साहित्यपोस्ट डट कम

‘तिमी विनाको म’ भित्र बसन्तलाई पढ्दा

‘तिमी विनाको म’ भित्र बसन्तलाई पढ्दा

नेपाली साहित्य आकाशका निम्ति चिर परिचित नाम हो बसन्त चौधरी । एक सफल व्यवसायी उनका साहित्यिक सृजना नेपालीका अलावा हिन्दी, मैथिली, अंग्रजी लगायतका भाषामा पढ्न पाइन्छ । साहित्यका विभिन्न विधाका सर्जक उनी गीत र कवितामा बढी चर्चित छन् । उनी साहित्यका असल र अथक साधक हुन् । भनिन्छ, कविता कर्म स्वार्थरहित हुन्छ । यही कर्ममा चर्चित छन् कवि बसन्त चौधरी विगत चार दशकदेखि निरन्तर साहित्य सृजनाको खेतीमा लागेर ।

‘तिमी विनाको म’ मा जीवनका भोगाइको श्रृंखला छ । अनुभवको पहाड छ । मानिसको अस्तित्व र जिन्दगीको बारेमा खारिएका रचनाहरू छन् । कवि बसन्तका कविताहरू गहन भावयुक्त छन् र उनका कवितामा आफ्नैपन झल्किन्छ । सिद्धहस्त श्रष्टा चौधरी जीवनका अनेकानेक भोगाइ र तिनको गहिराइमा पुगेर सृजना गर्छन् । अनुभूतिको तालमा पुगेर डुब्न खोज्छन् कवि । उनका कविताको भावनात्मकताले मुटुको अन्तष्करणमै प्रहार गर्छ । प्रेमले ओतप्रोत उनी प्रेमिल कविताको सृजनामा रमाउँछन् उत्तिक्कै । जीवनको शाश्वत सत्यलाई प्रकृतिमा अन्तरघुलन गराएर कविता कोर्न मन पराउँछन् ।

उनका कविताभित्र अनेक संरचना रहेका छन् । जुन युक्तियुक्त र सारपूर्ण छन् । कविता प्रतिकात्मक पनि लाग्छन् । भावुक कवि ह्रदयले आफ्ना भावका गंगालाई सललल बग्न दिएको छ शब्दका बाढीले । उनका कविता कला, जीवनदर्शन र मनका भावका त्रिवेणी लाग्छन् । मायाका तिर्सनाले व्याकुल देखिन्छन् कवि । कवितामा भएको मानवचिन्तनले ओतप्रोत कविता पनि छन् यहाँ । मुक्त लयमा कविको कलम अघि बढेको पाइन्छ । वर्तमान समाज र हाम्रो समयको पीडा पनि कविताले पोखेको पाइन्छ । मनका कुरा कविताको माध्यमबाट निर्धक्क ओकल्न सक्नु कविको खुबी हो ।

‘कामना’ देखि ‘मन’सम्म गरी पचासी वटा विभिन्न लामाछोटा कविताका फूलका थुँगा उनेर बनेको सुन्दर कविताको माला हो ‘तिमीविनाको म’ । कलात्मक शिल्पका सुनौला जलप पोतेर कविका ह्रदयका मायावी भाव अभिव्यक्त गरिएका छन् अधिकांश कवितामा । उनका काव्यमा करुण रस पनि मिसिएको छ । जुलेवीका चास्नी जस्ता मीठा कविता, जसको आस्वादानले मनै आह्लादित गराउँछ । समयको गर्भले ल्याएका जस्ता लाग्छन् कविता । सहज र सरल भाषाशैली प्रयुक्त कविता जो सुकै सामान्य पाठकले भाव अर्थ्याउन सक्छ । उनले संगतपूर्ण जीवनको महत्त्वलाई कवितामार्फत प्रष्ट्याएका छन् । निजी जीवनका विभिन्न पलहरूलाई बडो सहजतापूर्वक उजागर गरेका छन् । एउटा क्षमतावान् कविले शब्दलाई आफ्नो सीपद्धारा मज्जैले कुँद्न सक्छ र खिप्न सक्छ भन्ने कुराका एक उदाहरण हुन कवि बसन्त । कविता राम्रै सचेतनतापूर्वक लेखिएका छन् । प्रेमका प्रशस्तै बिम्ब लेपन गरि गहिरा भाव, अर्थपूर्ण तरिकाले कविता सृजना सिंगारिएका छन् । कुनै कुनै कवितामा नोष्टाल्जिक पनि बनेका छन् कवि ।

‘तिमी विनाको म’ भित्रका कवितामा मायावी भाव बहिरहेछन् अविराम । कसैसँग मायाप्रीति गाँसे जस्तो, सुटुक्क कसैलाई मुटुको कुनामा टाँसेजस्तो भाव अभिव्यक्त गर्ने कवि मायाका अनुयायी लाग्छन् । मायाका इन्द्रधनुषी चाहनालाई कवितामा पस्कन्छन् । कोमलतामा शब्द कोर्छन् अनि हृदयसित तिनलाई स्पर्शित गराउँछन् । प्रेममा बाँच्न चाहने बसन्तमा प्रेमप्रतिको मोहभाव झल्किन्छ कवितामा । प्रेमका फूल फुलाउँछन् अनि प्रेमको गरिमा गाउँछन् । यसरी उनका कवितामा प्रेम र पिरतीको प्रसङ्गले बास गरेको छ । प्रेममा रोमाञ्चक हुन मन पराउने कवि ह्रदय छ उनमा । मायामा उनको मन सुसाउँछ ।

तिमी नै तिमीले भरिएको यो मन

तिमीसँग रमाएर आह्लादित छ

रोमाञ्चित छ कणकण (कामना)

कवितामा प्रेम मात्र पोखिएको कहाँ हो र प्रकृति प्रेम, प्रकृतिसँगको सन्निकटता र प्रकृतिको सुन्दरताको घनिभूत वर्णन पनि पाइन्छ । प्रकृतिका सौम्य शालिन रूपलाई केलाउँछन् कवि । उनको कवि मन प्रकृतिको सौन्दर्यमा मन्त्रमुग्ध भएर डुल्छ उन्मुक्तसँग । कतै उनी आफ्नो चेतन मनलाई यात्रा गराउँछन् खकन बोकेर प्रकृतिको सान्निध्यमा । कतै विभिन्न बदलिरहने ऋतुको मनमोहकताको मीठो वर्णन गर्छन् । यो हेरौँ:

फाँट र मैदानभरि

नाचेको

तुवाँलो, हुस्सु अनि कुहिरोभित्र

चिसो हावामा कामिरहेका

प्राकृतिक अस्तित्व,

जूनको चहकिलो आभामा

सरसराइरहेको मौसम (अनादिःक्रम)

निख्खर र चहकिला शब्दमा उनले कविता कोरेका छन् । उनमा शब्दको खेती गर्ने लालसा व्यापक रूपमा छ । सार्वकालिक लाग्छन् कविता । वर्तमान विषम् परिस्थितिलाई पनि कवितामा उतार्न सफल छन् उनी । समयक्रममा आएको विश्वव्यापी कोभिड महामारी र यसको असरलाई पनि कवितामा पोखेका छन् बसन्तले । यस हिसाबले हेर्दा यथार्थवादी कवि देखिन्छन् । जतिसुकै परिस्थिति प्रतिकूल भएपनि एकबार पाएको जिन्दगीलाई प्रेमपूर्वक रमाउन उनको आग्रह पनि छ । यसमा पनि यथार्थको कसीमा कलात्मक चेत बोकेर कविता लेखेका छन् । मनमा कुण्ठा नपाल्ने आग्रह छ । रमेर जिउन सिक्न पर्ने कुरामा उनको जोड छ । सामाजिक विकृति र विसंगतिप्रति असहमति जाहेर गर्छन् । चेतनाले सबै कुरा संचालित हुने कुरामा उनी प्रष्ट देखिन्छन् । युगवोधलाई हृदयसंगम गर्न सक्नु नै सफल मानव जीवन हो भन्ने उनको दर्शन छ ।

कवि उचनिचको भेदभाव विरुद्ध आगो ओकल्छन् । उनलाई रत्तिभर विश्वास छैन र त जातीय विभेदका पर्खाल भत्किनुपर्छ भन्छन् । समाजलाई एउटा सुन्दर फूलबारीको बिम्बमा जोड्ने कवि मानिसलाई थरीथरीका फूलको संज्ञा दिन्छन् । सबैको आँखाले हेर्ने सुन्दरता, गुराँस, हिमाल र उनिने माला एउटै भएको सकारात्मक चेतना छर्छन् । मानिसलाई हिमालको बिम्बमा जोडेका छन् उनले । उनी सच्चा समाजवादी देखिन्छन् ।

हामी यौटै फूलबारीका

थरी–थरी फूल

यौटै मालामा उनिएर

हाँस्नु छ ।(यौटै हो हिमाल)

समय, परिवेशलाई नियालेर लेख्नु उनको कविताको विशेषता हो । मानिसमा उत्साह थप्नु र उनीहरूलाई जागरुक बनाउन अक्षरको खेती गरेका छन् उनले । प्रेमिल भए पनि उनका कविता खास कुनै परिधि वा आग्रह पूर्वाग्रहबाट प्रेरित लाग्दैनन्, यो थप विशेषता हो कविको । अनुभव, विसंगत समाज, प्रेम, प्रकृतिको बारेमा विशिष्ट काव्यावोधले भरिपूर्ण कविता कोर्न सक्नु र विभिन्न उपयुक्त बिम्व, अलङ्कार, प्रतीकको प्रयोग गर्न सक्नु उनको कवि मनको सामर्थ्य हो । सहज भावमा कुनै पनि विषयमा प्रस्तुत हुनु उनको कविताको उल्लेख्य पक्ष हो । ‘तिमीविनाको म’ मा समावेश कविताहरू विचारको स्वच्छन्दतामा स्वतन्त्र उडान भर्छन् । सबैले जीवनलाई सार्थक रूपमा जिउन पर्ने कुरा गर्छन् । उनको कविता मायाप्रेम, प्रकृति, मान्छेको दैनिकी, समसामयिक समयको वरिपरि घुमेको छ । यो नै उनको कविताको मौलिक आचरण हो । जीवनका अनुभूतिलाई खुलेर पस्कन सक्नु कविताको अर्काे पक्ष हो । वर्तमान समयको पीडाबोधलाई उजागर गर्नु र तिनको सहज समाधान खोज्ने यत्न गर्न प्रयास गर्नेतर्फ पनि उनका कविता लागेका छन् । उनी शान्त समाज निर्माणको वकालत गर्छन् र आशावादीताको सञ्चार जगाउँछन् ।

समयको घुरमैलो अँध्यारोबाट

आशाको जुनेली

धुइँधुइँ खोजिरहेछु

चुपचाप बसेको

कोलाहलको मध्यमा

अनौठो शान्ति खोजिरहेछु ⁄ (खोजिरहेछु)

माटोको ममताले लछप्पै छोप्छ कविलाई । देशप्रेमको हुटहुटी उत्तिकै । हाम्रा सामाजिक जीवनसँग सन्निकट भएर भावनाको अभिव्यञ्जना छोड्न कवि पछि परेका छैनन् । सामाजिक विकृति र विसंगति देखेर उनको ह्रदय चिरिक्क हुन्छ र तिनको विरुद्ध सतिसाल भएर खडा हुन्छन् । देश हारेकोमा दु:खी बनेका कवि देशबासीलाई आधुनिक महाभारतको युद्ध रचेर जुधाउनेहरू प्रति व्यङ्ग्य गर्छन् । समाजका वस्तुनिष्ठ घट्नालाई मनको भित्री तहमा पुर्याएर त्यहाँबाट अभिव्यञ्जना गर्ने कुरा कम आँक्न मिल्दैन । उनी चिन्तित छन् र त त्यसलाई भावमा केलाउँछन् ।

आज निरस्त्र लाचार छ

गाण्डीव खोसिएको छ

र पटकपटक,

छलिएका छन् देशवासी

नक्कली पाण्डुपुत्रहरूबाट

अर्जुनको नाममा

गरिरहेछन् मनोमानी (हारिरहेछ देश)

समग्रतामा हेर्दा कवि बसन्त चौधरीको कविताको कथन शैली र वैयक्तिक अभिव्यक्ति अत्यन्तै बलशाली लाग्छ । व्यावसायिक रूपमा सफल अनुभव र अनुभूतिले खारिएर सम्पन्न भएका व्यक्तित्त्वको बडो शालिनतापूर्वक सशक्त रूपमा कवितामा हस्तक्षेप गर्न सफल भएको देख्छु म । कहिँ कतै भ्रम र झुटका कुरा छैनन् । छलछाम र जालझेलका कुरा रत्तिभर छैनन् । छन् त प्रेम, करुणा, आशावादीताको संचार गर्ने कुरा । अनि देशप्रेम, व्यथिति विरुद्धको आक्रमण छ । वैयक्तिक गन्थन हैन कविको भोगाइ छ । जीवन र प्रेम प्रतिको शाश्वत सन्दर्भहरूको सचेततापूर्वक प्रयोग, उचित बिम्बको प्रयोग, शब्दहरूको तादाम्यता, कृतिमताको लैश प्रयोग, सरल र मिठासपूर्ण शब्द चयन, स्पष्ट दृष्टिचेत, प्रभावपरक कला र विचारको उचित संयोजनयुक्त कविताहरू यो कृतिमा समावेश गरेको देखिन्छ । शिल्पको सौन्दर्यले झलक्कै बलेका लाग्ने कविताहरूमा कविता सुन्दर हुनका लागि आवश्यक सम्पूर्ण तत्त्वहरूको विद्यमानता रहेको मान्न सकिन्छ । कवि बसन्तले अनुभव र ज्ञानको कसीमा घोटिएर देखेका कुरा समेत समावेश गरी वस्तुपरक कविता लेख्न सक्ने खुबी भएका कविमा आफूलाई दर्ज गर्न सकेका छन् । मानव जीवनको मूल्यलाई हृदयस्पर्शी ढङ्गले प्रकट गर्न सक्ने कविका रूपमा आफूलाई उभ्याएका छन् । कवि बसन्त चौधरीको कवित्त्वको यात्रापथ अझै विशिष्ट पहिचानसहित अगाडि बढोस् शुभकामना !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.