साहित्यपोस्ट डट कम

तरल ऊर्जाको रकेट

तरल ऊर्जाको रकेट

रकेट निर्माण गर्ने कुरा सोचियो भन्ने विषयमा तपाईंले अहिलेसम्म थाहा पाउनुभयो, तर वास्तविक रकेट बनाउने व्यक्ति चाहिँ अमेरिकी वैज्ञानिक थिए । उनको नाम रोबर्ट हचिङ गोगर्ड थियो । उनी सन् १८८२ मा जन्मिएका थिए । बाल्यकालदेखि नै उनलाई विज्ञानकथामा रुचि थियो । उनले बाल्यकालमा नै एचजी वेल्सको 'द वार अफ द वर्ल्डस्' पढेका थिए । यस उपन्यासमा पृथ्वीमा मङ्गल ग्रहका बुद्धिमान प्राणीले गरेको आक्रमणका बारेमा विस्तारपूर्वक वर्णन गरिएको छ ।

यस्ता कथा पढेका गोदार्डलाई केही नयाँ विचार पलाउन थाल्यो । उनी कलेजमा पढ्दै गर्दा एउटा लेख लेखेका थिए । लेखको शीर्षक थियो- सन् १९५० को यात्रा । उनले यस्ता रेलका बारेमा लेखेका थिए, त्यसलाई चुम्बकबाट तान्न सकिन्थ्यो र चुम्बकीय शक्तिले सुरुङभित्र छिर्थ्यो । सुरूङका सारा हावा निकालिएको भए पनि रेलमा यात्रा गर्नेहरूले अमेरिकाको एउटा शहर बोस्टनदेखि अर्को शहर न्युयोर्कसम्म १० मिनेटभित्रै पुग्न सकिन्थ्यो । (सन् १९५० सम्म पुग्दा पनि त्यस्तो कुनै रेल बन्न सकेको थिएन र यी दुई शहरबीच यात्रा गर्दा कम्तीमा चार घण्टा लाग्थ्यो । अहिले त मेट्रो र तीव्र गतिको रेलको विकास भइसकेको छ । जापान र चीनले यसमा ठूलो प्रगति गरिसकेका छन् ।)

पछि गोदार्डलाई रकेटका बारेमा रुचि बढ्न थाल्यो । सन् १९१४ सम्म उनले रकेटसम्बन्धी दुईवटा खोजलाई पेटेन्ट दर्ता गराए । सन् १९१९ मा उनले रकेटबाट यात्रा गरेर कसरी चन्द्रमामा पुग्न सकिन्छ भन्ने वर्णन गर्दै पुस्तक लेखे । गोदार्डका विचार सियोल्कोब्स्कीसँग धेरै मिल्दोजुल्दो थियो । 

गोदार्डले पुनः पेट्रोल र तरल अक्सिजनको प्रयोगले चल्ने रकेट बनाए । मार्च १९२६ मा उनले आफ्नी काकीको खेतमा एउटा रकेटको फोटो खिचाए । जसमा उनी जाडोयाममा आधुनिक रकेट उडाउन तयार थिए । उनकी पत्नीले आफ्ना पति गोदार्ड रकेटसहित उभिएको तस्बिर खिचिन् । अति जाडोयाम थियो र हिउँको वर्षा भइरहेको थियो । जाडोका कारण गोदार्डले ओभरकोट र जुत्ता लगाएका थिए । जुन रकेटका सामु गोदार्ड उभिएका थिए, त्यो निकै सानो रकेट थियो । १२० सेमी लम्बाइ र १५ सेमी चौडाइको यस रकेटछेउमा उभिँदा गोदार्ड गर्वले मुस्कुराइरहेका थिए ।

यो ऐतिहासिक घटना हेर्नका लागि कोही साक्षी थिएनन् । वास्तवमा उनीहरूलाई यसको मतलब पनि थिएन । तापनि गोदार्ड 'अन्तरिक्ष यात्राको कोलम्बस अर्थात् पहिलो यात्री थिए । उनी इतिहासमै अन्तरिक्षमा पठाउन मिल्ने खालको रकेट उडाउन तयार थिए, जसको सूत्र उपयोग गरेर मानिसहरू भविष्यमा अन्तरिक्षमा पुग्ने सम्भावना थियो ।

गोदार्डले सुत्लीमा आगो लगाए र रकेट ५ मिटर माथिसम्म हावामा उड्यो र ९६५ किलोमिटर प्रतिघण्टाको गतिसम्म वेग हान्यो । यो गति त्यति धेरै थिएन, तर यसले के देखायो भने रकेटको इन्जिनले काम गर्न सक्छ । यो नमूना रकेट यति मज्जाले उड्न सक्छ भने वास्तविक रकेट झनै गज्जबले उड्न सक्छ । अब यसका लागि उनले वास्तविक र ठूलो रकेट बनाउनुपर्ने थियो ।

गोदार्डले उनको परियोजनाका लागि स्मिथसोनियन इन्स्टिच्युट वासिङ्टनबाट केही सहयोग रकम पाए । अद्भुत काम गर्नेहरूलाई यस इन्स्टिच्युटले हौसला दिन सहयोग गर्ने गर्छ र सो सहयोग पाएपछि उनको उत्साह दोब्बर भएर आयो । उनले सन् १९२९ को जुलाईमा उनले केही रकेट बनाएर उडाए । रकेटमा उनले ब्यारोमिटर, थर्मामिटर र एउटा सानो क्यामेरा पनि जडान गरेका थिए । यस किसिमको यो पहिलो रकेट थियो, जसमा यस्ता यन्त्र लगाइएको थियो । ती यन्त्रको सहयोगले वायुमण्डल र अन्तरिक्षमा कस्तो वातावरण छ भनी परीक्षण गर्न सकिन्थ्यो । पछिल्लो समय उडाइएका रकेटहरू तीव्र गतिमा अन्तरिक्ष पुग्ने किसिमका थिए ।

लेखिदिनेलाई उनले रकेट प्रयोग गरे र सफल भए भन्न सजिलो छ, तर वास्तविकतामा उनलाई ठूलो समस्या थियो । धेरैले उनलाई पागल सम्झन्थे । मान्छे पनि कहीँ अन्तरिक्ष र चन्द्रमासम्म पुग्न सक्छ र भन्दै हाँसोमा उडाउँथे । द न्युयोर्क टाइम्स पत्रिकाले त्यो बेला गोदार्ड मूर्ख हुन् भनी लेखेको थियो । अखबारको दाबी थियो, गोदार्डको रकेटले अन्तरिक्षमा काम गर्दैन किनभने त्यहाँ हावा हुँदैन । तर यो लेख लेख्ने व्यक्तिको बुझाइ कति कम थियो र उसमा न्युटनको तेस्रो नियम क्रिया-प्रतिक्रियाको ज्ञान बिल्कुलै रहेनछ भन्ने स्पष्ट हुन्थ्यो ।

रकेट उडाउनुअघि एकपटक गोदार्डको प्रयोगशालामा ठूलो विष्फोट भयो । छिमेकीले प्रहरी र अग्निशमन केन्द्रलाई बोलाए । गोदार्डको यस किसिमको प्रयोगले पूरै शहर असुरक्षित भएको गुनासो थियो ।

भाग्यवश, उडानसम्बन्धी वैज्ञानिक चार्ल्स लिन्डबर्गलेयी प्रयोगका बारेमा सुने र आफ्नो प्रभावको उपयोग गरी गोदार्डलाई अझ बढी प्रयोगका लागि रकम उपलब्ध गराए । यस रकमलाई गोदार्डले न्यु मेक्सिकोमा आफ्ना लागि विशेष किसिमको प्रयोगशाला बनाए । यो एउटा एकान्त ठाउँ थियो । रकेटका चर्को आवाजले कसैलाई पनि दिक्क बनाउँदैनथ्यो । गोदार्ड दिक्क हुने कुरै भएन । उनलाई रकेटको आवाजले झन् उत्साह दिन्थ्यो । यहाँ रहँदा उनले रकेटका बारेमा सबै किसिमको खोज गरे, जुन आउँदा दिनमा रकेटहरूमा काम लाग्ने थियो ।

उदाहरणका लागि, उनले एकभन्दा बढी चरणमा रकेटलाई हुत्याउने विधि बनाए । यस्ता रकेटको तल्लो भागमा भएको इन्धन र अक्सिजनले भरिएका हुन्थे । पहिलो चरणमा यहाँ भरिएको इन्धनले रकेटलाई माथि हुत्याउँथ्यो । जसै यो इन्धन पूर्ण रूपमा सकिन्थ्यो, त्यसपछि अर्को चरणमा बल्ने इन्धनले रकेटलाई अझै बढी गतिमा अघि बढाउँथ्यो । पहिलो चरणको इन्धन भारी हुन्थ्यो, त्यसैले गति सीमित हुन्थ्यो । दोस्रो चरणको इन्धन अलि कम भारी हुने हुनाले गति बढ्नु स्वाभाविक थियो । जसै दोस्रो चरणको इन्धन सकिन्थ्यो, इन्धन बोक्ने भाँडो पनि रकेटबाट छुट्टिएर झर्थ्यो । यसपछि रकेटमा राखिएको तेस्रो चरणको इन्धन बल्न थाल्थ्यो । यसरी एउटा ठूलो रकेटभन्दा कैयौं चरणयुक्त रकेट बढी तीव्र गतिमा र बढी टाढासम्म जान सक्ने सिद्धान्त गोदार्डले नै प्रयोग गरेर देखाएका थिए ।

गोदार्डले यस्ता विविध कामका २१४ वटा पेटेन्ट दर्ता गराएका थिए । ती सबै रकेटसम्बन्धी खोजमा आधारित थिए । १९३० र १९३५ का बीचमा उनले ८८५ किमि प्रतिघण्टाका दरमा हुइँकिने र २४ किलोमिटरसम्म माथि जाने रकेट बनाएका थिए ।

हुन त उनले यति धेरै खोज गरिसकेका थिए, तर अरूलाई यसबारेमा कुनै चासो थिएन । कसैले पनि गुपचुप यति धेरै काम भइरहेको छ भन्ने थाहा हुने कुरै भएन । अमेरिकी । सरकारले त उनलाई प्रोत्साहित गर्नका लागि सुको पनि खर्च गरेन ।

तर जर्मनीमा भने अवस्था फरक थियो । सन् १९२३ मा नै रकेटबारे चासो राख्ने हर्मन ओबर्थले पुस्तक लेखे । उनका कुरा सियोल्कोब्स्की तथा गोदार्डका कुरासँग मिल्दाजुल्दा थिए ।

सन् १९२७ मा जर्मनीमा सरकारी प्रोत्साहनबाटै 'अन्तरिक्ष यात्रा समिति’ बनाइयो । यस समितिको सुरुका सदस्यमध्ये एक युवा बिली ले पनि थिए । उनले वर्नर भान ब्रानलाई समितिसम्म ल्याउने काम गरे ।

यस समितिले ८५ वटा तरल इन्धनयुक्त रकेट बनाए चलाए पनि । तीमध्ये एउटा १५ किमि माथिसम्म पुग्यो । हुन त यस समितिले त्यति राम्रो परिणाम देखाएन, जति एक्ला गोदार्डले गरेका थिए र पनि समितिले आकर्षक सहयोग पाइरहेको थियो ।

सन् १९३३ मा हिटलर जर्मनीको शासक बने । उनी जर्मनीलाई निकै शक्तिशाली बनाउन चाहन्थे । जति बढी शक्तिशाली देश भयो, छिमेकमा उति प्रभाव जमाउँदै जमिन र स्रोत कब्जा गर्न सकिन्थ्यो भन्ने हिटलरलाई लाग्थ्यो । त्यसैले रकेट एउटा राम्रो युद्ध हतियार बन्न सक्थ्यो । त्यसैले यसका लागि समितिलाई उनले प्रोत्साहन दिन थाले ।

मानवजीवनको भलाइका लागि रकेटको उपयोगिता होस् भन्ने सोच राख्ने बिली ले हिटलरको उल्टो सोचलाई मन पराएनन् । त्यसैले उनले जर्मनी तत्काल छाडे । उता उनका साथी वर्नर भान ब्रान भने रकेटको मोहमा यति फँसे कि त्यसको सदुपयोग होस् कि दुरुपयोग त्यसमा मतलब नराखी आफ्नै आविष्कारमा जुटिरहे । उनले हिटलरको महत्वाकाङ्क्षालाई पुट दिन रकेट निर्माणको कामलाई जारी राखे ।

सन् १९३६ मा युरोपस्थित बाल्टिक सागरको तटमा जर्मनीले एउटा गोप्य ठाउँ बनायो । यहाँ रकेट बनाउन र त्यसको प्रयोग गर्न थालियो । यस कामका लागि हिटलरको विशेष चासो भएकाले ब्रानलाई पैसाको कमी थिएन । उनले सन् १९३८ सम्म १७ किमिमाथिसम्म उड्ने रकेट बनाउन सके ।

यसलगत्तै युरोप दोस्रो विश्वयुद्धमा होमियो । यस युद्धमा हिटलर मिसाइल प्रयोग गर्ने सोचमा थिए । रकेटमा विष्फोटक पदार्थ हालेर सयौं किलोमिटर टाढा शत्रुको इलाकामा सही निशाना लगाउन सकिने यान बनाउन हिटलर उद्दत थिए । यसको तीव्र गतिका कारण विमानसमेत ध्वस्त पार्न सक्ने तोप (एन्टी एयरक्राफ्ट गन) ले पनि पछ्याउन नसक्ने रकेटको आकाङ्क्षी हिटलर थिए ।

पहिलोपटक यस किसिमको स्वचालित रकेट तयार भयो । यसको नाउँ राखियो, भी - १ । अङ्ग्रेजी अक्षर भीबाट जर्मन भाषामा भर्गेलटङ हुन्थ्यो । यसको अर्थ बदला भन्ने लाग्छ | सन् १९४४ सम्म ब्रानले अझै राम्रो मिसाइल बनाए । यो त वास्तविक रूपमा रकेट थियो, जुन ध्वनिभन्दा पनि तीव्र गतिमा चल्थ्यो । यो भी- १ भन्दा पनि सुधारिएको हुनाले यसलाई भी२ नामकरण गरिएको थियो ।

दोस्रो विश्वयुद्धमा हिटलरले भी-२ रकेट ४३०० वटा प्रहार गरेका थिए । तीमध्ये १२३० रकेट न बेलायतको लन्डन सहरमा मात्र बर्साइएको थियो । यी मिसाइल प्रयोगले २,५११ सर्वसाधारण मारिएका थिए भने ५८८९ जना घाइते भएका थिए । तर यो रकेट निकै ढिला निर्माण भएकाले जर्मनीविरूद्ध लडिरहेका अमेरिका, बेलायत, रूसलगायतका देशले चारैतिरबाट जर्मनीलाई घेरिसकेका थिए । चारैतिरबाट जर्मनीमाथि आक्रमण बढेका कारण १९४५ मे ८ मा जर्मनीले आत्मसमर्पण गर्नुपर्यो । 

गोदार्डले रकेटको सबैभन्दा दुरुपयोग कसरी हुन सक्छ भनी हेर्न भ्याए । गोदार्डले लामो जीवन बाँचे । सन् १९४५ अगस्त १० मा उनको निधन भयो । भी- २ रकेटको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै अमेरिका र साभियत सङ्घलाई यसप्रति चासो बढाउनु हो । यी दुवै देश एकअर्कालाई घृणा गर्थे, एकअर्कासँग डराउँथे । त्यसैले एकअर्कालाई प्रहार गर्नका लागि भनेर जतिसक्दो बढी हतियार भेला पार्न चाहन्थे । 

त्यसैले हरेक देशले जर्मनीका रकेट विशेषज्ञलाई आफूतिर आकर्षित गर्ने, लोभ्याउने, नमाने अपहरण गर्नेसम्मका काम गरे । अमेरिकाले भने भान ब्रानलाई नै पक्डियो ।

सोभियत सङ्घ र अमेरिकाले पुनः अझै बढी शक्तिशाली र प्रभावकारी मिसाइल बनाउन मिहिनेत गर्न थाले । सन् १९५० सम्म आइपुग्दा भी-२ भन्दा पनि खतरनाक मिसाइल बनाए । भी-२ त तिनका अगाडि फुच्चे र खेलौनाजस्ता पो देखिए ! अमेरिका र सोभियत रूस दुवैले पृथ्वीको जुनसुकै ठाउँमा ठाउँका ठाउँ बसेर मार हान्न सक्थे । यति मात्र होइन, ती मिसाइलले एटम बमसमेत लैजान सक्थे ।

देशसँग यस्ता खतरनाक हतियारले एकअर्कालाई ध्वस्त सक्थे र पृथ्वीलाई पनि ध्वस्त पार्न सक्थे । सायद यस्तो सियोल्कोन्स्की या गोदार्डको दिमागले सोचेको थिएन । उनीहरूले त अन्तरिक्षको पो खोजीका लागि यी सबै गरेका थिए ।

खोजीका लागि काम पनि नभएको भने होइन । हात पारेका भी- २ रकेटलाई वैज्ञानिक उद्देश्यमा गन्यो । उनीहरूले ती रकेट हावामा उडाए । ती रकेटमा माथिल्लो वायुमण्डलका विशेषता पत्ता लगाउने विविध किसिमका यन्त्र थिए । छाडिएका रकेटमध्ये त एउटा १८३४ किलोमिटर माथिसम्म पुग्यो । यो उचाइ त्यतिञ्जेल कुनै पनि बेलुन या वायुयान उडेका थिएनन् ।

यसरी माथि उडाइएका रकेट पृथ्वीको वातावरणलाई चिर्दै माथि गए पनि पृथ्वीको गुरुत्वले तल तानिहाल्थ्यो । यस्तोमा वैज्ञानिकहरूले सोचेजस्तो लामो समय रकेट नटिक्ने र तल झरिहाल्ने हुनाले बाहिरी अन्तरिक्षका विशेषताहरूलाई उति धेरै समय हुँदैनथ्यो ।

यसपछि वैज्ञानिकहरू पुनः सोच्न थाले, रकेटलाई बाहिरी अन्तरिक्षमा लामो समयसम्म टिकाउनका लागि कुनै तरिका छ त ? यसो गर्दा माथि गएको रकेट चाँडै पृथ्वीमा नझरोस् र आफूले चाहे जति त्यहाँ अध्ययन गर्न सकियोस् । सन् १९५० को दशकभरि नै अमेरिका र सोभियत सङ्घले यसबारे बृहत्तर काम थाले ।

साझा गर्नुहोस्:
अच्युत कोइराला

लेखकको बारेमा

अच्युत कोइराला

पेशाले पत्रकार अच्युत कोइराला अनुवादक पनि हुन् । उनी मूलतः विदेशी चर्चित व्यक्तिका जीवनी पढ्न र लेख्न रूचाउँछन् । उनका २ दर्जन अनुदित पुस्तक प्रकाशित छन् । हाल उनी नागरिक दैनिकमा जिल्ला ब्युरो प्रमुखका रूपमा कार्यरत छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.