नेपाली साहित्यमा लघुकविताको परम्परा पछिल्लो समयमा अझ समृद्ध बन्दै गएको छ । सीमित शब्दमा व्यापक अनुभूति, गहिरो विचार र तीव्र प्रभाव सिर्जना गर्ने यस विधामा सफल हुन केवल शब्दको मितव्ययिता पर्याप्त हुँदैन; त्यसका लागि जीवन, समाज र समयप्रतिको सूक्ष्म दृष्टि पनि आवश्यक हुन्छ ।
कवि दिलीप श्रेष्ठको पाँचौँ काव्यकृति ‘जहाँ तिम्रो पाइला हुन्छ…’ यस्तै दृष्टि, संवेदना र वैचारिक चेतनाले भरिएको एक महत्त्वपूर्ण लघुकविता सङ्ग्रह हो । एक सय लघुकविता समेटिएको यस कृतिले समकालीन नेपाली समाजको पीडा, प्रेम, प्रतिरोध, विसङ्गति र आशालाई एकैसाथ अभिव्यक्त गरेको छ ।
सङ्ग्रहको पहिलो कविता वनकी चरी (पृ. १) बाटै कविको भावभूमि उद्घाटित हुन्छ । गाउँबाट शहर पुगेको मानिसको एक्लोपन, विस्थापन र स्मृतिको वेदना यहाँ मार्मिक रूपमा व्यक्त भएको छ ।
“मेरो मनको गीत गाउने
त्यही वनकी चरी सम्झना आइरहेछ ।”
यो पङ्क्तिले केवल प्रिय व्यक्तिको स्मृति मात्र होइन, हराउँदै गएको गाउँ र आत्मीय परिवेशप्रतिको मोहलाई पनि सङ्केत गर्छ ।
कवि श्रेष्ठका कविताको प्रमुख शक्ति भनेको सामान्य विषयभित्र असामान्य अर्थ खोज्ने क्षमता हो-
“त्यही हड्डीको टुक्रा
र कुकुरहरूको थरिथरि झुण्ड नै
लाग्छ – यो देशको दुर्भाग्य हो ।” दुर्भाग्य (पृ. २)
हड्डी र कुकुरको प्रतीकमार्फत सत्ता, स्वार्थ र अवसरवादको कटु यथार्थलाई यसभन्दा तीक्ष्ण ढङ्गले भन्न कठीन छ । यही प्रतीकात्मक व्यङ्ग्य उनको काव्यस्वरको विशेष परिचय हो ।
सङ्ग्रहमा प्रेमका कविताहरू पनि छन्, तर ती परम्परागत रोमान्टिक भावुकतामा सीमित छैनन् । शीर्षक कविता जहाँ तिम्रो पाइला हुन्छ (पृ. ६७) यसको उत्कृष्ट उदाहरण हो ।
“जहाँ तिम्रो पाइला हुन्छ
त्यहाँ कि त फूल नै हुन्छ
कि त मेरो हृदय हुन्छ ।”
यो पंक्तिहरूले प्रेमलाई समर्पण, आस्था र अस्तित्वको तहसम्म पुर्याएका छन् । सरल भाषामा व्यक्त यस्ता भावले कवितालाई सहज र स्मरणीय बनाएका छन् ।
यस सङ्ग्रहको एउटा सशक्त पक्ष ग्रामीण जीवन र आमजनताको पीडाप्रतिको गहिरो सरोकार पनि हो-
“तिम्रो शहरमा मस्ती बढ्दै गए पनि
मेरो गाउँमा भने – बस्ती हरायो ।” (असार पन्ध्रको पीडा, पृ. २७)
बसाइँसराइ, कृषि संस्कृतिको विघटन र गाउँको रित्तोपनलाई यति छोटो अभिव्यक्तिमा यति प्रभावकारी रूपमा प्रस्तुत गर्नु कविको सफलतामध्ये एक हो ।
“कुनै सन्तानको भागमा
खाडीको तातो बगर परेको छ ।” (अंशबन्डा, पृ. ४७)
यो पंक्तिले वैदेशिक रोजगारीको बाध्यता र पारिवारिक विखण्डनको कथा बोल्छ ।
सामाजिक यथार्थ र जनजीवनका पीडालाई पनि कविले अत्यन्त मानवीय संवेदनाका साथ चित्रण गरेका छन् । कर्णालीको भेल (पृ. २४) मा खच्चर र मान्छेको नियतिलाई समान धरातलमा राख्दै कवि भन्छन् –
“कर्णालीको भेलले भने – किन हो
कहिले पनि मान्छे र खच्चरको
त्यस्तो असमान फरक कुरा गरेनन् ।”
यो पंक्ति केवल करुणा होइन, वर्गीय र मानवीय असमानताप्रतिको गम्भीर प्रश्न पनि हो ।
त्यस्तै, सोच्छु– त्यो देउसीभैलो… (पृ. ४३) नेपाली समाजको आशावादी चरित्रमाथि लेखिएको अत्यन्त मार्मिक कविता हो-
“धन्न विचरा हामी नेपाली
एउटा बहाना मात्र चाहिन्छ
अटाई–नअटाई छातीमा पीर बोकेर पनि
रमाएर गाउन सक्छौं ।”
यो पंक्तिले नेपाली जनजीवनको सहनशीलता र जीवनप्रतिको अद्भुत विश्वासलाई उजागर गर्छ । कविता अन्त्यतिर कविको प्रश्न –
“त्यो सुखद् देउसी–भैलो
मेरो आँगनमा कहिले गाउने होला ?”
केवल व्यक्तिगत चाहना होइन; समृद्ध, स्वाभिमानी र आत्मनिर्भर नेपालको सामूहिक सपना हो ।
मानवीय करुणाको दृष्टिले बलिको पाठो (पृ. ४९) सङ्ग्रहका उत्कृष्ट कवितामध्ये एक हो-
“म चूपचाप
त्यो पाठोभन्दा निरीह भएर
हृदय कोतरेर टोलाइरहेछु ।”
यो पंक्तिमा कविको संवेदनशील मन स्पष्ट देखिन्छ । पाठो यहाँ केवल पशु होइन; निर्दोष, असहाय र स्वार्थी व्यवस्थाको शिकार बन्न बाध्य हरेक प्राणीको प्रतीक हो । कविता पढ्दा पाठकभित्र करुणा र नैतिक प्रश्न दुवै जागृत हुन्छन् ।
राजनीतिक र सामाजिक विकृतिप्रति कविको दृष्टि झन् प्रखर देखिन्छ । भरोसा शून्य देश (पृ. १४), बक्यौता (पृ. ३३), ऋण (पृ. ३४), अनुगमन (पृ. ३८), छलफल (पृ. ७९) र जब झिंगाको साम्राज्य हुन्छ (पृ. ८१) जस्ता कविताले समकालीन नेपालको राजनीतिक, प्रशासनिक र आर्थिक विसङ्गतिमाथि तीखो प्रहार गरेका छन् ।
“जहाँ आगो निभाउने छलफल
कुवा खनाउने निर्णयमा सकिन्छ
त्यहाँका बस्तीहरू खरानी नभएर के हुन्छ ?”
‘छलफल’ कविताको यो पंक्ति हाम्रो निर्णयहीन प्रवृत्तिका निम्ति गहिरो व्यङ्ग्य हो ।
कविको अर्को विशेषता प्रतीक र मानवीकरणको प्रभावकारी प्रयोग हो । तर मूर्ति बोल्न सक्दैन (पृ. ७२) मा मौनतालाई मूर्तिको प्रतीकमार्फत प्रस्तुत गर्दै कवि अन्त्यमा भन्छन् –
“कहिलेकाहीँ यस्तो लाग्छ
मेरो मौनताले
मलाई पनि मूर्ति बनाइरहेछ ।”
यही एक पंक्तिले सम्पूर्ण कविताको अर्थलाई व्यापक बनाइदिन्छ । यो केवल मूर्तिको कथा होइन; अन्याय देखेर पनि नबोल्ने समाजको आत्मालोचना हो ।
अस्तित्व र जीवनदर्शनका दृष्टिले आर्यघाटको कुनाबाट (पृ. ८९) उल्लेखनीय छ-
“मान्छेले चिन्ने भनेकै
त्यही कामले आर्जेको नाम रैछ ।”
यो निष्कर्षले जीवनको सारलाई सरल तर गम्भीर ढङ्गले अभिव्यक्त गरेको छ ।
त्यस्तै, अन्तिम कविता एक्लो– त्यो यात्रा (पृ. १००) ले जीवनको अन्तिम सत्य स्मरण गराउँछ–
“जीवनको अन्तिम यात्रामा
नितान्त एक्लो हुनु नै छ ।”
समग्रमा, ‘जहाँ तिम्रो पाइला हुन्छ…’ प्रेम, पीडा, सामाजिक चेतना, राष्ट्रिय सरोकार र मानवीय संवेदनाको बहुआयामिक सङ्गम हो । यी कविता आकारमा लघु भए पनि अर्थमा विराट छन् । कवि दिलीप श्रेष्ठले सरल भाषामा जटिल यथार्थलाई अभिव्यक्त गर्दै पाठकलाई भावुक मात्र होइन, सचेत र चिन्तनशील पनि बनाएका छन् । यही कारण यो सङ्ग्रह समकालीन नेपाली लघुकविताको उल्लेखनीय उपलब्धि मात्र होइन, समयको पीडा र आशा एकसाथ बोकेको सशक्त काव्यदस्तावेजका रूपमा स्थापित हुने सामर्थ्य राख्छ ।

