साहित्यपोस्ट डट कम

स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न

स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न

स्याङ्जा । आँधीखोला गाउँपालिका–६ फापरथुमस्थित आनन्दआश्रममा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ । आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रम मासिक रूपमा हुँदै आएको शृङ्खलाको ३९औँ अध्याय हो ।

कार्यक्रम संस्थाका अध्यक्ष टिकाराम ढकालको सभापतित्वमा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष दिप्तिनारायण शर्माले गर्नुभएको थियो । गोष्ठीमा शुक्ला गण्डकी साहित्य संगम तनहुँका सदस्यहरू यदुनाथ पौडेल, चन्द्रकला पौडेल र भुवन पोखरेलको उपस्थिति रहेको थियो । सहभागी यदुनाथ पौडेलले कविता वाचन गर्दै कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहप्राध्यापक तथा संस्थाका सदस्य हिमलाल पुरीले शुभकामना मन्तव्यसहित कविता वाचन गर्नुभएको थियो । त्यस्तै उपसचिव ख्यामनारायण लामिछाने र संरक्षक त्रिलोचन ढकालले पनि गजल तथा कविता प्रस्तुत गर्नुभएको थियो । यसपटकदेखि गोष्ठीमा प्रशिक्षण कार्यक्रमसमेत समावेश गरिएको छ । ‘कविता कसरी लेख्ने’ विषयमा भएको छलफलमा सहजीकरण हिमलाल पुरीले गर्नुभएको थियो । विशेषगरी झ्याउरे लयमा कविता लेख्ने विधिले सहभागीहरूलाई आकर्षित गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको सञ्चालन सचिव दोलराज ढकालले गर्नुभएको थियो । आगामी गोष्ठी जेठ १६ गते आयोजना गरिने जानकारी पनि कार्यक्रममा दिइएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.