स्याङ्जा । आँधीखोला गाउँपालिका, फापरथुमस्थित टुल्की नन्दकला सभाकक्ष, आनन्द भवनमा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ । आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा मासिक रूपमा हुँदै आएको गोष्ठीको ४० औँ अध्याय संस्थाका अध्यक्ष टिकाराम ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दिप्तिनारायण शर्माले सहभागीहरूको स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा साहित्यकार तथा भगवती माध्यमिक विद्यालय निबुवाबोटका प्रधानाध्यापक बुद्धिबहादुर क्षेत्री रहनुभएको थियो ।
प्रमुख अतिथि क्षेत्रीले गाउँस्तरमा भइरहेको साहित्यिक गतिविधिको प्रशंसा गर्दै भन्नुभयो, “गाउँमा शिक्षक, विद्यार्थी र स्थानीय किसानबीच साहित्यिक गतिविधि हुनु प्रशंसनीय कार्य हो ।” उहाँले निरन्तर ४० महिनादेखि सञ्चालन भइरहेको गोष्ठीले साहित्यिक जागरणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
उहाँले थप्नुभयो, “३९औँ अध्यायदेखि ‘कविता कसरी लेख्ने’ भन्ने विषयमा प्रशिक्षण तथा विचारविमर्श सुरु हुनुले यो अभियान अझ गहिरो बन्दै गएको छ ।”
गोष्ठीमा शिखा सुनार र बिपसा बिकले कविता वाचन गर्नुभएको थियो । उपसचिव खेमनारायण लामिछाने, सदस्य हिमलाल पुरी र इन्द्रमणि ढकालले पनि आफ्ना कविता प्रस्तुत गर्नुभएको थियो । संस्थाका संरक्षक त्रिलोचन ढकालले पनि कविता वाचन गर्नुभएको थियो ।
रचना वाचनपछि त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हिमलाल पुरीले ‘कविता कसरी लेख्ने’ विषयमा समीक्षा तथा विचार प्रस्तुत गर्नुभएको थियो । अनुष्टुप छन्द र कविताको संरचनाबारे भएको छलफलपछि सहभागीहरूबीच विचारविमर्शसमेत भएको थियो ।
कार्यक्रमका सभापति टिकाराम ढकालले बौद्धिक विकासमा यस्ता गोष्ठीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी कार्यक्रम असार २९ गते आदिकवि भानुभक्त जयन्तीसँगै सम्पन्न गरिने जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण उपसचिव खेमनारायण लामिछानेले गर्नुभएको थियो ।

