दुई दशकअघि दरबारमार्गमा एउटा निकै सक्रिय ग्यालरी थियो जसलाई जे आर्ट ग्यालरीको नाममा चिनिन्थ्यो । जुन ग्यालरीमा उति बेला म बराबर जाने गर्दथे । म त्यहाँ जानुको धेरै कारणहरू मध्ये दुईटा महत्त्वपूर्ण कारण हुने गर्दथ्यो । एउटा कारण हुन्थ्यो – नेपाली र विदेशी कलाविकास र गतिविधिमाथि कलाकारबीच एकआपसमा छलफल गर्नु, विचार–विमर्श गर्नु र सुन्नु । ग्यालरी जानुको अर्को कारण हुने गर्दथ्यो केही वर्षअघि संसारमा फैलिएको कोरोना महामारीको कहरले संसारबाट चुँडेर लगेको होनहार वरिष्ठ कलाकार शंकरराजसिंह सुवालको चित्र हेर्नु । त्यसताका जे. आर्ट. ग्यालरीका भित्ताहरूमा प्रायजसो शंकरराजसिंह सुवालकै ठूल्ठूला चित्रहरू झुन्डिएका देखिन्थे । त्यहाँ भएका उनका धेरै चित्रहरू मध्ये मलाई उनको बुद्ध विषयमा बनाइएको चित्र चाहिँ खुब मन पर्दथ्यो र त्यहीँ आँखा जान्थ्यो । किनकि ती चित्रहरूमा मैले अनौठो शैली र भाव ओतप्रोत भएको महसुस गर्दथे । मृत्युपर्यन्त तिनै शंकरराजसिंह सुवालका पुराना र नयाँ चित्रहरूलाई उनको निवासमा पुगेर दृष्टिगोचर गर्ने अवसर जुरेको थियो ।
आर्ट काउन्सिलमा त उनको प्रदर्शनी हेर्दै आएको नै थिएँ तर निवासमै गएर हेरेको त्यो पारिवारिक परिवेश आनन्ददायक र मिठासपूर्ण थियो । त्यति बेला उनी निकट भविष्यमा हुन गइरहेको कलाप्रदर्शनीका निम्ति भ्याइनभ्याइ चित्र कोरिरहेको अवस्थामा थिए । बुद्धका मूर्तिमय ढिक्का बिम्बलाई क्यानभासको मध्यभागमा सजाएर सेतो तथा खरानी रङमा तुलिकाघात गर्दै चित्र पूर्ण गर्नु सुवालको निजी विशेषता थियो । जुन शैली वा धारमा उनले तीन दशकभन्दा बढी समयदेखि काम गर्दै आइरहेका थिए । र उनले यही शैलीलाई अवलम्बन गर्दै लगभग सात सय थान जति बुद्धकृतिहरू जन्माइसकेका छन् । सुवालले विविध माध्यम र शैलीहरूमा हजारौँ कृतिहरू सिर्जना गर्दै नेपाली आधुनिक कलाभण्डारलाई उन्नत बनाएको इतिहास छ ।
नेपाली कलाभूगोलमा दोस्रो पुस्ताका रूपमा क्रियाशील कलाकारको नाम लिनुपर्दा सहज रूपमा उनकै नाम अग्रपंक्तिमा आउँछ । कलाको श्रीवृद्धिमा सुवालको कलायोगदान अतुलनीय छ । सम्मानजनक छ । लगभग छ दशकदेखि आफ्नो जीवनको अन्तिम अवस्थासम्म कला सिर्जनामा र सिर्जनाका अन्य पाटाहरूमा नै निरन्तर लागिपरिरहेका सुवालको कलाजीवनले धेरै आरोह–अवरोह पार गरेको दृष्टान्त छ । कलाका विविध आयाम, माध्यम र विषयवस्तुलाई चुमिसकेका उनका क्यानभासहरूले आज पनि पृथक मूल्य र मान्यता बोकेका छन् । अर्थात् उनका कलाहरू मौलिक छन् । सुन्दर छन् । र मनमोहक छन् जसमा सुवालको चिनारी घनिभूत छाएको पाइन्छ । प्राकृतिक सौन्दर्यतालाई निखारता दिन सक्ने जलरङ्गी माध्यमबाट शुरू भएको सुवालको कलाकर्मको यात्राले ‘सुपर रियालिज्म’, ‘क्युबिक’ र ‘प्याचवर्क’ शैलीलाई आत्मसात् गर्दै धर्म, संस्कृति र पुरातात्त्विक विषयवस्तुहरूलाई उठान गर्ने गरेको मैले अनुभूत गरेको छु । र कहिले काहीँ मनका भावना, विचार वा तरङ्गसँग लुकामारी खेल्ने अमूर्तकला शैलीका पदचापलाई समेत उनको कलाले छुने आँट गरेको आभास मैले बुझेको छु । चित्रकर्ममा जुनै पनि माध्यमलाई प्रश्रय दिँदै प्रयोग गर्ने उनका चित्रहरू प्रायजसो कलम र मसी, तैल, ‘एक्रेलिक’, पेस्टल तथा ‘मिक्स मिडिया’बाट बनेका भेटिन्छन् र निश्चित कलावादबाट उन्मुक्त भएका पाइन्छन् ।
विश्व कलामा कला सिद्धान्त वा कलावादहरूको ज्यादै महत्त्वपूर्ण स्थान छ । विश्व कलाको समूल इतिहास हेर्ने हो भने, नयाँपनको चाहना राख्ने सांसारिक पृष्ठभूमिमा एउटा कलावादपछि अर्को नवकलावादको जन्म भएको देखिन्छ । कलाका प्रत्येक परिभाषा वादनुकूल परिभाषित हुँदै आइरहेको पाइन्छ । वादहरूको प्रार्दुभाव, विकास, विस्तार र प्रयोगको सन्दर्भलाई विगतको कालखण्ड साक्षी बनेर इतिहासमा छाएका छन् । आजको उत्तरआधुनिक समयकालमा कला स्वयंमा परिभाषाविहीन बन्दै गइरहेको छ । यसै सेरोफेरोमा मनका भावनालाई सुन्दर रूपमा प्रस्तुत गर्नुलाई नै कला ठान्ने सुवालचित्रले प्रत्येक कलावादलाई स्वीकारेको देखिन्छ । प्रायजसो ‘क्युबिक फोर्ट’ शैलीमा ‘प्याचवर्क’ पस्कने उनी कहिले रियालिज्म, कहिले सुपररियालिज्म त कहिले अभिव्यञ्जनावादलाई क्यानभासमा पस्कन्थे ।
सन् १९४८ मा ओमबहाल काठमाडौंमा जन्मेर १९७५ मा भारतको बडौडाबाट कलामा स्नातकोत्तर गरेका सुवालले स्वदेश र विदेशमा गरी झण्डै दशौँ पटक एकल र दर्जनौँ पटक सामूहिक कला प्रदर्शनी गरिसकेका थिए । र उनले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानहरू हात पारिसकेका थिए । वि.सं. २०३२, ३३ सालतिर गोरखापत्र संस्थानमा मधुपर्कको निम्ति कलाकारको हैसियतले जागिरे जीवनको सुरुवात गरेका उनी सोही संस्थानमा डी.जि.एम. सम्मको पदमा पुगेका थिए । संस्थानमा रहँदाबस्दा ‘स्केच’ र ‘इलस्ट्रेसन’का कामहरू बढी गर्नुपर्ने अनुभवका कारणले पनि हुन सक्छ कि उनका चित्रहरूमा रेखाहरू शक्तिशाली र प्रखर रूपमा बगेका देखिन्छन् र रङमा मिठास छरिएका पाइन्छन् । उनलाई मनपर्ने धेरै कलाकारमध्ये अग्रभागमा आउने कलाकारहरूमा डाली, पिकासो, भारतका सुप्रमण्डेयम, ज्योति भट्ट, शङ्कु चौधरी र नेपालका लैनसिंह वाङ्देल हुन् । त्यसैले पनि होला उनका चित्रहरूमा ती कलाकारहरूको प्रभाव र छाप प्रशस्तै परेको अनुभव हुन्छ ।
उनी आफैँ पनि भन्ने गर्दथे – ‘मलाई ती कलाकारका काम र शैली ज्यादै मन पर्छ । हुबहु रूपमा नभई गौण रूपमा यिनीहरूको कला प्रभाव मेरा कलाहरूमा पनि परेको मलाई आभास हुन्छ ।’ सुवाल लैनसिंह वाङ्देलका एक होनहार शिष्य पनि थिए । नेपाली कलाक्षेत्रमा लामो कलाअनुभव बटुलिसकेका र इतिहास देखिसकेका सुवाल कला सिर्जनामा मात्र होइन नेपाली कलाको विकासमा पनि चासो राख्ने कलाकारमध्येमा पर्दथे । यसै सन्दर्भमा उनी भन्थे – ‘विगत र वर्तमानलाई तौलिएर हेर्ने हो भने हामीमा पनि हिजोभन्दा आज कलाको विकास भएकै छ । कलाकारहरू बढेकै छन् । कला गतिविधिहरू चलेकै छन् । तथापि कलाको विकास त्यति हुन पाएको छैन । यस क्षेत्रको पूर्ण विकास हुन राष्ट्रका सबै तह र तप्कासम्म कलाको पहुँच, महत्त्व तथा वैभव पुग्न सक्नुपर्छ ।’
वास्तवमा सुवालले भने जस्तै अझै पनि कलाको बुझाइ जनमानसबीच पूर्ण रूपमा पुग्न सकेको छैन । जनतामा कलाचेतना जागृति भइनसकेको आजको अवस्थामा यस क्षेत्रप्रति सरकारी दृष्टिकोण फराकिलो र सहानुभूतिपूर्ण नभई नेपाली कलाको कायापलट हुनै सक्दैन । सरकारी स्तरबाटै कलाविकासका गहकिला नीति, योजना वा अभियान बन्न र लागू हुन सके मात्र हामी कलाको सन्दर्भमा अन्य मुलुकहरूको हाराहारीमा पुग्न सक्छौँ ।

