साहित्यपोस्ट डट कम

तातोपानी यात्रा

तातोपानी यात्रा

कार्यकक्षमा नै थिएँं, मोबाईलमा कल आयो, हेरेँ, दाजुको रहेछ । एकछिन सन्चो बिसन्चोको सोधनी पछि दाजुले सोध्नुभयो, “आउँदो शनिबार तातोपानी जाने कार्यक्रम छ, जाने हो र ?”

“कताबाट हो र दाजु ? मिल्ने भए जाने हो नि” मैले भनेँ ।

“ज्येष्ठ नागरिक समाजबाट भ्रमणको कार्यक्रम बनेकाले जाने हो कि भनेर, एक जनासम्म मिल्छ कि भनेका छन् ।” दाजुको तर्फबाट जान मिल्ने संकेत पाए पछि मैले जाने सहमती जनाएँ ।

“खर्च कति लाग्ने रहेछ ?” मैले लागत बारे जिज्ञासा राखेँ ।

“गाडी भाडा प्रति व्यक्ति एक हजार लाग्छ र खानका लागि अतिरिक्त व्यवस्था गरे हुन्छ । दाजुले भ्रमण लागतको जानकारी दिनुभयो ।

अहिलेसम्म उत्तरतर्फको नाका नपुगेकाले यसपालि एउटा नयाँ भ्रमण हुने भएकाले मनमा रमाइलो अनुभूति भयो । पहिले देखि नै कुनै बेला अवसर मिलेसम्म जाने सोच त गरेको नै थिएँ, अहिले आएको यो प्रस्तावले खुसी नै लाग्यो । फेरी जहिले तहिले रमाइलो गरी जानका लागि कहाँ पो समूह मिल्ने हो र ? त्यहि माथि ज्येष्ठ नागरिक समाजबाट भएकाले धेरैसँग चिनजानको अवसर पनि त मिल्ने भयो । तत्कालै मेरी श्रीमतीजीको फोन आएकाले मैले यो भ्रमणका बारेमा जानकारी दिएँ । मिलेसम्म आफू पनि जाने सोच बनाइन् र उनले यस बारेमा सोध्न भनेकीले मैले तुरुन्त दाजुलाई फोन लगाएँ । दाजुले सोधेर भनुँला भन्ने जवाफ दिनुभएपछि पारिवारिक भ्रमण पो हुन्छ कि त भनी अरु रमाइलो लाग्यो ।

एकछिन पछि, जाने मानिस धेरै भएकाले जान नमिल्ने भयो भनेर खबर आयो । तर गर्नु नै के थियो र ! आफ्नो वशको कुरा थिएन । ठिकै छ, फेरि कुनै अवसर मिलेमा जाऔँला भन्ने लाग्यो र श्रीमतीजीलाई नमिल्ने भयो रे भन्ने खबर दिएँ । एकछिन पछि फेरि खबर आयो, एकजना सम्म मिल्न सक्छ कि भन्ने, त्यहि पनि बेलुकीसम्म कन्फर्म हुने कुरा भयो तर निश्चिन्तता भएन । बेलुकी आठ बजेतिर खबर आयो एक जनालाई सम्म मिल्ने भयो भनेर । बिहानै पाँच बजे टोखा नगरपालिका गेटमा जम्मा हुने खबर पछि मैले जाने सोच बनाई झोला ठिक पारेँ ।

भोलिपल्ट बिहान चारै बजेतिर निद्राले छोडेकाले आफ्नो नित्यकर्म सकेर पाँच बज्नै लाग्दा घरबाट निस्केँ र नगरपालिका गेट पुगेँ । धेरै मानिसहरू जम्मा भइसकेको देखियो । त्यसमध्ये कोही परिचित मानिस पनि भेटिनुभयो भने धेरै अपरिचित मानिस पनि । परिचय हुने अवसर हुने भयो भन्ने लाग्यो । एकछिन पछि दाजुभाउजू पनि आइपुग्नुभयो र उहाँले त्यहाँ उपस्थित केहीलाई चिनाउनुभयो । यात्रामा सहभागी हुने मानिसहरूलाई पर्खंदैमा धेरै समय लाग्यो । यात्राका लागि दुई बस आइपुगेपछि त्यहाँ उपस्थित सबै बाँडिएर बस चढ्यौं तर पनि जाने भनी निश्चित् भएका केही मानिस नआइपुगेकाले समयमा गाढी अघि बढ्न सकेन । व्यवस्थापनका सदस्यहरूले फोन लगाइरहँदा, आउँदै गरेको भनी जानकारी भएकाले छोडेर जान पनि भएन ।

अझै पनि नेपालीहरूमा समयको ख्याल नभएझैं लाग्यो । अन्तत: केही बेरमा सबै आइपुगेपछि दुवै गाडी भरी गरी साठी जना यात्रु पुगेको जानकारी भयो । अब सबै आइपुगेकाले गाडी बसुन्धरा चोकबाट चक्रपथ हुँदै गौशाला, कोटेश्वर चोक हुँदै अगाडि बढ्यो । त्यति समय पछि आउने मानिसमा आफ्ना कारणले सबै मानिसको समय त्यसै व्यतित भएकोमा किञ्चित ग्लानि र विस्मयको भाव पनि देखिएन न त माफी माग्ने औपचारिकता भयो ।

केही बेरमा गौशाला हुँदै कोटेश्वरको फराकिलो सडकमा गाडी अगाडि बढ्दै गयो, मानिसहरू आपसमा कुराकानी गर्दै गए । दाजु भाउजू केही सिट अगाडि बस्नुभयो भने मेरो सिटको छेवैमा एकजना दिदी पर्नुभयो । उहाँसँग परिचयका साथै विभिन्न कुराकानी हुँदै गए । देश, समाज, पेशाका साथै विकास निर्माणको गति बारेमा पनि धेरै कुरा भए । हाम्रा छेउछाउमा रहेका अन्य मानिसहरू पनि विभिन्न विषयमा कुरा गर्दै थिए ।

म भने केही बेर कुरा गर्दै कुरा बिट मारेर झ्यालबाट बाहिर हेर्नमै लागेँ ता कि नयाँ गतिविधि पनि नियाल्न पाइयोस् । सूर्यविनायक चोकबाट उताको सडक बिस्तार हुँदै गरेको देखियो तर काम भने सुस्त गतिमा भएकाले कहिले सकिने हो पत्तो थिएन । लाग्यो, आजकल धेरै स्थानमा योजनाहरू शुरु त गरिएका छन् तर कामको गति भने ज्यादै सुस्त छ । सीमित ठेकेदारले पहुँचको भरमा धेरै योजनाहरू कब्जा गरेका छन् तर समयमै सम्पन्न हुन नसक्दा लागत त धेरै बढिरहेको छ नै जनताहरूले पनि धुलो र हिलोको सास्ती वर्षौंसम्म खेप्न परिरहेको छ । समयमै शुरु गरिएका योजना सिध्याउनमा सबैको जोड हुने हो भने देश बनाउनमा धेरै समय लाग्ने होइन किनकि निर्माणमा प्रयोग हुने कच्चा पदार्थहरू हाम्रै देशमा धेरै उपलब्ध छन् । खनिज तेल तथा धातु प्रशोधनमा प्राविधिक सहयोग र लगानी प्रभावकारी ढंगले पुर्याउन सक्ने हो भने देश आत्मनिर्भरतामा जान धेरै समय लाग्दैन ।

देशका नागरिकहरू सीमित रोजगारीमा पनि ज्यादै निम्न ज्यालादरका कारण राम्रो जीवनयापन हुन नसक्दा अपेक्षित राम्रो जीवन जिउनका लागि वैदेशिक रोजगारीको आकर्षणमा छन् । पूर्वाधार विकासको गति तीव्र बनाउँदै समग्र क्षेत्रमा राम्रो काम गर्न सकेमा निश्चय नै नवपुस्ताले आफ्नै देशमा भविष्य देख्न सक्ने र ज्येष्ठ नागरिकले पनि आफ्नै सन्तानसँगै खुसी साथ जीवन बिताउन पाउने थिए भन्ने लाग्यो । देशमा व्याप्त भ्रष्टाचारको जालो च्यातेर सम्बन्धितलाई कानूनी कारवाही गर्दै असुल उपर गर्दै जाने हो भने लगानीको श्रोत पनि देशमा नै जुट्ने छ र देशमा राम्रो भविष्यको जग बन्नेछ भन्नेमा विश्वस्त बन्दै फेरि गफमै ध्यान केन्द्रित गरेँ ।

यात्रामा सहभागी सदस्यहरूबीच हार्दिकताका साथ विभिन्न विषयमा विचार विमर्श भए । कहिल्यै परिचित नभएका मानिसहरूबिच पनि सौहार्द सम्बन्धको अनुभव भयो । गाडी बनेपाबाट धुलिखेलतिर लाग्दै थियो, बिच भागमा सडक बिस्तारले गर्दा यात्रा किनारतिरबाट भयो । धुलो बाटोमा गाडी गुडिरहेकाले गाडी भित्र पनि मास्क लगाउनुपर्ने भयो । वर्षामा हिलोले कति सास्ती भयो होला ! मानिसहरूलाई यात्रा गर्न पनि गाह्रो बनायो । सञ्चार माध्यमबाट यस सडकमा जलमग्न भएको दृश्य त देखिएको नै थियो, यस्तो विषयमा पनि सम्बन्धित क्षेत्रमा लापरवाही किन गरिएको होला भनी विस्मय लाग्यो । विकास निर्माणमा ढिलासुस्तीले यस्तो हालतमा स्थानीय बासिन्दालाई कति हैरानी भएको होला, निश्चय नै संवेदनशील विषय हो ।

गाडी साइडको सर्भिस लेन हुँदै बनेपा धुलिखेल कटेर दोलालघाटतिर लाग्दा सडक साँघुरियो तर सडक भने पिच भएकाले गाडीले गति बढायो । अब झ्यालबाट हरियाली दृश्य हेर्दै जान पाइयो । गाडी दोलालघाट हुँदै पाँचखाल भएर अघि बढ्यो, कृषि क्षेत्र पनि देखियो भने भर्खर शहरीकरणको प्रभाव पनि देखियो । नेपालमा सरकार संवेदनशील नहुँदाको परिणाम, कृषि क्षेत्रमा परेको दबाब सबैतिर जस्तै यहाँ पनि देखियो । मन भरङ्ग भयो किनकि पहिलेबाट नै पाँचखाल क्षेत्रको कृषि उत्पादनले वार्षिक कृषि उत्पादनमा ठूलो टेवा दिएको कुरा रिपोर्टिंगमा आउने गरेको थियो ।

केही बेरमा गाडीको वेगले पाँचखाल कटेर पनि बाह्रबिसे बजार पुर्यायो । पहिले सुनिँदै आएको थियो, बाह्रबिसे बजार चाइनिज सामानको व्यापारको केन्द्र हो भन्ने कुरा तर भुकम्प पछि तातोपानीतर्फको सडक अवरुद्ध भएकाले व्यापारमा प्रभाव परेको रहेछ । बाह्रबिसे देखि पर भोटेकोशीको किनार हुँदै भोटेकोशीको निर्मल जलप्रवाहको अविरल गति नियाल्दै हाम्रो गाडी भने विपरित दिशामा उत्तरतर्फ अगाडि बढिरह्यो ।

सुकुटेबिच बाह्रबिसे बजारकै एक होटलमा खाना खाने तय भएको थियो तर गाडी त्यहाँ नरोकीकन केही पर रहेको पन्चासे बजार पुर्याएर एक होटल अगाडि रोकियो । खाना खानका लागि पहिले अर्डर गरिए भन्दा ड्राइभरको चिनजानको होटलमा पुर्याएको पाइयो । यहाँ पनि व्यवस्थापनको कमजोरी देखियो । नेपालीहरू व्यवस्थापनमा कमजोर रहेको प्रमाण यततत्र छरपस्टै देखिँदै आएको त थियो नै ! कतै पनि सबल देख्न सकिएन । नेपालीहरूले व्यवस्थापन कलामा दक्षता हासिल गर्न सकेमा मात्रै पनि ठूलो लाभ लिन सक्छन् भन्ने कुरा प्राय सबैतिर देख्न सकिन्छ । गाडीबाट ओर्लेर होटलतिर लागियो । कसैले आफैँले लिएर आएको खाए भने धेरै जसो मानिसहरू होटलमै अर्डर गरी खाने क्रममा थिए । हामीले पनि रोटी तरकारी खाएर पेट उकास्यौं । केहीबेर आरामपछि गाडी अगाडि बढिरह्यो र केही बेरमा तातोपानी क्षेत्रमा पुगेर रोकियो ।

गाडी रोकिएपछि सबैजना ओर्लेर तल तातोपानीमा नुहाउन भोटेकोशी किनारतर्फ लाग्यौँ । अरु पनि धेरै मानिसहरू पुगी नुहाउँदै रहेछन् । भित्ताबाट निस्केका धारामा धेरै तातो पानी आइरहेको थियो । महिलालाई बेग्लै र पुरुषलाई बेग्लै गरी आठवटा धारामा तातोपानी बगिरहेको थियो । धन्य छ प्रकृति पनि ! कति विविधता देख्न र भोग्न पाइन्छ । विभिन्न ठाउँमा यसरी तातोपानीको मुल निस्कनुमा खनिज तत्त्वकै परिणाम हुनुपर्दछ जुन करिब दश वर्ष पहिले लम्जुङ्गको तराइंचेमा अवस्थित तातोपानीमा पुगेर पनि अनुभव गरिएको थियो । केही बेरमा सबैले पालो गरी नुहाइकन त्यहाँ निर्मित महादेवको प्रतिमामा पूजा अर्चना गरी दृश्यहरूमा फोटो लिएर माथि सडकमा उकालो लाग्यौँ ।

त्यसपछि सबै जम्मा भई नेपाल चीन मैत्री पुलसम्म जाने सहमति भए अनुरुप गाडी चढ्यौँ अनि भोटेकोशीको तिरैतिर अघि बढ्यौँ । त्यस पछिको बाटो भने निकै खराब रहेछ । साँघुरो सडक पनि के भन्नु, पीच कतै देखिँदैनथ्यो । डोजरले सफा गर्दा कतै तल भत्केको र कतै भने माथिबाट पुरेकाले होला, खाल्डाखुल्डी धेरै थियो अनि त्यही कारण बाटो साँघुरो भएको थियो । यसो गाडीबाट बाहिर तल भोटेकोशी नदीको बहावतिर दृष्टि लगाउँदा पनि सिरिङ्ग बनाउँथ्यो किनभने उचाइ बढ्दै गइरहेको थियो ।

एकछिनमा हामी मितेरी पुल नजिक पुगेर रोकियौँ । अनि भन्सार गेटबाट भित्र पसेर अर्काे छेउबाट बाहिर निस्कियौँ किनकि हाम्रो साथमा केही नभए पनि अध्यागमन नियम पालना गर्नै पर्थ्यो । एकछिनमा सबै मितेरी पुलमाथि पुगेर दृश्यावलोकन गर्ने र केही पिक्चर लिन लाग्यौँ । दृश्यावलोकनको क्रममा देखियो, मित्र राष्ट्र चीनले आफ्नो भौतिक संरचना सुरक्षित गर्न कति लगानी गर्दै रहेछ । नदीको किनारै देखि ठुला पिलर उठाएर सडक संरचना र आफ्नो सीमानाको सुरक्षा गरेको देखियो । त्यस विकट स्थानमा पनि ठूलो लगानी गरी ठूला ठूला बिल्डींग तयार गरिँदै रहेछ र सडक बिस्तार गरिँदै रहेछ । पुलबाट दृश्यावलोकन गर्ने क्रममै देखियो, केही पर उत्तरतिरको पाखोमा विशाल आकारका बिल्डिंगहरू तयार गरिँदै रहेछ, जुन खासा बजार रहेछ र २०७२ सालको महाभुकम्पको धक्काले विनाश गरेकाले बस्ती सारेर पुर्नस्थापित गर्ने योजनाले काम हुँदै रहेछ । त्यसै अवस्थामा पनि नेपालतिरको अवस्था देख्दा भने खिन्न बनाउँथ्यो ।

केही बेरमा चाइनिज सुरक्षाकर्मीले फर्कने इशारा गरे पछि हामी सबै फर्कियौँ उही भन्सार गेट पास भएर । सबैजनाले यता आएको अवसरमा पसलतिर पसी किनमेल गर्न लागे । सबैजना फर्किने गरी गाडीमा चढेकै थियौँ तर केही मानिस भने लामो समयसम्म नफर्केकाले खोेजी हुँदै थियो, यत्तिकैमा ठूलो सामानको पोका लिएर गाडी चढ्न आइपुगे । उनीहरू त पसल गर्ने भएकाले धेरै सामान खरिद गर्न लागेछन् । एकछिनमा सबैजना जम्मा भइसकेपछि गाडीले गति समायो । केही बेरमा फेरि बिहान खाना खाएको स्थानमा नै आएर गाडी रोकियो । रोटी तरकारीको खाजा खाएर फर्कियौं । गाडीले तीव्र गतिमा आफ्नो बाटो समायो । गोधूलि साँझले छोपिसकेकाले बाहिर केही देखिँदैनथ्यो । त्यसैले गाडीभित्र बलेको बत्तीको उज्यालोमा हामी वरिपरि बसेका यात्रीहरूसँग गफिइरह्यौँ । गफको मेसोमा गाडीले काटेको दुरीसँगै समयले पनि नेटो काटेछ, हामी सिकुटेबिच, पाँचखाल, दोलालघाट पार गरी धुलिखेल आइपुगेको थाहा भयो । ओहो, समयको सापेक्षता पनि कति अनौठो हुन्छ, कहिले घण्टौँ बितिसकेको पनि पत्तो पनि हुँदैन भने कहिले एक निमेष बिताउन पनि कति सकस हुन्छ । दुनियाँले सामान्य रूपमा अनुभव गर्दै आएको यही अनुभूतिजन्य सत्यलाई आधार लिएर महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनले सापेक्षवादको सिद्धान्त प्रतिपादन गरे । यही सिद्धान्तले आजको संसारमा वैज्ञानिक खोज अनुसन्धान तथा परमाणु तकनिकीका साथै अन्तरिक्ष प्रस्थानका लागि गति मापन गर्न सफल सिद्ध भएको छ ।

हाम्रो गफ यात्राकै क्रममा धुलिखेलपछि बनेपा, साँगा भन्ज्याङ, सूर्यविनायक, कोटेश्वर, गौशाला हुँदै चक्रपथ आइपुगेपछि हाम्रो झर्ने क्रम शुरु भयो । बसुन्धरा चोक भई ग्रिनल्यान्डसम्म आइपुग्दा केही यात्राका सहयात्रीहरू छुटिइसक्नुभएको थियो भने ग्रिनल्यान्डमा आएर रोकिएपछि सबैजना ओर्लिएर बिदा भई आफ्नो घरतिर लाग्नुभयो । हामी पनि केही रमाइला र सौहार्द सम्बन्धलाई पुन: निरन्तरता दिने वाचा गर्दै आफ्नो घरतिर लाग्यौँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.