काठमाडौँ । नेपालको पहिलो कविता सम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’ले बालबालिका तथा किशोर-किशोरीहरूका लागि ‘द पोएट आइडल जुनियर’ का लागि डिजिटल अडिसन शुरु गरेको छ । आयोजकले १८ वर्षसम्मका प्रतिभाहरूबाट ‘भिडियो कविता’ आव्हान गर्दै ‘द पोएट आइडल जुनियर’का लागि डिजिटल अडिसन खुला गरेको हो ।
निर्देशक अमनप्रताप अधिकारी प्रख्यात कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र हुनुहुन्छ । उहाँले आफ्नो पिताको सम्झना र सम्मानमा तीन वर्षअघिबाट कविता सम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को निर्माण तथा निर्देशन शुरू गर्नुभएको थियो ।
दुईवटा सफल संस्करणको समापनपछि ‘द पोएट आइडल’ले यस पटक १८ वर्ष वा सोभन्दा कम उमेरका कविहरूलाई लक्षित गर्दै नयाँ सिजनको घोषणा गरिएको पोएट आइडलका निर्देशक तथा परिकल्पनाकार अमनप्रताप अधिकारीले बताउनुभयो ।
यसअघिका संस्करणहरूमा झैं ‘द पोइट आइडल जुनियर’सँग साहित्यिक पाटनरका रूपमा नेपालको पहिलो दैनिक साहित्यिक (इ) पत्रिका साहित्यपोस्ट (www.sahityapost.com) ले सहकार्य गरेको छ । ‘द पोइट आइडल जुनियर’का सम्पूर्ण गतिविधि तथा सामग्रीहरू विभिन्न रूपमा साहित्यपोस्टमार्फत प्रकाशन गर्नेछ ।
आफ्नो मौलिक कविता र वाचन कलालाई प्रष्फुटित गराउन चाहने नवप्रतिभाहरूले यस प्रतियोगितामा भाग लिन सक्नेछन् । आयोजकका अनुसार डिजिटल अडिसनमा सहभागी हुनका लागि इच्छुक प्रतियोगीहरूले आफ्नै रचनाको भिडियो बनाएर पठाउनुपर्नेछ ।
अडिसनका मुख्य नियमहरू:
उमेर: १८ वर्ष वा सोभन्दा कम ।
भिडियो अवधि: १ मिनेटदेखि ३ मिनेटसम्म ।
भाषा: कविता मुख्य रूपमा नेपाली भाषामा हुनुपर्नेछ (८० प्रतिशत नेपाली र २० प्रतिशत अन्य भाषाको प्रयोग गर्न पाइने)।
मौलिकता: कविता पूर्ण रूपमा मौलिक (आफैँले लेखेको) हुनुपर्नेछ र भिडियोमा वाचन गर्नेको अनुहार प्रष्ट देखिनुपर्नेछ ।
कसरी दिने अडिसन ?
सहभागीहरूले आफ्नो भिडियो ह्वाट्सएप नम्बर ९८०८११६६४४ वा इमेल thepoetidoljunior@gmail.com मार्फत पठाउन सक्नेछन् । डिजिटल अडिसनका लागि भिडियो पठाउने अन्तिम मिति २०८२ चैत्र १५ गते सम्म तोकिएको छ ।

