साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

तरल ऊर्जाको रकेट

तरल ऊर्जाको रकेट

रकेट निर्माण गर्ने कुरा सोचियो भन्ने विषयमा तपाईंले अहिलेसम्म थाहा पाउनुभयो, तर वास्तविक रकेट बनाउने व्यक्ति चाहिँ अमेरिकी वैज्ञानिक थिए । उनको नाम रोबर्ट हचिङ गोगर्ड थियो । उनी सन् १८८२ मा जन्मिएका थिए । बाल्यकालदेखि नै उनलाई विज्ञानकथामा रुचि थियो । उनले बाल्यकालमा नै एचजी वेल्सको 'द वार अफ द वर्ल्डस्' पढेका थिए । यस उपन्यासमा पृथ्वीमा मङ्गल ग्रहका बुद्धिमान प्राणीले गरेको आक्रमणका बारेमा विस्तारपूर्वक वर्णन गरिएको छ ।

यस्ता कथा पढेका गोदार्डलाई केही नयाँ विचार पलाउन थाल्यो । उनी कलेजमा पढ्दै गर्दा एउटा लेख लेखेका थिए । लेखको शीर्षक थियो- सन् १९५० को यात्रा । उनले यस्ता रेलका बारेमा लेखेका थिए, त्यसलाई चुम्बकबाट तान्न सकिन्थ्यो र चुम्बकीय शक्तिले सुरुङभित्र छिर्थ्यो । सुरूङका सारा हावा निकालिएको भए पनि रेलमा यात्रा गर्नेहरूले अमेरिकाको एउटा शहर बोस्टनदेखि अर्को शहर न्युयोर्कसम्म १० मिनेटभित्रै पुग्न सकिन्थ्यो । (सन् १९५० सम्म पुग्दा पनि त्यस्तो कुनै रेल बन्न सकेको थिएन र यी दुई शहरबीच यात्रा गर्दा कम्तीमा चार घण्टा लाग्थ्यो । अहिले त मेट्रो र तीव्र गतिको रेलको विकास भइसकेको छ । जापान र चीनले यसमा ठूलो प्रगति गरिसकेका छन् ।)

पछि गोदार्डलाई रकेटका बारेमा रुचि बढ्न थाल्यो । सन् १९१४ सम्म उनले रकेटसम्बन्धी दुईवटा खोजलाई पेटेन्ट दर्ता गराए । सन् १९१९ मा उनले रकेटबाट यात्रा गरेर कसरी चन्द्रमामा पुग्न सकिन्छ भन्ने वर्णन गर्दै पुस्तक लेखे । गोदार्डका विचार सियोल्कोब्स्कीसँग धेरै मिल्दोजुल्दो थियो । 

गोदार्डले पुनः पेट्रोल र तरल अक्सिजनको प्रयोगले चल्ने रकेट बनाए । मार्च १९२६ मा उनले आफ्नी काकीको खेतमा एउटा रकेटको फोटो खिचाए । जसमा उनी जाडोयाममा आधुनिक रकेट उडाउन तयार थिए । उनकी पत्नीले आफ्ना पति गोदार्ड रकेटसहित उभिएको तस्बिर खिचिन् । अति जाडोयाम थियो र हिउँको वर्षा भइरहेको थियो । जाडोका कारण गोदार्डले ओभरकोट र जुत्ता लगाएका थिए । जुन रकेटका सामु गोदार्ड उभिएका थिए, त्यो निकै सानो रकेट थियो । १२० सेमी लम्बाइ र १५ सेमी चौडाइको यस रकेटछेउमा उभिँदा गोदार्ड गर्वले मुस्कुराइरहेका थिए ।

यो ऐतिहासिक घटना हेर्नका लागि कोही साक्षी थिएनन् । वास्तवमा उनीहरूलाई यसको मतलब पनि थिएन । तापनि गोदार्ड 'अन्तरिक्ष यात्राको कोलम्बस अर्थात् पहिलो यात्री थिए । उनी इतिहासमै अन्तरिक्षमा पठाउन मिल्ने खालको रकेट उडाउन तयार थिए, जसको सूत्र उपयोग गरेर मानिसहरू भविष्यमा अन्तरिक्षमा पुग्ने सम्भावना थियो ।

गोदार्डले सुत्लीमा आगो लगाए र रकेट ५ मिटर माथिसम्म हावामा उड्यो र ९६५ किलोमिटर प्रतिघण्टाको गतिसम्म वेग हान्यो । यो गति त्यति धेरै थिएन, तर यसले के देखायो भने रकेटको इन्जिनले काम गर्न सक्छ । यो नमूना रकेट यति मज्जाले उड्न सक्छ भने वास्तविक रकेट झनै गज्जबले उड्न सक्छ । अब यसका लागि उनले वास्तविक र ठूलो रकेट बनाउनुपर्ने थियो ।

गोदार्डले उनको परियोजनाका लागि स्मिथसोनियन इन्स्टिच्युट वासिङ्टनबाट केही सहयोग रकम पाए । अद्भुत काम गर्नेहरूलाई यस इन्स्टिच्युटले हौसला दिन सहयोग गर्ने गर्छ र सो सहयोग पाएपछि उनको उत्साह दोब्बर भएर आयो । उनले सन् १९२९ को जुलाईमा उनले केही रकेट बनाएर उडाए । रकेटमा उनले ब्यारोमिटर, थर्मामिटर र एउटा सानो क्यामेरा पनि जडान गरेका थिए । यस किसिमको यो पहिलो रकेट थियो, जसमा यस्ता यन्त्र लगाइएको थियो । ती यन्त्रको सहयोगले वायुमण्डल र अन्तरिक्षमा कस्तो वातावरण छ भनी परीक्षण गर्न सकिन्थ्यो । पछिल्लो समय उडाइएका रकेटहरू तीव्र गतिमा अन्तरिक्ष पुग्ने किसिमका थिए ।

लेखिदिनेलाई उनले रकेट प्रयोग गरे र सफल भए भन्न सजिलो छ, तर वास्तविकतामा उनलाई ठूलो समस्या थियो । धेरैले उनलाई पागल सम्झन्थे । मान्छे पनि कहीँ अन्तरिक्ष र चन्द्रमासम्म पुग्न सक्छ र भन्दै हाँसोमा उडाउँथे । द न्युयोर्क टाइम्स पत्रिकाले त्यो बेला गोदार्ड मूर्ख हुन् भनी लेखेको थियो । अखबारको दाबी थियो, गोदार्डको रकेटले अन्तरिक्षमा काम गर्दैन किनभने त्यहाँ हावा हुँदैन । तर यो लेख लेख्ने व्यक्तिको बुझाइ कति कम थियो र उसमा न्युटनको तेस्रो नियम क्रिया-प्रतिक्रियाको ज्ञान बिल्कुलै रहेनछ भन्ने स्पष्ट हुन्थ्यो ।

रकेट उडाउनुअघि एकपटक गोदार्डको प्रयोगशालामा ठूलो विष्फोट भयो । छिमेकीले प्रहरी र अग्निशमन केन्द्रलाई बोलाए । गोदार्डको यस किसिमको प्रयोगले पूरै शहर असुरक्षित भएको गुनासो थियो ।

भाग्यवश, उडानसम्बन्धी वैज्ञानिक चार्ल्स लिन्डबर्गलेयी प्रयोगका बारेमा सुने र आफ्नो प्रभावको उपयोग गरी गोदार्डलाई अझ बढी प्रयोगका लागि रकम उपलब्ध गराए । यस रकमलाई गोदार्डले न्यु मेक्सिकोमा आफ्ना लागि विशेष किसिमको प्रयोगशाला बनाए । यो एउटा एकान्त ठाउँ थियो । रकेटका चर्को आवाजले कसैलाई पनि दिक्क बनाउँदैनथ्यो । गोदार्ड दिक्क हुने कुरै भएन । उनलाई रकेटको आवाजले झन् उत्साह दिन्थ्यो । यहाँ रहँदा उनले रकेटका बारेमा सबै किसिमको खोज गरे, जुन आउँदा दिनमा रकेटहरूमा काम लाग्ने थियो ।

उदाहरणका लागि, उनले एकभन्दा बढी चरणमा रकेटलाई हुत्याउने विधि बनाए । यस्ता रकेटको तल्लो भागमा भएको इन्धन र अक्सिजनले भरिएका हुन्थे । पहिलो चरणमा यहाँ भरिएको इन्धनले रकेटलाई माथि हुत्याउँथ्यो । जसै यो इन्धन पूर्ण रूपमा सकिन्थ्यो, त्यसपछि अर्को चरणमा बल्ने इन्धनले रकेटलाई अझै बढी गतिमा अघि बढाउँथ्यो । पहिलो चरणको इन्धन भारी हुन्थ्यो, त्यसैले गति सीमित हुन्थ्यो । दोस्रो चरणको इन्धन अलि कम भारी हुने हुनाले गति बढ्नु स्वाभाविक थियो । जसै दोस्रो चरणको इन्धन सकिन्थ्यो, इन्धन बोक्ने भाँडो पनि रकेटबाट छुट्टिएर झर्थ्यो । यसपछि रकेटमा राखिएको तेस्रो चरणको इन्धन बल्न थाल्थ्यो । यसरी एउटा ठूलो रकेटभन्दा कैयौं चरणयुक्त रकेट बढी तीव्र गतिमा र बढी टाढासम्म जान सक्ने सिद्धान्त गोदार्डले नै प्रयोग गरेर देखाएका थिए ।

गोदार्डले यस्ता विविध कामका २१४ वटा पेटेन्ट दर्ता गराएका थिए । ती सबै रकेटसम्बन्धी खोजमा आधारित थिए । १९३० र १९३५ का बीचमा उनले ८८५ किमि प्रतिघण्टाका दरमा हुइँकिने र २४ किलोमिटरसम्म माथि जाने रकेट बनाएका थिए ।

हुन त उनले यति धेरै खोज गरिसकेका थिए, तर अरूलाई यसबारेमा कुनै चासो थिएन । कसैले पनि गुपचुप यति धेरै काम भइरहेको छ भन्ने थाहा हुने कुरै भएन । अमेरिकी । सरकारले त उनलाई प्रोत्साहित गर्नका लागि सुको पनि खर्च गरेन ।

तर जर्मनीमा भने अवस्था फरक थियो । सन् १९२३ मा नै रकेटबारे चासो राख्ने हर्मन ओबर्थले पुस्तक लेखे । उनका कुरा सियोल्कोब्स्की तथा गोदार्डका कुरासँग मिल्दाजुल्दा थिए ।

सन् १९२७ मा जर्मनीमा सरकारी प्रोत्साहनबाटै 'अन्तरिक्ष यात्रा समिति’ बनाइयो । यस समितिको सुरुका सदस्यमध्ये एक युवा बिली ले पनि थिए । उनले वर्नर भान ब्रानलाई समितिसम्म ल्याउने काम गरे ।

यस समितिले ८५ वटा तरल इन्धनयुक्त रकेट बनाए चलाए पनि । तीमध्ये एउटा १५ किमि माथिसम्म पुग्यो । हुन त यस समितिले त्यति राम्रो परिणाम देखाएन, जति एक्ला गोदार्डले गरेका थिए र पनि समितिले आकर्षक सहयोग पाइरहेको थियो ।

सन् १९३३ मा हिटलर जर्मनीको शासक बने । उनी जर्मनीलाई निकै शक्तिशाली बनाउन चाहन्थे । जति बढी शक्तिशाली देश भयो, छिमेकमा उति प्रभाव जमाउँदै जमिन र स्रोत कब्जा गर्न सकिन्थ्यो भन्ने हिटलरलाई लाग्थ्यो । त्यसैले रकेट एउटा राम्रो युद्ध हतियार बन्न सक्थ्यो । त्यसैले यसका लागि समितिलाई उनले प्रोत्साहन दिन थाले ।

मानवजीवनको भलाइका लागि रकेटको उपयोगिता होस् भन्ने सोच राख्ने बिली ले हिटलरको उल्टो सोचलाई मन पराएनन् । त्यसैले उनले जर्मनी तत्काल छाडे । उता उनका साथी वर्नर भान ब्रान भने रकेटको मोहमा यति फँसे कि त्यसको सदुपयोग होस् कि दुरुपयोग त्यसमा मतलब नराखी आफ्नै आविष्कारमा जुटिरहे । उनले हिटलरको महत्वाकाङ्क्षालाई पुट दिन रकेट निर्माणको कामलाई जारी राखे ।

सन् १९३६ मा युरोपस्थित बाल्टिक सागरको तटमा जर्मनीले एउटा गोप्य ठाउँ बनायो । यहाँ रकेट बनाउन र त्यसको प्रयोग गर्न थालियो । यस कामका लागि हिटलरको विशेष चासो भएकाले ब्रानलाई पैसाको कमी थिएन । उनले सन् १९३८ सम्म १७ किमिमाथिसम्म उड्ने रकेट बनाउन सके ।

यसलगत्तै युरोप दोस्रो विश्वयुद्धमा होमियो । यस युद्धमा हिटलर मिसाइल प्रयोग गर्ने सोचमा थिए । रकेटमा विष्फोटक पदार्थ हालेर सयौं किलोमिटर टाढा शत्रुको इलाकामा सही निशाना लगाउन सकिने यान बनाउन हिटलर उद्दत थिए । यसको तीव्र गतिका कारण विमानसमेत ध्वस्त पार्न सक्ने तोप (एन्टी एयरक्राफ्ट गन) ले पनि पछ्याउन नसक्ने रकेटको आकाङ्क्षी हिटलर थिए ।

पहिलोपटक यस किसिमको स्वचालित रकेट तयार भयो । यसको नाउँ राखियो, भी - १ । अङ्ग्रेजी अक्षर भीबाट जर्मन भाषामा भर्गेलटङ हुन्थ्यो । यसको अर्थ बदला भन्ने लाग्छ | सन् १९४४ सम्म ब्रानले अझै राम्रो मिसाइल बनाए । यो त वास्तविक रूपमा रकेट थियो, जुन ध्वनिभन्दा पनि तीव्र गतिमा चल्थ्यो । यो भी- १ भन्दा पनि सुधारिएको हुनाले यसलाई भी२ नामकरण गरिएको थियो ।

दोस्रो विश्वयुद्धमा हिटलरले भी-२ रकेट ४३०० वटा प्रहार गरेका थिए । तीमध्ये १२३० रकेट न बेलायतको लन्डन सहरमा मात्र बर्साइएको थियो । यी मिसाइल प्रयोगले २,५११ सर्वसाधारण मारिएका थिए भने ५८८९ जना घाइते भएका थिए । तर यो रकेट निकै ढिला निर्माण भएकाले जर्मनीविरूद्ध लडिरहेका अमेरिका, बेलायत, रूसलगायतका देशले चारैतिरबाट जर्मनीलाई घेरिसकेका थिए । चारैतिरबाट जर्मनीमाथि आक्रमण बढेका कारण १९४५ मे ८ मा जर्मनीले आत्मसमर्पण गर्नुपर्यो । 

गोदार्डले रकेटको सबैभन्दा दुरुपयोग कसरी हुन सक्छ भनी हेर्न भ्याए । गोदार्डले लामो जीवन बाँचे । सन् १९४५ अगस्त १० मा उनको निधन भयो । भी- २ रकेटको सबैभन्दा ठूलो उपलब्धि भन्नु नै अमेरिका र साभियत सङ्घलाई यसप्रति चासो बढाउनु हो । यी दुवै देश एकअर्कालाई घृणा गर्थे, एकअर्कासँग डराउँथे । त्यसैले एकअर्कालाई प्रहार गर्नका लागि भनेर जतिसक्दो बढी हतियार भेला पार्न चाहन्थे । 

त्यसैले हरेक देशले जर्मनीका रकेट विशेषज्ञलाई आफूतिर आकर्षित गर्ने, लोभ्याउने, नमाने अपहरण गर्नेसम्मका काम गरे । अमेरिकाले भने भान ब्रानलाई नै पक्डियो ।

सोभियत सङ्घ र अमेरिकाले पुनः अझै बढी शक्तिशाली र प्रभावकारी मिसाइल बनाउन मिहिनेत गर्न थाले । सन् १९५० सम्म आइपुग्दा भी-२ भन्दा पनि खतरनाक मिसाइल बनाए । भी-२ त तिनका अगाडि फुच्चे र खेलौनाजस्ता पो देखिए ! अमेरिका र सोभियत रूस दुवैले पृथ्वीको जुनसुकै ठाउँमा ठाउँका ठाउँ बसेर मार हान्न सक्थे । यति मात्र होइन, ती मिसाइलले एटम बमसमेत लैजान सक्थे ।

देशसँग यस्ता खतरनाक हतियारले एकअर्कालाई ध्वस्त सक्थे र पृथ्वीलाई पनि ध्वस्त पार्न सक्थे । सायद यस्तो सियोल्कोन्स्की या गोदार्डको दिमागले सोचेको थिएन । उनीहरूले त अन्तरिक्षको पो खोजीका लागि यी सबै गरेका थिए ।

खोजीका लागि काम पनि नभएको भने होइन । हात पारेका भी- २ रकेटलाई वैज्ञानिक उद्देश्यमा गन्यो । उनीहरूले ती रकेट हावामा उडाए । ती रकेटमा माथिल्लो वायुमण्डलका विशेषता पत्ता लगाउने विविध किसिमका यन्त्र थिए । छाडिएका रकेटमध्ये त एउटा १८३४ किलोमिटर माथिसम्म पुग्यो । यो उचाइ त्यतिञ्जेल कुनै पनि बेलुन या वायुयान उडेका थिएनन् ।

यसरी माथि उडाइएका रकेट पृथ्वीको वातावरणलाई चिर्दै माथि गए पनि पृथ्वीको गुरुत्वले तल तानिहाल्थ्यो । यस्तोमा वैज्ञानिकहरूले सोचेजस्तो लामो समय रकेट नटिक्ने र तल झरिहाल्ने हुनाले बाहिरी अन्तरिक्षका विशेषताहरूलाई उति धेरै समय हुँदैनथ्यो ।

यसपछि वैज्ञानिकहरू पुनः सोच्न थाले, रकेटलाई बाहिरी अन्तरिक्षमा लामो समयसम्म टिकाउनका लागि कुनै तरिका छ त ? यसो गर्दा माथि गएको रकेट चाँडै पृथ्वीमा नझरोस् र आफूले चाहे जति त्यहाँ अध्ययन गर्न सकियोस् । सन् १९५० को दशकभरि नै अमेरिका र सोभियत सङ्घले यसबारे बृहत्तर काम थाले ।

साझा गर्नुहोस्:
अच्युत कोइराला

लेखकको बारेमा

अच्युत कोइराला

थप रचनाहरू पढ्नुहोस् →

पेशाले पत्रकार अच्युत कोइराला अनुवादक पनि हुन् । उनी मूलतः विदेशी चर्चित व्यक्तिका जीवनी पढ्न र लेख्न रूचाउँछन् । उनका २ दर्जन अनुदित पुस्तक प्रकाशित छन् । हाल उनी नागरिक दैनिकमा जिल्ला ब्युरो प्रमुखका रूपमा कार्यरत छन् ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.