साहित्यपोस्ट-नपढी सुखै छैन...

द नेक्स्ट् सेकेन्ड : नवयुवा कलाकारका प्रयोगात्मक कामहरू

द नेक्स्ट् सेकेन्ड : नवयुवा कलाकारका प्रयोगात्मक कामहरू

गत १३ जुनमा तक्पा कला दीर्घामा नेक्स्ट् सेकेन्ड (next II) नामक सामूहिक कला प्रदर्शनीको शुभारम्भ भयो । यो कला प्रदर्शनी आगामी जुलाइको ११ सम्म रहनेछ । एघार जना समसामयिक नितान्त नवयुवा कलाकारहरू संलग्न भएको यो कला प्रदर्शनी मूलतः विगत र वर्तमानको रमाइलो मिलन पनि हो । विगतलाई आजको कलाको दृष्टिकोणबाट हेर्ने जमर्को पनि हो, भन्दा पनि हुन्छ ।

विगतका घटनाहरू, विगतमै स्थापित भएका मान्यता अनि भाष्यहरूलाई पुनर्व्याख्याकासाथ प्रस्तुत गर्नु पनि यी कलाकारहरूको चासोको विषय बनेको देखिन्छ । नितान्त नौलो माध्यममा कला बनाउन रुचाउने यी नवयुवा कलाकारका कलाहरू हेर्दै पनि सर्वनवीन रूपमा देखा पर्दछ । कला सिर्जना गर्दा माध्यमको सीमा हुनु हुँदैन भन्ने भाष्यलाई जबर्जस्तसँग यी कलाकारले समाएका छन् । यसर्थ पनि नेपाली समसामयिक कलामा नितान्त अलग धार, स्वभाव अनि प्रकृतिको उदय भएको पनि देखिन्छ । यी कलाकारहरूको काममा, मेमोरी पनि छ, आध्यात्मिकता, सांस्कृतिक परम्परा, आफ्नो निजी पहिचान, समुदाय अनि आजको वातावरण पनि यथेष्ट रूपमा महसूस गर्न सकिन्छ ।

यी कलाकारहरू आफ्नो मौलिक पहिचानलाई (संस्कार र संस्कृतिलाई साक्षी राख्दै) जीवन्त राख्न पनि भरमग्दुर प्रयत्नशील रहेका देखिन्छन् । यसो हुँदा पनि प्रकृति र मानवबीचको द्वन्द्व खुलस्त भएर देखा परेको छ । सँगै आफ्ना निजी विचारहरू पनि उजागर गर्ने राम्रै चेष्टा गरेको देखिन्छ । प्रतीकात्मक आध्यात्मिक विम्बहरूसँग भाव अभिव्यञ्जनाका साथ खेलेको पनि देखिन्छ । काल्पनिक उडानमा कलाकारहरू आकाशिएका पनि छन् भने आधुनिक प्राविधिक पक्षलाई पनि मज्जाले प्रयोग गर्न भ्याएका देखिन्छन् ।

कला माध्यमको रूपमा इचिङदेखि एक्वान्टेड, स्क्रिन प्रिन्टिङदेखि कपडामाथि निडलका कामहरू, उडकटदेखि इम्बसका कामहरू हेर्दै गर्दा नितान्त नयाँ नौलो काम त देखिन्छ नै । मनभित्रका भाव अनि विचारलाई कुनै पनि वस्तुको माध्यमबाट प्रस्तुत गर्न सकिन्छ भन्ने भाष्यलाई पनि महसूस गर्न सकिन्छ । यो कलागत प्रवृत्ति अहिले विश्व कला–बजारमा चलिरहेको सर्वनवीन प्रवृत्ति पनि हो । यसैलाई प्रतिनिधित्व भइरहेको यथेष्ट अनुभूत पनि हुन्छ ।

यी जम्मै युवा कलाकारहरू आजका कलाकार हुन् । उनीहरू हाम्रो परम्परागत धरोहरलाई आफ्नो कलाको गहकिलो आधार बनाउन चाहन्छन् । साथै, आज विश्वमा प्रचलनमा आइरहेका नितान्त नौला कलागत प्रवृत्तिलाई त्यसैमा मिसाएर नयाँ प्रस्तुति दिने प्रयत्न पनि गर्दछन् ।

यो कला प्रदर्शनीमा क्रमशः अमिसा महर्जन, अनिल नेपाली, अनुस खैँजु, लिजेन महर्जन, मुक्त रानी सिंह, राहुल याकमी, रञ्जन खड्का, रुद्राक्ष मान प्रधान, स्मारिका महर्जन, सोनाम राई, याम्बाङ्ग थापा मगर आदि सहभागीको रूपमा छन् ।

हिजोआज अधिकांश युवा कलाकार जसलाई विश्व कलाको शैली र प्रवृत्तिमा चासो छ, ज्ञान छ, ती कलाकारले यस्तैयस्तै कलागत एप्रोचलाई समातिरहेका देखिन्छन् । यसमध्ये पनि दुईचार वटा कुरा जस्तो कि मेमोरी, अहिले हरेक कलाकारको लागि गजबको प्रेरणाको स्रोत बनेको देखिन्छ । बच्चाकै बेलादेखि, देख्दै–भोग्दै आएका हरेक जसो गतिविधिलाई प्रतिबिम्बको रूपमा आफ्ना क्यानभासमा उतार्ने प्रचलन बनेको देखिन्छ । प्रक्रियागत रूपमा यी कलाकारले आफ्नो बाजे बजैले वा बराजुले थेग्दै आएको परम्परागत दिनचर्यालाई गहिरो गरी सम्झनामा ल्याउँछन् । तत्पश्चात् यसैलाई एउटा कलागत रूपमा चित्रपटमा उतार्ने गर्दछन् ।

यसो हुँदा नितान्त नौलो संरचना देखिन्छ । प्रस्तुतिको अलग्ग ढाँचा देखिन्छ । यो नै उनको कलाको मूल मोटिफ मात्र पनि हुँदैन, एउटा गतिलो आधारभूमि पनि बनेको, बनाएको देखिन्छ । यसले एक अलग्ग रौनक ल्याएको देखिन्छ । मूलतः यसमा दिनचर्या मात्र समाहित हुँदैन, जीविकापार्जनदेखि संस्कारसम्ममा आबद्ध हुने हुँदा देखिने अनेकानेक भूमिकाहरू पनि प्रतिबिम्बित हुने गर्दछ । अनि बाजे बराजुसँग आफू गाँसिनुको इतिहास पनि स्पष्ट भएर देखा पर्ने गर्दछ ।

the-next-second-art(1).
the-next-second-art(1).

अर्को भनेको चाहिँ माइथोलोजी, अर्थात् पौराणिक कथाहरू (मिथकहरू) र आध्यात्मिक विम्बहरू हुन् । जसलाई आफ्नो मौलिक पहिचानलाई प्रतीकको रूपमा प्रयोग गर्ने गर्दछन् । अर्को थप भनेको चाहिँ आजको वातावरण अर्थात् कन्टेस्चुयल मुद्दाहरूमा चासो राख्ने गर्दछन् । अनि यसैमा आफ्ना नितान्त व्यक्तिगत विचारहरू, आइडिया र कन्सेप्टलाई कलागत भाषामा प्रयोग गर्ने गर्दछन् । यसकारण हिजोआजका युवा कलाकारहरू कन्सेप्चुअल आर्टिस्टको रूपमा देखिन्छन्, चिनिन्छन् । विषय, माध्यम जे जस्तो भए पनि यसैमा आफ्ना निजी विचारलाई प्रस्फुटन गर्न बढी चासो राख्नाले आजका कलाले एउटा अलग्ग धार समातेको महसूस हुन्छ । हिजो र आजको गज्जबको संगम देखिनु पनि परोक्ष रूपमा यसैको प्रभाव हो ।

जहाँ निश्चित समुदायविशेषका स्थानीय कथाहरू, जो स्वभावतः परम्परासँग गाँसिएका छन्, तिनलाई आजको सन्दर्भमा पुनर्व्याख्या गर्दै कलाकारहरूले अर्थपूर्ण रूपमा प्रस्तुत गरेका छन् । यसमा धार्मिक रूपहरू स्वाभाविक रूपमा देखा पर्छन् । साथै, रिचुअल प्राक्टिसहरू आजको सहरी वातावरणसँग कसरी फ्युजन हुँदैछन् भन्ने सानो तर अर्थपूर्ण रूप पनि यी कलाहरूमा अवलोकन गर्न सकिन्छ । यसलाई नै अवधारणात्मक गहिराइमा लैजाँदै गर्दा समसामयिकता त देखिन्छ नै, वर्तमान अवस्था, घटना, सामाजिक मुद्दाहरू अचानकमा देखा पर्न गई समाज वा स्वयं राष्ट्रकै अहम भाग हुन जान्छ । यो एउटा कलाकारको विचार अनि आजको कलागत प्राविधिले गर्दा यसको बाह्य स्वरूप मात्र अलग्ग देखिँदैन, यसले स्वयं राष्ट्रलाई समाएको अनुभूत हुन्छ ।

अलिकता कलाका कुराहरू

अनुसले दृश्यचित्रमाथि प्रिन्ट मेकिङ कला बनाएर थोरै अनौठो माध्यमलाई समाएका छन् । तुलिकाघातहरू हातैले चलाएर प्रकृतिको विम्बलाई समात्दै गर्दा बीचैमा नितान्त अलग्ग प्रक्रिया अपनाएर लेखेर, कोरेर पुनः छापेर (इम्बस गरेर) अर्कै प्रतिबिम्बलाई पनि त्यसै चित्रमाथि राखिदिँदा यसले अनौठो रूपको निर्माण भएको देखिन्छ । यथार्थ अनि अयथार्थता बीचको द्वन्द्वले निम्त्याएको एउटा अलग्ग संसार पनि त्यहाँ देखा पर्दछ । स्वाभावतः झट्ट हेर्दा भने उनका यी कामहरू अलिकता अस्वाभाविक देखिन्छ । एउटा दृश्यलाई कतैबाट छेकेजस्तो, अवरोध गरेको जस्तो देखा पर्दै गर्दा खोज्नै पर्ने थुप्रै कुरा भए जस्तो अनुभव चाहिँ हुन्छ । यो एउटा अनौठो प्रयोग पनि हो ।

यो उनको सेम स्पेस फेडिङ्ग स्पेरियन्सेस सिरीजका कामहरू हुन् । यसो हुँदा सबै कामहरू एकै जस्ता देखिन्छन् तथापि एकै भने होइनन् । उनी काठमाडौंका गल्लीका घरलाई नजिकबाट नियाल्छन् । जलरङमा चित्रण गर्दछन् । अनि यसै चित्रपटको एउटा कुनामा सेतो भागको निर्माण गर्दछन् । मूलतः यही भाग नै सेतोमाथि सेता आकारले ढाकेको इम्बस हो । अवलोकन गर्दा थोरै अनौठो लागे पनि यसले भावकलालाई एउटा अर्कै प्रकारको प्रभाव दिन्छ । खासमा हेर्दा यो एउटा साधारण दृश्यचित्र हो । तापनि यसमाथि अलग्ग प्रकारले आकृतिहरू आएर बस्दा के के जाति भनिरहेको अनुभूति हुन्छ । अनि यहाँ थोरै अभिव्यञ्जना अनि विचारहरू पनि सलबलाएको देखिन्छ । यही नै उनको कलाको मूल लक्ष्य पनि हो ।

रञ्जनले भने शहर र पानीको अस्तित्वमाथिको द्वन्द्वलाई प्रस्तुत गर्न खोजेका छन् । पानीको प्राकृतिक बहावलाई छेक्दै अवरोध गरेपछि पानीको उग्ररूपको परिकल्पना उनको कलामा देखिन्छ । द सिटि याट द रिभरमा शहरले नदीलाई खाइदिएको सन्दर्भ निकाल्छन् । भने द रिभर द्याट उइल इट द सिटिमा चाहिँ नदी उर्लेर शहर खान लागेको, खाँदै गरेको दृश्यलाई प्रस्तुत गर्दछन् । नदीमाथि नै बसेको शहरको विम्बको रूपमा द सिटि एभोव द रिभर बनेको छ भने द सिटि द्याट वोएट टु टर्निस एउटा चेतावनीझैँ गरेर नदीले शहरलाई सचेत गराएको सन्दर्भ पनि उनको कलामा देखिन्छ । यो एउटा चोटिलो मुद्दा पनि हो । मान्छेको स्वभाव पनि हो । अनि काठमाडौं भ्यालीको त ज्वलन्त उदाहरण नै हो । यही कथा उनको कलामा देखा परेको छ ।

the-next-second-art(3)
the-next-second-art(3)

लिजेनका स–साना कामहरू छन् । तापनि अनौठो कलागत संयोजनले भावकलाई निक्कै नै आकर्षण गरेको देखिन्छ । उनका दुईवटा सिरिजका कामहरू यहाँ प्रदर्शनमा छन् । एउटामा ब्यालेन्स अनि अर्कोमा चाहिँ लुप सिरिजका कामहरू छन् । एउटा निश्चित पोस्चरमा राखेर मानवीय शरीरहरूलाई गोलाकारमा चाङ लगाएर राखिएको देखिन्छ । अर्कोमा पनि थोरै मान्छेहरू नै छन् अनि गोलाकारमै देखिन्छ । भ्रमको प्रतिबिम्बको रूपमा देखा परेका यी कामहरू बाह्य दृष्टिलाई अलमल्याउने हुँदा पनि यी कामहरू अप आर्टको झझल्को चाहिँ यथेष्ट रूपमा दिन्छ ।

अमिसाले अझ अचम्मको काम गरेका छन् । उनले फिल्ड नाम बोकेको उनका काममा कपडामाथि पञ्च निडलिङ्गको माध्यमबाट अलि मोटो भुवादार कार्पेटको निर्माण गरेका छन् । बुट्टैबुट्टाले भरिएजस्तो काम देखा परे पनि यसलाई भावकले अनौठो कलाको रूपमा हेरेको देखिन्छ । अर्को उनको काम चाहिँ स्टिचिङ्ग द ल्याण्ड अनि ब्लक बाइ ब्लक छ । जसलाई पनि कपडामाथि बुनेर प्रस्तुत गरिएको छ । रङ्गीचङ्गी धागाहरूले अमूर्त स्वभावलाई प्रस्तुत गरिबस्दा बीचमा अर्कै धागोले अवरोध गरे जस्तो पारामा संयोजन हुँदा पनि यो अनौठो कलाको रूपमा देखा परेको हो । यसमा उनले गजबको अवधारणालाई समेटेकी छन् । उनी मूलतः आफ्नो कला मार्फत कृषियोग्य जमिन अनि परम्परागत प्राक्टिसको नातालाई केलाउने क्रममा देखा परेकी छन् । उनी भन्छन् – कृषियोग्य जमिन जब हराउँदै जान्छ । योसँगसँगै हाम्रो सांस्कृतिक ज्ञान, रीतिरिवाज अनि कृषिकै परम्पराबाट पनि विमुख होइन्छ । यतिमात्र पनि होइन, कृषियोग्य जमिनबाट विमुख भएर कसरी हाम्रो सांस्कृतिक परम्परा बचाउन सकिन्छ र भन्ने प्रश्न पनि उनी आफ्नो कलाबाट प्रवाहित गर्दछन् ।

स्मारिकाका कामहरू संवेदनशील भावका साथ प्रिन्ट मेकिङ्ग कलाको ( इचिङ्ग, एक्वान्टेट अनि इम्बोजिङ्ग ) रूपमा देखा परेको छ । चरालाई मूल पात्रको रूपमा उभ्याएर, अनेकानेक भाव सन्देशलाई प्रवाहित गर्ने उनको लक्ष्य देखिन्छ । राहुलले अन्तरिक्ष अनि ताराग्रहहरू बीच भएर तारा कामना चित्र बनाएका छन् । जीवनको यात्रामा जति यात्रा गरे पनि इच्छा चाहिँ आइरहँदो रहेछ भन्ने गजबको विचारलाई उनले आफ्नो कलामा प्रस्तुत गर्न पुगेका छन् ।

रुद्राक्षले स–साना मूर्तिहरू बनाएर मिथकको अर्को राम्रो प्रयोग गरेका छन् । प्रोटेक्टरलाई प्रोटेक्टक अवधारणा बोकेको यो उनका स–साना मूर्तिहरूले एउटा गजबको भाष्यलाई प्रवाहित गरेका छन् । उनी भन्छन्–भगवान जसले हामीलाई प्रोटेक्ट गर्छ भनेर आस्था भक्तिभाव राख्छौँ । आजको दिनमा चोरले चोरीदिन्छ कि भनेर हामी नै भगवानका प्रोटेक्टर बन्न पुगेका छौँ । मूलतः उनले स–साना मूर्तिहरू अष्टमातृका अनि गणेशका वाहनहरूलाई फलामको सानो पिँजडामा राखेर प्रस्तुत गरेका छन् । सोनाम राईको अति भावुक चित्र नट रिटर्न होम एट आदिलाई पनि यहाँ अवलोकन गर्न सकिन्छ । यो उनको उडकट काम हो ।

the-next-second-art(2)
the-next-second-art(2)

याम्बाङ्गको अलि फरकपनाको दृश्यचित्रलाई प्रस्तुत गरेका छन् । फरक यस अर्थमा कि उनको चित्र डस्ट अफ चोभारमा मात्र पहाड र घाँसका थुप्रा छैनन् । उनले यही ठाउँ किन रोजे भन्ने मार्मिक कथा पनि लुकेको देखिन्छ । पहिले उहिले यहाँ हिमालयन सिमेन्ट फ्याक्ट्री रहेका अनि प्रदूषण हुँदा यसले मान्छेलाई पारेको प्रभावलाई पनि यो सानो चित्रले बोकेको एहसास दिलाउँछ । अनिलको दृश्य अदृश्य चित्र पनि यहाँ प्रदर्शनमा छ । क्लोजर टु द पास्ट सिरिजमा बनेका यी कामहरू झट्ट हेर्दा केही देखिँदैन । तर मोबाइलमा अर्थात् क्यामेरामा कैद गर्ने बित्तिकै यथार्थ चित्रहरू छर्लङ्गै देखिनुले पनि यो उनको टेक्निकले आम भावकलाई यथेष्ट मनोरञ्जन गर्दछ । पहिले उहिलेका घटनाहरू, मान्छेहरूलाई सम्झना ल्याउँदै गर्दा यस्तायस्तै चित्रहरूले जीवन्त पाएको परिदृश्य यहाँ देखिन्छ ।

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

थप रचनाहरू पढ्नुहोस् →

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नुहुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.