टीकापुर । चैत १३ गतेदेखि सुरु भएको ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न महोत्सव यस वर्ष ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’मा केन्द्रित थियो ।
महोत्सवअन्तर्गत २१ वटा विशेष सत्र सञ्चालन गरिएका थिए, जसमा भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, पहिचान, राजनीति र समसामयिक विषयमा गहन छलफल तथा अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा देशका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार, पत्रकार, अनुसन्धानकर्ता तथा सामाजिक चिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
साहित्यकार नीलम कार्की निहारिका र केशव दहालको सहकार्यमा लेखन कार्यशाला सञ्चालन गरिएको थियो भने रंगकर्मी अशेष मल्लको नाटक मञ्चनले दर्शकको ध्यान आकर्षित गरेको थियो ।
संस्थापक संयोजक महेशविक्रम शाहका अनुसार महोत्सवले स्थानीय जनजीवनका विविध आयामलाई एउटै मञ्चमा समेट्दै राष्ट्रिय स्तरको साहित्यिक तथा सांस्कृतिक उत्सवको रूप लिएको छ । उहाँले महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि वृद्धि र सांस्कृतिक जागरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँकाे अनुसार यस पहलले भविष्यका लेखक, कलाकार र चिन्तकहरू उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारेको छ ।

