साहित्यपोस्ट डट कम

तालतलैयामा आधुनिक मूर्तिहरूको चलखेल

तालतलैयामा आधुनिक मूर्तिहरूको चलखेल

काठमाडौं पूर्व इटहरी उप–महानगरपालिका अति द्रुत गतिमा विकास भइरहको एउटा गजबको ठाउँ हो । यसैको दुई र तीन वडामा फैलिएको तालतलैया पार्क यस भेगमा घुम्न जानेका लागि अति सुन्दर गन्तव्य पनि हो । घना चारकोशे झाडीको पुछार–पुछारतिर विकसित भएको अर्थात् बनाइएको यो पार्क अति रमणीय ठाउँ त हुँदै हो । सातवटा स–साना लेकहरूलाई समेटेको यो पार्क त्यसै पनि स्वदेशी–विदेशी पर्यटकका लागि स्वादिलो गन्तव्य छँदैछ । अझ सिर्जनशील मूर्तिकला यसैमा समाहित हुँदा त सुनमा सुगन्ध फैलिएको महसुस हुन्छ । यी मूर्तिहरूले अझै राम्रोसँग पेडस्टल पाएका छैनन् । पाएपछि कस्तो देखिनेछ, यसलाई हेर्न बाँकी नै छ । अझ राम्रो व्यवस्था अनि यहाँनेर यी कला र कलाकारको बारेमा थप जानकारी भइदिएको भए चाहिँ कलामा खोज–तलास गर्नेहरूका लागि पनि यो ठाउँ अझ उपयुक्त हुने थियो । स्वदेशी–विदेशी अनुसन्धानकर्ताहरू यहाँ आउन बाटो खुल्थ्यो ।

प्रकृतिले बनाइदिएको घना जंगल अनि यसैमा भावनात्मक, अर्ध–अमूर्त कलाहरूले शोभा बढाइदिँदा यो पार्क एउटा अलग्गै विशेषता बोकेको पार्क बन्न गएको देखिन्छ । बाहिर विदेशमा चाहिँ यस्तै पार्कमा ठूला–ठूला अजङ्गका अमूर्त मूर्तिहरू पनि बसेका हुन्छन् । अनि मानिसहरू त्यसैलाई अवलोकन गर्न पनि ठूलो भीड लागेको देखिन्छ । थुप्रै पैसा तिरेर लामो लाइनमा बसेर यस्ता कलाहरू हेरेको धेरै स्मरणहरू अहिले पनि मभित्र ताजै छन् । केटाकेटी, बुढाबुढी रमाउने ठाउँ त कतैकतै पार्कमा पनि हुने गर्दछ । तर अलि अचम्म लाग्दा कलात्मक मूर्तिले पनि ठाउँ पाउँदा चाहिँ जस–कसैका लागि पनि यो एउटा खास गन्तव्य हुन जान्छ । अनि विदेशी पर्यटकका लागि घुमाउन लैजानुपर्ने स्पटको रूपमा विकसित पनि हुने गर्दछ । त्यहाँ पुग्दा ओपन स्कल्प्चर गार्डेनमा घुमघाम गर्दै गरेको अनुभव पनि बटुल्न सकिन्छ ।

साँचो भन्नुपर्दा नेपालका पार्कहरूमा यस्ता गुणस्तरका आधुनिक कलाहरू राख्नुपर्छ, राख्न पनि सकिन्छ भन्ने सोच विकास भएको देखिँदैन । राख्ने संस्कार विकास भयो भने यसले नेपाली संस्कार, परम्परा अनि आफ्नो मौलिक पहिचानलाई मात्र उजागर गर्दैन । आजको नेपाली कलाको गुणस्तरलाई, शैली र प्रवृत्तिलाई अनि कला कै समग्र अवस्थालाई समेत विश्वभर फैलाउने मद्दत पनि गर्दछ । कला सजाउने वा सिङ्गार्ने वस्तु मात्र होइन । यो राष्ट्रको पहिचान स्वयंको मानाङ्क समेत हो । यी र यस्ता कलाहरू देशको ढुकढुकीलाई बोकी हाम्रो वास्तविक पहिचानलाई हाम्रो आफ्नै समाजमा अनि विश्वमाझ फैलाउन, सचेतना जगाउन पनि सहायक सिद्ध हुन्छन् । यसो हुँदा पनि यो पार्कले यस्तो संस्कृतिको थालनी गरेका हुँदा जसलाई पनि सुखद अनुभूति हुन्छ । यसैले गर्दा पनि यो पार्कले विशेष अर्थ राखेको छ ।

यहाँ यसरी मूर्तिहरू राखिनु पनि एउटा रमाइलो घटना हो । यहाँ सन् २०१६ मा १८ दिनसम्म शिला–मूर्तिकलाको एउटा अन्तर्राष्ट्रिय कला–कार्यशाला भएको थियो । जसको नाम राखिएको थियो युनिटी इन्टरनेशनल स्कल्प्चर सिम्पोजियम । जहाँ छ वटा देशका क्रमशः नेपाल, भारत, मलेसिया, इज्राइल, जर्मनी र जापानका २५ जना मूर्तिकारहरू यो कार्यशालामा संलग्न भएका थिए । ती कलाकारहरूमा भारतबाट अनुप कुमार गुप्ता, नेपालबाट भीमबहादुर श्रेष्ठ, विष्णु प्रसाद श्रेष्ठ, बुद्ध थारु, दीपक रसाइली, विजय कुमार श्रेष्ठ, धनबहादुर याख्या, दिनेश्वर महतो, गंगाधर सारु, हरिराम अधिकारी, हिम्मत नेमाङ, लालकाजी लामा, लक्ष्मण भुजेल, सुनिता राणा, मञ्जुल बराइली, नरबहादुर विक, नारदमुनि हार्तमछाली, ओम खत्री, राजन काफ्ले, राजु पिठाकोटे, सुदर्शन विक्रम राणा, जर्मनीबाट पिटर हरगेट, मलेसियाबाट माझिन झाइ झियान झी, जापानबाट सुगिमोटो जुन इचिरो, इज्राइलबाट तान्या प्रिमिङ्गर आदि सहभागी भएका थिए, जसले दिनरात १८ दिनसम्म तन–मन दिएर यी मनमोहक कलाहरूको निर्माण गरेका थिए ।

यस कार्यक्रममा धेरैले विभिन्न प्रकारका सहयोग गरेका थिए । मूलतः इटहरी उप–महानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी अनि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको संयुक्त प्रयासमा भएको यो कला–कार्यशाला यसकारण पनि सर्वथा गुणस्तरीय भएको ठहर गर्न सकिन्छ । यस बेलाका ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ धन याख्याको विशेष पहलमा यो कार्यक्रम भएको थियो ।

कार्यशालाको बखतमा यी कलाकारहरू हप्तौँ–हप्ता यतै बसेका थिए । यसकारण पनि कलाकारहरूले कैयौँ दिन त्यतै बसेर स्वच्छ, शुद्ध वातावरणमा बनाएको यो कलामा अलग्गै सुगन्ध छ । थप कुरा भनेको चाहिँ कला सौन्दर्यताले भरपूर मात्र छैन । हरेक कलाकारका आ–आफ्नै पृथक भावयुक्त सन्देश पनि गाँसिएका छन् । तालतलैया ठाउँ आफैँको मनोरम–माधुर्यता अनि कलाकारको भाव–अभिव्यक्ति, लालित्य अनि समसामयिक सन्दर्भहरू यसैमा गाँसिँदा कला आफैँमा पनि अद्भुत देखिन्छ । शिला माथि बसेका आकृतिहरू भाव–अभिव्यञ्जनामा आह्वालित हुँदा भावकहरू यहाँ रमाइ–रमाइ मूर्तिमाथि टाँसिएर फोटो खिचाइरहेका देखिन्छन् ।

इटहरीका विशेष रूपमा मूर्तिकला अनि नाटकको विकासमा दशकौँदेखि संलग्न भएका कलाकार विक्रम श्रीले मलाई यहाँ लिएर गएका थिए । कलाहरू सिर्जना भएको करीब दश वर्षपछि यी कलाहरू अवलोकन गर्ने अवसर जुरेको थियो । उनी कलाको केही विकास गरौँ भनेर लागेका व्यक्ति हुन् । अनि उनको परिकल्पना, अगुवाइमा इटहरीमै इटहरी म्याक्ट्रिस घुम्न जानै पर्ने अर्को ठाउँ, पर्यटन केन्द्रको रूपमा सञ्चालनमा छ । सानो तर कलै–कलाले भरिएको विभिन्न जातका अनेक फूल–वनस्पतिले भरिएको यो सानो तर अति आकर्षक ठाउँ पनि हो । विक्रम श्री आफैँ पनि राम्रा मूर्तिकार, नाटककार पनि हुन् । मूलतः तालतलैयाको यो कलामय वातावरण बन्न–बनाउन उनको पनि ठूलो हात रहेको छ । उनैले मलाई त्यहाँ घुमाउन लैजाँदा त्यहाँका समितिका अध्यक्ष, सचिवले विशेष कार्यक्रमका साथ स्वागत मात्र गरेनन् । हामीलाई यो कलात्मक ठाउँको व्याख्या गर्दै घुमाइदिएका पनि थिए । यसकारण पनि यो पार्कको बारेका थुप्रै कुराहरू भन्न–लेख्न सहज पनि भएको हो । पाहुनालाई स्वागत गर्ने, यस पार्कको गजबको संस्कार पनि बनेको रहेछ ।

पार्कमा अति बहुमूल्य यस्ता आधुनिक कलाहरू देखिनु, देख्न पाउनु घुम्न आउनेका लागि राम्रो मौका पनि हो । मुख्य कुरा त यी कलाहरू यहाँ संरक्षित छन् । सुरक्षित र व्यवस्थित छन् । सम्मानपूर्वक राखिएका छन् । आधुनिक कलालाई गाली गरी हिँड्ने जमात नेपालमा अलि बढी मात्रामै छ । नेपालमा यस्ता सिर्जनशील कलालाई सम्मानपूर्वक राख्नु पनि अलि दुर्लभ कुरा नै हुँदा पनि यहाँ यसको महत्व अझ बढेको देखिन्छ । घुम्न आउनेका लागि नेपाली आधुनिक कलाहरू अवलोकन गर्न, रसास्वादन गर्न अनि कलाका विद्यार्थीहरूका लागि कला अध्ययन गर्न पनि यो ठाउँ उपयुक्त बनेको देखिन्छ । नेपालमा चाहिँ यस्ता राम्रा–राम्रा सिर्जनशील मूर्तिकलाले घेरिएको पार्क पाउन दुर्लभ नै होला । नेपालमा मूर्तिकलाका त धेरै नै कार्यशाला भएका छन् । मूर्तिहरू बनेका पनि छन् । अनि अधिकांश यस्ता बहुमूल्य मूर्तिहरू फालिएका अवस्थामा देखिन्छन् । यसअर्थमा यो ठाउँ रोज्नु, यसको व्यवस्थापकसँग समन्वय हुनु आफैँमा पनि राम्रो कामको रूपमा देखिन्छ ।

अब अलिकता कलाका कुराहरू

त्रिसट्ठी वर्ष पुगिसकेका स्थापित मूर्तिकार गंगाधर सारुका क्लाइमेक्स अफ युथफुलनेस नामक मूर्ति यहाँ निकै आकर्षक रूपमा बसेको छ । कडा पत्थरभित्रबाट अचानक निस्कँदै आएको आभास दिने यो मूर्तिमा एउटा नारीको उन्मुक्त यौवनावस्था प्रस्फुटन भएको देखिन्छ । सर्वाङ्ग नाङ्गो अवस्थामा देखिएको यो मूर्ति लालित्यपूर्ण हुँदा पनि आम भावक यसलाई अवाक भएर अवलोकन गरिरहेका देखिन्छन् । हात–खुट्टा, टाउको आदि केही नहुँदा, नदेखिँदा पनि यो कलामा चरम यौनभावको उत्कर्षता अनुभव गर्न सकिन्छ । कलाकार भन्छन्— केही पनि अमर हुन सक्दैन । यसैले पनि मानिसको जीवनमा एकपल्ट आउने युवा–अवस्था प्रकृतिको उपहार नै हो ।

छपन्न वर्षका ओम खत्री जो आफैँमा खारिएका मूर्तिकार हुन् । उनको इटरनिटी नामक मूर्ति यो पार्कमा सम्भवतः सर्वथा आकर्षक रूपमा देखा परेको छ । बाह्य दृश्यमा चाहिँ यो उनको कला अमूर्त कमलको फूलको रूपमा देखा परेको छ । महसूस हुने कुरा भनेको चाहिँ दुईवटा कडा पत्थर एक हुँदै युनिटीको प्रतिनिधित्व भइरहेको आभास हुन्छ । पुनः यो आफैँमा पनि अनन्तकालको वा नित्यको प्रतीकात्मक विम्ब पनि हो । कमलको फूल हिलोमा फुल्ने फूल हो । तालतलैयाका साना–ठूला पोखरीहरूमा फुलिरहेको कमलको फूलको यो अमूर्त विम्ब पनि हो भनौँ । अनि यसो भनौँ यो मात्र प्रतिबिम्ब होइन मानव र प्रकृतिबीचको पूर्ण–मिलन वा एकत्वको प्रतीक पनि हो । खस्रो र चिल्लोपनको मिलन पनि हो । अमूर्त रूपमा यसले भनिरहेको कुरा भनेको चाहिँ यो फूलले मानव मात्रको ज्ञान, बुद्धि र आध्यात्मिक चेतलाई अलङ्कारिक रूपमा समाहित गरिदिन्छ । यो उनको कला यसैको प्रतीकात्मक विम्ब पनि हो । यसैगरी लालकाजीको कनेक्टिभिटी, हिम्मतको लभ, युनिटी आदि पनि आकर्षक कामको रूपमा प्रस्तुत भएको देखिन्छ ।

त्रिसट्ठी वर्षका नारद हार्तमछालीको सेवा नामक मूर्ति यो पार्कको अर्को लोभलाग्दो काम हो । जहाँ समयलाई अर्थात् विगत, वर्तमान अनि भविष्यलाई व्यक्ति विशेषको आफ्नो निजी पहिचान अनि भावनासँग जोड्दै समग्रमा विकासको सन्दर्भबारे यसले ओकालत गर्दछ । झट्ट हेर्दा तीनवटा अवयवहरू खप्टिएर देखिने आमा–छोरा या समग्रमा परिवार या अन्ततः समाज र राष्ट्रको विम्बको रूपमा उनको कला उभिएको देखिन्छ । हाल उनी नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका कुलपति पनि हुन् । सम्भवतः सबैभन्दा आकर्षक कलाको रूपमा रहेको मलेसियन कलाकार माझीनको मूर्ति पनि हो । जहाँ एउटा कलात्मक शिला माथि एउटा मान्छे टाँसिएर सुतेको अवस्थामा देखिन्छ । यसरी शिलामाथि टाँसिएको यो महिलाको आकृति अनि कडा ढुङ्गा अलग्ग–अलग्ग हो जस्तै लाग्दैन । उनकै अनुसार पनि यो यही युनिटीको प्रतिबिम्ब नै हो ।

सँगसँगै नेपालको प्रकृति, कलाको विकास अनि सौन्दर्यता आदि इत्यादिलाई पनि प्रतिनिधित्व गर्दै उनको यो कलाको निर्माण भएको देखिन्छ । रसियामा जन्मेकी तर इज्राइलमा बस्दै आएकी तान्याको हार्ट अफ नेपाल अझ आकर्षक काम हो । यो मूर्ति मूर्त अनि अमूर्तको समिश्रणको रूपमा मुटुको आकारमा देखिन्छ । नेपाल स्वयंको प्रतिनिधित्व गर्दै बनेको यो मूर्तिले आम जनताका अनेक मुटुहरूलाई समेत समायोजन गर्दै अचल, दृढ रूपमा बस्दै गरेको आभास दिन्छ । सुनिताको पानी माथि तैरँदै गरेका हाँसको मूर्ति कल्पनामाथि यथार्थ विम्ब बनेर उभिएको देखिन्छ ।

उनी भन्छिन्, “हाँस आफैँ आस्थाको प्रतीकात्मक विम्ब पनि हो । हाँसमा पानीमा मिसिएको दूध अलग्ग्याउने गजबको क्षमता हुन्छ । यसैले पनि युनिटीको सन्दर्भ हाँस र पानीको मिलनबाट पनि सिद्ध हुन्छ ।“ यी र यस्तै–यस्तै सन्दर्भहरूलाई उनको कलाले गजबले समातेको देखिन्छ ।

छपन्न वर्षीय राजनको कोसेली अनि पिएर दुईवटा गजबका कामहरू यहाँ देख्न सकिन्छ । यी कामहरू यथेष्ट परिष्कृत छन् । धेरै कुराहरू भएजस्तो भएर केही नदेखिएजस्तो अनौठो अनुभव हुन्छ उनको कला हेर्दै गर्दा । बाह्य आकारको रूपमा अस्तित्वमा छैन, देखिँदैन तर महसूस हुन्छ । दुःख र सुख जस्तै, राम्रै र नराम्रो आदि इत्यादि यथेष्ट महसुस भने हुन्छ । वा आशा हुनु अनि हराउनु, ऐनामा झट्ट हेर्दा देखिनु अनि पुनः हराउनु एउटा भ्रम वा मनभित्रको अन्तरद्वन्द्व जस्तो । निश्चित अवस्थामा वातावरणमा महसुस हुनु–नहुनु आदि कुराहरू उनको अमूर्त कलामा मज्जाले छाम्न सकिन्छ । धन याख्याको नेचर एन्ड लाइफ सर्वथा अलग्ग रूपमा देखा परेको छ । मूर्त हुन खोज्दाखोज्दै पनि अमूर्तमा बन्न पुगेको यो उनको मूर्ति महिला र प्रकृतिको मिलनको रूपमा प्रतिबिम्बित भएको देखिन्छ । एक–अर्काको पर्यायवाची जस्तो भएर मिसिएको जस्तो । एकै भएजस्तो भएर देखा पर्नु पनि उनको विशेष विशेषता देखिन्छ । उनको यो कलामा पातले प्रकृतिलाई चिनाएजस्तै अनि जीवन स्वयंले महिलाको प्रतिनिधित्व गरिरहेको स्पष्ट देखिन्छ । नभन्दै यही अमूर्तताभित्र अलि गहिरिएर हेरे महिलाको शरीर अनि पातका अवयवहरूलाई सजिलै छाम्न सकिन्छ ।

अनुपले प्रकृतिलाई संरक्षण गर्दै आध्यात्मिक सँगको हार्मोनीलाई सन्तुलनमा राख्न खोजेको देखिन्छ । कहीँ–कहीँ मानवको सभ्यतासँग तादात्म्यता रहेको समायोजनले बढेमाको पातलाई आफ्नो मूर्तिमा भित्राएका छन् । विष्णुको अंकुरण नामक मूर्ति अर्को घटलाग्दो काम हो । अंकुरण नै विकासको पहिलो पाइला हो भन्दै उनले विस्तारै बढ्दै गएको रेखाहरूलाई शिलामा यसरी कुँदेका छन्, स्पष्ट अनुभूत हुन्छ । टाँसिएर बढेको देखिन्छ । हामीमा साह्रो गाह्रो अनि अफ्ठ्यारोमा पनि अंकुरणले एउटा सेप लिइहाल्छ भन्ने आभास उनको कलामा पाइन्छ । दीपकको माइ नोस्टाल्जिया, दिनेश्वरको सालिग्राम, हरिरामको इमोसन आदि पनि आकर्षक रूपमा यहाँ अवलोकन गर्न पाइन्छ ।

बुद्ध थारुको अण्डाकार शिलाभित्र आमा र बच्चाको अनुपम प्रेम अद्भुत रूपमा महसुस गर्न सकिन्छ । उनी भन्छन्— यही प्रेम त उत्कृष्ट माया हो नि । खस्रो कडा ढुङ्गामा पनि लयात्मकता देखिनु, छोराले आमालाई कस्सेर समाउँदा आमा पनि यसैमा लीन हुनु, देखिनु यो उनको कलाको खास विशेषता पनि हो । पिटर जर्मनीका कलाकार हुन् ।

विकसित देशबाट नेपाल आएपछि उनले जहाँ–कहींको मान्छे पनि मान्छे हुनुको अर्थमा एकै हो, भन्न भ्याएका छन् । यसर्थ पनि समग्र मान्छेको मनलाई खोतलेर निकाल्न भ्याएका छन् । उनी ठान्छन् विश्वभरका मान्छेहरू बाहिरबाट जेजस्तो देखिए तापनि भित्रबाट सहनै नसकिने कष्ट भोगिरहेका छन् । यसर्थ कष्टलाई कम गर्न उनले ध्यानको सहारा लिएको देखिन्छ । उनले यसको समाधानको लागि इनर योगा नामक मूर्ति बनाए । जुन चाहिँ बढेमाको टाउको आकासतिर फर्केर ध्यानमग्न देखिन्छ । राजुको ट्रयाङ्गलिज्म, तीन पुस्तालाई जोड्दै सहअस्तित्वको सन्देश दिन उनले तीनवटा टाउकाहरूलाई अलग–अलग राखेर एक–अर्कापट्टि बेवास्ता गरिरहेको दृश्यलाई प्रस्तुत गरेका छन् ।

विके नरबहादुरले चाहिँ टाउको, हात–खुट्टा विनाको अधवैँसे महिलाको जर्जर शरीरलाई आफ्नो कलाको मुख्य पात्र बनाएका छन् । ओमन नामको यो उनको मूर्ति कुरूप देखिन्छ । तथापि यही त उनको मूल आशय थियो । अनि उनी भन्छन्— जवानीमा सुन्दर देखिनु, देखाउन खोज्नु, म अरूभन्दा राम्रो छु भन्ने देखिनु–देखाउनु मात्र हो । वास्तवमा जीवन ढल्केपछि महिला जहिले पनि जवानी र सौन्दर्यताको मिश्रणमा देखा पर्दछ । यसर्थ पनि यही कुरूप आकृतिभित्र पनि सौन्दर्य अनुभूत गर्न उनको आग्रह पनि छ । भीमले दृष्टिकोणलाई मुख्य आधार बनाई गोलाकारको विम्बलाई पस्केका छन् । ज्ञानेंद्रियद्वारा बोध हुने सन्दर्भ पनि व्यक्ति विशेषको दृष्टिकोणमा भर पर्दछ । मञ्जुल बराइली पृथ्वीलाई तहसनहस गर्दै मार्ने मानव नै हो भन्ने निष्कर्ष निकाल्दै शिला भरि अमूर्त विश्वको म्याप अंकित गर्दै उनको कला जन्मेको छ । मुड नामक विजयको मूर्ति सफा–सुग्घर अनि खाइलाग्दो पाराले देखा परेको छ । लयात्मक रूपमा बगेको उनका मूर्तिले फर्किएको फूलको सन्दर्भ जोड्न खोजेको देखिन्छ । अधिर मानसिकतालाई यसको सेप, मिठो वास्ना अनि रङले शान्त अनि स्थिर बनाउँछ भन्ने भाष्यलाई नभन्दै उनको कामले चरितार्थ गरेको भान हुन्छ । जापानका सुगिमाटोले सिमिको गेडा अनि सौन्दर्यताको देवीलाई केन्द्र बनाएर ठ्याक्कै यथार्थ आकारमा मूर्तिको निर्माण गरेका छन् । सुदर्शनले युनिटीलाई एउटाले अर्कोलाई कस्सेर चाप्दै गरेको दृश्यलाई आफ्नो मूर्तिमा समाहित गरे । च्यापेजस्तो आकारमा दुई शिलाहरू यसरी मिलाएर राखे । लाग्दथ्यो त्यो अब कहिल्यै पनि अलग्ग हुँदैन ।

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नु हुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.