साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

उपग्रह र अन्तरिक्ष

उपग्रह र अन्तरिक्ष

कुनै रकेटलाई १६० किलोमिटर माथि पठाइयो र त्यसको बाटो मोडिदियो भने त्यो केही समय पृथ्वीको सतहको समानान्तर हिँड्छ । पृथ्वीको सतह त गोलो हुन्छ र रकेट चाहिँ गोलाइको प्रभावबाट मुक्त भई अघि बढ्न थाल्छ ।

कुनै रकेट अति तीव्र गतिका साथ माथि पठाइयो र एक बिन्दुमा पुगेपछि उत्ति नै गतिका साथ तल झर्‍यो भने त्यो पृथ्वीमा झर्दैन । त्यो पृथ्वीको बाहिरी वातावरणमा नै अड्किन पुग्छ र पृथ्वीको वरिपरि घुम्न थाल्छ । यसलाई हामी पृथ्वीको यस्ता रकेटलाई स्याटेलाइट वा उपग्रह पनि भन्छौँ । चन्द्रमा पृथ्वीको प्राकृतिक उपग्रह हो । अनि पृथ्वीको कक्षमा घुम्ने रकेट चाहिँ मानवनिर्मित उपग्रह वा कृत्रिम उपग्रह हो ।

प्रख्यात वैज्ञानिक सर आइज्याक न्युटनले कृत्रिम उपग्रह पठाउन सकिन्छ, पृथ्वीको कक्षमा त्यसलाई हाल्नका लागि गति मिले पुग्छ भनी लेखेका थिए । कुनै उपग्रहलाई पृथ्वीको १६० किलोमिटरमाथि घुमाउनका लागि कम्तीमा पनि ८ किलोमिटर प्रतिसेकेन्डको गतिमा पठाउँदा भने सम्भव हुन्छ भन्ने पछि पुष्टि भयो ।

सन् १९५० सम्म अमेरिका र सोभियत सङ्घ दुवै देशले यति शक्तिशाली रकेट बनाएका थिए कि माथि भनिएको गतिमा रकेट पठाउन सक्थे । यो देखेर अमेरिका हौसियो र उसले सन् १९५५ मा अन्तरिक्षमा आफ्नो भूउपग्रह राख्ने घोषणा गर्‍यो । सोभियत सङ्घले पनि अमेरिकालगत्तै आफूले पनि आफ्नो भूउपग्रह पठाउने घोषणा गर्‍यो । धेरैलाई के पक्का थियो भने अमेरिका नै अन्तरिक्षमा पुग्ने पहिलो मुलुक हुनेछ । तर त्यस्तो भएन । सन् १९५७ अक्टोबर ४ मा सोभियत सङ्घले संसारको पहिलो मानवनिर्मित भूउपग्रह पृथ्वीको कक्षमा पुऱ्याएर इतिहास बनायो । यस उपग्रहको नाम स्पुतनिक थियो । त्यसैले पनि ४ अक्टोबर १९५७ लाई प्रायः 'अन्तरिक्ष युग'को शुरूवात मानिन्छ ।

यसपछि नै अमेरिकाले आफ्नो उपग्रह पनि अन्तरिक्षमा पुऱ्याइछाड्यो । ३१ जनवरी १९५८ मा भान ब्रानले पहिलो अमेरिकी उपग्रह अन्तरिक्षमा पठाए । यसपछि त मानौं उपग्रह पठाउने ठूलो होड नै चल्यो । सयौं उपग्रह पृथ्वीको कक्षमा स्थापित भए ।

यी उपग्रहले माथि बसेर के गर्छन् त ? तिनले पृथ्वीको स्थितिका बारेमा जानकारी बटुल्छन् । केहीले पृथ्वीको तस्बिर खिच्छन् । यसबाट वैज्ञानिकहरूले बादलहरूको बनावट र परिवर्तनबाट मौसमका बारेमा बढी जानकारी हासिल गर्न सक्षम भएका छन् । हिजोआज त यी उपग्रहका कारण ठूलो हावाहुरी, चक्रवात, आँधिका बारेमा पहिल्यै बुझ्न सकिने भएको छ ।

यति मात्र होइन, हिजोआज संसारका जुनसुकै घटनालाई क्षणमै भूउपग्रहमार्फत् प्रसारण हुने टेलिभिजन वा जस्तोसुकै प्रत्यक्ष प्रसारण हेर्न सक्छौं । उपग्रहले पृथ्वीको एउटा ठाउँको सन्देश लिने र अर्को ठाउँमा पुऱ्याउने कुरा अब सहज हुन थाल्यो ।

भूउपग्रहका कारण पृथ्वीको गुरुत्व बलको बेग्लाबेग्लै ठाउँका बारेमा बेग्लाबेग्लै सूचना सङ्कलन गर्न सहज हुन्छ । यसले पृथ्वीको वास्तविक आकार के हो, कस्तो छ भन्ने सूचना पनि पाउन सकिएको छ । संसारका जुनसुकै कुनाको नक्सा पनि सटिक रूपमा बनाउन सकिन्छ ।

यति बेला बेग्लाबेग्लै उद्देश्यका लागि बेग्लाबेग्लै उपग्रह स्थापित गरिएका छन् । तीमध्ये केहीले वायुमण्डलमा आउने अनौठा किरणहरूका बारेमा अध्ययन गर्छन् । पृथ्वीको बाहिरी वायुमण्डलसम्म आउने तर पृथ्वीको सतहसम्म नपुग्ने त्यस्ता किरणका बारेमा पृथ्वीलाई छुनुअघि नै अध्ययन गरिसकेका हुन्छन् । यसले अन्तरिक्षका बारेमा निकै धेरै जानकारी सङ्कलन भइसकेको छ । वैज्ञानिकहरूले संसारका बारेमा यति धेरै कुराको जानकारी बटुलिसकेका छन् कि ती कुरा यी उपग्रहविना असम्भव नै थियो ।

उदाहरणका लागि, केही उपग्रहले वायुमण्डलको चारैतिर रहेका परमाणु कणहरू छरिएको पत्ता लगाए । ती परमाणु कणहरूको अध्ययन गरियो । अध्ययन गर्दा के देखियो भने यस किसिमका कणहरू त पृथ्वीको चारैतिर छ । यो त एउटा बाक्लो तहजस्तै र पत्रजस्तै बनेर बसेको रहेछ । यिनै कणका तहलाई भान एलेन रेडिएसन भनिन्छ । यस्ता रेडिएसन सूर्य र अन्य ग्रहबाट लामो पुच्छरजस्तै गरी टाँसिएर आइरहेको पाउँदा वैज्ञानिकहरू चकित परेका थिए । वैज्ञानिकहरूले यस्ता चीज अस्तित्वमा रहलान् भन्ने सोचेका पनि थिएनन् ।

एउटा भूउपग्रहलाई अलि बढी तीव्र गतिका साथ पठाइयो भने त्यो पृथ्वीबाट निकै टाढा जान्छ भन्ने कुरा त तपाईंलाई थाहा छ किनभने पलायन गति अर्थात् इस्केप भेलोसिटी ११.२ किलोमिटर प्रतिसेकेन्ड हुन्छ ।

सन् १९५९ जनवरी २ मा सोभियत सङ्घले सोही किसिमको प्रयोग गर्‍यो । उसले ज्यादै तीव्र गतिमा भूउपग्रह छाड्यो र त्यो चन्द्रमाको छेउ हुँदै अघि बढेर कहिल्यै पनि पृथ्वीमा फर्केन । यसले सूर्यको कक्षमा प्रवेश गरेर चारैतिरको सूचना पठाउन थाल्यो । यसले चन्द्रमाको छेउको अन्तरिक्षका विशेषताहरूको अध्ययन गर्यो र रेडियो सङ्केत पठायो ।

यो पनि पहिलो 'खोजी यान' (प्रोब) थियो ।

सन् १९५९ को सेप्टेम्बर १२ मा रूसीहरूले अर्को एउटा खोजी यान यति सटीक निशाना लगाएर पठाए कि त्यो चन्द्रमामा पुग्यो । पृथ्वीबाट पठाइएको कुनै यान चन्द्रमा पुग्नु अद्भुत कुरा थियो । चन्द्रमामा पुग्ने यो पहिलो मानवनिर्मित वस्तु पनि थियो । यसैगरी सोही वर्षको अक्टोबरमा रूसी अनुसन्धान केन्द्रले चन्द्रमाको चारैतिर अध्ययन गर्न चारैतिर क्यामेरा जडित एउटा खोजीयान चन्द्रमाको चारैतिर घुम्नेगरी पठायो । त्यसले चन्द्रमाको पछाडिको भाग पनि खिचेर पृथ्वीमा पठायो । यसअघि चन्द्रमाको पछाडिको भाग कहिल्यै देखिएको थिएन ।

यसपछि त अमेरिकालाई मानौँ चुनौती नै भयो । त्यसपछि उसले पनि खोजीयान पठाउन शुरू गर्यो । तीमध्ये केही यान चन्द्रमाको चारैतिर घुम्न थाले । तिनले चन्द्रमाका हरेक भागका चित्र खिचे र नक्सा बनाउन थाले ।

खोजीयानलाई यसरी बनाइएको थियो कि ती चन्द्रमामा ठोक्किएर नष्ट नभई त्यहाँको सतहमा उत्रन सक्थे । त्यहाँको सतह नजिकै उत्रेर त्यहाँको रासायनिक बनावटको अध्ययन गर्न सक्थे । अमेरिका र सोभियत सङ्घ दुवै देशले यी कुरामा ध्यान दिए, तर यस कार्यमा अमेरिकाले तुलनात्मक रूपमा निकै राम्रो र विस्तृत परिणाम निकाल्यो ।

यसपछि पनि अन्य यान चन्द्रमाभन्दा परै जान थाले । अमेरिकाको खोजीयानहरूमध्ये केही त शुक्र ग्रह (भिनस) सम्म पुग्यो । त्यसबाट नै के थाहा भयो भने शुक्र ग्रह सोचेभन्दा तातो रहेछ । यस्तै यस्ता खोजी यानहरूले मङ्गल (मार्स) र बुध (मर्करी) ग्रहछेउ पुगेर नजिकबाट चित्र खिचेर यी ग्रहका विस्तृत नक्सा बनाउन सघाए ।

बुध ग्रह चन्द्रमाजस्तै देखिन्छ । मङ्गलको सतहमा चाहिँ चन्द्रमामा जस्तै खाडल देखिन्छ । केही ठाउँमा ज्वालामुखी र गहिरा खाँच पनि देखिन्छ । केही सङ्केत चाहिँ सुकेका नदीका अवशेषजस्ता पनि नदेखिएका होइनन् ।

केही अन्य खोजीयान चाहिँ बृहस्पति र शनि ग्रहभन्दा पनि उतै गएका छन् र सन् १९७० र ८० को दशकमा ती ग्रहका बारेमा बढीभन्दा बढी सूचना ल्याउला भन्ने अपेक्षामा वैज्ञानिकहरू लागिपरेका छन् । तिनले तिनका चन्द्रमाका तस्बिर पनि खिचे । चन्द्रमामा पनि ठूलाठूला खाडल देखिएका छन् । बृहस्पतिको उपग्रह क्यालिस्टो त पूरै हिउँले ढाकिएको छ भने कैयौं सक्रिय ज्वालामुखी रहेको अध्येताहरूको भनाइ छ ।

शनिको उपग्रह टाइटनको चारैतिर नाइट्रोजनको घना वायुमण्डल छ र शनिको चारैतिर जुन रिङ (चक्र) छ, त्यस रिङभित्र पनि कैयौं उपचक्रहरू छन् । ती उपचक्रहरूको समष्टिगत रूप नै त्यो बृहद् रिङ वा चक्र बनेको देखिएको हो ।

अमेरिकीहरूले खोज यानबाट जति सफलता हात पारे, त्यति रूसीहरूले हात पार्न सकेनन् । हुन त रूसी यान शुक्र ग्रहमा समेत उतारियो र त्यहाँ उनीहरूले शुक्रको तापमान र दबाब नापेका थिए ।

तर के अन्तरिक्ष र त्यसभन्दा पनि पर विभिन्न ग्रहमा जिउँदा मानिसहरूलाई पुऱ्याउन र ती ग्रहमा हिँडडुल गराउन सकिन्छ त ? हजारौं वर्षदेखि कथाकारहरूले आफ्ना कल्पना र राति हुँदो आगो ताप्दै बताइने कथामा जुन अन्तरिक्षको यात्रा गरेको सुनाइन्थ्यो, त्यसो गर्नु सम्भव थियो त ?

यसो गर्न नसकिने कुनै कारण थिएन । अमेरिका र सोभियत सङ्घले जनावरहरूलाई अन्तरिक्षमा पठाइसकेका थिए । सन् १९५७ नोभेम्बर ३ मा पठाइएको रूसी भूउपग्रहमा एउटा कुकुर पनि थियो । यो कुकुरलाई विष खुवाएर नमारूञ्जेलसम्म ज्यूँदो थियो । उसलाई कसैगरी पनि पृथ्वीमा फिर्ता ल्याउने तरिका त्यो बेला पत्ता लागेको थिएन ।

पछि त प्रविधिको यति धेरै विकास भयो कि जनावरहरूलाई अन्तरिक्षमा पुऱ्याउने र तिनलाई सकुशल पृथ्वीमा फिर्ता ल्याउन थालियो । अमेरिकाले सफलतापूर्वक एउटा चिम्पान्जीलाई अन्तरिक्षको कक्षमा पठाइयो र फिर्ता पनि ल्याइयो । यसपछि त मानिसलाई पनि अन्तरिक्षमा पठाउन सकिने र त्यहाँबाट ज्यूँदै फर्काउन सकिनेमा विश्वास हुन थाल्यो र सोहीअनुसारको तालिम दिन थालियो । अमेरिकामा अन्तरिक्षयात्रीलाई एस्ट्रोनट भनिन्छ भने सोभियत सङ्घमा कस्मोनट भनिन्छ ।

सोभियत सङ्घले पहिलोपटक मानिसलाई अन्तरिक्षमा पठायो । सन् १९६१ अप्रिल १२ मा अन्तरिक्षयात्री युरी गागरिन पृथ्वी छाडेर अन्तरिक्षमा पुगे । उनी पृथ्वीलाई चारैतिर हेरेर पुनः सुरक्षित फर्किए । उनीअन्तरिक्षमा पुग्नेमध्येका पहिलो मानिस थिए । यसको ठीक सात वर्षपछि एउटा वायु दुर्घटनामा परी उनको निधन भयो ।

यसपछिका अवधिमा अमेरिका र सोभियत सङ्घले उच्चस्तरका स्याटेलाइट पठाउन थाले । त्यस्तो उपग्रहमा दुई या तीन जना अन्तरिक्षयात्री जान सक्थे । सन् १९६२ जुन १६ मा पहिलोपटक महिला पनि अन्तरिक्षमा पुग्नेमध्येमा परिन् ।

यसपछि त अन्तरिक्षमा बढीभन्दा बढी समय बस्ने क्रम शुरू भयो । शुरूमा केही घण्टासम्म, त्यसपछि केही दिनसम्म, अनि फेरि हप्तौंसम्म अन्तरिक्षमा बस्ने क्रम शुरू भयो । सन् १९७५ मा तीन जना अमेरिकी अन्तरिक्षयात्री स्काइल्याब नामक अन्तरिक्ष स्टेसनमा पुगे । त्यस स्टेसनमा उनीहरू तीन महिनासम्म बसे र पुनः पृथ्वीमा सकुशल फर्किए ।

सन् १९६० को दशकमा भूउपग्रहहरू रकेटयानजस्तो बन्न थाले । ती यानहरू कक्षमा बस्ने मात्र नभई त्यसमा बसेका वैज्ञानिकहरूले तिनलाई चलाउन सक्थे । दुई उपग्रहलाई जोड्न सक्थे । एउटा यान छाडेर अर्कोमा बसी चलाउन, यात्रा गर्न सक्थे । उनीहरू अन्तरिक्ष पोशाक (स्पेस सुट) लगाएर यानबाहिर निस्की टहल्न पनि सक्थे र पुनः फर्केर आफ्नो यानमा छिर्न सक्थे ।

यस्ता प्रयोगमा रूसी वैज्ञानिकले भन्दा अमेरिकी वैज्ञानिकहरूले धेरै प्रगति हासिल गरे । अमेरिकीले 'अपोलो' रकेटको प्रयोगबाट सन् १९७० भन्दा पहिले नै चन्द्रमामा पुग्ने योजना बनाए ।

यो प्रयास बिना विपत्ती अघि बढेन । १९६७ जनवरी २७ मा तीन जना अमेरिकी अन्तरिक्षयात्री यात्रा गर्नुअघि नै परीक्षणका क्रममा यान आगो लागेर तत्काल मारिए । यसपछि त चन्द्रमामा पुग्ने सपना केही धुमिलजस्तो देखियो । रकेटमा आगो लाग्ने खतराबाट बचाउने अनेक किसिमका प्रयोग गर्न थालियो ।

रूसीहरूले पनि सोही किसिमको विपत्ति झेले । अप्रिल १९६७ मा अन्तरिक्षयात्री अन्तरिक्षको यात्राबाट फर्कँदा यानमा भएको गडबडीका कारण एक जनाले ज्यान गुमाउनुपर्‍यो ।

यद्यपि प्रयोगको सिलसिला जारी रह्यो, प्रयास रोकिएन । सन् १९६८ को डिसेम्बरमा एउटा अपोलो रकेटयान चन्द्रमा नजिक पुग्यो । चन्द्रमाको सतहभन्दा ११२ किमिमाथिबाटै १० पटक घुमेर पृथ्वीमा सुरक्षित रूपमा फर्कियो ।

यसैगरी जुलाई १९६९ मा अपोलो ११ रकेट चन्द्रमामा पठाइयो । यस यानमा तीन जना अन्तरिक्षयात्री थिए । एक जना चन्द्रमाको कक्षमा घुमिरहे । अन्य दुई जना भने एउटा यानमार्फत् चन्द्रमाको सतहमा सकुशल ओर्लिए ।

सन् १९६९ जुलाई २० मा चन्द्रमाको सतहमा पाउ राख्ने पहिलो व्यक्तिका रूपमा नील आर्मस्ट्रङले नाम लेखाए । उनले चन्द्रमाको धर्तीलाई छुन आफ्‌नो पाउ अघि बढाउँदा भनेका थिए, 'हुन त यो कदम मनुष्यका लागि सानो कदम हो, तर पूरै मानवताका लागि यो निकै ठूलो छलाङ हो ।'

यसपछि त अन्य पाँच अपोलो यान चन्द्रमामा पुगे । हरेकपटक चन्द्रमामा बढीभन्दा बढी समय बस्ने र त्यहाँ खोज वा विविध किसिमको प्रयोग गरियो । अनि हरेक यान चालकहरूका साथ सुरक्षित पृथ्वीमा फर्किए । उनीहरूले हरेकपटक चन्द्रमामा भएका चट्टान प्रमाण स्वरूप लिएर फर्किए ।

सोभियत सङ्घले चन्द्रमामा कुनै पनि मानवलाई पठाएन, बरु त्यसको साटो स्वचालित मेसिन पठायो र चन्द्रमामा भएका पदार्थहरूको नमूना ल्यायो । चन्द्रमामा उनीहरूले पठाएको स्वचालित कार कैयौं हप्तासम्म चन्द्रमाको भूमिमा हिँड्यो र महत्त्वपूर्ण सूचना पठाइरह्यो ।

सन् १९७२ को डिसेम्बर महिनामा अन्तिम अपोलो उडान भयो । अमेरिकाले त्यसपछि चन्द्रमामा रुचि लिन छाड्यो । यद्यपि अन्य अन्तरिक्षको खोजी भने जारी नै छ । हालसम्म अमेरिकाले चन्द्रमामा कसैलाई पठाउने योजना बुनेको छैन ।

उसो भए अब मानव अन्तरिक्षमा पुग्ने छैन ?

पुग्छ । प्रिन्स्टन विश्वविद्यालयका प्राध्यापक जेरार्ड डिफ्‌ओनिलले सन् १९७४ मा के सुझाव दिएका थिए भने मानिसले अन्तरिक्षमा बस्तीहरू बसाउन सक्छ । चन्द्रमामा खानीको खोज गरी त्यहाँका काँच र अन्य किसिमका धातु निकालेर चन्द्रमाको कक्षमा लैजाने र त्यहाँ बनाइने नयाँ बस्तीमा हजारौं र लाखौं मानिसहरू बस्न सक्छन् ।

ती बस्तीमा बस्ने मानिसहरूले विशाल उपकरण बनाउन सक्छन् र त्यहाँबाट सूर्यको ऊर्जालाई एकत्रित गरी पृथ्वीमा पठाउन सक्छन् । पृथ्वीमा सारा पेट्रोल र कोइला सकियो भने चन्द्रमाको कक्षबाट पृथ्वीमा पठाइने सौर्य ऊर्जाले पृथ्वीको ऊर्जासम्बन्धी कैयौं समस्या समाधान गर्न सक्छ ।

उसो भए अन्तरिक्षमा बस्ती बसाउने कुरा कत्तिको सहज छ त ? केही वैज्ञानिकहरू यसलाई सहज मान्दैनन् । उनीहरूका अनुसार यो व्यावहारिक पनि छैन ।

सन् १९८० को डिसेम्बर २९ मा अमेरिकाले बनाएको सटल कार्यक्रम र त्यस कार्यक्रमअन्तर्गत उडेको कोलम्बिया रकेट पृथ्वीवरिपरि घुम्यो र तल उत्रियो । बिना कुनै दुर्घटना एउटा हवाईजहाज जसरी नै उत्रिएको यो पहिलो विमान थियो । यसलाई दोहोऱ्याएर प्रयोग गर्न सकिने बनाइएको थियो ।

हिजोआज अन्तरिक्षमा विविध किसिमका भूउपग्रह उडिरहेका छन् । एक समय मानवजाति चन्द्रमातिर हेरेर डराउँथ्यो, अहिले चन्द्रमामा पाइला टेकिसकेपछि उसको महत्वाकाङ्क्षा अन्य ग्रहतिर सरेको छ ।

साझा गर्नुहोस्:
अच्युत कोइराला

लेखकको बारेमा

अच्युत कोइराला

थप रचनाहरू पढ्नुहोस् →

पेशाले पत्रकार अच्युत कोइराला अनुवादक पनि हुन् । उनी मूलतः विदेशी चर्चित व्यक्तिका जीवनी पढ्न र लेख्न रूचाउँछन् । उनका २ दर्जन अनुदित पुस्तक प्रकाशित छन् । हाल उनी नागरिक दैनिकमा जिल्ला ब्युरो प्रमुखका रूपमा कार्यरत छन् ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.