बाल्यकालमा सँगै हाँस्दै-खेल्दै हुर्किएर समयको चपेटामा च्यापिएर बिछोड भएका तीन जना साथी गाउँको चौतारीमा अचानक भेट भए । तीनै जनाको रुचि र कर्म प्रणाली छुट्टाछुट्टै थियो । उनीहरूको नाम क्रमानुसार एक जना धर्मका ठेकेदार जस्ता धर्मप्रेमी, अर्का जिम्मेवारी बोक्ने, दुनियाँदारी बुझ्ने, र तेस्रो जाँड-रक्सी बिना जीवन नै अधुरो मान्ने दार्शनिक प्रवृत्ति भएका जाँड-रक्सीका ऊर्जावान् ब्रान्ड एम्बासडर । एकै छिन पुराना कुरा सम्झेर गन्थन-मन्थन गर्दै रमाइलो गरेपछि उनीहरू आफ्नो आफ्नो अभिज्ञता अनुसार गफ हाँक्न थाले ।
धर्मप्रेमी साथी गम्भीर हुँदै भने, “हे साथीहरू, यो जीवन त अस्थायी हो । असल काम गर्यौं भने स्वर्गमा सुखको बास पाइन्छ र नराम्रो गर्यौं भने नर्कको अग्नि कुण्डमा होमिन पुगिन्छ ।“ जिम्मेवार साथी टाउको हल्लाएर भन्छन्, “ठीकै हो, तर स्वर्ग-नर्कको टिकट काट्ने अफिस कहाँ छ ? टिकट कसले दिन्छ । टिकट काट्ने मान्छेको लाइन कति लामो होला र रिफाण्ड पोलसि के हो ? “
नसामा डुबेका नसाचुर दार्शनिक साथी जोसिलो रसले भर्ती गिलास समात्दै भन्छन्, “तिमीहरू बेकारको चिन्ता गरिरहेका छौ । म त यहीँ स्वर्ग, यहीँ नर्क दुवै भोगिसकेर पूर्ण अभिज्ञ भएको छु । म आफैं अभिनय गर्ने एक जना अभिनेता पनि हुँ र त्यहाँको लाइभ टेलिकास्ट हेर्ने दर्शक पनि हुँ !”
दार्शनिक साथीको कुरो सुनेर धर्म प्रेमी र जिम्मेवार साथी अचम्म परे दुवैले एकै चोटि सोधे, “कसरी ?”
नसाचुर दार्शनिक साथीले गम्भीर अनुहार बनाउँदै भने, “जब जाँड-रक्सी पिउँछु, सबै मान्छे राम्रा देखिन्छन्, सबै कुरा राम्रै लाग्छ । मानौँ स्वर्ग मै भए जस्तै लाग्छ । तर बिहान उठ्दा नसाले छोड्दै जाँदा टाउको दुखेर फुट्ला जस्तै हुन्छ । त्यहाँ माथि घरमा पालिएकी बाघमा सवार गर्ने स्वयम्भू दूर्गा रूप धारिणी, धारिलो वचन बर्साउने रागिनी श्रीमती महिला महोदयको प्रवचन सुनिन्छ । अनि त्यो बेला त्यहीँ नै नर्क हो । स्वर्ग जान न माथि चढ्नुपर्छ, न त नर्क जान तल झर्नु पर्छ । स्वर्ग र नर्क यही छ ।“
यस्तो युक्तिसङ्गत र ज्ञानवर्धक कुरा सुनेर धर्मप्रेमी र जिम्मेवार साथी खित्का छोडेर हाँसे ।
धर्मप्रेमीले आफ्नो विचारधारामा धर्मको दृष्टिकोणले फेरि भन्छन्, “कि नर्कमा त आगोले पोलिन्छ !”
साथीको यस्तो भनाइ सुनेर नसाचुर दार्शनिक साथीले तुरुन्तै काउन्टार अटेक गर्दै जवाफ दिए, “त्यो त केही होइन ! रुपियाँ पैसा कम्ती हुनाले गए राति सस्तो रक्सी खाएँ, पेट भित्रै आगो बल्यो, भतभती भुँडी पोलेर खटपट भयो । खप्न सारो पर्दा कति धेरै कष्ट पाएँ । अब भने त त्यो भन्दा ठूलो नर्क के हुन सक्छ ?”
अचम्म मान्दै जिम्मेवार साथीले स्वर्गमा अप्सरा पनि त हुन्छन्, नृत्य हेर्न पाइन्छ, रमाइलो हुन्छ भन्ने कुरा थपे ।
नसाचुर दार्शनिक मुस्कुराउँदै भने, “त्यो पनि यहाँ छ, रक्सी पिएपछि त सबैलाई अप्सरा जस्तै देखिन्छ । नसाले चुर भएका आँखाले हेर्दा सोझै हिँडिरहेको मान्छेलाई पनि नाचेकै देखिन्छ अनि उनको उपदेश पनि गीत जस्तै सुनिन्छ ।”
त्यस्तो ठट्टेउली कुरो सुनेर धर्मप्रेमी रिसाउँदै भने, “तिमीले त शब्द बटुलेर अर्थ बुझाउने शब्दकोशलाई लज्जित पार्दै स्वर्ग र नर्कको अर्थ नै बिगारिदियौ !”
नसाचुर दार्शनिक गम्भीर हुँदै भने, “होइन मित्र ! मैले बिगारेको होइन, मान्छेले आफ्नै कर्मले स्वर्ग र नर्क बनाउँछ । कसैले राम्रो काम गरेर स्वर्ग बनाउँछ, कसैले रक्सी पिएर नर्क बनाउँछ !”
चौतारोमा फेरि एकछिन मौनता छायो ।
अन्त्यमा जिम्मेवार साथीले निष्कर्ष निकाले, “ल, अब बुझियो, स्वर्ग र नर्क टाढा कतै छैन रहेछ । आफ्नो सोच, व्यवहार र बानीमा स्वर्ग र नर्क हुने गर्दो रहेछ !”
नसाचुर दार्शनिकको चित्त बुझ्यो र गिलास राख्दै भने, “ठीक भन्यौ ! अबदेखि म पनि ‘स्वर्ग’ कम, ‘नर्क’ झन् कम बनाउने प्रयास गर्छु ।“ नसाचुरको लागेको बानी हो, यता ऊ बोल्दै गर्दा उता हात गिलासतिर हात बढाउँदै थिए ।
मानिसले स्वर्गको सपना देख्छ, नर्कको डर मान्छ । तर कहिलेकाहीँ आफ्नै बानीले दुवैलाई घरमै बोलाउँछ अनलाइनको सामान जस्तै घरमै ‘होम डेलिभरी’ गराउँछ !
विश्वनाथ चारालि, असम

