साहित्यपोस्ट डट कम

तीर्थफल : कसले प्राप्त गर्दछ ?

तीर्थफल : कसले प्राप्त गर्दछ ?

कुनै समयमा भीष्मपितामहले ब्रह्मर्षि पुलस्त्यजीको दर्शन पाउनुभयो ।

अत्यन्त श्रद्धापूर्वक भीष्मपितामहले स्वागत सत्कार गरिसकेपछि ब्रह्मर्षिले भन्नुभयो :

बाबू, म तिम्रो भक्तिभावले प्रसन्न भएँ, आफूले पालन गरेका उत्तम ब्रह्मचर्यव्रतले गर्दा तिमीले आज मेरो दर्शन पाएका छौ । मेरो तिमीप्रति अगाध प्रेम रहेको छ । हे निष्पाप कुरुश्रेष्ठ, मेरो दर्शन अमोघ छ । भन, म तिम्रो कुन मनोरथ पूर्ण गरुँ ? तिमी जे चाहन्छौ त्यही दिउँला ।

भीष्मपितामहले भन्नुभयो :

हे महाभाग, हजुर समस्त लोकद्वारा पूजित हुनुहुन्छ । हजुरको दर्शन पाउनु नै मेरा लागि अहोभाग्य हो । त्यसमाथि पनि हजुर मप्रति प्रसन्न हुनाले नै म कृतकृत्य बनेको छु प्रभो । हे महर्षि, यदि ममाथि हजुरको कृपा छ भने म हजुरका सामू एउटा संशय राख्दछु, कृपापूर्वक त्यसको निवारण गरिदिनुहोस् । मेरा मनमा तीर्थ गर्नाले पाइने पुण्यका बारे केही संशय रहेको छ । हे देवतुल्य ब्रह्मर्षि, जसले तीर्थलाभका लागि सकल पृथ्वीको परिक्रमा गर्दछ, उसलाई के फल प्राप्त हुन्छ, यसका बारेमा यथार्थ जे कुरा हो सो आज्ञा होस् ।

ब्रह्मर्षि पुलस्त्यले भन्नुभयो :

हे वत्स, तीर्थयात्रा ऋषिहरूका निम्ति पवित्र कृत्य हो । यसका विषयमा म तिमीलाई बताउँछु । कस्ता व्यक्तिले तीर्थसेवन गर्नुको फल पाउँछ, पहिले यही कुरा एकाग्र भएर सुन ।

यस्य हस्तौ च पादौ च मनश्चैव सुसंयतम् ।

विद्या तपश्च कीर्तिश्च स तीर्थफलमश्नुते ।।

(महाभारत, वनपर्व, ८२ अध्याय, ९ श्लोक)

जसका हात गोडा र मन आफ्ना वशमा छन्, जो विद्या, तप र कीर्तिले सम्पन्न छ त्यसै व्यक्तिले तीर्थफल प्राप्त गर्दछ ।

प्रतिग्रहादपावृत्तः सन्तुष्टो येन केनचित् ।

अहंकारनिवृत्तश्च स तीर्थफलमश्नुते ।। १० ।।

जो प्रतिग्रहबाट टाढा छ, जे जस्तो आफूसँग छ त्यसैमा जो सुसन्तुष्ट रहन्छ, जसमा अहंकारको सर्वथा अभाव छ, त्यसै व्यक्तिले तीर्थफल प्राप्त गर्दछ ।

अकल्कको निरारम्भो लघ्वाहारी जितेन्द्रियः ।

विमुक्तः सर्वपापेभ्यो स तीर्थफलमश्नुते ।। ११ ।।

जो दम्भ आदि दोषहरूबाट मुक्त छ, कर्ताभावको अहंकारबाट पर छ, जो अल्पाहारी र जितेन्द्रिय छ, जो सबै पापबाट मुक्त छ, त्यसै व्यक्तिले तीर्थफल प्राप्त गर्दछ ।

अक्रोधनश्च राजेन्द्र सत्यशीले दृढव्रतः ।

आत्मोपमश्च भूतेषु स तीर्थफलमश्नुते ।। १२ ।।

हे राजन्, जो क्रोध गर्दैन, जो सत्यवादी छ, जो दृढतापूर्वक आफूले अंगीकार गरेको व्रत पालन गर्दछ, जो समस्त प्राणीहरूप्रति आत्मभाव राख्दछ, त्यसै व्यक्तिले तीर्थफल प्राप्त गर्दछ ।

……

महाभारत, वनपर्व, ८२ अध्यायबाट

२०८२ चैत्र १२ गते शुक्रवार, रामनवमी ।

ॐअक्षरालयः ।

साझा गर्नुहोस्:
डा. सनतकुमार वस्ती

लेखकको बारेमा

डा. सनतकुमार वस्ती

भाषासेवी तथा साहित्यकार

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.