साहित्यपोस्ट-नपढी सुखै छैन...

टोक्योमा १५औँ नेपाल फेस्टिबल सम्पन्न, करिब एक लाखले गरे अवलोकन

टोक्योमा १५औँ नेपाल फेस्टिबल सम्पन्न, करिब एक लाखले गरे अवलोकन

डि जी शर्मा

टोक्यो । जापानी समुदायमाझ नेपालको कला, संस्कृति, पर्यटन र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित १५औँ नेपाल फेस्टिबल जापानको टोक्योमा सम्पन्न भएको छ । जुलाई १८ देखि २० सम्म तीन दिन सञ्चालन भएको फेस्टिबलमा करिब एक लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

टोक्योको ओदाइबास्थित शिओकाजे पार्कमा आयोजित फेस्टिबलको आयोजना गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापान, नेपाली राजदूतावास जापान र आदिवासी जनजाति महासङ्घ जापानले गरेका थिए । जापानस्थित विभिन्न नेपाली सङ्घसंस्था तथा एनआरएनएका क्षेत्रीय समितिहरू सहआयोजकका रूपमा सहभागी थिए ।

फेस्टिबलमा ४० वटा स्टल राखिएका थिए । तीमध्ये १६ वटा व्यवसाय प्रवर्द्धनसँग सम्बन्धित तथा २४ वटा नेपाली खानाका परिकारका स्टल थिए । कार्यक्रममा टोक्यो प्रहरीले पनि तीनै दिन सेवा प्रदान गरेको आयोजक समितिका उपाध्यक्ष विनोद खनाल ‘मुक्तिराम’ले जानकारी दिनुभयो ।

सांस्कृतिक कार्यक्रममा गायिका शान्तिश्री परियार, गायक जीवन शर्मा र अर्जुन सापकोटाको विशेष प्रस्तुति रहेको थियो । साथै विभिन्न जातजातिका सांस्कृतिक नृत्य तथा जापानमा रहेका नेपाली कलाकारहरूको प्रस्तुति पनि समावेश गरिएको थियो ।

फेस्टिबलको उद्घाटन जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटनसम्बन्धी संसदीय उपमन्त्री मानाबु नागाईले गर्नुभएको थियो । उद्घाटन समारोहलाई नेपाली राजदूतावास जापानका कार्यवाहक राजदूत हरीहरकान्त पौडेल, प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही र खगेन्द्र सुनारले सम्बोधन गर्नुभएको थियो ।

एनआरएनए जापानले सन् २००७ देखि नेपाल फेस्टिबल आयोजना गर्दै आएको छ । उपाध्यक्ष खनालका अनुसार फेस्टिबलको उद्देश्य जापानी समुदायमाझ नेपालको परिचय विस्तार गर्नु, नेपालको पर्यटन र नेपाल–जापान व्यापार प्रवर्द्धनमा सहयोग पुर्‍याउनु, जापानस्थित नेपाली समुदायबीच एकता र सद्भाव अभिवृद्धि गर्नु तथा दोस्रो पुस्ताका नेपालीलाई आफ्नो मातृदेशसँग जोड्नु हो ।

उहाँले नेपाल–जापान व्यापार प्रवर्द्धनमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा यस क्षेत्रमा थप प्रभावकारी रूपमा काम गर्ने योजना रहेको बताउनुभयो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.