साहित्यपोस्ट डट कम

‘तेस्रो खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव’ सम्पन्न

‘तेस्रो खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव’ सम्पन्न

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा आयोजित ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ सम्पन्न भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा छ दिनसम्म सञ्चालन भएको महोत्सव विविध कार्यक्रमसहित समापन गरिएको हो ।

समापन समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनुभएकाे पाँच व्यक्तित्वलाई जनही नगद रु ११ हजार १ सय ११, दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको छ । साहित्यतर्फ रविमान लम्जेल, शिक्षातर्फ हेम नाछिरिङ, खेलकुदतर्फ प्रभुराम राई, सामाजिक क्षेत्रमा दिनेश घिमिरे तथा पत्रकारितातर्फ सविना अछामे परियारलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

महोत्सवको अन्तिम दिन साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कवि मनु मञ्जिल, कमल सङ्घर्ष, बबिता भुजेल, कविता राई, रजत किराती, इन्द्र नारथुङ्गे, कोपिता राईलगायत करिब ४० जना साहित्यकारले आ–आफ्ना सिर्जना वाचन गर्नुभएकाे थियाे ।

आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईका अनुसार खेलकुद र साहित्यको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । छ दिनसम्म सञ्चालन भएको महोत्सवले जिल्लाको पर्यटन र व्यापार–व्यवसाय प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको आयोजकको दाबी छ ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी सञ्चालन गरिएको महोत्सव सम्पन्न गर्न करिब ३० लाख रुपैयाँभन्दा बढी खर्च भएको जनाइएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.