नेपाली लघुकथा क्षेत्रमा अहिले दुईवटा प्रश्न उठिरहेका छन् । के ‘लघुकथा’ भनेर लेखिएका लघुआख्यान लघुकथा नै हुन् ? के अचेल लेखिएका लघुकथाहरूको गुणस्तर खस्केको हो ? दुवै प्रश्नको उत्तर खोज्न कहाँ जाने ? किनभने यी प्रश्नहरूको उत्तर दिने आधिकारिक संस्था छैन । यहाँले लेखेको ‘लघुकथा’ लघुकथा नै होइन भनिदियो भने सर्जकलाई कस्तो अनुभूति होला ? सिर्जनात्मक क्षमतामाथि प्रहार भएको अनुभव हुनसक्छ । यसले गर्दा लघुकथा लेखनमा देखिएको उत्साह पनि कम हुनसक्छ । विविध कारणले यस्तो अवस्थाको सिर्जना हुने भए पनि प्रश्न उठीसकेपछि के यथास्थिति मै छोड्न उपयुक्त होला त ? पक्कै पनि हुँदैन । त्यसैले यसको निराकरणका लागि उपर्युक्त स्थिति किन आएको हो र यसका केही उपाय छन् कि छैनन् भन्ने खोजिनीति गर्दै लघुकथा लेखनका लागि एक फरक सैद्धान्तिक अवधारणा यस आलेखमा प्रस्तुत गरिएको छ ।
सबभन्दा पहिले अलघुकथालाई पनि लघुकथा हो भन्ने स्थिति कसरी आयो भन्ने बारे ऐतिहासिक खोजिनीति गरौँ । लघुकथा लेखनको विकासक्रम हेर्दा पचासको दशकअघि लघुकथा रचना सम्बन्धी खाका नै तयार थिएन । त्यस बेलासम्म सर्जकले लघुआख्यानलाई या त लघुकथा ठाने अथवा छोटाकथा । उदाहरणका लागि पूर्णप्रसाद ब्राह्मणले २००७ मा प्रकाशन गरेको ‘झिल्का’ सङ्ग्रहलाई छोटाकथासङ्ग्रह भनेर प्रकाशन गरेको पाइएको छ । विद्वानहरूको मतानुसार त्यस बेलाका लघुआख्यानहरू विशुद्ध लघुकथा शैलीमा नभएर नजिकको बान्कीमा संरचित भएका भन्ने भनाइअनुसार सबै लघुआख्यानहरूलाई लघुकथा भनिएको हुन सक्छ । वि.सं. २०५३ मा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले झापामा आयोजना गरेको लघुकथा गोष्ठीमा प्रस्तुत भएको कार्यपत्र नै लघुकथा रचना सम्बन्धी पहिलो सैद्धान्तिक अवधारणा हो । त्यसपछि साठीको मध्यतिर लघुकथा रचना गर्नका लागि सैद्धान्तिक कृति प्रकाशन भयो । त्यस कालसम्म आइपुग्दा छोटो आख्यान भएपछि लघुकथा बनिहाल्छ भन्ने आम धारणा बनिसकेको थियो, जुन अहिले पनि व्याप्त छ । तथापि त्यस कालमा पनि अहिलेको मानक भित्र पर्ने केही उत्कृष्ट र कालजयी लघुकथा पनि सिर्जना भएका थिए भन्ने यथार्थ अस्वीकार गर्ने ठाउँ छैन ।
साठीको दशकपछि लघुकथाका बारेमा शोध, खोज, समीक्षा, समालोचना हुन थाले । लघुकथा लेखनको विकास हुँदै गर्दा एउटा कुरा के प्रष्ट भयो भने छोटोआख्यान लेख्दैमा लघुकथा बन्दैन र लघुकथा लेखन केही हदसम्म प्राविधिक छ । प्राविधिक हुनु नै लघुकथाको वैशिष्ट्य हो । लघुकथा लेखन प्राविधिक हुनको कारण के हो भने लघुकथा बन्नका लागि केही शर्तहरू पूरा हुनुपर्छ । यस्ता मुख्य शर्तहरू हुन् – सङ्क्षिप्त हुनुपर्ने अर्थात् गागरमा सागर अटाउनुपर्ने; लघुकथा पढिसकेपछि पाठकको मन मस्तिष्कमा झन्कार अथवा झनझनाहट पैदा हुनुपर्ने; क्षणिक घटना अथवा प्रसङ्गको कथनले विशाल आयामलाई ध्वनित गरेको हुनुपर्ने; र लघुकथाको कालखण्डको फेरो छोटो हुनुपर्ने अर्थात् कालखण्ड दोषमुक्त हुनुपर्ने । यी सबै शर्तहरू पुरा भएमा मात्र लघुकथा बन्छ ।
आजको समयसम्म आइपुग्दा लघुकथाले नेपाली साहित्य फाँटमा फड्को मारिसकेको छ । फलस्वरूप लघुकथा लेखक र पाठकको एक लोकप्रिय विधा बन्न गएको छ । अहिले लघुकथाको मूल नै फुटेको जस्तो अवस्था छ । यति हुँदाहुँदै पनि लघुकथाका पुराना र नयाँ लेखकहरू अलमलमा छन् । किनभने आफूले लघुकथा भनेर लेखेको लघुआख्यान लघुकथा विधाभित्र पर्छ कि पर्दैन भन्ने दृढता उनीहरूमा छैन । यसको सिधा असर लघुकथाको गुणस्तरमा परिरहेको छ । किन यस्तो भैरहेको छ भन्ने खोजिनीति गर्न सिद्धान्तका कृति, लेख, समीक्षा, समालोचनाहरूको अध्ययन गर्दा विद्वानका विचारहरूमा मैतक्य भेटिँदैन । यो नै लघुकथा लेखक र पाठकलाई अल्मल्याउने मुख्य कारक हो ।
एकातिर, लघुकथा र कथाको संरचना र रूपविन्यास उस्तै भएकाले लघुकथा कथाको एउटा प्रविधा हो र लघुकथा कथाको खुम्च्याइएको रूप मात्र हो भन्ने अध्येताहरू छन् । अर्कोतिर, लघुकथा आख्यानको छुट्टै र स्वतन्त्र विधा हो भन्ने अध्येताहरूको ठूलो जमात छ । उनीहरूका विचारमा जसरी उपन्यासको कुनै अंशलाई मात्र कथा भन्न सकिँदैन, त्यसरी नै कथाको अंशलाई मात्र पनि लघुकथा भन्न सकिँदैन । संरचनात्मक आयामका दृष्टिले आख्यानको लघुत्तम संरचना लघुकथा हो । लघु संरचना कथा हो र वृहत् संरचना उपन्यास हो । त्यसैले पनि लघुकथा कथाको प्रविधा हैन । कथाका प्रविधाहरू लामोकथा, कथा र छोटाकथा मात्र हुन् । लघुकथा स्वतन्त्र विधा हो भन्ने विषयलाई अनुसन्धान गर्दै जाँदा नेपाली साहित्यका मात्र नभएर विश्व साहित्यका अध्येता, विद्वान, साहित्यकारहरू लघुकथा आख्यानको एक स्वतन्त्र विधा हो र कथा भन्दा फरक छ भन्ने कुरा स्थापित गर्न कम्मर कसेका छन् । मेरो विचारमा लघुकथा साउने झरी हैन चट्याङ हो । त्यसैले संरचना र रूपविन्यासका हिसाबले पनि लघुकथा कथा भन्दा फरक छ ।
अहिलेसम्म लघुकथाको संरचनात्मक सैद्धान्तिक आधार के हो भनी लघुकथाको सैद्धान्तिक व्याख्या, विश्लेषण र विधानका बारेमा प्रकाशित कृति र लेखहरूमा खोज्दा पारम्परिक कथा संरचनाको सैद्धान्तिक अवधारणालाई नै अगाडि सारिएको छ । त्यो भनेको कथाका संरचनात्मक तत्त्वहरू (विषयवस्तु, उद्देश्य, कथानक, पात्र, परिवेश, दृष्टिविन्दु, भाषा र शैली) का आधारमा लघुकथाको व्याख्या विश्लेषण गर्नु हो । त्यसपछि लघुकथाका अभिलक्षणहरूलाई केलाएर कथा र लघुकथामा विशेषताका आधारमा फरक देखाउनु हो । यसरी लघुकथाको व्याख्या विश्लेषण हुने भएका कारणले पनि लघुकथालाई कथाको प्रविधा मान्ने अध्येताहरू पाइनु अनौठो होइन । यसैका कारणले लघुकथाको सिद्धान्तका बारेमा जान्न खोज्ने अध्येता र पाठकलाई कथा र लघुकथामा फरक छुट्याउन अलमल भएको देखिन्छ ।
यस्तो अवस्थामा पारम्परिक रूपमा पाइने लघुकथाको सैद्धान्तिक विश्लेषणलाई नयाँ ढङ्गबाट हेर्न आवश्यक भइसकेको छ । यो आलेखमा त्यही नयाँ ढङ्गको सैद्धान्तिक अवधारणा प्रस्तुत गरिएको छ । यो अवधारणा लघुकथाका अभिलक्षणहरूका आधारमा गरिएको छ । लघुकथालाई सैद्धान्तिक विश्लेषणको कसीमा राख्दा लघुकथाको निर्माण तीनवटा सैद्धान्तिक आधारस्तम्भहरूको आधारमा हुन्छ । यी तीनवटा आधारस्तम्भहरू हुन् : (१) लघुत्व, (२) क्षणिकता र (३) प्रभावकारिता । यी तीन आधारस्तम्भहरुमध्ये कुनै एक आधारस्तम्भ नभएमा अथवा कमजोर भएमा या त लघुकथा नै बन्दैन अथवा बनिहाले पनि प्रभावहीन हुन जान्छ । सामान्य अर्थमा लघुत्व स्थान वा क्षेत्रको आयामसँग सम्बन्धित छ, जुन लघुकथाको स्वरूपसँग सम्बन्धित छ । क्षणिकता लघुकथाले चर्चेको सामयिक आयाम अथवा कालसँग सम्बन्धित छ । प्रभावकारिता पाठकको मनमा पर्ने छाप र मानवीय संवेदनासँग सम्बन्धित छ, जसले भाव क्षेत्रको आयाम ओगट्छ । यसैले लघुकथाका यी तीनवटा आधारस्तम्भहरूलाई त्रिआयामिक सिद्धान्तका आधारहरूका रूपमा लिन सकिन्छ ।
माथि भनिएअनुसार कथाको सैद्धान्तिक विश्लेषण स्वरूप (संरचना र रूप विन्यास) का आधारमा गरिन्छ । लघुकथाको त्रिआयामिक सिद्धान्तमा स्वरूपले एउटा मात्र आयामिक आधारस्तम्भलाई समेट्दछ । कथा सिद्धान्तले लघुकथाका बाँकी दुई आयामिक आधारस्तम्भहरूलाई न समेट्ने भएकाले लघुकथाका लागि त्रिआयामिक सैद्धान्तिक अवधारणा प्रतिपादन गर्नु परेको हो । कथा विधाको सैद्धान्तिक अवधारणामा जति स्वरूपलाई महत्त्व दिइन्छ, त्यति क्षणिकतालाई दिइँदैन । किनभने कथामा क्षणिकताको अस्तित्व नै हुँदैन । त्यसैले क्षणिकता लघुकथालाई कथाबाट छुट्याउने कडीका रूपमा लिनु पर्दछ । पूर्व उल्लिखित प्रमाणहरूको व्याख्याले पनि लघुकथा सैद्धान्तिक रूपमा कथाभन्दा फरक छ ।
लघुकथाका त्रिआयामिक आधारस्तम्भहरुले लघुकथा र कथालाई कसरी छुट्याउँछन् त ? यसको उत्तर खोज्न लघुकथाका प्रत्येक आधारस्तम्भको लेखाजोखा गर्नु पर्छ ।
(१) लघुत्वले लघुकथाको क्षेत्र वा स्थानको आयाम वा फैलावटलाई जनाउँछ । आख्यानमा क्षेत्र वा स्थानको फैलावट शब्दले नापिन्छ ।त्यसैले लघुकथाको आयाम छोटो हुनुपर्छ भन्नुको तात्पर्य थोरै शब्दमा आख्यान पूर्ण बन्नु पर्छ भन्ने हो । थोरै शब्दमा धेरै कुरा भन्नु हो । अर्को अर्थमा भन्नु पर्दा लघुत्वलाई अङ्गीकार गरेर सङ्क्षिप्तताभित्र व्यापकता पाइनु नै लघुकथामा पाइने प्रमुख पक्ष हो । लघुकथालाई संक्षिप्त बनाउन सानो तर गहन अर्थ बोकेको विषयवस्तु हुनुपर्छ । त्यस्तै क्षणभरको घटना वा विचारबाट सङ्क्षिप्त कथानक बुन्नुपर्छ । त्यसका लागि सुक्ष्म परिवेश र न्यून पात्रहरूको सहभागिता हुनुपर्छ ।यसका साथै उद्देश्य पनि एकोन्मुखी हुनुपर्छ । कथानक संक्षिप्त बनाउँदा लघुकथाको संरचनाका तीनवटा तह (आरम्भ, विकास र अन्त्य) पार गरे पुग्छ । तर कथा संरचना गर्दा पाँचवटा तह (आरम्भ, संघर्षविकास, उत्कर्ष, अपकर्ष र अन्त्य) पार गर्नुपर्छ । यसले लघुकथा संरचनात्मक रूपले कथा भन्दा फरक छ भनेर देखाउँछ ।
(२) प्रभावकारिता भनेको लघुकथाका माध्यमबाट उत्पन्न हुने प्रतिध्वान्यात्मकता हो । झट्का हो । भावको विष्फोटन हो । लघुकथाको प्रभावकारितालाई उचाइमा पुर्याउने आवश्यक अभिलक्षणहरु हुन् — व्यङ्ग्यात्मकता, साङ्केतिकता, तीक्ष्णता (खिरिलो पन), कथानकका अङ्गहरुको समुचित व्यवस्थापन (आकस्मिक उठान, तुरून्त विकास सहित उत्कर्ष र प्रतिध्वन्यात्मकता सहितको अनपेक्षित अन्त्य), भिल्का/झट्काहरु र विम्ब र प्रतीक सहितको कलात्मक शिल्प (भाषा र शैली) ।
(३) क्षणिकता घटना घटेको समयसँग सम्बन्धित छ । घटना कहिले घटेको हो भनी प्रश्न गर्दा लघुकथामा आएको घटना तत्क्षणमा घटेको हुनुपर्छ । यही ‘तत्क्षण’ को सामयिक आयामलाई क्षणिकता भनिएको हो । क्षणिकताका लागि आवश्यक गुणहरु हुन् — अत्यन्त छोटो र अविच्छिन्न सामयिक आयाम (कालखण्ड दोषमुक्त) र कथनको गति (तीव्र वहाव) । फरक समयमा घटेका घटनाहरू समेटेर सिर्जित लघुकथामा कालखण्ड दोष लाग्दछ । कालखण्ड दोषयुक्त लघुकथालाई छोटाकथा भन्न उपयुक्त हुन्छ ।
यसरी लघुकथाका तीन आधारस्तम्भहरुले आख्यानको स्वरूप पनि समेट्छन् र लघुकथालाई कथाभन्दा फरक पनि देखाउँछन् । आख्यानको परम्परिक स्वरूपले भन्दा त्रिआयामिक अवधारणाअनुसार लघुकथाको सैद्धान्तिक विश्लेषण गरियो भने लघुकथाको गुणस्तर बढ्छ र मानक लघुकथा बनाउन सहयोग गर्छ ।
निष्कर्षमा, लघुकथा आख्यानको एक स्वतन्त्र विधा हो । कथा जस्तै आख्यानमा हुनुपर्ने संरचनात्मक गुण लघुकथामा पनि हुन सक्छन् तर लघुकथा कथाको खुम्च्याइएको रूप हैन । लघुकथा र कथामा संरचनात्मक र रूप विन्यासमा हुनेफरक प्रष्टसँग बुझाउन त्रिआयामिक सिद्धान्तको प्रतिपादन गरी यसको विश्लेषण गरिएको छ । लघुत्व, क्षणिकता र प्रभावकारिता लघुकथाका त्रिआयामिक सिद्धान्तका आधारस्तम्भहरू हुन् । यस त्रिआयामिक सिद्धान्तका आधारमा लघुकथाको रचना गर्दा गुणस्तरीय लघुकथा बन्न जानेछ ।
= = =
सन्दर्भ सामग्रीहरू
अर्याल, लक्षमण (२०७८). लघुकथा विमर्शन. चितवन: वाल्मीकि साहित्य सदन ।
अश्क, गोपाल (२०८०). लघुकथा: प्रक्रिया र पाठ (दोस्रो संस्करण). चितवन: आधुनिक लघुकथा मञ्च ।
गौतम, कुसुमाकर शर्मा (२०८२). लघुकथामा कालखण्ड दोष : एक विमर्श. ओदान लघुकथा संयुक्तसङ्ग्रह (सहलेखन – विश्वराज अधिकारी, कुसुमाकर शर्मा गौतम, खेमराज पोखरेल). भक्तपुर : सिर्जना अभियान समाज ।
गौतम, लक्षमणप्रसाद (२०७२). लघुकथाको रचनाविधान. काठमाडौं: लघुकथा समाज ।
निरौला, लेखप्रसाद (सन् २०२१). लघुकथाको सैद्धान्तिक परिचय. समकालीन साहित्य डट कम ।
बस्ताकोटी, भूमिराज (२०२४). लघुकथा र कथाका साम्यवैषम्य. कन्या जर्नल, ५(१), पृ. १२४-१३२ ।
पोखरेल, इश्वरीप्रसाद (२०२२). समकालीन साहित्यमा नेपाली लघुकथाको प्रभाव. कलादर्पण, २, पृ.१२-२१ ।
भट्ट, पुष्करराज (२०७७). लघुकथाको परिचयगत सन्दर्भ र लेखन कला. साेपान-१७/६:१६६-१७४ ।
भण्डारी, हरिप्रसाद (२०८३). भूमिका : त्रिकुटीका स्वादिला लघुकथाहरू. त्रिकुटी लघुकथा संयुक्त सङ्ग्रह (विश्वराज अधिकारी, डा. कुसुमाकर शर्मा गाैतम, र खेमराज पोखरेल). काठमाडौं : शब्दार्थ प्रकाशन ।
भण्डारी, हरिप्रसाद (२०७९). लघुकथाको सैद्धान्तिक परिचय. आलेख, ५० ।
शर्मा, मोहनराज (२०७८). समालोचनाका नयाँ कोण. काठमाडौं:ओरिएन्टल पब्लिकेसन हाउस.
श्रेष्ठ, दयाराम (२०७८). नेपाली लघुकथा र कथाकारहरू. काठमाडौं : नेपाल-प्रज्ञा प्रतिष्ठान ।
श्रेष्ठ, दयाराम (२०५६). नेपाली लघुकथाको ऐतिहासिक पृष्ठभूमि तथा स्वरूप. मधुपर्क-३६२:१३-१६ ।

