प्यारो कान्छा दाइ !
आराम रही आरामको कामना भन्न सकिनँ । त्यसैले यो आरामी चिठी होइन । शुरुमै यसो भन्न पर्दा दुःखी छु र क्षमाप्रार्थी पनि ।
तिमीबारे धेरै ढिलो पढेर थकथकी लागेको छ । साहित्य अनुरागी भएर पनि पाँच दशकअघि प्रकाशित बहुचर्चित उपन्याससमेत नपढ्ने म पनि हुस्सु नै फेरि । समयमै पढेको भए तिम्रो पीडा म पहिले नै महसुस गर्न सक्थेँ । तिम्रा लागि केही गर्न नसके पनि कठै भन्ने एकजना त थपिने थिएँ ।
तिमीहरू त्यो बेला बीस बाइस वर्षका लर्के जवान रहेछौ । तिम्रो कथाका लेखक पनि सोही उमेरका थिए । तिम्रो कथालाई आँखैअघि देखेझैँ कति मसिनो गरी, मर्मस्पर्शी रूपमा वर्णन गर्न सकेका । लेखनीको प्रशंसा नगरी धरै छैन । सूक्ष्म वर्णन गरेरै पनि छरितो र गहन लेखन गर्न सकिन्छ भन्ने उदाहरण, तिम्रो कथा भएको छ ।
तिमीहरू त बम्बईमा बेचिने नेपाली चेलीहरू जस्तै दलालको फन्दामा पो परेछौ । गाउँबाट घिउ बेचेर नुनतेल लिन दार्जिलिङ हिँडेका ठिटाहरू, पल्टने हुने रहरमा कता बतासिएछौ । घरमा वर्ष दिनकी छोरी छोडेर हिँडेका थियौ तिमी । त्यो छोरीको बल्ल मुख आउने बेला भएको थियो । बा भन्नै नपाई हुर्किनुपर्ने उसको नियति कठै ! उताउतै मुगलानिन कसरी सकेका हँ तिमीले ? तिमीलाई जहान र दुधे छोरीको यादले छेकेन ? ठूले र सुतार उतैबाट हराए भन्ने खबर सुन्दा तिम्रा बाआमाले कति सुर्ता गरे होलान् । तिम्री जहान कति रोई होली ?
त्यो पाकेटमार कति निर्दयी हगि ? अझ निर्दयी त त्यो रिक्सावाल, जसले तिमीहरूलाई त्यस नर्कमा पठाउन दलालका लागि बाटो बिराइदिने काम गर्यो । त्यहाँ तिमीहरूलाई खरिदबिक्री गर्दै अगाडि लानेहरू नेपाली मूलकै मानिसहरू रहेछन्— रिक्सावाल, राइनी, रनु आदि । तिमीलाई सबभन्दा रिस कोसँग उठेको छ भनी सोधेँ भने कसलाई देखाउँछौ कान्छा दाइ ?
बलिको बोको हुन तिमीजस्तै कति रहरे नेपालीहरू जाँदै रहेछन्— ठूले र तिमीसहित १६ जना अनि अरू लटमा कतिकति । यसअघि कति लगिसकेका थिए होलान् ! पछि फेरि कतिलाई यसरी नै शिकार बनाउने हुन् ! तरकारी बेचेझैं, भेडाबाख्रा बेचेझैं मान्छेको दलाली गरेर खानुपर्ने मान्छे पनि हुन्छन् हगि दुनियाँमा ।
भुटान पो भएछ तिमीहरूको लाहुर त ! भर्ती कुन पल्टनमा भयौ भन्दा कुल्ली पल्टनमा । हतियार के भन्दा झम्पल, बेल्चा, मार्तोल । काम के गर्ने भन्दा सडक खन्ने । लाहुर कस्तो भन्दा श्रमकैदजस्तो । गर्नैपर्ने, सक्दिनँ भन्न नपाइने, भाग्नेलाई चरम यातना दिइने । जिम्दार चेतावनी दिन्छ नि, “यहाँबाट लुकेर भागेर कसैले हिँड्ने विचार गर्यो भने त्यसको ज्यान … खबरदार !” तिमीहरूले कहिलेको ऋण खाएका रहेछौ नि !
मुगलानमा तिमीहरूले भोगेको कष्टका पानाहरू पल्टाउँदै गर्दा त्यो ठाउँ कुनै युटोपिया वा भनूँ एकादेशको कथाको भूगोलजस्तो लाग्छ । मानवमाथि भइरहेको अत्याचारको फेहरिस्त हेर्दा मध्ययुगीन दासताको हस्को आउँछ । तिमीहरू ट्रकमा यात्रा गर्ने क्रममा एक ठाउँमा साइनबोर्ड छ, जहाँ देखाइएको छ— पारो थिम्पू । त्यही आधारमा बुझिन्छ त्यो भुटान हो । फुन्चोलिङ, हाजोङ मात्रै सुनेर त कसरी चिन्नु ?
सडक निर्माणका लागि विकासका नाममा भुटानमा भएको यो हदसम्मको निर्दयी व्यवहार पढ्दा यस्तो लाग्छ, हाम्रा राणाहरूले सडक नबनाएर ठीकै गरेछन् ! तिनले भीमफेदीदेखि थानकोटसम्म गाडी बोकाएर ठीकै गरेछन् ! भुटानले नेपाली मूलका नागरिकमाथि चालेको कदम पनि आँखाअगाडि आइहाल्छ । भुटानी शरणार्थी शिविरको कथा पनि वाचन हुन थालिहाल्छ । ‘टर्चर किलिङ मी सफ्ट्ली’ का दृश्यहरू पनि ‘हार्डली’ चल्न थालिहाल्छन् ।
ठूले तिम्रो बाल्यकालदेखिकै साथी । परदेशमा साथीभन्दा ठूलो अरू कोही हुँदैन । ऊ त झन् तिम्रो मामाको छारा दाइ नै । ‘मुलुकबाहिर’ उपन्यासमा दलबहादुरलाई रनेले कत्रो साथ दिएको छ । उसलाई रने प्राण नै भएको छ । तिमीले पनि त दाइलाई प्राण ठानेका छौ । ला, ठूले त पहरोमा पुरिएर हराएछ । दाहिने हातै भाँचियो भनेझैं भयो तिमीलाई । त्यसैले त तिम्रो अवचेतन मनले सधैं ‘ठूले ऽऽ’ चिच्याइरहँदो रहेछ नि !
एक हिउँदको चर्को ठन्डीमा लाले सुब्बा मरेको दृश्यले मुटु कमाउँछ । सुब्बा त हिउँको ढिस्को पो भएछ । तिमी र कार्की सँगै रहेछौ । के रहेछ भनी कार्कीले मार्तोल उठाएर हान्यो । हिउँको तह फुट्यो र निस्क्यो एउटा मानव आकृति । उसले दाँत किटिरहेको, उसका दुई हात जोडसँग कसिएर छातीमा बाँधिएका, दाहिने हातले मार्तोल अँठ्याएको अँठ्यायै । उसलाई भीरबाट गुल्ट्याए । यस धरतीमा छोड्ने अन्तिम छाप हिउँमा छोड्दै ऊ तल, धेरै तल पुग्यो । तल गुल्टिँदा फरफरफर हल्लिँदै गरेको त्यो कपडाको चिथ्रोले के भन्दै थियो होला ?
ठूले दाइ बेपत्ता भयो, साथी लाले सुब्बा मर्यो, अर्को साथी राई कान्छा पनि मर्यो । अब एउटा साथी भन्नु कार्की मात्र रह्यो । दुई वर्ष बिते । यहीबिच तिमीहरूले बोल्ड निर्णय लियौ र भाग्यौ । भाग्नेहरूमाथिको यातना देखेरै मनमा त्रासदी पैदा हुन्छ । तर पनि तिमीहरूले आँट गर्यौ । के त्यो विद्रोह थियो ? हैन, त्यो जिजीविषा थियो । भागेपछि तिमीहरूले जङ्गलै जङ्गल गरेको यात्राको कथा पढ्दा दोस्रो विश्वयुद्धको त्यो जर्मन सैनिकको याद आउँछ, जो साइबेरियाको जेलबाट भागेको थियो । त्यो सैनिकको नाम रहेछ फोरम्यान । उसले ६ वर्षसम्म हिउँ र जङ्गलको निर्जन भूगोल नाप्दाको कथा सुन्दा आङ जिरिङ्ग हुन्छ, नौनारी गलेर आउँछ । यतिका वर्षपछि उसले मानव बस्तीको सङ्केत भेट्दाको दृश्य मात्रले पनि हृदयमा शान्ति दिन्छ ।
तिमी र कार्कीले त्यस्तै यात्रा गर्यौ निर्जन जङ्गलमा दश दिनसम्म । जङ्गलकै यात्रामा साथमा भएको एक साथी कार्कीले पनि प्राण त्यागेपछि तिमी त भावनात्मक रूपमा मात्र होइन, भौतक रूपमा पनि एक्लो, नितान्त एक्लो भयौ । र त तिमी पीडाले चिच्याउँछौ, “मेरो भाइ म पनि तिमीसँगै मर्छु नि !” कार्कीलाई अन्तिम समयमा तिमीले उसको कमाइ पनि साथै राखिदिएर जे भन्यौ, त्यसले झन् मर्माहत बनाउँछ । कार्कीको दुई वर्षको कमाइ रु. ३०० उसकै हातमा राखिदिएर आगो लगाउँछौ र रुँदै भन्छौ, “त्यो पनि लिएर जा मेरो दुःखी भाइ !”
मलाई एउटा कुरा सोध्न मन लागेको कान्छा दाइ । तिमीले कार्कीलाई कसरी जलायौ ? त्यस अवस्थामा जलाइरहन सम्भव भयो र ? तिमी त भागेको डिपाइटे । जङगलमा डढेलो लाग्न सक्थ्यो, तिमीलाई कसैले पिछा गर्न पनि सक्थ्यो । अझ जलाउन नै आवश्यक थियो र ? यस्तो बेलामा त हदै गरे पुरपार गरेर छाड्ने हो । इन्द्रबहादुर राईको कथा “जयमाया आफूमात्रै लिखापानी आइपुगी” मा जयमायाकी आमा सुबेदार्नी मर्छिन् । सुबेदार तिनलाई त्यतै कतै पुरेर हिँडछन् । यति नै त हो गर्न सकिने ।
कान्छा दाइ, तिमी अन्ततः मानव बस्तीसम्म पुग्यौ । त्यहाँ तिमीले पाखे काइँलाको मन जित्यौ, जो नेपाली मूलकै रहेछन् । तिमीले उनकी छोरी ठूलीसँग विवाह गरेछौ । त्यो पनि घरज्वाइँ बस्नेजस्तो कुरा । तिमी त विवाहित थियौ । घरमा वर्ष दिनकी छोरीलाई छोडेर हिँडेका थियौ । बाआमा पनि थिए । ती सबलाई चटक्कै बिर्सिदियौ ? तिम्रो लक्ष्य घर पुग्ने, परिवारसँग भेट्ने थिएन र ? तिमी त पाखे काइँलाको परिवारमै हरायौ । तिमीबाट यो अर्को भूल भयो कान्छा दाइ, ठूलो भूल । करकापै गरेको भए पनि तिमीले भन्नुपर्थ्यो, “म यस्तो गर्न सक्दिनँ । मेरी स्वास्नी छे, मेरी छोरी पनि छे ।” बाटो भेटेकै थियौ, अझ अघि बढ्न सक्थ्यौ । यसरी केही दिनमा त घरै पुग्ने सम्भावना थियो नि !
पाखे काइँलालाई सालबोटे सत्तुर लाग्छ । डिपाइटे पालेर राखेको भन्ने सूचना पाएपछि पुलिस आएर उनको घर जलाइदिन्छ । उनी पनि पक्राउ पर्छन् । हेर त, चाहिनेभन्दा बढी सहयोगी बन्दा पाखे काइँलाको हविगत के भयो ? केही दिनको बसाइपछि आफ्नो बाटो लाग्न खोजेका तिमीलाई रोकेर उनले पनि भूल नै गरेका हुन् । अब उनलाई नै त्यो सडक निर्माण नामको नर्कमा पुर्याए होलान् ! तिमी त्यहाँ बस्नाले अरू मान्छेले पनि दुःख पाउने भए । तिमी पाखे काइँलाको घरबाट भाग्न सफल हुन्छौ । तिम्रो कथा यहीँनेर सकिएको भए हुने । पाठक जति भावुक हुनु भइसकेकै थिए, रुनु रोइसकेकै थिए । तिमी एक दिन घर पुग्यौ होला भन्ने कल्पना गर्ने थिए । पाखे काइँला बिचरा भन्ने थिए । ठूली बिचरी भन्ने थिए । तर तिमी त च्यानमारी बगानतिर पो झुल्कियौ । ल्यान्ड गरिसकेको हेलिकोप्टर फेरि जुरुक्क उठ्छ नि, ठीक त्यस्तै लाग्यो त !
तिमी फेरि बगानमै अलमलियौ । घरतिर लम्किन बल गर्नुपर्ने मान्छे । त्यो मोक्तान फटाहा किन आइपुगेको नि बगानमा ? तिमीलाई दुःख दिनै त्यहाँ आइपुगेको हो त ? अघि बाटोबाटै एक्लै भाग्ने स्वार्थी हो त्यो । त्यो त तिम्रो पाँच वर्षको कमाइ लटीपटी पारेर भागेछ । तिमीलाई ठाउँको ठाउँ मूर्च्छा पारिदियो है बेइमानले ? तिमीले हात जोड्दै भन्यौ होला— दुःखीको घरमा मात्र तिम्रो बास हुने भए, हे ईश्वर ! दया गरी अझै मलाई दुःख देऊ ।
लौ, बगानबाट हाटमा जाँदा जेठानसँग भेट भइदियो । यही भेटले ठूलीलाई साथमा ल्याइदियो । तिमीसँग तिम्रा बाको भेट पनि त्यसरी नै हुन्छ । बाको मुखबाट सुन्यौ— तिम्री आमा पनि बितिसकिन्, पहिलेकी दुलही पनि छोरी तीन वर्षकी छँदै पोइल गइसकी । अब, नातिनी तिम्रो जिम्मा लाएर बा स्वयंचाहिँ विरक्तिएर जोगी यात्रामा हिँड्छन् । यी पछिल्ला घटनाक्रम अपेक्षित नै थिएनन् ।
ला, तिमी त झन् साइकोसिस (!) पो भएछौ । यस्तो हुनुपर्ने कारण थियो र ? तिमीले ठूलीलाई पनि पाइसकेका छौ । उनीबाट एक पुत्र पनि लाभ भइसकेको छ । हुर्किएकी छोरी पनि परिवारमा आइपुगेकै छे । पुरानो घाउ भुल्नका लागि नयाँ परिवार पाइसकेका छौ । सम्हालिन यहाँभन्दा बढी के चाहिन्थ्यो र ? सिंहको मुखबाट बचेर आएको मान्छे स्यालको मुख देखेर डराउँछ र ? तिमीले सुनेका छैनौ, जयमायाको कथा ? जयमाया लिखापानीमा एक्लै आइपुगेकी छे । जिन्दगी यस्तै हो— दर्पण छाया ।
एउटा माघले जाडो जाँदैन । एउटा दुःखले जीवन जाँदैन । अरूका लागि पनि बाँच्नुपर्छ । आफूले भोगेका बाँकी कथा सुनाउनलाई पनि बाँच्नुपर्छ । मन त बुझाउने कुरा हो नि दाइ ! तिमीले यो कुरा बुझेनौ र ? त्यो काखे बालकले तिम्रो काँध कति खोज्यो होला ? बल्लबल्ल भेटिएको बाउको हालत देखेर त्यो छोरीको हुर्किँदो मनमा कस्तो असर पर्यो होला ? तिम्री ठूली कसरी सम्हालिई होली ? ऊ पनि पोइल गइदिए छोराको चिहिलबिहिल हुन्छ । अनि छोरी के गर्ली ? त्यहाँ भावै नि भन्ने कोही त छैनन् तिनका ।
तिमी सद्धे भएर परिवारमा फर्केको र सामान्य जीवन यापन गरेको हेर्न मन थियो । ठूलीको जिन्दगीमा वसन्त आएको हेर्न मन थियो । तिम्रा छोराछोरीले देशमै केही गरी खाएको हेर्न मन थियो । ‘नयाँ मुगलान’मा तिम्रो कथा फेरि पनि आएछ । तिम्रो हाल के कसो छ ? तिम्रो परिवारको खबर के कसो छ ? थाहा पाउन मन लागेको छ ।
संसारमा दुःख भोग्ने नियति तिम्रो भागमा मात्र परेको छैन कान्छा दाइ । जर्मन सैनिकको कहानी, माथि सुनिहाल्यौ । ‘मुलुकबाहिर’को माइला भुजेलले पनि १८ वर्षसम्म दुःख भोगेको छ । एउटा सानो शङ्काकै कारण उसले स्वास्नी र काखे छोरीलाई चटक्कै माया मारी हिँडेको पटक्क मन परेको छैन । तिमीले पनि लहैलहैमा लागेर मुगलान पस्नु हुँदैनथ्यो । लौ त कान्छा दाइ, अहिलेलाई बिदा भएँ । माइला भुजेललाई पनि एउटा चिठी लेख्नु छ । हामी फेरि ‘नयाँ मुगलान’मा भेटौँला है त !
उही तिम्रो शुभचिन्तक,
कमल बयेली

