साहित्यपोस्ट डट कम

त्रिभुवनचन्द्र वाग्ले साहित्यपोस्टको सल्लाहकार सम्पादक नियुक्त

त्रिभुवनचन्द्र वाग्ले साहित्यपोस्टको सल्लाहकार सम्पादक नियुक्त

लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय त्रिभुवनचन्द्र वाग्ले ‘साहित्यपोस्ट’को सल्लाहकार सम्पादक नियुक्त हुनुभएको छ । साहित्यिक मासिक ‘मधुपर्क’को सम्पादकका रूपमा काम गरिसक्नुभएका वाग्लेलाई साहित्यपोस्टले सम्पादन-मण्डलमा भित्र्याएको हो ।

समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर वाग्ले विगत तीन दशकभन्दा लामो समयदेखि नेपाली वाङ्मयको श्रीवृद्धिमा संलग्न हुनुहुन्छ ।

साहित्यिक पत्रकारितामा विशेष दख्खल राख्ने वाग्ले वि.सं. २०७९ देखि २०८१ सम्म गोरखापत्र संस्थानको प्रतिष्ठित साहित्यिक मासिक ‘मधुपर्क’को सम्पादकका रूपमा कार्यरत रहनुभयो । उहाँका फुटकर रचनाहरू गोरखापत्र, कान्तिपुर, गरिमा, मधुपर्क, युवामञ्च लगायतका राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

“त्रिभुवनचन्द्र वाग्ले जस्तो साहित्यिक पत्रकारिताका सिद्धहस्त व्यक्ति सल्लाहकार सम्पादकका रूपमा पाउनु हाम्रा लागि गौरवको कुरा हो ।”, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो, “साहित्यपोस्टले वाग्लेको बौद्धिक व्यक्तित्व र लामो सम्पादकीय अनुभवलाई संस्थाको नीतिगत र गुणस्तरीय सामग्री निर्माण तथा सम्प्रेषणमा सदुपयोग गर्ने छ ।”

वि.सं. २०३६ सालदेखि नै गीत र कवितामार्फत बहुदलको पक्षमा जनचेतना फैलाउन सक्रिय वाग्लेको पहिलो रचना वि.सं. २०४५ मा ‘प्रकृति आफैँ प्राकृतिक जीवन्त हुन्छ’ शीर्षकको कविता प्रकाशित भएको थियो । त्यसयता उहाँका ‘नेपालको विकासमा दलित’ (२०६१), ‘दलित स्रष्टा र प्रतिभा’ (२०६७), ‘अकीर्ण आँखा’ (कवितासङ्ग्रह, २०७३), ‘दोभानमा उभिएर’ (कवितासङ्ग्रह, २०७५), ‘अबिर’ (उपन्यास, २०७५) र ‘राष्ट्र निर्माणमा दलित’ (२०८०) लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँले करीब तीन दर्जन पुस्तकको सम्पादन समेत गर्नुभएको छ ।

वाग्लेको योगदानलाई कदर गर्दै नेपाल सरकारबाट ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’ (२०७६) प्रदान गरिएको छ । त्यसैगरी, उहाँले ‘नइ कीर्ति रत्न आभूषण’, ‘पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान’, ‘भोग्य-सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार’ र नेपाल प्रहरीद्वारा प्रदान गरिने ‘वर्ष सर्वोत्कृष्ट सर्जक’ लगायत दर्जनौँ सम्मान तथा पुरस्कारहरू प्राप्त गर्नुभएको छ ।

साहित्यिक आबद्धताका दृष्टिले उहाँ नेपाल स्रष्टा समाजका विशिष्ट आजीवन सदस्य, भानु प्रतिष्ठानका केन्द्रीय सदस्य तथा छहरा साहित्य प्रतिष्ठानका संस्थापक उपाध्यक्ष हुनुहुन्छ । उहाँ मानव अधिकार तथा शान्ति समाजमा समेत आबद्ध रहनुभएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.