साहित्यपोस्ट डट कम

तिलोत्तमा साहित्य सङ्गमको १६औँ शृङ्खला सम्पन्न

तिलोत्तमा साहित्य सङ्गमको १६औँ शृङ्खला सम्पन्न

तिलोत्तमा । तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको सोह्रौँ शृङ्खला तिलोत्तमा नगरपालिका–ड्राइभरटोलस्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. मुरारि पराजुलीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा होराइजन गौतम बुद्ध मा.वि. का प्राचार्य तथा कवि गोपालप्रसाद आचार्य उपस्थित रहनुभएको थियो। प्रतिष्ठानका महासचिव लिलाधर पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा करिब दर्जनौँ स्रष्टाहरूले आफ्ना मौलिक रचना वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रममा मुरारि पराजुली, रमेश समर्थन, तेजप्रसाद पाण्डे, उद्धव देवकोटा, लक्ष्मण ज्ञवाली, लिलाधर पाण्डे, गोपालप्रसाद आचार्य, श्रीराम नेपाली, कमला भण्डारी, नारायण भण्डारी, विपिन जी.सी., डा. नारायणप्रसाद पन्तलगायत साहित्यकारहरूले कविता, गद्य तथा विविध विधाका सिर्जना प्रस्तुत गर्नुभएकाे थियाे ।

संस्थाका सदस्य तथा साहित्यकार रमेश समर्थनले वाचित रचनाहरूको समिक्षा गर्दै यस्ता नियमित साहित्यिक शृङ्खलाहरूले सर्जकलाई आफ्ना सिर्जनालाई परिष्कार गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो। उहाँले निरन्तर अभ्यास र विमर्शबाट नै सशक्त साहित्य निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

प्रमुख अतिथि गोपालप्रसाद आचार्यले तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानलाई यस क्षेत्रको प्रतिनिधि साहित्यिक संस्था भएको बताउँदै संस्थाले सञ्चालन गर्ने यस्ता साहित्यिक गतिविधिमा आफू नियमित सहभागी हुने र संस्थालाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको अध्यक्षीय मन्तव्यमा डा. मुरारि पराजुलीले उत्कृष्ट रचना सृजनाका लागि अध्ययनशील भई निरन्तर साधनामा लाग्नुपर्नेमा जोड दिनुभयो। बदलिँदो समयसँगै साहित्यलाई डिजिटल प्लेटफर्ममार्फत् पनि अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले तिलोत्तमा साहित्य सङ्गम प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा सञ्चालन हुने जानकारी दिनुभयो। यस शृङ्खलाले साहित्यकारहरूको रचनाशिल्प विकास गर्दै साहित्यिक उत्थानको लक्ष्य हासिल गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

अन्त्यमा अध्यक्ष पराजुलीले पन्ध्रौँ शृङ्खलाको सफलताले आगामी कार्यक्रमहरू अझै प्रभावकारी र व्यापक बन्ने विश्वास व्यक्त गर्दै प्रतिष्ठानका गतिविधिमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.