साहित्यपोस्ट डट कम

सिड्नीमा नेपाली भाषा र साहित्य महोत्सव सम्पन्न

सिड्नीमा नेपाली भाषा र साहित्य महोत्सव सम्पन्न

अस्ट्रेलिया । राष्ट्रिय भाषा दिवसको अवसर पारेर सिड्नीमा नेपाली भाषा र साहित्य महोत्सव सम्पन्न भएको छ । म्याक्सवेबर लाइब्रेरी, ब्ल्याकटाउनसँगको सहकार्यमा मार्च २८ मा आयोजित उक्त कार्यक्रम विविध साहित्यिक र सांस्कृतिक गतिविधिसहित सम्पन्न भएको हो ।

कार्यक्रमको पहिलो सत्रमा ब्ल्याकटाउन सिटी काउन्सिलका पूर्व काउन्सिलर सुसाई बेन्जामिनले बहुसांस्कृतिक समाजमा भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि सरकारी स्रोत–साधनको उपयोग गर्नुपर्नेमा जोड दिनुभएकाे थियाे ।

‘लेखक शोकेस’ सत्रमा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषी सत्र जना लेखकहरूले आफ्ना कृति र परिचय प्रस्तुत गर्नुभएकाे थियाे । यसमा ओम ढुंगेल, सौरभ किरण श्रेष्ठ, जानकी पौडेल, सानु घिमिरे, श्वेता मैनाली, प्रज्ञा पनेरु, प्रकाश पन्थीलगायत सहभागी हुनुहुन्थ्याे ।

दोस्रो सत्रमा करिब दुई दर्जन सर्जकहरूले नेपाली भाषामा कविता वाचन गर्नुभएकाे थियाे । सोही क्रममा पाकिस्तानी लेखक अब्बास राज अलीले उर्दू भाषामा कविता प्रस्तुत गर्नुभएकाे थियाे ।

तेस्रो सत्रमा दोस्रो पुस्ताका बालबालिकाहरूले नेपाली सांस्कृतिक प्रस्तुति दिनुभएकाे थियाे । ब्ल्याकटाउन नेपाली कम्युनिटीअन्तर्गत सञ्चालित सम्झना पाठशाला र एसोसिएसन अफ भुटनिज इन अस्ट्रेलियाले उक्त प्रस्तुति संयोजन गरेकाे थियाे ।

चौथो सत्रमा साहित्यकार प्रकाश पन्थीको उपन्यास ‘महबी मिका’ माथि बहस गरिएको थियो । सानु घिमिरेको संयोजनमा आयोजित उक्त छलफलमा लेखक पन्थी, देब पाठक र प्रज्ञा पनेरुले आफ्ना धारणा राख्नुभएकाे थियाे ।

कार्यक्रममा साहित्यकार सौरभ श्रेष्ठले यस्ता कार्यक्रमले नेपाली समुदायको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने बताउनुभयाे । ब्ल्याकटाउन नेपाली कम्युनिटीकी अध्यक्ष प्रकृति श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे भने अनेसास एनएसडब्ल्युका संयोजक प्रकाश पौडेलले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

कार्यक्रमको सञ्चालन दिव्या श्री छेत्रीले गर्नुभएकाे थियाे । सौरभ किरण श्रेष्ठको निर्देशन तथा सानु घिमिरेको संयोजनमा सम्पन्न उक्त महोत्सवमा ब्ल्याकटाउन नेपाली कम्युनिटी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एसोसिएसन अफ भुटनिज इन अस्ट्रेलिया सहआयोजकका रूपमा संलग्न रहेकाे थियाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.