दुबई। अक्षरहरूको आवाज स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबली युएईले आफ्नो २८औँ शृङ्खला कार्यक्रम सम्पन्न गरेको छ। युएईमा छरिएर रहेका दुई दर्जनभन्दा बढी नेपाली स्रष्टाहरूको प्रत्यक्ष उपस्थितिमा रचना वाचन, पुस्तक विमोचन तथा चियापानसहितको कार्यक्रम सम्पन्न भएको हो।
दुबईको अल कुद्रास्थित लभ लेक पार्कमा आयोजित कार्यक्रममा डबलीका संयोजक तथा कार्यक्रमका सभापति जे. सागर, नेपाल सरकारका पर्यटन प्रवर्द्धन दूत युएईका प्रमुख मनोज नेपाल, सिन्धुपाल्चोक सेवा समाजका अध्यक्ष सुवास न्यौपाने, श्रमिक सञ्जालका प्रतिनिधि शंकरप्रसाद बस्याल, इन्सका अध्यक्ष मेघप्रसाद धमला तथा साहित्यपोष्ट युएई संयोजक राज यात्री लम्साल श्रोता रहनुभएको थियो।
कार्यक्रमको सभापतित्व गर्दै जे. सागरले स्वागत मन्तव्य दिँदै डबली औपचारिक संस्था नभए पनि युएईमा रहेका साहित्यिक मनहरूको साझा चौतारी भएको उल्लेख गर्नुभयो। उहाँले विशेष गरी युएईमै रहेर कलम चलाइरहेका नवस्रष्टाहरूका लागि डबली महत्वपूर्ण प्लेटफर्म बनेको बताउँदै २८औँ शृङ्खलालाई केही फरक बनाउने उद्देश्यले प्रकृतिसँग नजिक रही पहिलोपटक रात्रीकालीन मुशायरा आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा सुरज गैह्रे (विवश) द्वारा लिखित उपन्यास ‘जेठो छोरो’, कवि चन्द्र सम्हाम्फेको कविता सङ्ग्रह ‘पहाडको पैताला’ र श्रमिक सञ्जालद्वारा प्रकाशित कृति ‘पुरानो पन्ना’ गरी तीन पुस्तकको संयुक्त रूपमा विमोचन गरिएको थियो। उपन्यास ‘जेठो छोरो’बारे लेखक सुरज गैह्रेले “यो एउटा जीवन मात्र होइन, एउटा युगको प्रतिबिम्ब हो” भन्दै कृतिको भावभूमिबारे प्रकाश पार्नुभयो।
सिर्जना वाचन कार्यक्रममा सन्ध्या सुस्केरा, भीम बेलबासे, शंकर बस्याल, नकुल पौडेल, एकराज थापा, हरी पराजुली, राज यात्री लम्साल, जे. सागर, अभि तिवारी, मदन शाही, लोकेन्द्र क्षेत्री ‘यात्री’, सुरज गैह्रे, लोकराज भुषाल, प्रेम गौतम, हरीहर कँडेल, श्री भवानी नेपाल, डिएल घिमिरे, मेघप्रसाद धमला, कान्छो भुपेन्द्र आचार्यलगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन कवि तथा गजलकार श्री भवानी नेपाल र कवि डिएल घिमिरेले संयुक्त रूपमा गर्नुभएको थियो। स्थानीय समय अनुसार राति ९:३० बजे सुरु भएको कार्यक्रम बिहान ३:३० बजेसम्म चलेको थियो।

