल बसेर उसको भेषमा मलाई पुरुरवासित भगाएर यत्रो सुख दिलाएकी हो, उसको भारा मैले तिर्नै पर्छ । गएर उसलाई जेलबाट छुटाउछु भन्दै सबैलाई सम्झाएर आत्मसमर्पण गरी अमरावती गएर सुकेशीलाई जेल मुक्त गर्छे । सुकेशी काम छोडेर नजिकै यौटा कुटीमा बस्छे ।

कालान्तरमा उर्वशीले पनि अब मेरो सेवा धेरै भो, म सेवानिवृत्त हुन चाहन्छु भनेर इन्द्रसँग भन्छे र आज्ञाले नै उर्वशी पनि सुकेशीको नजिकै अर्को पर्टकुटिर बनाएर बस्छे । दुवैको लक्ष्य अब भौतिक सुख हैन, आध्यात्मिक स्वर तालमा नर्तन, गायन गर्नेतिर लाग्दै गर्दा नृत्यबाट नै नटेश्वर प्राप्तिको लागि अगाडि बढ्छन् । नटेश्वरधाम कैलाश मानसरोवरतिर लाग्छन् । काजकिस्तानबाट इन्द्रलोक सेक्सफ्रि,नग्ननृत्यशालाहरूबाट पूर्र्वी पहाडी इलाका गन्धर्व देश हुदै कैलाश मान सरोवर आइपुग्छन् । नटेश्वर शिवशक्तिमा तादात्म्य खोज्दै शिखरमा पुगेपछि यौटा हिउको ग्लेसिएरमा लर्केर सुकेशी मानसरोवरमा समाहित हुन्छिन् । त्यो बेलामा उर्वशीले सुकेशीलाई हातमा समातेर तान्ने प्रयत्न गर्दा पुरुरवाका नाद उर्वशी! उर्वशी! स्वर तरङ्गिनमा आइरहेको हुन्छ । त्यो क्षणमा उर्वशी पनि सुकेशीसित नै शिवशक्ति रूप मानसरोवरमा लवलिन हुन्छिन् । पुरुरवाको उर्वशी! उर्वशी! स्वर गुँजिरहेको हुन्छ । आजकी हाम्री गाउकी चम्पाकलीको दुखको कथा देशविदेश, लोकपरलोक सबै भोगेर अन्तमा आफ्नै प्यारो जन्मभूमि कैलाश मानसरोवरमा आएर मुक्त हुन्छ ।

पात्रका तात्कालिक आवेगलाई लिएर कवि उपन्यासकार नाटककारले आआफ्नो तरिकाले व्याख्या प्रस्तुत गरेका छन् । यही कुरो वेदमा विज छ, पुराणमा केही बढाएको छ । यही कुरा रामधारीसिंह दिनकरले ‘उर्वशी’ गीति नृत्य महाकाव्य (हिन्दी) लेखे । त्यस्तै उर्वशीको अनुभावलाई सिद्धिचरण श्रेष्ठले अर्जुनसित लेखे । जो जसले जेलेखेको भएपनि प्रा.डा.देवीप्रसाद सुवेदीको यो ‘उर्वशी’ सबैभन्दा उत्तम लाग्यो मलाई । ‘उर्वशी’मा डा.देवीले ‘माधवी’ उपन्यास सम्पादनको अनुभव, ‘वाल्मीकि र व्यास’ तुलनात्मक अनुसन्धानात्मक वृहत् ग्रन्थको लेखन, ‘मनु’ उपन्यासको लेखनको अनुभव र आजीवन नेपाली भाषा साहित्यका अध्ययनअध्यापनमा पाएको अनुभव, स्वाध्ययनको सम्पूर्ण ज्ञान पोखेका छन् र पनि यो हृदयाल्हादकारी छ, मनोहारी छ र औपन्यासिक सौन्दर्यले सुसज्जित छ । ‘उर्वशी’लाई औपन्यासिक सौन्दर्य पोतेर पुनर्लेखन गर्न लेखक डा.देवी सफल भएका छन् ।

यसमा विविध वस्तु द्वैत, अद्वैत दर्शन, पूर्व र पश्चिमका दर्शन, आर्य अनार्यको इतिहास, नेपाल र नेपाली डायस्पोराको अध्ययन, भारत नेपाल तिब्बत र मध्यएसिया प्राचीन सँस्कृतिको अध्ययन, यो गद्यमा काव्यको अध्ययन आदि धेरै प्रकारले अध्ययन गर्न सकिन्छ । कुनै धुरन्धर विद्वान्ले यसमा विद्यावारिधि मात्र गरिदिए पनि पाठकले अगाध ज्ञानको अभिज्ञान पाउँथे ।

‘उर्वशी’ उपन्यासको सरसर्ती एक आवृत्ति पठन गर्न मात्र पाउनु पनि गौरवको कुरा हो । उपन्यासकारलाई धन्यवाद छ ।

सँस्थापक अध्यक्ष, अनेसास केन्द्र

कुरा छ । बुधले ऐल दरबारमा आएर उनकी रानी भद्रेसित र उर्वशीको घटना भन्न खोज्दा त्यो भन्न नपाउदै राजयक्ष्मा बेमारले अवाक् हुन्छन् । त्यो प्रसङ्ग उनीसित देवलोक गएको अमात्य चन्द्रचूडबाट पुरुरवाले सुन्छन् । उर्वशी बन्दी छे भन्ने यहाँ मर्त्यमा थाहा पाएपछि पुरुरवा उर्वशीलाई मुक्त गर्न देवलोक जान घोडा छान्न हिँड्छन् । लेखनकलाले देवलोक नेपालको नजिकै छ जस्तो अनुभूति गराउँछ । यसमा पात्र— इला, बुध, भद्रे, पुरुरवा, चन्द्रचूड, र मार्गचित्रज्ञाता सैनिक पृष्ठभूमिमा इला, बुध, र भद्रे छन् । सुकेशीले उर्वशी बनेर कैदमा बस्छे र उसका कपडा उर्वशीलाई लगाउन लगाएर छम्द भेषमा उसलाई पुरुरवा भएको ठाउँमा भाग्नको लागि पठाउँछे । सुकेशीको यो त्याग उल्लेखनीय छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.