साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।

‘तिलोत्तमा साहित्य सङ्गम’को १८औँ शृङ्खला सम्पन्न

‘तिलोत्तमा साहित्य सङ्गम’को १८औँ शृङ्खला सम्पन्न

तिलोत्तमा साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानको आयोजनामा “तिलोत्तमा साहित्य सङ्गम”को १८औँ शृङ्खला शनिबार तिलोत्तमा–१, ड्राइभर टोलस्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम विभिन्न सर्जकहरूलाई एउटै सिर्जनात्मक चौतारीमा जोड्ने प्रयत्नका रूपमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम मुरारी पराजुलीको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका–१ का वडाध्यक्ष फर्सुराम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव लीलाधर पाण्डेयले गर्नुभएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि फर्सुराम गिरीले साहित्यलाई समाजको आत्मा र चेतनाको ज्योति भएको उल्लेख गर्दै सर्जकका सिर्जनाले समाजमा सकारात्मक चिन्तन र मानवीय संवेदनाको उज्यालो फैलाउने बताउनुभयाे। भाषा, कला र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता साहित्यिक अभियानलाई सधैं प्रोत्साहन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयाे।

साहित्यिक रसले भरिएको कार्यक्रममा मुरारी पराजुली, उद्धव देवकोटा, मोहन मरासिनी, लीलाधर पाण्डेय, ढालानन्द चालिसे, श्रीराम नेपाली, सङ्गम अनुरागी, मुकुन्दप्रसाद भट्टराई, पूर्णचन्द्र तिवारी, यदु लामिछाने, गीतादेवी न्यौपाने, उपमा पाण्डेयलगायत करिब डेढ दर्जन सर्जकहरूले कविता, मुक्तक, गजल तथा अन्य साहित्यिक विधामा आफ्ना मौलिक रचना वाचन गर्नुभएकाे थियाे।

कार्यक्रममा प्रस्तुत रचनामाथि समीक्षा गर्दै साहित्यकार रमेश समर्थनले स्थानीय स्तरमा साहित्यिक गतिविधि निरन्तर सञ्चालन हुनु सकारात्मक पक्ष भएको बताउनुभयाे। उहाँका अनुसार यस्ता कार्यक्रमहरूले नयाँ प्रतिभालाई उजागर गर्ने मात्र नभई साहित्यिक वातावरणलाई जीवन्त र ऊर्जावान बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्।

कार्यक्रमको समापनमा प्रतिष्ठानका अध्यक्ष डा. मुरारी पराजुलीले साहित्य समाजको चेतना, सभ्यता र संस्कृतिको संरक्षणसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै नवसर्जकका सिर्जनामा परिस्कार ल्याउन यस्ता साहित्यिक चौतारी अत्यन्त आवश्यक हुने बताउनुभयाे। साथै उहाँले तीनै तहका सरकारले साहित्य, कला तथा सङ्गीतका सर्जक तथा संस्थाको संरक्षण र सम्बर्द्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयाे ।

प्रतिष्ठानका महासचिव लीलाधर पाण्डेयका अनुसार “तिलोत्तमा साहित्य सङ्गम” प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ। साहित्यप्रेमी र सर्जकलाई एउटै मञ्चमा जोड्दै सिर्जनात्मक वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम निरन्तर अघि बढाइएको उहाँले जानकारी दिनुभयाे ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका । साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च ।
शब्द मिडिया प्रा. लि. काैशलटार चाेक, भक्तपुर
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.