साहित्यपोस्ट डट कम

तेस्रो अन्तर्राष्ट्रिय जेन–साहित्य सङ्गोष्ठी सम्पन्न, सूरज पराजुली प्रथम

तेस्रो अन्तर्राष्ट्रिय जेन–साहित्य सङ्गोष्ठी सम्पन्न, सूरज पराजुली प्रथम

काठमाडौं । जरा फाउन्डेसन नेपालको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय जेन–साहित्य सङ्गोष्ठी काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्ण प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतका साहित्यकार तथा सिक्किमका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी भट्टराई प्रमुख अतिथि रहनुभएको थियो भने अनिला लुण्डुप तेन्जिन विशेष अतिथि रहनुभएको थियो ।

सङ्गोष्ठीमा जर्मनी, थाइल्याण्ड, बर्मा, भूटान, बेलायत, भारत, क्यानडा लगायतका देशका कविहरूको सहभागिता रहेको थियो । जेन कविता आह्वानअन्तर्गत प्राप्त १४९ कवितामध्ये उत्कृष्ट १५ कविता छनोट गरिएको थियो ।

प्रतियोगितामा सूरज पराजुली प्रथम, गोमा श्रेष्ठ द्वितीय र मोहित जोशी तृतीय हुनुभएकाे छ । विजेताहरूलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ । तीन सदस्यीय निर्णायक मण्डलमा मोमिला जोशी, कुमारी लामा र इन्द्रमान जोशी रहनुभएको थियो ।

कार्यक्रममा विभिन्न देशका अतिथि कविहरूले कविता वाचन गर्नुभएकाे थियाे भने जेन दर्शन र यसको सिर्जनात्मक पक्षबारे विचार विमर्शसमेत गरिएको थियो । प्रमुख अतिथि भट्टराईले युवा पुस्तालाई साहित्यतर्फ आकर्षित गर्दै उहाँहरूलाई सर्जनशीलतामा अघि बढाउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण प्रज्वल अधिकारी र सिर्जना शर्माले गर्नुभएको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.