काठमाडौं । गायक सुनिल थापा मगरको नयाँ गीत ‘सोल्टिनी सेवारो’ सार्वजनिक भएको छ । सार्वजनिकसँगै गीतले सामाजिक सञ्जाल र डिजिटल माध्यममा श्रोता–दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
गीतमा एनिस एन्जल राईको शब्द तथा सङ्गीत रहेको छ । गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गर्नुभएको हो । प्रेम, आत्मीयता र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको गीतले विशेषतः राई–लिम्बू समुदायको सांस्कृतिक परिवेश र जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।
गीतको रेकर्डिङ ड्रिम्स रेकर्डिङ स्टुडियोमा विप्लव अधिकारीले गर्नुभएको हो भने मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गर्नुभएको छ ।
गीतको भिडियो मकवानपुरका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ । भिडियोमा गायक सुनिल थापा मगरसँग रेबिका मगरको अभिनय रहेको छ । नृत्य निर्देशन भूपेन्द्र रिखाम मगरले गर्नुभएको हो भने क्यामेरा तथा ड्रोन सञ्चालन सञ्जोक श्रेष्ठले सम्हाल्नुभएको छ । उत्पादन व्यवस्थापन योगेश राना मगरले गर्नुभएको भिडियोमा प्रिया मगरको श्रृङ्गार रहेको छ । भिडियोको निर्देशन, सम्पादन तथा रङ संयोजन एकान्त मगरले गर्नुभएको हो ।
आयोजकका अनुसार ‘सोल्टिनी सेवारो’ले प्रेमकथासँगै पूर्वी नेपालको सांस्कृतिक स्वादलाई समेट्ने प्रयास गरेको छ । गीत सार्वजनिक भएपछि यसले श्रोता–दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको जनाएको छ ।

