कालेबुङ । नेपाली साहित्य अध्ययन समितिको आयोजनामा विश्व कविता दिवसका अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व योगवीर शाक्यले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राजेन्द्र भण्डारी र विशिष्ट अतिथिका रूपमा कुमार छेत्री उपस्थित हुनुहुन्थ्याे ।
सो अवसरमा हरिश मोक्तान ‘अल्लारे’द्वारा लिखित हिन्दी कथासङ्ग्रह ‘फेसबुक सिन्ड्रोम’ तथा काठमाडौंबाट प्रकाशित ‘स्वर’ पत्रिकाको ‘नवीन पौड्याल समालोचना विशेषाङ्क’ लोकार्पण गरिएको थियो।
कार्यक्रममा नवीन पौड्यालले विश्व कविता दिवसको महत्त्वबारे बोल्दै कवितालाई सामाजिक रूपान्तरण, मानवता र विश्वशान्तिको शक्तिशाली माध्यमका रूपमा व्याख्या गर्नुभयो।
उक्त कार्यक्रममा विभिन्न कविहरूले समसामयिक विषयवस्तु समेटिएका कविता वाचन गर्नुभएकाे थियाे । वाचन गरिएका कविताहरूमा सामाजिक विकृति, वैश्विक समस्या, युद्धको पीडा तथा शान्तिको आकाङ्क्षा झल्किएको थियो।
कार्यक्रमको सञ्चालन ललित छेत्रीले गर्नुभएको थियो भने अन्त्यमा सभापति योगवीर शाक्यले कविताको समसामयिक प्रासङ्गिकतामाथि जोड दिँदै कार्यक्रम समापन गर्नुभएकाे थियाे।

