साहित्यपोस्ट डट कम

स्वच्छता, प्रविधि र संस्कृतिको अद्भुत संगम ‘जापानको शौचप्रणाली’ नेपालसित तुलना

स्वच्छता, प्रविधि र संस्कृतिको अद्भुत संगम ‘जापानको शौचप्रणाली’ नेपालसित तुलना

जापानका शौचालयहरूले यही सन्देश दिन्छन् – सभ्यता ठूलो भवनमा होइन, साना व्यवहारमा देखिन्छ । जापानबाट नेपाल फर्किँदा मसँग कुनै सामानभन्दा भारी एउटा प्रश्न थियो; हामी कहिले शौचालयलाई सभ्यताको आधार मान्नेछौं ?

0000

१. भूमिका

यात्राको शुरूआत: विमानस्थलको एउटा शौचालय

मेरो जापान यात्रा टोकियोको हानेदा विमानस्थलबाट शुरू भयो । लामो उडानपछि शरीर थकित थियो, मन अनिश्चित ! विमानस्थलमा पाइला टेकेको केही बेरमै म एउटा साधारण तर अपरिहार्य आवश्यकताका लागि शौचालयतर्फ मोडिएँ । त्यो शौचालयले मलाई न कुनै बोर्ड, न कुनै स्वागत भाषण जापान देखाइदियो । एउटा शौचालयले नै जापानको आत्मा बोल्यो । ढोका आफै खुल्यो, सिट न्यानो थियो, पानीको आवाज जस्तै मधुरो कृत्रिम ध्वनि बजिरहेको थियो । बटनहरू जापानी अक्षरमा थिए, तर प्रयोगकर्तामैत्री डिजाइनले भाषाको सीमाना तोडिदियो ।

त्यही क्षण मेरो मन काठमाडौंको एउटा सार्वजनिक शौचालयमा पुग्यो, जहाँ ढोका बन्द हुन्छ कि हुँदैन भन्ने अनिश्चितता हुन्छ, जहाँ पानी आउँछ कि आउँदैन भन्ने प्रार्थना गर्नुपर्छ र जहाँ शौचालय प्रयोग गर्नु भनेको साहसको काम जस्तै लाग्छ । उसो त, म सानोसानो हुँदा वा मैले थाहा पाउँदाताका म जन्मेको गाउँमा शौचालय भन्ने खास कुनै स्थान थिएन; २-४ परिवारको घरका हल्गौंडीहरू थिए, ती १०० हात परै गनाइरहेका हुन्थे, तिनको प्रयोग बिरलै हुन्थे । खासमा शौचालयको कामको जिम्मा अँगेरका बुटाको आड वा पाटाका कुनाहरूलाई थियो, गाउँभरिका कुकुरहरूले भोजन गर्ने हुँदा खासै फोहोर वा दुर्गन्ध पनि फैलिएको हुँदैन्थ्यो, जति गौंडीहरूबाट हुन्थ्यो ।

यहीँबाट शुरू भयो, मेरो नेपाल–जापान शौचालय यात्रा । मानव सभ्यताको विकासलाई हेर्ने हो भने शौचालय (Toilet) केवल फोहोर त्याग्ने स्थान मात्र होइन, सभ्यताको स्तर मापन गर्ने सूचक पनि हो । संसारका धेरै देशहरूमा शौचालयलाई अझै पनि लाज, गोपनीयता वा आवश्यकतामा सीमित विषय मानिन्छ । तर जापानमा शौचालय संस्कृति, प्रविधि, शिष्टाचार र मानवकेन्द्रित सोचको चरम उदाहरण हो । जापानमा शौचालय लाज होइन, संस्कार हो । जापानमा मैले होटल, रेल स्टेशन, पार्क, साना पसल र ग्रामीण क्षेत्रसम्मका शौचालयहरू प्रयोग गरेँ । आश्चर्य के थियो भने, स्थान फरक थियो तर सम्मान एउटै ।

नेपालको कुरा गर्ने हो भनें करीब २७ किलोमिटरको काठ्माडौंको रिङरोडमा सार्वजनिक शौचालय मैले आजसम्म देखेकै छैन, यस्सो पार्किङ गरिएका गाडीहरूको छेलमा निवृत्त हुनु पैदल यात्रीको बाध्यता छ । आज यहाँ जापानका शौचालयहरू र त्यहाँको शौचप्रणालीबारे सामान्य अनुभवका आधारमा सांस्कृतिक, प्रविधिक, ऐतिहासिक र सामाजिक विश्लेषण सहितको सामान्य लेख प्रस्तुत गरिएको छ ।

जापानी शौचालय, जापान भ्रमण गर्ने अधिकांश विदेशीहरूलाई सबैभन्दा पहिले चकित पार्ने विषयमध्ये एक हो । कतिपयका लागि त्यो ‘भविष्यको शौचालय’ जस्तै लाग्छ; कतिपयका लागि चाहिँ ‘शौचालय पनि यति विकसित हुन सक्छ ?’ भन्ने प्रश्नको उत्तर हुन सक्छ । हामी जापानका शौचालयहरूलाई केवल भौतिक संरचनाका रूपमा मात्र होइन, ऐतिहासिक विकास, सांस्कृतिक दृष्टिकोण, प्रविधिक नवप्रयोग, सामाजिक मनोविज्ञान, पर्यावरणीय चेतना र मानव मर्यादासँग जोडेर बुझ्ने प्रयास गरौं ।

२. जापानमा शौचालयको ऐतिहासिक विकास

प्राचीन जापानमा शौचालयहरू प्रायः खुला खाल्डो वा काठका संरचनामा आधारित थिए । ग्रामीण क्षेत्रमा मानव मललाई खेतीका लागि मलका रूपमा प्रयोग गरिन्थ्यो । यसलाई ‘नाइट सइल’ (Night Soil) प्रणाली भनिन्थ्यो, जुन एशियाका धेरै सभ्यतामा प्रचलित थियो । एदो काल (१६०३-१८६८)मा जापानमा शहरको विकाससँगै व्यवस्थित शौचप्रणाली देखा पर्न थाल्यो । टोकियो (तत्कालीन एदो) जस्ता शहरमा मानव मल सङ्कलन गरेर किसानलाई बेचिन्थ्यो । यसले शहर सफा राख्थ्यो, कृषिमा रासायनिक मलको आवश्यकता घटाउँथ्यो र पुनःचक्रण (Recycling) को प्रारम्भिक रूप प्रस्तुत गर्थ्यो । मेइजी कालपछि (१८६८ पछि)

पश्चिमी प्रभावसँगै जापानमा फ्लस शौचालय प्रवेश गर्‍यो । तर जापानले पश्चिमी प्रणालीलाई जस्ताको तस्तै नअपनाई आफ्नो सांस्कृतिक आवश्यकता अनुसार परिमार्जन गर्‍यो ।

३. परम्परागत जापानी शौचालय (Washiki Toilet)

परम्परागत जापानी शौचालय प्रायः भुइँमा गाडिएको पोर्सिलिनको प्यान जस्तो हुन्छ, जहाँ प्रयोगकर्ताले उभिएर वा झुकेर प्रयोग गर्छ । जापानी दृष्टिकोणमा झुकेर बस्दा शरीरको प्राकृतिक संरचना अनुसार मलत्याग सजिलो हुन्छ, पाचन प्रणालीका लागि उपयोगी मानिन्छ, यो सांस्कृतिक र शारीरिक पक्ष हो । आधुनिक अनुसन्धानले पनि Squatting posture लाई स्वास्थ्यकर ठहर गरेको छ ।

जापानमा शौचालय फोहोर हुने सम्भावना होइन, सफा राख्नुपर्ने दायित्व हो । त्यहाँ प्रयोगकर्ता भन्छ: “मैले प्रयोग गरेको ठाउँ, म जत्तिकै सभ्य हुनुपर्छ ।” सार्वजनिक शौचालय पनि घरकै जस्तो हो, कसैले “यो त सार्वजनिक हो” भनेर लापरवाही गर्दैन ।

नेपालमा शौचालयबारे खुलेर कुरा गर्न लाज मानिन्छ, लाजको संस्कृतिले जन्माएको उपेक्षा छ । परिणामतः नीति बनाउँदा प्राथमिकतामा पर्दैन, बजेट छुट्दैन, व्यवस्थापन कमजोर हुन्छ । जहाँ जापानमा शौचालय सभ्यताको सूचक हो, नेपालमा अझै पनि बोल्न नहुने विषय जस्तो छ । आजका शहरी क्षेत्रमा वाशिकी शौचालय घट्दै गएका छन्, तर विद्यालय, पुराना सार्वजनिक भवन र ग्रामीण क्षेत्रमा अझै पनि देख्न सकिन्छ ।

४. आधुनिक जापानी शौचालय: ‘वाशलेट’ क्रान्ति

वाशलेट के हो ? वाशलेट (Washlet) भनेको इलेक्ट्रोनिक शौचालय सिट हो, जसमा पानी, ताप, सेन्सर र माइक्रो कन्ट्रोल प्रणाली जडान गरिएको हुन्छ । वाशलेटले मलाई एउटा कुरा सिकायो; प्रविधि विलास होइन, मर्यादाको साधन पनि हुन सक्छ । तातो सिट, सफा पानी, दुर्गन्ध नियन्त्रण; यी सुविधा होइनन्, मानिसलाई असहज नहोस् भन्ने सोचका उपज हुन् । प्रमुख आविष्कारक TOTO कम्पनीले सन् १९८० को दशकमा वाशलेटलाई लोकप्रिय बनायो । आज यो जापानका घरघरमा अनिवार्यजस्तै भइसकेको छ ।

५. वाशलेटका प्रमुख विशेषताहरू

सिट तताउने प्रणाली- जापानको जाडो मौसमलाई ध्यानमा राखेर सिट स्वतः तातो हुन्छ । तापक्रम प्रयोगकर्ताअनुसार समायोजन गर्न मिल्छ ।

स्वचालित ढकनी – नजिकिँदा ढकनी आफै खुल्ने र टाढा जाँदा बन्द हुने हुन्छ ।

ध्वनि प्रणाली (Otohime)- महिलाहरूको गोपनीयतालाई ध्यानमा राख्दै पानी बग्ने आवाज जस्तै कृत्रिम ध्वनि, लाज हटाउने सामाजिक समाधानका रूपमा स्वीकार गरिन्छ ।

बिडेट (Bidet) प्रणाली – जापानी शौचालयमा प्रयोग हुने बिडेट (Bidet) प्रणाली भनेको शौचपछि शरीरको संवेदनशील भाग मुख्यतः गुदा र योनिक्षेत्रलाई पानीको धाराले सफा गर्ने स्वचालित जलसफाइ प्रणाली हो । यसलाई प्रायः ‘वाशलेट (Washlet)’ भनिन्छ, जुन टोतो (TOTO) कम्पनीले लोकप्रिय बनाएको नाम हो । बिडेट प्रणाली शौचपछिको सफाइ (Anal Wash) का लागि प्रयोग हुन्छ, गुदा क्षेत्र सफा गर्न पानीको नियन्त्रित धार प्रयोग हुन्छ । महिलाहरूका लागि अलग पानीको धार, हल्का र फरक कोणमा आपूर्ति हुन्छ । दैनिक स्वच्छता केवल शौचपछि मात्र होइन, सफा र ताजगीका लागि पनि प्रयोग गर्न सकिन्छ ।

बिडेट प्रणालीका मुख्य विशेषताहरूमा पानीको धार (Water Jet/Nozzle) शौचालयको सिटभित्र लुकेको नोजल बाहिर निस्केर काम गर्छ, प्रयोगपछि आफैं सफा हुन्छ (Self-cleaning nozzle); तापक्रम नियन्त्रण पानीको तापक्रम मिलाउन सकिने (चिसो–न्यानो) सिट तताउने सुविधा (Heated seat), विशेष गरी जाडोमा उपयोगी हुन्छ; दबाब र दिशा नियन्त्रण पानीको दबाब (soft–strong), धारको अगाडि–पछाडि चाल (position adjustment) मिलाइएको हुन्छ; सुख्खा गर्ने प्रणाली (Dryer) पानीले सफा गरेपछि तातो हावाले सुकाउने, टिस्यु प्रयोगको आवश्यकता घट्छ र स्वचालित सेन्सर प्रणाली बस्दा मात्र काम गर्ने हुन्छ ।

ढकनी आफैं खुल्ने/बन्द हुने (Advanced models), तातो पानीले स्वच्छता, महिला र पुरुषका लागि फरक नोजल, पानीको दबाब र दिशा नियन्त्रण, दुर्गन्ध नियन्त्रण, एयर फिल्टर र स्वचालित सुगन्ध प्रणाली पनि उल्लेखनीय कुरा हुन् ।

६. जापानी शौचालय र स्वच्छताको दर्शन

शिन्तो दर्शन – शिन्तो धर्ममा शुद्धता (Purity) अत्यन्त महत्त्वपूर्ण छ । शौचालयलाई अपवित्र होइन, सफा राख्नुपर्ने स्थान मानिन्छ ।

‘कागामी’ संस्कृति – जापानी समाजमा ‘मानिसको चरित्र उसको शौचालयले देखाउँछ’ त्यसैले सार्वजनिक शौचालय पनि घरजत्तिकै सफा रहनुपर्छ र प्रयोगपछि सफा गर्नु नै शिष्टाचार हो ।

७. सार्वजनिक शौचालयहरूको अवस्था

नेपालमा धेरै घरका शौचालय राम्रा छन् । तर सार्वजनिक शौचालय ? घर र सार्वजनिक शौचालय बीचको खाडल छ, त्यो अझै पनि ‘कसैले नहेरेको जिम्मेवारी’ जस्तो छ । यात्रामा बसपार्कको शौचालय, अस्पतालको शौचालय, सरकारी कार्यालयको शौचालय सम्झें, यी प्रयोग गर्नु भनेको बाध्यता हो, सहजता होइन । जापानमा रेल स्टेसन र पार्कहरूमा निःशुल्क अत्यन्त सफा नियमित सरसफाइयुक्त शौचालयहरू छन् ।

जापानी यात्रीले, जापानमा यात्रामा हिँड्दा मैले देखेँ मानिस शौचालय प्रयोगपछि सिट पुछ्छ, पानी छरिएको छ भने सफा गर्छ, अर्को प्रयोगकर्ताको बारेमा सोच्दछ । नेपाली यात्रीले फोहोर गरी हिंड्छ । नेपालमा ‘अरूले सफा गर्छ’ भन्ने मानसिकता, सार्वजनिक सम्पत्तिप्रति अपनत्वको कमी, व्यवस्थापनमाथि मात्र दोष दिने संस्कृति नै बनिसकेको छ । त्यस यात्राले मलाई सिकायो; सभ्यता बजेटले होइन, मानसिकताले बनाउँछ । टोकियोका केही सार्वजनिक शौचालयहरू प्रसिद्ध वास्तुविद्हरूले डिजाइन गरेका, कला र वास्तुकलाको नमूना पनि हुन् ।

८. अपाङ्गमैत्री र समावेशी शौचालय

जापानमा व्हीलचेयर प्रयोगकर्ताका लागि फराकिलो ढोका, ब्रेल लिपि, बच्चा स्याहार गर्ने कक्षको व्यवस्था छ । यो मानवकेन्द्रित समाजको स्पष्ट उदाहरण हो । जापानमा अपाङ्गमैत्री शौचालय, बच्चा स्याहार कक्ष, वृद्धमैत्री संरचना छन्, नेपालमा यी कुरा अझै अपवाद हुन् । यात्रामा मैले महसूस गरेँ; शौचालयले बताउँछ, समाज कसका लागि बनेको छ ।

९. वातावरणीय चेतना र पानी बचत

जापानमा शौचालय प्रयोग गर्दा मलाई प्रकृतिको सम्मान महसूस भयो । कम पानीमा धेरै काम हुने । हात धुने पानी ट्यांकीमा जम्मा गरेर फ्लसमा पुनः प्रयोग गरिंदो रहेछ । सानो र ठूलो फ्लसको विकल्प पनि छ । नेपालमा भने कतै अत्यधिक पानी बग्ने, कतै पानी नै नआउने, न संरक्षण, न योजना । यो फरक केवल प्रविधिको होइन, प्रकृतिसँगको सम्बन्धको फरक हो । जापानमा पानीको दोहोरो प्रयोग हुन्छ । हात धुने पानी ट्यांकीमा जम्मा, पछि फ्लसमा प्रयोग हुन्छ । न्यून पानी प्रयोग गर्ने फ्लस, सानो फ्लस / ठूलो फ्लसको विकल्प पनि हुन्छ ।

१०. नेपाली समाजका लागि जापानी शौचप्रणालीका पाठ

नेपाल: जहाँ शौचालय अझै पनि उपेक्षित सत्य हो । जापानको त्यस अनुभवले मलाई नेपाल फर्काएर हेर्न बाध्य बनायो । काठमाडौं, पोखरा, बुटवल, साना बजार, ग्रामीण क्षेत्रका शौचालयको अवस्था सोच्दा मन भारी हुन्छ । नेपालजस्ता देशका लागि शौचालयलाई सम्मानजनक स्थान बनाउने, पानी बचत प्रविधि अपनाउने, सार्वजनिक शौचालयमा लगानी आवश्यक छ । शौचालय: सानो ठाउँ, ठूलो पाठ हो । यस यात्राले मलाई बुझाइरह्यो; देशको विकास सडक र भवनले मात्र हुँदैन । शौचालयले पनि विकासको कथा भन्छ ।

जापानले मलाई सिकाएको कुरा स्वच्छता आत्मसम्मान हो, सार्वजनिक भनेको कसैको होइन भन्ने होइन, सानो व्यवहारले ठूलो सभ्यता बनाउँछ भन्ने हो । नेपालले मलाई सम्झायो – हामीसँग स्रोतभन्दा पनि इच्छाशक्ति कमी छ, लाजको संस्कृतिले आवश्यक विषय ओझेलमा पारेको छ । अहिले बनिरहेको रिङरोडको खण्डमा सरोकारवालासित शौचालय निर्माणको अनुरोध गर्नुपर्छ/दवाव दिनुपर्छ ।

निष्कर्ष

जापानका शौचालयहरू केवल ‘शौच गर्ने स्थान’ होइनन् । ती मानव मर्यादाको प्रतीक हुन्, प्रविधि र संस्कृतिको संगम हुन्, सभ्य समाजको ऐना हुन् । यदि कुनै देशलाई नजिकबाट बुझ्नुपर्छ भने ‘उसको शौचालय हेर्नुहोस्’ ।

जापानका शौचालयहरूले यही सन्देश दिन्छन् – सभ्यता ठूलो भवनमा होइन, साना व्यवहारमा देखिन्छ । जापानबाट नेपाल फर्किँदा मसँग कुनै सामानभन्दा भारी एउटा प्रश्न थियो; हामी कहिले शौचालयलाई सभ्यताको आधार मान्नेछौँ ? यदि नेपालले शौचालयलाई नीति बनायो, सार्वजनिक स्वच्छतालाई संस्कार बनायो, यात्रुलाई सम्मानको अनुभव दियो, त्यो दिन नेपाल पनि यात्रुका लागि ‘शौचालयबाटै राम्रो लाग्ने देश’ बन्न सक्छ ।

अन्ततः,

देश चिन्न दरबार होइन, शौचालय हेर्नुपर्छ । मेरो त्यस पटकको जापान यात्रा त्यहीँ सकियो, तर नेपालको यात्राले अझै उत्तर खोजिरहेको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.