स्याङ्जा । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–६, फापरथुमस्थित आनन्द भवन, आनन्दआश्रममा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ । आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा सम्पन्न नियमित मासिक गोष्ठीको ३५औँ अध्यायमा संस्थाका सदस्य हिमलाल पुरीद्वारा रचित कवितासङ्ग्रह आक्रोश को विमोचनसमेत गरिएको थियो ।
संस्थाका अध्यक्ष टिकाराम ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दीप्तिनारायण शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । गोष्ठीका प्रमुख अतिथि साहित्यकार विश्वप्रेम अधिकारी रहनुभएको थियो ।
प्रमुख अतिथि अधिकारीले आनन्दआश्रमले ग्रामीण क्षेत्रमा निरन्तर गर्दै आएको साहित्यिक गतिविधिले साहित्यिक चेतना र जागरण फैलाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले गीत, कविता, लघुकथा प्रस्तुत गर्ने स्रष्टाहरूको प्रशंसा गर्दै विमोचित कवितासङ्ग्रह आक्रोशका स्रष्टा हिमलाल पुरीलाई शुभकामना दिनुभयो ।
कवितासङ्ग्रह आक्रोश को विमोचन प्रमुख अतिथि भएकाे थियाे । पुस्तकको समीक्षात्मक टिप्पणी स्याङ्जाका कवि चिन्तु गिरीले गर्नुभएको थियो । रचनावाचनमा सहभागी साहित्यकारहरूले कृतिको विमोचन कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै रचनाकारप्रति आभार प्रकट गर्नुभएकाे थियाे ।
गोष्ठीमा हिमलाल पुरी, चिन्तु गिरी, हिमालयजंग बानियाँ, राजेन्द्र श्रेष्ठ, नारायण लम्साल, देशबन्धु आचार्य, श्यामप्रसाद ढुङ्गाना र त्रिलोचन ढकालले आ–आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
यसै अवसरमा पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानको जिम्मेवारीअनुसार स्याङ्जा जिल्लाका एक उत्कृष्ट छात्रा र एक उत्कृष्ट छात्र छनोट गर्न विद्यार्थीस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता आयोजना गरिएको थियो । “आँधीखोला” शीर्षकमा सम्पन्न प्रतियोगिताको मूल्याङ्कन समिति चिन्तु गिरी, हिमलाल पुरी र राजेन्द्र श्रेष्ठ रहनुभएको थियो ।
मूल्याङ्कनको नतिजाअनुसार पूर्णामृत भवानी मावि, वालिङकी छात्रा स्मारिका अर्याल र प्रद्युम्न पनेरु मावि, रङ्गेठाँटीका छात्र सम्पन्न पोखरेल उत्कृष्ट घोषित हुनुभएको छ । उहाँहरूलाई २०८२ माघ २४ गते काठमाडौंमा ‘पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठान’ले पुरस्कार तथा सम्मान प्रदान गर्ने जनाएको छ । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई आनन्दआश्रम ज्ञान केन्द्रले सहभागिता सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।
संस्थाका सचिव दोलराज ढकाल र उपसचिव खेमनारायण लामिछानेले आलोपालो रूपमा सञ्चालन गर्नुभएको कार्यक्रम सभापति टिकाराम ढकालको समापन मन्तव्यसहित सम्पन्न भएको थियो ।

