साहित्यपोस्ट डट कम

तीन दशक पार गर्दै ‘लिब्जु–भुम्जु’ त्रैमासिकको १०४औँ अंक प्रकाशित

तीन दशक पार गर्दै ‘लिब्जु–भुम्जु’ त्रैमासिकको १०४औँ अंक प्रकाशित

काठमाडौं । किरात वाम्बुले राई समुदायको मातृभाषा, साहित्य र मुन्दुम संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा केन्द्रित त्रैमासिक पत्रिका ‘लिब्जु–भुम्जु’को १०४औँ अंक (२०८२ माघ–चैत) प्रकाशित भएको छ । २०५० सालदेखि निरन्तर प्रकाशनमा रहेको यो पत्रिका तीन दशकभन्दा लामो यात्रामा आफ्नो विशिष्ट पहिचान कायम राख्दै आएको छ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले छापाखाना तथा पत्रपत्रिकासम्बन्धी हक सुनिश्चित गरेपछि विभिन्न भाषामा पत्रपत्रिकाको प्रकाशन तीव्र रूपमा बढेको थियो । तीमध्ये धेरै पत्रिका समयसँगै बन्द भए पनि ‘लिब्जु–भुम्जु’ भने निरन्तर प्रकाशनमा रहँदै आएको दुर्लभ उदाहरण हो ।

वाम्बुले भाषाको पहिलो र एकमात्र पत्रिका मानिने ‘लिब्जु–भुम्जु’ स्थापना कालदेखि हालसम्म गणेश वाम्बुले राईले सम्पादन तथा प्रकाशन गर्दै आउनुभएकाे छ । वाम्बुले भाषा लेखनमा देवनागरी, किरात सिरिजङ्गा र रोमन लिपिको प्रयोग हुँदै आएको छ । यस पत्रिकाले वाम्बुले भाषा, साहित्य, संस्कृति र गीत–संगीतको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । पत्रिका प्रकाशनसँगै तीन दर्जनभन्दा बढी पुस्तक, गीतिएल्बम, दुई चलचित्र तथा दुई वृत्तचित्र निर्माणमा समेत यसले प्रेरणा दिएको सम्पादक राईले जनाउनुभएकाे छ ।

पछिल्लो अंकको सम्पादकीय ‘पुर्खा र परम्पराको खोजी’ शीर्षकमा केन्द्रित छ। यस अंकमा किरात वाम्बुले राई जातिको अस्तित्व, पुर्खा खोजी र सांस्कृतिक पुनरागमनसँग सम्बन्धित सामग्री समेटिएको छ। तेह्रथुमबाट पुख्र्यौली थलो खोज्दै ओखलढुंगा आएका वाम्बुले राईहरूको अनुभव तथा झापाबाट आफ्ना पुर्खाको खोजीमा लागेका परिवारको कथा प्रस्तुत गरिएको छ । साथै, ५४ वर्षपछि परम्परागत मुन्दुमी भेसमा फर्किएको एक परिवारको जीवनयात्रा पनि यसमा समावेश छ । वाम्बुले राई समुदायको जन्मदेखि मृत्युसम्मका संस्कारहरूको अभिलेखीकरण गर्ने परियोजनाबारे जानकारी पनि यस अंकमा दिइएको छ ।

सामग्री संरचनाका दृष्टिले पत्रिकालाई विभिन्न खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा जगतधन राईको अंग्रेजी लेख ‘किरात वाम्बुले राई ल्यांग्वेज: ए लिभिङ हेरिटेज अफ कल्चर एन्ड आइडेन्टिटी’ र कर्णबहादुर राईको बेलायतस्थित वाम्बुले राई समाजसम्बन्धी लेख समावेश छन् ।

दोस्रो खण्ड ‘आवरण विशेष’ मा मुन्दुमी परम्परा त्यागेका परिवारले पुनः ५४ वर्षपछि पुर्खाकै भेसमा फर्किएको प्रसंग समेटिएको छ । यसअन्तर्गत लाखमान राईको स्थलगत रिपोर्ट, पचुराम राईको अन्तर्वार्ता तथा अविनाथ राईको विश्लेषणात्मक लेख समावेश छन् । कविन वाम्बुले राईले खोटाङको झाप्पा गाउँमा सम्पन्न ‘खाउमो’ संस्कारबारे लेख प्रस्तुत गर्नुभएकाे छ ।

तेस्रो खण्डमा याम राईको ‘पुर्खौली थलो ओखलढुंगा यात्रा’ र प्रज्वल वाम्बुले राईको वंशसम्बन्धी खोजमूलक लेख छन् । चौथो खण्डमा अविनाथ राईले वाम्बुले भाषाको व्याकरण, वर्णविन्यास र संरचनाबारे चर्चा गर्नुभएकाे छ ।

यसैगरी पाँचौँ खण्डमा इतिहास अभिलेख, छैटौँ खण्डमा वाम्बुले कविताहरू, सातौँ खण्डमा देबिशा राई तथा बी मुक्काचोका सामाजिक विषयवस्तुमा आधारित लेखहरू समावेश छन् । आठौँ खण्डमा भाषाशास्त्री प्रा.डा. नोवलकिशोर राई र झोलुङ्गे पुल निर्माणसँग सम्बन्धित व्यक्तित्व गयानाथ श्रेष्ठको अन्तर्वार्ता समेटिएको छ । उक्त अन्तर्वार्तामा २०३१ सालमा निर्मित दुधकोसीस्थित जयरामघाट पुलको ऐतिहासिक महत्व उजागर गरिएको छ ।

नवौँ खण्डमा सोनाम सज्जन किरातीको संस्मरणात्मक लेख समावेश छ भने दसौँ खण्डमा विविध समसामयिक समाचारहरू प्रस्तुत गरिएको छ ।

तीन दशक लामो यात्रामा ‘लिब्जु–भुम्जु’ ले वाम्बुले राई समुदायको भाषा, संस्कृति र पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । निरन्तर प्रकाशनसँगै यसले नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यमको रूपमा आफूलाई स्थापित गरेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.