साहित्यपोस्ट-नपढी सुखै छैन...

नियात्रा: ताप्लेजुङको हिलो

नियात्रा: ताप्लेजुङको हिलो

साँझको अँध्यारोले कप्लक्कै निलिसकेको छ ताप्लेजुङको यो भूगोललाई । तल काबेलीको पूल तर्दा नै बिजुली बत्तीहरू बलिसकेका थिए । फुंगलिंग बजारले आज उसको अनुहार नदेखाउने नै भयो । त्यो अनुहार कस्तो छ भनेर हेर्नका लागि कम्तीमा पनि भोलीको उज्यालो पर्खिनैपर्छ ।

छताछुल्ल भैसकेको छ अँध्यारो भन्ने जिनिश फुँगलिँगको आँगनदेखि मझेरीसम्मै । आँखा, मन र मस्तिष्कले देख्न चाहेर पनि के गर्नु पहिलोपटक पुगेको नयाँ ठाउँमा, देख्न सकिने सुको केही छैन । उसमाथि मसिनो झरीले जिस्काइरहेको छ तीर्थयात्रीका पाइलाहरूलाई । न रूझाउन सक्छ यो झरीले, न भिज्नबाट बच्न खोजेका नै देखिन्छन् तीर्थयात्रीहरू । कसैले बाल मतलब नगरे पनि अनावश्यक ल्याङ् ल्याङमात्रै सिर्जना गरिरहेको छ । थाकेर पनि हो कि कसो छाता खोल्नेसम्म जाँगर देख्दिनँ म कसैमा, बर्षादी नै लगाउने त को होला । कोही देख्दिनँ म यो लुरे झरीलाई भाउ दिने ।

हामीलाई घरदेखि बोकेर आएको ह्यास भ्यान फुँगलिँगमै बास बस्नेछ हामी फर्की आउन्जेलसम्मका लागि । यहाँबाट अगाडि जान स्थानीय व्यावसायीहरूले नै संचालन गरेको यातायात सेवा प्रयोग गर्नुपर्छ रे भन्ने मैले सुनेको छु । हामी त्यही स्थानिय गाडीको प्रतीक्षामा छौँ । 

“गाडी आउँदैछ है । तपाईंहरू तैयारी अवस्थामा बस्नुहोला ।” 

श्याम पन्थजीले फेरि एकपटक जानकारी गराउनुभयो । त्यो गाडीले हामीलाई काफ्लेपाटी भन्ने स्थानसम्म पुर्याउनेछ । काफ्लेपाटीदेखि शुरू हुनेछ पैदल यात्रा ।

फुँगलिँगमा जरा होटेलको कम्पाउण्डभित्र पस्ने बित्तिकै एउटा एउटा खाली मेच तान्दै होटेलको पिँढीमै थच्याक थुचुक बसिहाले हाम्रा सहयात्री । गाडीमा दिनभर बसिरहेको भए पनि जिउ थाक्दो रैछ । बसेरै खान पनि सहज छैन मान्छेको जिन्दगीलाई भनेर एउटा पाठ यात्राले पनि पढाउँछ ।

घडीको सुइले साँझको ९ लाई फटक्कै नाघिसकेको छ । झरी चुप लाग्ने छाँट छैन । धर्तीले साँझको अँध्यारो चाँदर ओडिसकेको भए पनि जुनेली रातको जुनकिरी उज्यालो भने धर्तीमै छ । “लौ आयो आयो” भन्छ कसैले, ह्वारर्र दौडिन्छन् यात्री । “यो त हैन रछ” भन्दै फर्किन्छन् होटेलतिरै ।

“ल उताबाट हिँडिसकेको छ गाडी । हाम्रो ग्रुपको १० जना र अर्को ग्रुपको ७ जना गरी १७ जनालाई लिएर जान्छ । गाडी भाडा प्रति व्यक्ति ६०० भनेको छ है ! गाडी आउने बित्तिकै म खबर गरौँला । भर्खरै हिँड्यो उताबाट । अहिले तपाईंहरू आराम गर्नुस् ।” श्यामजीले अपडेट दिनुभयो ।

“४०० थियो पहिले, तेलको भाउ बढेर ५०० बनाएछन् । अहिले रातिको टिप भनेर एक सय थप लिने होला ।” मतिर फर्केर स्पष्टिकरण दिनु हुन्छ श्यामजी ।

शायद काफ्लेपाटीमा यात्रीहरू ओरालेर यता फुँगलिँगतिरै फर्किँदै होला त्यो गाडी । हाम्रो हायसले झापा जिल्ला छोडेदेखि नै श्यामजी ताप्लेजुङको गाडीवाला र माथिल्लो फेदीको होटेलसँग समन्वय गरिरहनुभएको छ र बताउनु हुन्छ उनीहरूलाई हाम्रो अनुमानित आगमनको समय । तर यात्रा भने उहाँले बताएभन्दा निकै ढिला भैरहेको छ । 

श्यामजीले अब बाहिरै उभिएर कुर्ने भनेर उर्दी जारी गरेपछि भने हामी झरीमा भिज्दै बाहिरै उभियौँ । हाम्रा दश र अर्काे समूहको सातजना जम्मा हुँदा ठूलै भीड हुने रहेछ । कहाँबाट आको, कहाँ कहाँ जाने, कहिले फर्किने आदि इत्यादि छलफल चल्न थाल्यो दुई फरक समूहका यात्रीबिच । टायम पास गर्ने मेलो निक्लियो ।

“लौ यही हो गाडी ।” कसैले भन्यो जसै एउटा गाडी हुनहुनाउँदै आएर ढ्याक्कै रोकियो हाम्रै अगाडि । घडीमा साँझको १० बजिसकेको छ त्यो गाडी आइपुग्दा । बोलेरो हो कि टाटा सुमो मैले खुट्याउन सकिनँ । ती भन्दा अरू गाडी त चल्नै सक्दैनन् रे त्यो रूटमा भन्ने पनि सुनेको हो । अगाडि चालकसहित तीन जना, त्योभन्दा पछिल्लो लाइनमा चारजना बस्न मिल्ने त्यो गाडीको त्यसदेखि पछाडिको भाग भने जीपको जस्तो रहेछ दुईतिर एक एक लाईन सिट चार चारजना बस्न मिल्ने गरी बनाइएको । ड्राइभरले यात्रु नदेख्ने यात्रुले ड्राइभरको मुख नदेख्ने भाग रहेछ त्यो । मानौँ सामान बोकेर हिँड्ने प्रयोजनको लागि जोडेको भाग ।

एकछिन तछाडमछाड नै पर्यो गाडीभित्र पस्नका लागि । मैले मुश्किलले पुछारको एउटा सिट भेटेँ । तीनजना त उभिनेमा परे । 

जम्माजम्मी १४ जनाको सिट रहेछ, १७ जना हाल्यो त्यसले । हाल्यो पनि के भन्नु, हामी १७ जना पस्यौँ लुछाचुँडी गर्दै । उभिनेले सास्ती पाउने भए, ठाडो उभिन सम्भव छैन त्यो गाडीमा । कुप्रिनुपर्ने भयो सिट नपाउनेले । सिटमुनि नै बसौँ न त भने पनि बस्न सहज छैन । त्यसमाथि सबैका जुत्ताले बोकेको ताप्लेजुङको हिलो त्यही गाडीको भुइँमा टकटकिँदै छ । अब न उभिनेले सुख पाउने भए न त बस्नेले । सर्सती हेर्दा सास फेर्ने ठाउँ पनि छैन ।

हिँडिहाल्यो त्यो गाडी सकसै सकसको भारी बोकेर । बच्चा, महिलादेखि जेष्ठ नागरिकसम्म छन् गाडीभित्र । आरक्षणका कुरा गए पानी लिन । मानव अधिकारको कुरा त कता हो कता ।  

“कतिबेर लाग्छ उता पुग्न ?” गाडीभित्रको उकुसमुकुसबाट फुत्त निक्लियो एउटा प्रश्न ।

“डेढ दुई घण्टा” कसैले उत्तर दियो ।

“उफ् ! ” सकसबाटै निक्लियो आवाज । शायद प्रश्नकर्ताकै आवाज थियो त्यो । 

मन हल्का आत्तिएको छ समय सुनेर । त्यो सकसमा कसरी टिक्नु अर्को डेढ दुई घण्टा । आ ! सुकेटारसम्म ८ किलोमिटर, त्यहाँबाट उता ११ किलोमिटर, जाबो १९ किलोमिटर सडक नाप्न के को लाग्छ डेढ दुई घण्टा यत्तिको जब्बर गाडीलाई । मनले राहतको पोको फुत्त निकाल्यो ।

गाडी गुड्न थाल्यो । गुडाईसँगै ढकढकिन थाल्यो गाडीको पछाडिको भागको सकसको थुप्रो । एउटा बच्चो कताबाट आइपुग्यो छेउको चेपोमा पस्न पत्तै भएन । त्यो बच्चो गाडीको बारले च्यापिने सम्भावना छ । नैतिकताको आधारमा पनि मैले त्यसको सुरक्षा गर्नुपर्छ आफूले जतिसुकै सकस सहेर पनि । स्वार्थी बनेर आफ्नो ज्यानको मात्रै हेरेर हुन्न । त्यसका माउ कता छन् थाहा छैन । उसलाई मैले मेरो हातमा बलियो गरेर समाउन लगाएँ । मेरो हातमा त पहिल्यै दुईवटा झोला छन् । न समाउने ठाउँ भेटेको छु, न त हातका झोलाहरू बिसाउने ठाउँ नै ।

एक ठाउँमा उकालो भेटेछ गाडीले, न्वारनदेखिको बल निकालेर कन्न थाल्यो । चालकले बेस्सरी थिचिरहेको छ एक्सलेटर । बाटो चिसो छ पिच नै भए पनि । एउटै सिटमा आफूदेखि दायाँतिर बस्ने तीनजनाले आफ्नो जिउ अर्काकोमा छोडेका छन् तर म मेरो जिउको भार त्यो बच्चोमा छोड्न सक्दिनँ । उकालोमा त झनै सकस भयो ।

उकालो सकिएपछि गाडी अनपेक्षित रूपमा ढ्याक्कै रोकियो । अनायासै स्टार्ट पनि बन्द भयो एक प्रकारको अन्योल जन्माएर । “ड्राइभर खाना खान गए जस्तो छ” कसैले भन्यो । खानु पनि त पर्यो, रातको जो दश बजिसकेको छ । हामी पो तीर्थयात्री, ऊ त व्यावसायी हो, कसरी भोकै व्यावसाय गरोस् । 

स्टार्ट बन्द भएको मौका छोपेर दुईजना बुढा मान्छेहरू फुत्त झरे गाडीबाट । सिधै कान्लोतिर हानिए । पिसाबले पेलेछ भन्ने बुझेँ मैले । महिलाहरू पनि निक्लिए र अर्को दिशातिर लागे । थाम्न नसकेपछि कसको के लाग्छ ? म पनि जाऊँ कि नजाऊँको दोधारमा परेँ । ड्राइभर आएर गाडी लिएर हिँडिहाल्यो भने के गर्नु त्यो दूर विकट पहाडमा ! त्यही सिट पनि आफू निक्लेका बखत अर्कोले कब्जा गर्यो भने के गर्नु ? प्रश्नै प्रश्नहरूले रोके मलाई ।

“आयो आयो ।” कसैले भन्यो । शायद ड्राइभर आयो होला । स्टार्ट भएपछि पक्का भयो ड्राइभर नै आएको रहेछ । गाडी फेरी हुत्तिन थाल्यो अगाडीतिर । 

केहीबेरपछि गल्ड्याङ् गुल्डुङ बाटो शुरू भयो, गाडीले उफार्ने र थचार्ने गर्न थाल्यो । कतै त ठूलै भड्खालोमै खसेको जस्तो पनि महसूस भयो, अनि क्रेनले तानेर गाडीलाई बाहिर निकाले जस्तो पनि । यस्तो लाग्दैछ कि ड्राइभर गाडी चलाइरहेको छैन बरू गाडीलाई घिच्याइरहेको छ न्वारनदेखिको बल लगाएर ।

गाडीका पांग्राहरू गुड्नुभन्दा पनि ज्यादातर चिप्लिन थालेपछि मैले अनुमान लगाएँ हामी हिलोको गड्डीतिर पुग्यौँ । कहिले भर्टिकल चिप्लिन्छ त कहिले होरिजेन्टल । यताबाट त्यता, त्यताबाट यता पनि गर्न थाल्यो । बेलाबेलामा गाडी हिलोको गड्डीमा नै फसेको आभास हुन थाल्यो । एकपटक त गमल्याङ्गै खस्यो गाडी ठूलै भड्खालोमा । भड्खालोमै खसेका बखत हल्का सन्नाटा उम्रियो गाडीभित्र केही सेकेण्डसम्मका लागि । शुरूमा त कतै ड्राइभर नै निदायो कि भन्ने लाग्यो । तर केहीबेरमै सन्नाटालाई चिर्दै इन्जिनले ठसठसी कनेर उतार्यो गाडीलाई खाल्डोको संकटबाट । त्यसपछि खाल्डोमा खस्ने र समथरमा नाच्ने र चिप्लिने क्रम चलिरह्यो । गाडीको पछिल्लो थैलोमा थुप्रिएका यात्रु कहिले यता त कहिले उता हुत्तिन थाले गाडीभित्रै । कहिले सबैजना एउटै डल्लो पर्थे । सिटमा बस्नु पर्ने अंग सिटमै छैन, मानौँ हामी गाडीभित्रै हावामा उडिरहेका छौँ । ताप्लेजुङको भित्री पहाडतिर होइन चन्द्रयानमा बसेर अन्तरिक्षतिर गैरहेका छौँ । हामी बिस्तारै अभ्यस्त हुँदै गयौँ त्यो हिले सकस र सर्कससँग । ताप्लेजुङको हिलो जीवनमा एउटा नयाँ अनुभव बनेर जोडिँदै गयो । 

म मनमनै सोच्दैछु, यो पहाडमा कुनै निर्वाचन क्षेत्र पनि होला, कोही माननीय पनि होलान् जनप्रतिनिधिका रूपमा, स्थानीय पालिका पनि होला तर के तिनका ब्रह्मले यो सकस थाहा पाएको छैन होला त ?

एकपटक गाडी सललल चिप्लिएर एकातिर गएर रोकिँदा मेरा आँखाले जुनेली रातमै पनि देखिहाले ठाडो भीर । सातोपुत्लो उड्यो । “त्यता नहेर्नुस्, केही हुँदैन, यस्तै हो यहाँ” श्यामजीले मेरो दृष्टि पत्ता लगाउनुभएछ । उहाँ त सिटमा होइन गाडीको भुइँमा बस्नु भएको छ त्यो पनि आफ्नै पिँडुलामा । कस्तो होला उहाँको अवस्था म कल्पनासम्म पनि गर्न सक्दिनँ । यो उहाँको १८ औँ पटकको यात्रा हो रे ।

फुँगलिँग बजारदेखि सुकेटारसम्मको ८ कि.मि. सडक कालोपत्रे नै हो रे । बाँकी सुकेटारदेखि काफ्लेपाटीसम्मको ११ कि.मि.को दूरी भने कच्ची बाटोको यात्रा रहेछ । त्यही कच्ची बाटो रहेछ हिलोको गड्डी अर्थात् हिले बाटो । जम्माजम्मी १९ कि.मि. दूरीको त्यो यात्रा तय गर्नका लागि डेढदेखि दुई घण्टै लाग्छ रे । बाटोको अवस्थाको कारणले गर्दा ज्यादा समय लाग्ने रहेछ ।

“यो बाटो किन नबनाएको होला ? किन यस्तो बिगारेर राखेको होला । यहाँ नेतै छैनन् कि क्या हो ?” एकजना महिला तीर्थयात्रीले आक्रोश पोखिन् । शायद उनलाई पनि बर्खै नलागिकन हिलाम्मे त्यो बाटो बर्खामै त कुन हालतमा परिणत हुने होला भनेर आश्चर्य लाग्यो होला ।

“बनाएकै हो यो बाटो यस्तो । हिले बाटो नै बनाएको हो यहाँका मान्छेहरूले । बाहिरकाले होइन, यहीँकाले बनाएको हो यस्तो ।” कसैको जवाफ निक्लियो हल्का छेडपेच जोडिएर । “यो बाटोलाई पक्की बनाउँदैनन् । यसलाई हिले बाटो नै बनाइराख्दा फाइदा हुन्छ यहाँका गाडी साहुजी र ड्राइभरहरूलाई, किनकी बाहिरका गाडीहरू यो हिलोमा कुस्ती खेल्न आउँदैनन् ।” अर्को एकजनाले हल्का व्यङ्ग्य जोडे । 

मैले मनमनै सोचेँ पक्कै पनि यत्ति बाटो पिच गर्नै नसक्ने अवस्थामा ताप्लेजुङ जिल्ला, मेची अञ्चल र कोशी प्रदेश छैन । केही त राजनीति घुसेको छ यहाँ । जहाँ पनि राजनीति घुस्नु राम्रो होइन । उता भारतमा वैष्णोदेवी यात्राबाट फर्किँदा १२ घण्टा लामो रेलयात्रा गरेर नयाँ दिल्लीसम्म आइपुगेका थियौँ । मोदीले वैष्णोदेवी जाने तीर्थयात्रीहरूको सुविधाका लागि जम्मुको कतरासम्म नै रेलसेवा बिस्तार गरिदिएको भनेर तीर्थयात्रीहरूले मोदीको प्रशंसा गरेको पनि सुनिएको थियो । के हाम्रा कोशी प्रदेशका नेता, प्रशासक र व्यावसायीहरूलाई यत्ति बाटो अव्यवस्थित राख्नैमा फाइदा हुन्छ होला त ? होइन भने किन यसरी हिले अवस्थामा राखे ? वास्तवमा ती महिला फायर हुनु जायज पनि हो भन्ने लाग्यो मलाई । 

एकातिर बाटोको अवस्था र सकस अर्कोतिर क्षमताभन्दा ज्यादा यात्रीहरू राखेर गाडी चलाइएको छ । नियामकले समेत आँखा चिम्लिदिने हिलो रहेछ त्यो । गाडीको सिट क्षमताभन्दा बढी यात्रीहरू हालेर हिँडेको त्यो र त्यस्ता गाडीहरूलाई नियमन गर्ने कसले ? यो त सारै लज्जास्पद अवस्था हो । मन आक्रोशित र आन्दोलित बनिरहेको छ त्यो दूर पहाडमा । तर, बलिया शासक प्रशासकहरूका अगाडि यस्ता नाथे व्यक्तिगत असन्तुष्टीहरूले के फरक पार्छ र ! 

“यही बाटोमा त हो नि केही पहिले करेण्ट लागेर तीर्थयात्रीहरू जलेर मरेको । त्यो दूर्घटनामा परेको गाडी पछिसम्म पनि यही बाटोको छेउमै थियो । शायद अहिले पनि होला ।” एकजनाले स्मृतिको पाना खोल्यो । 

“भैगो त्यो कुरा ननिकाल्नुस् ।” केही मनमस्तिष्कहरूले जिज्ञासा जन्माए पनि एकजना महिलाले त्यसबारेमा थप सुन्न चाहिनन् । गाडी रोकियो । स्टार्ट पनि बन्द भयो । शुरूमा त लाग्यो गनतव्यमा पुगियो । मन फुरुङ्गै भयो । तर, मान्छेहरूको होहल्ला सुनियो मानौँ कुनै दूर्घटना पो भएको हो कि जस्तो गरी । हाम्रोभन्दा अगाडि रहेको एउटा गाडी त पटक्कै निक्लिन सकेनछ खाल्डोबाट । त्यहाँ हामी सवारसहित ३ वटा गाडीहरू जम्मा भएका रहेछन् । उनीहरू अड्किएको गाडीलाई निकाल्न सहयोग गर्दैछन् । चालक तथा तीर्थयात्रीहरू सबैको सहयोगले बल्लबल्ल निक्लियो गाडी र पार भयो त्यो ठाउँबाट ।

खोई गन्तव्य, अहिले आउला छैन, भरे आउला छैन । “हैन दुई घण्टा भएन र भन्या ?” मैले जिज्ञासा पोखेँ । “कहाँ हुनु अझै आधा घण्टाभन्दा बढी बाँकी छ ।” कसैले अप्रिय उत्तर दियो । मनले भन्यो, “सकसमा त घडी पनि नचल्ने हो कि कसो ।” त्यसपछि त पेल्न थाल्यो पिसाबले पनि । एकातिर पिसाबले पेलिरहेको छ, अर्कोतिर गाडीभित्र कुप्रिनेहरू बेलाबेलामा थिच्न आइपुग्छन् पूरै शरीरको भारसहित । लौ त भनौ भने शरीरमा शक्ति पनि छैन अब अरू भार थाम्न । दिउँसो १२ बजेतिर इलाममा खाना खाएका थियौँ । फिदिममा एक कप चिया हुल्यौँ । बस, त्यत्ति हो पेटमा परेको । भोकलाई पनि कति थामथुम पार्नु । सकसले गर्दा भोक भागे पनि शरीरमा ऊर्जा त कम भएकै हो ।

“अब कति बाँकी छ ?” म श्यामजीलाई सोध्छु । उहाँ भन्नु हुन्छ “दश मिनेट” । जति पटक सोध्दा पनि उहाँको उत्तर एउटै छ “दश मिनेट” । त्यस्ता दश मिनेट तीन ठाउँमा गैसक्यो तर गनतव्यको अत्तोपत्तो छैन । 

हाम्रो धैर्यताको पूर्ण परीक्षण गरिसकेपछि एक ठाउँमा पुगेर गाडी ठ्याक्क रोकियो र स्टार्ट बन्द भयो । मैले पल्याक पुलुक हेरेँ गाडी बाहिर यताउता । सानासाना घरहरू देखिए पिलिपिली बत्तीको मधुरो उज्यालो फ्याँकिरहेका । प्रष्ट केही देखिएन । अरू केही गाडीहरू पनि देखिए । किनारामा मान्छेहरूको चहलपहल पनि सुनियो । गन्तव्यमा पुगियो भन्ने बुझ्दा मन खुशीले बुरूक्कै उफ्रियो । दुईजनाको भाडा बुझाएर कुदिहालेँ म शौचालय खोज्नका खातिर । 

मलाई काफ्लेपाटी भन्ने ठाउँमा पुगेको त स्वर्गैमा पुगेको आभास भयो । जिन्दगीले अनेक अनेक अनुभव र अनुभूतिहरू बटुलिरहन्छ र त जिन्दगीमा समय र स्थानको महत्त्व कहिल्यै कम हुँदैन । त्यो यात्राको समय पनि हाम्रो जिन्दगीको एउटा अनुभव हो जसले छुट्टै अनुभूति जन्मायो । सहज हुँदो हो त त्यसको के महत्त्व रहँदो होला र । 

अर्को एउटा रमाइलो कुरो के रह्यो भने, मलाई भोकले बिलकुलै लखेटेन त्यो यात्रामा । दिउँसो त्यसबेला खाना खाएदेखि एक कप चियामात्रै हो पेटमा हालेको तर भोकले लखेटेन । थकाई त लागेको छ तर थकाईले पनि रोक्न सकेको छैन । आकाश अँध्यारो छ, धर्तीमा जूनेली उज्यालो छरिए पनि स्पष्ट केही देखिँदैन तर पाइलाहरू रोकिन चाहेका छैनन् । भोक नजाग्नु, थकाईले नरोक्नुले एउटा फरक प्रकारको यात्रा महसूस भैरहेको छ । पाइलाहरू केवल अगाडि नै बढ्न चाहन्छन् तर पटक्कै बास बस्न खोजेका छैनन् । त्यो हिलोको गड्डीले अझै थकायो तर रोक्न सकेन पाइलाहरू । हामी माथिल्लो फेदीतिरको पैदलयात्रामा जुटिहाल्यौँ ।

समग्रमा भन्नुपर्दा ताप्लेजुङको हिलोले केवल ती पूराना हिलोसँग खेलेका दिनहरूको सम्झना मात्रै लिएर आएन बरू यात्रानुभवको सगरमाथामा एउटा फरक उचाई पनि थपिदियो । सकस बिनाको यात्रा के यात्रा । जय माता पाथीभरा ।

विश्वमा शान्ति छाओस् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.