अमेरिकाको सानफ्रान्सिस्कोमा बसोबास गर्दै आउनुभएकाे गीतकार राखी गौचनको नयाँ गीत ‘ऐना सरी’ सार्वजनिक भएको छ ।
गायक उदय सोताङको स्वर रहेको गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो । नेपाली सुगम सङ्गीतका श्रोता–दर्शकलाई लक्षित गरी निर्माण गरिएको उक्त गीतले सार्वजनिक भएलगत्तै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको गीतकार गौचनले बताउनुभयो ।
शंकर थापा ‘स्माइल’को सङ्गीत रहेको गीतमा आकर्षक दृश्य प्रस्तुति र भावनात्मक अभिव्यक्तिको संयोजन गरिएको छ । म्युजिक भिडियोमा अभिनेत्री करिश्मा मानन्धरले मुख्य मोडलका रूपमा अभिनय गर्नुभएको छ ।
गीतकार गौचनको काव्यिक संवेदना र भावनात्मक अभिव्यक्तिलाई करिश्मा मानन्धरको सजीव अभिनयले प्रभावकारी रूपमा प्रस्तुत गरेको देखिन्छ ।
दुई दशकदेखि गीतलेखनमा सक्रिय गौचनले नेपाली सुगम सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ । यसअघि उहाँका ‘परिभाषा’ र ‘जानी नजानी’ एल्बम सार्वजनिक भइसकेका छन् ।
नेसनल पावर न्युज म्युजिक अवार्ड–२०२० बाट उत्कृष्ट गीतकार सम्मान प्राप्त गौचनका शब्दमा नेपाली सङ्गीत क्षेत्रका विभिन्न चर्चित गायक–गायिकाले स्वर दिएका छन् । उहाँका ‘हे मन’ र ‘नामविना कति नाता’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन् ।
गीतलेखनसँगै कविता सिर्जनामा पनि सक्रिय गौचनको ‘प्रमिथियसको फिलिङ्गो’ कवितासङ्ग्रह सन् २०२२ मा प्रकाशित भएको थियो । स्वदेश तथा विदेशमा रहेका नेपाली पाठक र श्रोतासँग भावनात्मक सम्बन्ध कायम राख्न आफूले गीत र कवितामार्फत निरन्तर सिर्जना गरिरहेको उहाँले बताउनुभयो ।

