साहित्यपोस्ट डट कम

‘द हंग्री टाइड’ मानव अस्तित्व, प्रकृतिको रहस्य र आत्माको गहन अन्वेषण

‘द हंग्री टाइड’ मानव अस्तित्व, प्रकृतिको रहस्य र आत्माको गहन अन्वेषण

१. विषय प्रवेश

‘अमिताव घोष’ एक प्रसिद्ध भारतीय उपन्यासकार तथा चिन्तक हुन्, जसको जन्म कोलकातामा भएको हो । उनले दिल्ली विश्वविद्यालय, दिल्ली स्कूल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनका कृतिहरूमा इतिहास, पर्यावरण, उपनिवेशवाद र मानव जीवनका जटिल पक्षहरू गहन रूपमा चित्रण हुन्छन् । द हंग्री टाइड, द ग्लास प्यालेस र सी अफ पोपिज उनका चर्चित कृतिहरू हुन् । उनले विश्व साहित्यमा भारतीय दृष्टिकोणलाई सशक्त रूपमा प्रस्तुत गरेका छन् । घोषको लेखनमा अनुसन्धान, संवेदना र दार्शनिक गहिराइको अद्भुत समन्वय पाइन्छ । भारतीय लेखक घोष द्वारा लिखित द हंग्री टाइड (२००४) मानव अस्तित्व, प्रकृतिको रहस्य र आत्माको गहन अन्वेषण हो । यो कृति सुन्दरबनको जटिल भूगोल, त्यहाँको जीवन संघर्ष, र मानव–प्रकृति सम्बन्धको दार्शनिक विमर्शलाई अत्यन्तै संवेदनशील ढंगले प्रस्तुत गर्छ । उपन्यासले पाठकलाई एउटा यस्तो संसारमा पुर्‍याउँछ जहाँ जमिन र पानीबीचको सीमा हराएको छ, जहाँ हरेक ज्वारभाटा जीवन र मृत्युबीचको सिमाना जस्तै देखिन्छ र जहाँ मानिसको अहंकार प्रकृतिको अगाडि सधैं सानो साबित हुन्छ ।

२.परिवेश :

सुन्दरबन गंगा र ब्रह्मपुत्रको विशाल डेल्टा यस उपन्यासको आत्मा हो । यहाँका टापुहरू स्थिर छैनन् ती हरेक क्षण बदलिन्छन् । ज्वारभाटाको उतारचढावसँगै जमिन कहिले हराउँछ कहिले पुनः देखा पर्छ । पानीले भूमि निल्छ, फेरि जन्म दिन्छ । सुन्दरबन आफैंमा सृष्टि र विनाशको अनवरत चक्र हो ।

यहाँको जीवन अनिश्चितताको दर्शन हो । मानिसहरू हरेक दिन बाढी, आँधी, बाघ र भोकसँग संघर्ष गर्छन् । तर यही संघर्षमा जीवनको अर्थ लुकेको छ । प्रकृति यहाँ परिवेश होइन यो ईश्वरजस्तै छ । कहिले करुणामय, कहिले निर्दयी ।

दार्शनिक रूपमा हेर्दा, सुन्दरबन ‘संसारचक्र’को जीवित प्रतीक हो । यहाँ जन्म, मृत्यु र पुनर्जन्म निरन्तर भइरहन्छ । मानिस, जनावर र वनस्पति सबै यस चक्रका अंश हुन् । यसले देखाउँछ कि स्थायित्व केवल भ्रम हो, परिवर्तन नै सत्य हो ।

३.पात्र विश्लेषण :

पियाली रोय

पिया एउटा वैज्ञानिक हो, तर ऊ तथ्य र तथ्याङ्कको खोजमा सीमित छैन । उसको यात्रा डल्फिनको खोजसँगै आत्मपहिचानको खोज पनि हो । पश्चिमी वैज्ञानिक चेतनाबाट निर्देशित भए पनि, ऊ बिस्तारै पूर्वीय संवेदनातर्फ झुक्छे । उसले बुझ्छे कि ज्ञान मात्र पर्याप्त हुँदैन; अनुभूति बिना ज्ञान अधूरो हुन्छ । यस अर्थमा, पिया ‘विद्या र अविद्या’को समन्वयको प्रतीक हो—जहाँ विज्ञान र आत्मा एकै बिन्दुमा भेटिन्छन् ।

कनाई दत्त

कनाई एक कुशल अनुवादक हो, जसले धेरै भाषा जान्दछ । तर ऊ जीवनको साँचो भाषा अनुभूति र मौनताको भाषा बुझ्न असमर्थ हुन्छ । उसको यात्रा अहंकारको विघटन हो । जब ऊ बाघसँग आमनेसामने हुन्छ, त्यतिबेला शब्दहरू असफल हुन्छन् र अनुभूति बाँकी रहन्छ । त्यही क्षण उसले ‘शब्दहीन सत्य’ अनुभव गर्छ, जहाँ भाषा समाप्त हुन्छ र अस्तित्व मात्र बाँकी रहन्छ ।

फोकिर

फोकिर अशिक्षित भए पनि गहन रूपमा ज्ञानी छ । उसले प्रकृतिको संकेत बुझ्छ, नदीको चाल थाहा पाउँछ र जीवनलाई सरल रूपमा स्वीकार गर्छ । ऊ कर्मयोगी हो । निःस्वार्थ, निष्कपट र प्रकृतिसँग पूर्ण रूपमा एकाकार । उसको मृत्यु अन्त्य होइन यो बलिदान र मोक्षको प्रतीक हो, जसले साँचो जीवन त्यागमा निहित हुन्छ भन्ने देखाउँछ ।

४. मुख्य विषयवस्तु :

उपन्यासले उठाएको प्रश्न ‘यो भूमि कसको हो र ? मानिसको कि प्रकृतिको ?’ भौतिक स्वामित्वको प्रश्न होइन । यो अस्तित्व र नैतिकताको गहन विमर्श हो । सुन्दरबनमा बस्ने मानिसहरू पूर्ण रूपमा प्रकृतिमाथि निर्भर छन् । उनीहरू माछा मार्छन् । जंगलमा जान्छन् र त्यसैबाट आफ्नो जीवन यापन गर्छन् । तर यही प्रकृतिले बाढी, आँधी, बाघ र रोगमार्फत उनीहरूलाई निरन्तर चुनौती दिन्छ । यसरी हेर्दा मानव र प्रकृति दुश्मन जस्तो देखिए पनि, वास्तवमा उनीहरू एकअर्काका पूरक हुन् । दार्शनिक दृष्टिले यो द्वन्द्व अहंकार र समर्पण बीचको संघर्ष हो । मानिस आफूलाई मालिक ठान्छ, तर प्रकृतिले उसलाई बारम्बार सम्झाउँछ कि ऊ अतिथि मात्र हो । त्यसैले, यस प्रश्नको कुनै स्पष्ट उत्तर छैन, किनकि भूमि न पूर्ण रूपमा मानिसको हो, न प्रकृतिको । दुवै एकअर्कामा विलीन छन् । मानव प्रकृतिबाट अलग छैन । ऊ त्यसकै अभिन्न अंश हो । अन्ततः उपन्यासले समाधान खोज्दैन, बरु चेतना दिन्छ । अधिकारभन्दा सह–अस्तित्व नै जीवनको साँचो मार्ग हो ।

५. दार्शनिक र आध्यात्मिक विमर्श

उपन्यासले प्रस्तुत गरेको अद्वैत दृष्टिकोण अत्यन्त गहन र आध्यात्मिक छ । यहाँ मानिस र प्रकृति दुई पृथक् अस्तित्व होइनन्, बरु एउटै सत्यका दुई रूप हुन् । सुन्दरबनको परिवेशले यो अनुभूति स्पष्ट बनाउँछ—जहाँ पानी र जमिनको सिमाना हराउँछ । मानिस र प्रकृति बीचको भिन्नता मेटिन्छ । मानिस प्रकृतिको उपभोक्ता मात्र होइन, त्यसको अंश हो । प्रकृति कुनै बाह्य शक्ति होइन, आत्माको विस्तार हो ।

यस सन्दर्भमा अद्वैत वेदान्तको मूल विचार ‘अहं ब्रह्मास्मि’ सजीव रूपमा प्रकट हुन्छ । यसको अर्थ अनुभूत सत्य हो— ‘म नै ब्रह्म हुँ’, अर्थात् म र विश्वबीच कुनै भिन्नता छैन । पिया, फोकिर र सुन्दरबनबीचको सम्बन्धले यही एकत्वलाई उजागर गर्छ । जब व्यक्ति अहंकार त्याग्छ, तब ऊ प्रकृतिसँग एकाकार हुन्छ । यही अवस्थामा न द्वन्द्व रहन्छ, न डर, शान्ति र समन्वय मात्र रहन्छ ।

कनाईको बाघसँगको सामना यो गहन ‘मृत्यु–साक्षात्कार’ हो । त्यस क्षणमा भाषा हराउँछ, विचार रोकिन्छ, र केवल शुद्ध अनुभूति बाँकी रहन्छ । भयले उसलाई आफ्नो सीमित अस्तित्वसँग आमनेसामने गराउँछ । यही अनुभवले मानिस जति बुद्धिमान भए पनि, प्रकृतिको अगाडि ऊ सधैं असुरक्षित छ भन्ने देखाउँछ । दार्शनिक रूपमा, यो अनुभूति बौद्ध दर्शनको ‘अनित्य’ सिद्धान्तसँग मेल खान्छ । सबै कुरा क्षणिक छ, जीवन पनि । भयले अहंकार तोड्छ र सत्यसँग साक्षात्कार गराउँछ ।

सुन्दरबनको सन्दर्भमा धर्म पनि परम्परागत पूजा मात्र होइन, जीवनको व्यवहारिक मार्ग हो । यहाँका मानिसहरू बोन बीबीमा विश्वास गर्छन्, जसले जंगल र मानवबीच सन्तुलन कायम गर्छिन् । यो विश्वास सह–अस्तित्वको नियम हो । प्रकृतिको सम्मान गर्नु यहाँ धर्म हो । सीमाभित्र बस्नु नै जीवन रक्षा हो ।

६. शैली र संरचना

घोषको लेखन शैली वास्तवमै बहुआयामिक छ, जहाँ साहित्य कथा भन्नका लागि होइन, अनुभूति, ज्ञान र दर्शनको समन्वयका रूपमा प्रस्तुत हुन्छ । उनको काव्यमय वर्णनले पाठकलाई दृश्यभित्रै प्रवेश गराउँछ । प्रकृति, नदी, हावा सबै सजीव लाग्छन् । साथसाथै, उनको लेखनमा वैज्ञानिक दृष्टिकोण पनि स्पष्ट देखिन्छ । वातावरण, जीव–जन्तु र पारिस्थितिको सूक्ष्म अध्ययनले कथा यथार्थपरक र विश्वसनीय बनाउँछ । दार्शनिक गहिराइ उनको शैलीको अर्को प्रमुख विशेषता हो । पात्रहरू केवल घटनाका भाग होइनन्; तिनीहरू विचार, प्रश्न र चेतनाका प्रतिनिधि हुन् । उनले कथा र इतिहासलाई कुशलतापूर्वक मिसाउँछन्, जसले पाठकलाई अतीत र वर्तमान बीचको सम्बन्ध बुझ्न मद्दत गर्छ । यथार्थ र मिथकको समन्वयले उनको लेखनलाई अझ गहन र प्रतीकात्मक बनाउँछ, जहाँ तथ्य र कल्पनाबीचको सिमाना धमिलो हुन्छ ।

७. समालोचनात्मक मूल्याङ्कन

सकारात्मक पक्ष

घोषको लेखनको विशिष्टता यसको बहुआयामिक प्रकृतिमा छ । उनका उपन्यासहरू जीवन, मृत्यु, प्रकृति र मानवीय अस्तित्वका गहिरा प्रश्नहरू उठाउने दार्शनिक यात्रा हुन् । प्रत्येक घटना कथाको हिस्सा नभई पाठकलाई चिन्तन र आत्म–अन्वेषणको निम्तो दिन्छ । सुन्दरबन जस्तो जीवन्त परिवेश घोषले पृष्ठमा मात्र उतारेका छैनन् उनीहरूले अनुभव सिर्जना गर्छन् । दलदल, टापु र नदीहरूले मात्र कथा अघि बढाउँदैनन्, पाठकलाई प्रकृतिसँगको प्रत्यक्ष सम्बन्धको अनुभूति गराउँछन् । प्राकृतिक दृश्य र मानवीय भावना आपसमा गहन सम्बन्धमा बाँधिएका छन्, जसले कथालाई थप जीवन्त बनाउँछ । त्यस्तै, उनका पात्रहरू बहुआयामिक छन् । पियाली, कनाई र फोकिर उनीहरू विचार, अनुभूति र दर्शनका वाहक हुन् । प्रत्येक पात्रको आन्तरिक संघर्ष, प्रेम, त्याग, भय र संवेदनशीलता कथामा गहिराइ थप्छ । पात्रहरूको अन्तरक्रिया र सम्बन्धले कथा घटना मात्र नभई अनुभवात्मक, दार्शनिक र संवेदनात्मक बनाउँछ । घोषको लेखन शैली कथ्य, दर्शन र ऐतिहासिक यथार्थ बीचको सन्तुलन राख्दै पाठकलाई गहन अनुभवमा लग्ने कला हो ।

सीमितताहरू

घोषका उपन्यासहरूमा केही चुनौतीहरू पनि देखिन्छन् । कथानक कहिलेकाहीँ असंगत वा अव्यवस्थित लाग्न सक्छ, विशेषगरी जब इतिहास, मिथक र वर्तमान घटनालाई एकसाथ मिश्रित गरिएको हुन्छ । यसले पाठकलाई कतिपय समय कथाको प्रवाह बुझ्न कठिनाइ दिन सक्छ । त्यस्तै, केही पात्रहरू पूर्ण रूपमा विकसित नभएको महसूस हुन्छ । उनीहरूको आन्तरिक जीवन र भावनात्मक परिपक्वता पर्याप्त रूपले चित्रित नहुनु पाठकलाई सम्बन्धित भावनामा पूर्ण रूपमा डुब्नबाट रोक्छ । यद्यपि यी सीमाहरूले उपन्यासको दार्शनिक र सांस्कृतिक गहिराइलाई कम गर्दैन तर कथनको स्पष्टता र पात्रहरूको समग्र अनुभवलाई कहिलेकाहीँ प्रभावित गर्छ ।

निष्कर्ष :

‘द हंग्री टाइड’ दर्पण हो, जसमा हामी आफ्नो अस्तित्व देख्छौं । उपन्यासले जीवनको अनिश्चितता देखाउँछ र प्रकृतिको सर्वोच्चता उजागर गर्छ । यहाँका पात्रहरूको यात्रा आत्म–अन्वेषण र भावनात्मक गहिराइको यात्रा हो । प्रेम र त्याग यहाँ अन्तिम सत्यका रूपमा प्रस्तुत छन् जसरी पियाली, फोकिर र अन्य पात्रहरूले अनुभव गर्छन् । अन्ततः कृति एउटा मौन प्रश्न सोध्छ ‘हामी को हौं ?’ र यसको सम्भावित उत्तर हो ‘हामी प्रकृतिको सानो तर अनन्त अंश हौं ।’ अन्तिम अनुभूति ज्वारभाटासँगै जीवन बगिरहन्छ, तर प्रेम, स्मृति र आत्माको प्रकाश कहिल्यै हराउँदैन ।

साझा गर्नुहोस्:
तोमनाथ उप्रेती

लेखकको बारेमा

तोमनाथ उप्रेती

सयौं फुटकर रचना रच्नु भएका तोमनाथ उप्रेतीका आधा दर्जनभन्दा बढी लघुउपन्यास प्रकाशोन्मुख छन् । उहाँ नेपाल सरकारका उपसचिवसमेत हुनुहुन्छ । उहाँको एक लघुउपन्यास साहित्यपोस्टबाट प्रकाशित हुँदैछ ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.