साहित्यपोस्ट डट कम

उखान सरोवरले जोगाएको नेपाली भाषिक मान

उखान सरोवरले जोगाएको नेपाली भाषिक मान

‘निर्देश परिमल’ नेपाली भाषा तथा लोकसाहित्यका अन्वेषक हुन् । उनले नेपाली भाषामा प्रयोग भएका उखान–तुक्कालाई सङ्कलन तथा खोजखाज गरी उखान सरोवर उखान–तुक्कासंग्रह नामक पुस्तक प्रकाशनमा ल्याएका छन् ।

नेपाली लोकसाहित्यमा लामो समयदेखि समाजमा परम्परित शैलीले प्रयोग हुँदै आएका उखान–तुक्का लोकसम्पदा पनि हुन् । यिनै कुरालाई जोगाउन परिमलले वर्तमान समयमा असामयिक, अप्रासङ्गिक र थोत्रा पुराना लाग्ने भए तापनि त्यस्ता उखानहरूको ऐतिहासिक महत्त्व र मोहलाई त्याग्न नसकी त्यसलाई घुइँक्याउनको सट्टा बरु त्यसलाई पनि यहाँ संरक्षणको अभिप्रायले संग्रहित गरेका छन् ।

आज काम नलाग्ने भनिएका त्यस्ता उखानहरू कुनै समयमा हाम्रा मुख–बोली–वचन र वाद–विवादहरूमा चिरसत्य वाणीसरह प्रयोग गरिन्थे, अर्ती र उपदेशका रूपमा लिइन्थे यसरी तिनले लोकमान्यता प्राप्त गरेका थिए भन्दै बज्यैले प्रयोग गरेका उखानको प्रयोगबाट प्रभावित भएर तत्कालीन कालखण्डका इतिहासको जीवित दसीका रूपमा संरक्षणका लागि यस संग्रहमा प्रस्तुत गरेका देखिन्छन् । संस्कृतको ‘आख्यान’ शब्दमा ‘उप’ उपसर्ग गाँसिएर उपाख्यान शब्द बनेको र त्यसैबाट विकसित हुँदै उखान शब्द भएको मानिन्छ । जीवन अनुभवका विविध पक्षलाई गहकिलो रूपमा प्रस्तुत गर्ने, नीतिनिर्देश गर्ने, शिक्षा दिने क्रममा दृष्टान्त र उपमाका रूपमा उखानहरू आएका हुन्छन् । उखानले लोकजीवनका विश्वास र मान्यता बोकेका हुन्छन् । उखान सबै भाषाहरूको अलङ्कार हो ।

नेपालीमा उखानलाई लोकोक्ति पनि भनिन्छ । अङ्ग्रेजीमा प्रोभर्व (Proverb) हिन्दीमा लोकोक्ति संस्कृतमा सुभाषित उर्दूमा जर्बुलमिल, थारुमा बटकही, गुजरातीमा उखाणु वा कहेवत नामले उखानलाई चिनिन्छ । नेपाली बृहत् शब्दकोशमा लोकको अनुभव सँगालिएको र संक्षेपमा व्यक्त गरिएको छ । त्यसै गरी सो शब्दकोशमा लोकजीवनका प्रचलित अनुभवपूर्ण चुड्किला, उक्ति, आहान, र कहावतलाई उखानका अर्थमा प्रस्तुत गरिएको छ त्यसै गरी अक्सफोर्ड एडभान्सड लर्नर्स डिक्सनरीमा यसलाई सल्लाह वा चेतावनीका शब्दमा व्यक्त गरिने जनप्रिय एवम् संक्षिप्त कथनका रूपमा पनि अर्थ्याइएको पाइन्छ । उखान टुक्का भनेका जनजीवनका हृदय कोशका रूपमा रहेका हुन्छन् र यिनीहरूको प्रयोग भाषाको अलङ्कार, ठाउँ, गुण र मौका हेरी जुन बेला पनि हुन्छ ।

लोकले प्रयोग गर्ने उक्ति लोकोक्ति भएकाले उखानको अर्थ लोकका जनसाधारणको उक्ति हो । जनसाधारण समुदायको अनुभव र विश्वासको अभिव्यक्ति उखानमा हुन्छ । उखान साधारण व्यक्तिका मुखबाट खिरिलो रूपमा स्वतः स्फूर्त प्रकट भएका हुन्छन् । उखान लोकसाहित्यको विधा नै भएकाले यसले छोटो मै परिपक्व अभिव्यक्ति दिएको हुन्छ । उखानमा सामाजिक, सांस्कृतिक पक्षको प्रतिबिम्ब पाइन्छ । भाषाको सुरुवातसँगै उखानको जन्म भएकाले यसले भाषालाई प्रभावकारी बनाउँदै अगि बढेको पाइन्छ । भाषाको उत्पत्ति सँगसँगै उखानको प्रचलन हुँदै आए तापनि यसको सैद्धान्तिक अध्ययन भने धेरै पछि मात्र भएको देखिन्छ ।

कुनै पनि जातिका भाषिका समुदायका विभिन्न व्यक्तिले पुस्तौं पुस्तादेखि साझा अनुभवका रूपमा सँगालेको आख्यान वा दृष्टान्तमूलक अभिव्यक्तिको सामान्यीकरण, हजारौं वर्षदेखि बोलचालमा आइरहने उखान मनुष्य जीवनको मुख्य साथी, वाक्य स्तरको संरचनामा हुने त्यस सूत्रात्मक अभिव्यक्तिका रूपमा उखानको अर्थको गहनता, व्यापकता र चमत्कार भने ज्यादै सशक्त र प्रभावकारी हुन्छ । उखानलाई लोकले खाारिएको खँदिलो अति प्रभावकारी गद्यात्मक अभिव्यक्ति तथा लोकमानसको सङ्क्षिप्त तथा लोकप्रिय उक्तिलाई उखान मानिएको पाइन्छ ।

विश्वका अन्य विभिन्न भाषा–साहित्यमा अघिदेखि नै उखानहरूमाथि विविध कार्यहरू सम्पन्न भइरहेका छन् । हाम्रो नेपाली साहित्यमा पनि धेरथोर यस प्रकारका कार्यहरू भइरहेकै देखिन्छ । धेरै विद्वानहरूले अघिदेखि यसमाथि काम गर्दै आएको कुराको प्रमाण उनीहरूका पुस्तकहरूको प्रकाशन थाहा पाउन सकिन्छ । उखानहरूमाथि गहन शोध अध्ययन गरेर हाम्रा साहित्यकारहरूले विद्यावारिधि समेत प्राप्त गरिसकेका छन् । यसैले लोकसाहित्यको जगेर्नाका लागि पनि साहित्यका ती सम्पूर्ण भाषामा उखानको मात्रै पनि अनेकौँ सङ्कलन, शोध अनुसन्धानका पुस्तकहरूको थोरै छपाइ र उचित बिक्री वितरणको अभाव रहेकाले पनि यस पुस्तक उपयोगी देखिन्छ । विश्वका अन्य विकसित साहित्यहरूमा एकै समय र एउटै विषयमा पनि अनेकौं पुस्तकहरू प्रकाशित भएको देखिन्छ ।

बङ्गला–हिन्दी र अन्य भाषा–साहित्यहरूमा पनि अनेकौं यस्ता पुस्तकहरू प्रकाशित भइरहेका छन् । नेपाली भाषा–साहित्यमा पनि एकै विषयमा लेखिएका अनेकौं पुस्तकहरू प्रकाशित हुनुपर्छ र भाषा साहित्यलाई संरक्षण गरी आउने पुस्ताका लागि संरक्षितका हेतुले प्रकाशित यस पुस्तक महत्त्वपूर्ण रहेको देखिन्छ ।

जे होस् यी उखानहरू हाम्रा धन हुन्, धरोहर हुन् यसको संरक्षण र संवर्द्धन गर्नु र निरन्तर प्रचलनमा ल्याउने कार्यमा परिमलले आफ्नो कर्तव्य सम्झेर सह्रानीय कार्य गरेकाले उनी बधाइका पात्र हुन् । निश्चय पनि उखान लोकजीवनको खाँदिलो उद्गार हो । उखानले कथनलाई मीठो र सामान्य भनाइलाई विशिष्ट बनाउने काम गर्दछ र भनाइलाई व्यञ्जनात्मक बनाउँदछ । भाषिक व्यवहारमा उखानले छोटो मै परिपक्व व्यवहारको अभिव्यक्ति दिने, गहकिला अनुभव व्यक्त गर्ने, सामाजिक, सांस्कृतिक प्रतिबिम्ब व्यक्त गर्ने हुनाले यसको भाषिक व्यवहारमा महत्त्वपूर्ण स्थान रहेको छ । अनुभवको अभिव्यक्ति प्रक्रियाको सुरुवातसँगै भाषाको विकास हुन थालेपछि त्यसलाई अझ चम्किलो र परिपक्व रूपमा प्रस्तुत गर्ने प्रयास स्वरूप उखानको जन्म भएको हो भन्न सकिन्छ । उखानले भाषालाई प्रभावकारी बनाउँदै अगाडि बढाइरहेको छ ।

नेपाली समाजमा प्रचलित नेपाली लोकसाहित्यमा आफ्नो विशिष्टता बोकेको उखान–तुक्कासंग्रहमा संस्कृतका सूक्तिसहित स्वर वर्णका अ, आ देखि व्यञ्जन वर्णका अक्षरका सूचीबद्ध उखान–तुक्काले भाषा साहित्यको क्षेत्रमा समेत विशेष भूमिका निर्वाह गर्दछ र पुस्तक निकै उपयोगी रहेकाले निर्देश परिमलको यस शुभ कार्यलाई शुभेच्छा दिँदै कृतिको लागि शुभकामना ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.