काठमाडौं । राजधानीको ठमेल एक साँझ मुक्तकका लयमा गुञ्जियो । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न मुक्तक वाचन कार्यक्रममा तीन स्रष्टा रामसुन्दर देउजा, पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’ र सुभद्रा अधिकारीले संयुक्त रूपमा आफ्ना सिर्जना सुनाउनुभयाे । प्रत्येकले १५/१५ मुक्तक वाचन गर्दै कार्यक्रमलाई सघन र अर्थपूर्ण बनाउनुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि रामकाजी कोनेले मुक्तकलाई “थोरै शब्दमा गहिरो अनुभूति व्यक्त गर्ने सशक्त विधा”का रूपमा व्याख्या गर्नुभयाे । उहाँले मुक्तकमा विम्ब, प्रतीक, अलङ्कार र ध्वनिको संयोजनले प्रभावकारी अभिव्यक्ति सम्भव हुने बताउँदै यसको सैद्धान्तिक विकासतर्फ पनि लक्ष्मणप्रसाद गौतमको नेतृत्वमा भएको काम उल्लेख गर्नुभयाे । उहाँले आफ्ना केही मुक्तक समेत वाचन गर्नुभयाे ।
लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलले प्रस्तुत मुक्तकहरू समसामयिक विकृति–विसंगतिप्रति तीक्ष्ण टिप्पणी मात्र नभई देशप्रेम, माटोप्रेम, प्रेम र सम्बन्धका विविध भावनाले भरिएकाे टिप्पणी गर्नुभयाे ।
कार्यक्रमको अन्त्यतिर छविरमण सिलवालले सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता साहित्यिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयाे । सहजीकरण प्रदीप सापकोटाले गर्दै मुक्तककारहरूको संक्षिप्त परिचय प्रस्तुत गर्नुभयाे ।
चिवहाल गौचर परिवारको सहकार्यमा सम्पन्न कार्यक्रममा वाचित मुक्तकहरूमा देशप्रेम, प्रेम, सामाजिक विकृति र विसंगतिप्रति व्यङ्ग्य तथा आक्रोशको तीक्ष्ण अभिव्यक्ति सुनिएको थियो। कार्यक्रमको मिडिया पार्टनर इखवर नेट रहेको थियो।

