तिलोत्तमा । साहित्यिक सिर्जनाका स्वरहरू एकै मञ्चमा गुञ्जिने अवसरका रूपमा स्थापित हुँदै आएको ‘तिलोत्तमा साहित्य सङ्गम’को १७औँ शृङ्खला तिलोत्तमा–१, ड्राइभर टोलस्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई थप उचाइ दिएको सहभागीहरूको धारणा रहेको छ। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका सदस्य तथा साहित्यकार रमेश समर्थनले गर्नुभएको थियो भने सञ्चालन प्रतिष्ठानका सदस्य उद्धव देवकोटाले गर्नुभएको थियो।
सङ्गममा रमेश समर्थन, उद्धव देवकोटा, श्रीराम नेपाली, सङ्गम अनुरागी, यज्ञलाल सुवेदी, पूर्णचन्द्र तिवारी, विपिन जी.सी., ढलानन्द चालिसे, कृशल देवकोटा लगायत करिब एक दर्जन सर्जकहरूले कविता, गद्यलगायत साहित्यका विविध विधाका आफ्ना मौलिक रचनाहरू वाचन गर्नुभएको थियो। वाचित रचनाहरूले समाज, संवेदना, समय र जीवनका विविध आयामलाई कलात्मक ढङ्गले उजागर गरेकाे थियाे ।
वाचन गरिएका रचनामाथि समीक्षात्मक टिप्पणी गर्दै समीक्षक रमेश समर्थनले यस्ता साहित्यिक जमघटहरूले नवसर्जकहरूलाई सिर्जनामा निखार ल्याउने अवसर प्रदान गर्नुका साथै साहित्यिक पहिचान निर्माणका लागि सशक्त मञ्च उपलब्ध गराउने बताउनुभयो। साहित्य निरन्तर अभ्यास र संवादबाट परिष्कृत हुने उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमको निरन्तरताले सिर्जनात्मक यात्रालाई थप सबल बनाउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमको सफलताप्रति सन्तोष व्यक्त गर्दै कार्यक्रम सञ्चालक उद्धव देवकोटाले ‘तिलोत्तमा साहित्य सङ्गम’ प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा आयोजना गरिने जानकारी दिनुभयो। १७औँ शृङ्खलामा देखिएको उत्साहजनक सहभागिताले आगामी शृङ्खलाहरू अझ प्रभावकारी र सिर्जनशील हुने विश्वाससमेत व्यक्त गरिएको छ।
स्थानीय स्तरमै साहित्यिक संवाद, सिर्जना र समीक्षाको संस्कार विकास गर्दै आएको ‘तिलोत्तमा साहित्य सङ्गम’ तिलोत्तमाको साहित्यिक पहिचान निर्माणतर्फ अग्रसर एक महत्वपूर्ण अभियानका रूपमा स्थापित हुँदै गएको देखिन्छ।

