साहित्यपोस्ट डट कम

सुटका कुरा

सुटका कुरा

एक दिन साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’सँग पनेरा हाउसमा बिहानको ब्रेकफास्ट गर्ने योजना बन्यो । योजनाअनुसार हामी पनेरा ब्रेडको एउटा टेबलमा थियौं । टेबलमा बसेर हामी आफ्ना कामका कुरा, सामाजिक कुरा, साहित्यिक कुरा र व्यक्तिगत कुराहरूमा मस्त थियौं ।

करीब दुई घण्टा जति समय बिताएपछि हाम्रो भेटको उद्देश्य पूरा भयो । हामी आसनबाट उठ्यौं । गोविन्दजीले बिल तिरिसकेर बहिर्गमनका लागि ढोकातिर बढ्दै गर्दा उहाँले भन्नुभयो, “म घरबाट बाहिर कतै निस्कँदा क्याजुयल ड्रेसमा निस्कन्न । म सुट लगाएर नै बाहिर निस्कन्छु । मलाई मेरो पेसाले सिकाएको कुरा हो यो ।” म सुनिरहें मात्र ।

उहाँले पुनः भन्नुभयो, “म जुन पेसामा छु, त्योभन्दा अगाडि म पनि क्याजुयल ड्रेसमै हिँड्थे तर अहिले मलाई महसूस भएको छ, फर्मल ड्रेसमा हिँड्दा त्यसले व्यक्तित्व पनि देखाउँछ । मानिसले बाह्य रूपमा देख्दा पनि पृथक् नजरबाट देख्दछन् । तपाईँलाई लुगाकपडाले बेग्लै प्रभाव पनि दिन्छ । जीवनमा शैली पनि फरक पर्न थाल्छ । तपाईं पनि त्यसै गर्नुहोस् भन्ने सल्लाह दिन्छु ।”

उहाँलाई सुनिरहँदा कुरा सुनेको मात्र भयो मेरो लागि तर ‘तपाईं पनि त्यसै गर्नुहोस्’ भन्ने सुझावले मलाई हिर्कायो र म आफूतिर हेर्न बाध्य भएँ । म एउटा प्यान्ट र टि–सर्टमा सामान्य आभूषणमा थिएँ । उहाँको कुरा मलाई बिल्कुलै मन परेन तर प्रतिक्रिया पनि जनाइनँ । भित्रभित्रै मेरो व्यक्तिगत लवाइ बानीप्रति अनावश्यक टिप्पणी गरेको र मलाई हेपेको जस्तो लाग्यो । तथापि म चूप लागें । “सुझावको लागि धन्यवाद” भनेर मभित्रको असन्तोषको आँधीलाई सामान्यीकरण गर्न खोजें ।

मलाई लाग्छ म भित्रभित्रै रिसाएको कुरा उहाँले थाहा पाउनुभएन किनभने मैले त्यसलाई बाहिर देखाइनँ । त्यति भनिसकेर उहाँले पनि त्यसै विषयमा थप केही भन्नुभएन । हामीले भेटघाटको अन्तिम समयमा बिदाइको सामान्य औपचारिकता पूरा गरी आ–आफ्नो बाटो समात्यौं । मेरो मनमा चाहिँ एकतर्फी तुषको काँडो बिझ्यो । व्यक्तिको व्यक्तिगत रुचि र छनोटको कुरा पनि त हुन्छ ! अनावश्यक किन टिप्पणी गर्नुपरेको होला ! केही महिनासम्म त्यो अनावश्यक सुझावको असन्तोष बोकेर म सन्तोषले हिँडेको भइरहें ।

एक दिन मोबाइलको ग्यालरीमा विगतमा खिचिएका थुप्रै तस्वीरहरू हेर्दै थिएँ । त्यहाँ म आफू विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागी हुँदाका तस्वीरहरू थिए । ती तस्वीरहरू हेर्दा लगभग सबै पुरुषले सुट लगाएका, कसैले त्यसमा टाइ पनि लगाएको र कतिले जिन्स प्यान्ट लगाए पनि कोट चाहिँ लगाएका थिए । ती सबै तस्वीरका माझ म मात्र यस्तो व्यक्ति लाग्यो जोसँग न सुट थियो, न कोट मात्र पनि । कतै सर्ट–प्यान्ट वा प्यान्ट–टि–सर्ट, कतै ज्याकेट त कतै सर्टमाथि स्वेटर लगाएको देखें मैले मलाई ।

मलाई गोविन्दजीले पनेरा ब्रेडमा भनेको तीतो सुझाव झिलिक्क याद आयो । साँच्चै म त औपचारिक कार्यक्रमहरूमा पनि ‘क्याजुयल ड्रेस’मा हुँदोरहेछु । अधिकांश व्यक्तिहरू औपचारिक पहिरनमा छन् । मलाई म एकाएक नमिलेको, बिग्रिएको, भिन्दै अनौठो र सुट नै नभएको वा कार्यक्रममा उपस्थित हुँदा लगाउनुपर्ने पहिरनको ज्ञान नभएको एक भद्दा मान्छे जस्तो अनुभव भयो । यतिका दिनसम्म अपमानजनक लागेको गोविन्दजीको सुझावको अर्थ बल्ल महसूस भएको जस्तो लाग्यो । अघिसम्म घृणित सुझाव एकाएक प्रिय लाग्न थाल्यो । मैले महसूस गरें वास्तवमा यो कुरा मलाई आजसम्म नबुझेको, अनुभव नगरेको, बोधमै नआएको गम्भीर कुरा लाग्न थाल्यो । मैले अब सामाजिक भेला तथा औपचारिक कार्यक्रम तथा शुभकार्यहरूमा सुट लगाउनुपर्ने फैसला गर्दै अहिलेसम्म यति कुरा थाहा नपाएको कुरामा आफैंलाई पश्चाताप पनि लाग्यो, भित्रभित्र लाज पनि लाग्यो ।

यसको अर्थ सामाजिक कार्यक्रमहरूमा सुट नलगाउनु अन्यथा हुन्छ भन्ने अर्थ कतै नलागोस् । मेरो आशय त्यो होइन ।

अब म सुट लगाउने निष्कर्षमा पुगेपछि सम्झें तर मसँग एकै जोडी सुट पनि थिएन । भए पो लगाउनू ! अरूले लगाएको सुट ‘नोटिस’ पनि गरिनँ, मसँग छैन भन्ने कुरा पनि थाहा भएनछ । ल अब सुट किन्नु पर्‍यो भन्ने महसूस भएपछि एक दिन श्रीमतीलाई भनें, “मेरो त एक जोडी सुट पनि रैनछ । किन्नुपर्‍यो ।“

केही दिनपछि सुट किन्न एक स्टोमा पुग्यौं हामी दुवै । त्यहाँ धेरै कोट थिए तर त्यसैसँग मिल्ने प्यान्ट थिएन । कोट छनोट गरिसकेपछि प्यान्ट सेक्सनमा गएर त्यससँग मिल्ने रङको प्यान्ट खोज्नु पर्नेरहेछ । एउटा कोट छनोटमा पर्‍यो, टिप्यौं तर त्योसँग मिल्ने प्यान्ट नभेटिएकोले सीधै पैसा तिर्ने काउन्टरमा गएर भन्यौं, “यसको जोडी प्यान्ट भेटिएन, के गर्ने होला ?” क्यासियर महिलाले भनिन्, “यदि प्यान्ट सेक्सनमा भेटिएन भने ‘स्टक–आउट’ भएको हुनुपर्छ ।” कोट मात्र लाने वा छोड्ने तपाईंहरूकै इच्छा ।

त्यो कोट छोड्नुपर्ने हो तर किन किन त्यो कोटको पैसा तिर्यौं । सुट किन्न हिँडेका हामी सुटको कोट मात्र किनेर आयौं । कस्तो मूर्ख निर्णय होला ? यो ७ वर्षअगाडिको कुरा हो, त्यो कोट अहिले पनि ह्याङ्गरमा झुन्डिरहेको छ, शरीरमा झुन्डने मौका अहिलेसम्म त्यसले पाएन; प्यान्ट नभएकोले । एक दिन जिन्स प्यान्टमा कोट लगाउनु पर्‍यो भनेर कोट लगाएँ तर कोट फिट नै भएन, ठूलो किनिएछ । किन्ने बेलामा फिटिङमा खास ध्यान पनि पुगेनछ । त्यो एकल कोटप्रतिको प्रेम पनि घट्यो । सुट किन्ने योजना पूरा नभएकोले योजना खुला नै थियो ।

त्यसको केही महिनापछि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को एउटा कार्यक्रममा जाने भइयो । अब मलाई अझ टड्कारो रूपमा सुट चाहियो । यसपालि त कार्यक्रममा सुट लगाउने हो । म सुट किन्न गएँ उहीँ स्टोरमा । मैले त्यहाँ पहिले किनेको कोटसँग मिल्ने प्यान्ट छ कि भनेर आँखाले स्क्यान गरें तर अहँ .. पाइनँ ।

मैले अर्को सुट किन्ने प्रयासमा कोट सेक्सनबाट एउटा मिल्ने कोट छानें । एउटा कोट छनोटमा पर्‍यो तर असली चुनौती अब प्यान्ट भेटिन्छ कि भेटिँदैन भन्ने थियो । खोजें, ध्यान लगाएर खोजें । यस पालि हात लाग्यो । कोटसँग ठ्याक्कै मिल्ने प्यान्ट भेटेपछि थपक्क उठाएर पैसा तिरी निस्किएँ । कम्तीमा मसँग एक थान सुट भयो ।

केही दिनपछि कार्यक्रममा पहिलो पटक सुट लगाएर गएँ । पहिलो पटक सुट लगाउँदा कता कता लाज चाहिँ लागिरहेको थियो, यति हो त्यो लाज बाहिर मानिसहरूले देखिरहेका थिएनन् ।

त्यसपछि क्रमशः अरू ३ वटा कार्यक्रममा उही सुट लगाएर गएँ । अब सुटले मलाई सोध्न थाल्यो, “सबै कार्यक्रममा मलाई मात्र भिरेर जाने हो ? म मात्र तिम्रो शरीरमा कति टाँसिनु हो नारायण ? मैले चाहिँ पालो पाउनु पर्दैन ?” अब दुई जोर सुट हुन त अनिवार्य चाहिने पो रहेछ भन्ने मलाई लाग्यो ।

म फेरि पुगें उही स्टोरमा अर्को जोडी सुट किन्न । यसपालि शुरूकै समस्या भयो, अर्थात् कोट भेटिएको छ, प्यान्ट छैन । म कस्टमर सर्भिसमा पुगेर सोधेँ, “मलाई यो कोटको प्यान्ट चाहियो ।” उनीहरूले प्यान्ट भए–नभएको कम्प्युटरमा खोजे तर स्टकमा नभएको बताए । मैले उनीहरूलाई फेरि सोधें, “अब म के गरौं त ?” उनीहरूले भने, “अनलाइन किन्नुहोस्, कुनै न कुनै ठाउँबाट तपाईंलाई प्राप्त हुनेछ ।”

सुझाव गलत थिएन । उनीहरूले मलाई गाइड गरे उनीहरूको वेभसाइटबाट अनलाइन अर्डर गर्न । मैले अर्डर पनि गरें । त्यहाँ अनलाइनमा कोटको मात्र पैसा तिरेर निस्कें । ४ दिनपछि प्यान्ट घरमै आइपुग्यो । मसँग दुई जोडी सुट भए ।

अब मैले बाहिर निस्कँदा पालो पालो सुट लगाउन थालें । चानचुन एक वर्ष जति बितेपछि पालोपालो सुट लगाउने बानी पनि ठीक लागेन । तेस्रो जोडी सुट भयो भने चाहिँ निकै लामो अन्तरालमा पहिलो, दोस्रो, तेस्रो, पारी लगाउन पाइने र आफूलाई पनि सहज लाग्ने अनुमान गरें । म तेस्रो जोडी सुट किन्न उही स्टोरमा पुगें । यसपालि छुट्टै अनुभव भयो । त्यो के भने यसपालि मन पर्ने कोट मिल्यो तर साइज मिलेन । अब साइज नै नमिलेपछि तत्काल किन्ने सम्भावना थिएन । मैले केवल छनोट गरें र सीधै घर फर्किएँ । पहिले किनेका कोटका साइज हेरें र दोकानको साइट खोलेर मन परेको कलर छनोट गरी मेरो साइजको कोट र प्यान्ट अर्डर गरें । केही दिनपछि तोकिएको दिनमा घरैमा कोट आयो तर प्यान्ट आएन । एकै पटक अर्डर गरेका सामान एउटै प्याकमा आउनुपर्ने कसरी एउटा मात्र आयो ? म छक्क परें । अनलाइनमा अर्डर ट्रयाक गरें । ‘अर्डर डेलिभर्ड’ भन्छ गाँठे ।

मैले अर्डर ट्र्याक गर्दा यही नजिकै स्थानीय पिकअप लोकेशनमा आएर प्यान्ट बसेको देखियो । म गएर आफ्नो अर्डर लिएर आएँ । मैले कस्टमर सर्भिसमा ई–मेल गरें– किन एउटै अर्डरमा कोट र प्यान्ट अलग अलग दिनमा अलग अलग ठाउँमा आएको ?

भोलिपल्ट जवाफ आयो – ती दुवै आइटम अलग अलग स्थानबाट पठाइएका रहेछन् ।

जानकारी पनि भयो, चित्त पनि बुझ्यो । अब मसँग ३ जोडी सुट भए । ३ जोडी सुट ह्याङ्गरमा झुन्डिएर बसे ।

केही दिनपछि अर्को समस्या भयो । ती ३ जोडी प्यान्टको सन्तुलन बिग्रिएर तिनीहरूका बीचमा ठूलो झगडा भएछ । भएछ के भने ३ जोडी भएकोले कहिले पहिलो र दोस्रो जोडी मिलेर तेस्रोलाई अल्पमतमा पार्दा रहेछन् भने कहिले पहिलो र तेस्रो मिलेर दोस्रोलाई अल्पमतमा पार्दा रहेछन् । तिनीहरू बीचको समीकरण बिग्रिएपछि यस क्रियाले कहिले दोस्रो र तेस्रो मिलेर पहिलोलाई अल्पमतमा पार्ने रहेछन् । यसरी ३ वटै सुटका बीचको आपसी सम्बन्ध खतरामा परिसकेको रहेछ । अब यो सन्तुलन मिलाउन मैले चौथो जोडी सुट किनें भने समीकरण अलि टिक्ने र कम्तीमा २ बराबर २ को समीकरण बनेर शक्ति सन्तुलन होला भनेर चौथो सुट किन्नुपर्ने अवस्थामा पुगेँ ।

भन्नेबित्तिकै त के सम्भव होला र सबै कुरा । तर पनि कोशिश जारी राखें । ३ जोडी कोटहरूको युद्ध साम्य नपार्ने हो भने तीन सदस्य कोटको समूहमा सधैं सत्ता फेरबदल र खिचातानीले दुश्मनी बढाउने र अन्तमा मलाई नै समस्या पर्ने देखेर चौथो सुट किन्नै पर्ने निष्कर्षमा पुगें म ।

चौथो सुट किन्न स्टोरमा जान सोचें र गएँ पनि । यसपालि चाहिँ एउटा कोट मन पर्‍यो तर साइज मिलेन । अब प्यान्ट हेर्नुपर्ने स्थिति नै आएन । प्यान्ट मिलिहाल्यो भने पनि कोट त मिलेको छैन । अब मैले साइज मिलेन भने कुनै एक वा दुवै जो मिल्दैन, अनलाइनबाट लिनुपर्छ भनेर निश्चित भइसकेको छु । म त्यहीँ गर्ने सोचमा थिएँ ।

एउटा नीलो नीलो खालको कोट थियो, मन पनि परेको थियो । सीधै घर फर्किएँ र साइट खोलें । ठ्याक्कै त्यही कलरको कोट भेटियो । अघिल्लो पटक अनलाइन किनेको अनुभव छँदैथियो । माउसको एक क्लिक मात्र टाढा थियो अर्डरका लागि । ड्याङ्ङसित क्लिक पनि गरें । त्यो क्लिकले चौथो जोडी सुट घरमा खुत्रुक्कै आयो । भोलिपल्ट एउटा कार्यक्रम थियो । सोही कोट लगाएर कार्यक्रममा भाग लिन गएँ ।

धेरै पाठकलाई लाग्ला—

– कार्यक्रममा जान सुट किन्नै पर्छ र ? अथवा, सुट किनेको कुरा यसरी डंका पिट्नुपर्छ ? “पर्दैन ।”

– के ठूलो पहाड पल्टियो र सुट किन्दा ? “पल्टिएन ।”

– सुट किन्नु कुनै तोप हान्नु हो र ? “होइन ।”

– तपाईं कुनै भयंकर सेलिब्रेटी हो र कार्यक्रममा जाँदा सुट लगाउनुपर्ने ? “होइन ।”

– अनि के को रोइलो त ?

“यो कसैका लागि रोइलो होला तर यो धेरैको जस्तै मेरो पनि सुषुप्त कथा हो ।”

सबैका कथा हुन्छन् । कसैका साना, कसैका ठूला; कसैका सामान्य, कसैका जटिल हुन्छन् । म आफैं मेरो सबैभन्दा नजिकको साथी हुँ । मैले मेरो कुरा मलाई नभने पनि म थाहा पाउँछु । म मेरा कुरा जतिसुकै लुकाऊँ, देखिहाल्छु । मेरो मनमा के चल्दैछ, सबैभन्दा पहिले मै थाहा पाउँछु । केही कुरा कसैलाई सुनाउनुभन्दा पहिले मलाई नसुनाए पनि मैले सुनिसकेको हुन्छु । यही कुरा मैले पोखेको मात्र हो । त्यसैले “यो मेरो रोइलो होइन, मेरो सुषुप्त कथा हो ।”

यति कुरा लेखिसक्दा झल्याँस्स सम्झन पुगें, कवि नवराज पराजुलीले एउटा कवितामा भने जस्तै “म मेरो २४ घण्टामा २४ सै घण्टाको साथी हुँ ।” मिल्न गयो यो कुरा । कवि नवराज जी, तपाईंको कवितांशसँग ठ्याक्क मिल्न गयो यो कुरा, कपिराइट दाबी नगर्नुहोला है ।

धेरै वर्ष अगाडि ६, ७ कक्षातिर पढ्दाको सम्झना आउँछ, स्वास्थ्य र शारीरिक शिक्षामा लेखिएको थियो, “लुगाले भन्छ तिमी मेरो हेरचाह गर, म तिम्रो हेरचाह गर्दछु ।”

पछि क्याम्पस पढ्न थालेपछि थाहा पाएँ, “माओत्सेतुङले भनेका थिए रे – पुरानो कोट लगाऊ नयाँ पुस्तक पढ ।“ क्याम्पसमा त हजारौं कुरा सुनिने नै भए । दार्शनिक सुकरात, महात्मा गान्धी सादा जीवन उच्च विचार राख्थे । त्यस्तै, राम्रो खानु आफ्नो लागि, राम्रो लाउनु अर्काको लागि । अहिले ज्ञान आइसकेको छ, ती सबै सापेक्षित कुरा हुन् । तर पक्का कुरा के हो भने— पुग्छ भने राम्रो खानु–लाउनु पर्दछ । फरक यति हो कतिलाई पुगेको हुन्छ, कतिलाई हुँदैन । त्यसैले सापेक्षित कुरा भनेको ।

उसो त अमेरिकी समाजमा मेरो जीवनले सन् २०२६ सालको पहिलो महिनादेखि २२ औं वर्ष बिताउँदैछ । अमेरिकी समाजमा उच्च पदस्थ कर्मचारी, राजनीतिज्ञ, कर्पोरटरलगायत टेबलमा बसेर काम गर्ने व्यवसायीहरू सुट, त्योभन्दा थोरै कमी भयो भने प्यान्ट अन्य रङको भए पनि कोट अनिवार्य लगाएकै हुन्छन् । कति ठाउँमा त यो अनिवार्य नै छ पनि । तर मैले यहाँ उल्लेख गर्न खाजेको कुराको पाटो अर्कै छ । यहाँको सामाजिक जनजीवनमा सुटको बारेमा एउटा विचित्र किसिमको प्रचलन पाइन्छ । त्यो के भने कुनै सामान्य मानिसले सुट लगायो भने ऊ कसैको दाहसंस्कारमा गइरहेको छ भन्ने बुझिन्छ । साधारणतया बाहिर हिँड्दा वा किनमेल जाँदा सुट लगायो भने “कसको ‘फ्युनेरल’ थियो ?” भन्ने प्रश्न गर्दछन् । अर्थात् यहाँ कुनै मानिसको मृत्यु हुँदा मृतकको सद्गतिमा सुट लगाउने चलन छ । मृतकलाई पनि टाई, सुट तथा जुत्तामा सजाई अन्तिम बिदा गरिने भएकोले मलामीहरूले पनि सुट लगाउने गर्दछन् । यसैले कतै कफी–सप तथा ग्रोसरी पसलतिर सुटमा देखिने वा पुगियो भने मलामी गएको अथवा बाट आएको भन्ने हुन्छ ।

अँ, एउटा तथ्य माथि लेख्न भुसुक्कै बिर्सिएछु । म २०२२ नोभेम्बरमा नेपाल गएको थिएँ । फर्किने २ दिनअगाडि झापा वीरेन्द्र माध्यमिक विद्यालयमा पढ्दाका एस.एल.सी.ब्याजका साथीहरू प्रकाश श्रेष्ठ, सन्तोष कोइराला, सन्तोष पराजुली, कमल पोखरेल, प्रेम न्यौपाने, विजय भट्टराई, कामाक्षा चापागाईंहरूले आयोजना गरेको डिनरमा मलाई निमन्त्रणा गरेका थिए । भलै भरे कामाक्षा चापागाईं जरूरी काम विशेषले झापा जानुपरेकोले उपस्थित हुन नसकेको कुरा उनले मलाई खबरमा भनेकी थिइन् ।

त्यस दिन दिउँसोतिर मेरो साढु भाइ बलबहादुर बस्नेत तथा साली कुमारी बस्नेतले बाघ–बजारको एउटा पसलमा सुट किन्न सघाएका थिए । सोही दिन किनेको सुटको कोट लगाएर म त्यसै दिन उक्त भोजमा सहभागी भएको थिएँ । त्यो पनि गणनामा आएकोले अहिले गन्दा मसँग सुट संख्या ५ पुगेको रहेछ ।

यस कुरालाई अहिले चटक्क छोडौं र सुटको कथातिर फेरि फर्कौं । मेरो केही नजिकका मित्रहरू छन् । उनीहरूलाई सुटबारे सोध्दा कतिले भनेका छन्, उनीहरूसँग २०, २२ जोडी सुट छन् । अन्य लुगा त खास जानकारी छैन कति छन् भनेर । कति लुगा वर्षौंअगाडि किन्दाखेरिका प्याकेट नै नखोलेका पनि छन् । एकदमै थोरैले मात्र २, ३ जोडी सुट भएको तर लगाउने समय कहिल्यै नआएको भनेको पाएको छु । जे होस्, मसँग अहिले पाँच जोडी सुट र एउटा चाहिँ ठूलो साइजको कोट रहेको घोषणा गर्दछु । यसको साथै, दोस्रो घोषणा के गर्न चाहन्छु भने यो वर्षभित्र अरू ३ वटा सुट किन्ने लक्ष्य लिएको छु ।

यो अहिलेको विचार हो, भोलि विचार बदलियो भने त्यसको हिसाबकिताब भोलि नै हुनेछ । समय बदलिन्छ, मान्छे बदलिन्छ, धारणा बदलिन्छ, विचार बदलिन्छ, स्थान बदलिन्छ भने सुट किन्ने विचार एकैनास होला, कोही जरुरी छैन । सुटका कुरा इति ।

रिचमण्ड, भर्जिनिया, अमेरिका ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.