झापा । कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो ‘मेरो कविता : द रिदम अफ पोयट्री’ आगामी माघ ४ गतेदेखि प्रसारण हुने भएको छ। नेपाली भाषामा कविता लेखिरहेका नवीन प्रतिभाहरूको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले माई प्लेटफर्मद्वारा निर्माण गरिएको यस रियालिटी सोको निर्देशन केवल क्षेत्रीले गर्नुभएकाे छ भने पवित्रा राई सहायक निर्देशकका रूपमा रहनुभएकाे छ ।
डिजिटल अडिसन मङ्सिर ९ गते (नोभेम्बर २५) सम्म सञ्चालन गरिएको थियो। अडिसनमा नेपालसहित विभिन्न मुलुकमा बसोबास गर्ने करिब २५० भन्दा बढी नेपालीभाषी कविहरू सहभागी हुनुभएकाे थियाे । तीमध्येबाट विभिन्न चरण पार गर्दै हाल २५ जना कविहरू प्रतियोगिताका लागि छनोट हुनुभएकाे छ।
रियालिटी सोमा यी २५ प्रतिस्पर्धीबीच कविता वाचन तथा प्रस्तुति मार्फत प्रतिस्पर्धा हुनेछ। निर्णायकहरूको मूल्याङ्कनसँगै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धीलाई भोट हाल्न सक्ने व्यवस्था गरिएको छ। प्रत्येक हप्ता दुई जना प्रतिस्पर्धी बाहिरिने र अन्त्यमा एक जनाले ‘मेरो कविता : द रिदम अफ पोयट्री’को उपाधि जित्नेछन्।
झापाको दमक–बेल्डाँगी क्षेत्रमा छायाङ्कन भइरहेको प्रतियोगिताको निर्णायक मण्डलमा कविद्धय हेमन यात्री र उत्तम तुम्सा लिम्बु, चर्चित गजलकार सुमन स्मारिका तथा अज्ञात ददी रहनुभएकाे छ । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुमन कुरुम्बाङले गर्नुभएकाे छ ।
कवितालाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक दर्शकमाझ पुर्याउने उद्देश्यसहित सुरु हुन लागेको यस रियालिटी सोले नेपाली कविता र नवप्रतिभालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

