साहित्यपोस्ट डट कम

सुमित्रा सुमीको ‘कलेजी बर्को’ नुवाकोटमा विमोचन

सुमित्रा सुमीको ‘कलेजी बर्को’ नुवाकोटमा विमोचन

नुवाकोट । कवि तथा गजलकार सुमित्रा सुमीको पहिलो कविता सङ्ग्रह ‘कलेजी बर्को’ सार्वजनिक गरिएको छ । लामो समयदेखि साहित्य सिर्जना र साहित्यिक गतिविधिमा सक्रिय सुमीको कृति उद्योग वाणिज्य संघ नुवाकोटको सभाहलमा आयोजित एक समारोहबीच विमोचन गरिएको हो ।

साहित्य सङ्गम नुवाकोटको वार्षिक उत्सवको अवसर पारेर आयोजित कार्यक्रममा स्वयं सुमीको सभापतित्व तथा गायक नन्दकृष्ण जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कृतिको समीक्षात्मक टिप्पणी कवि किरण काजितले प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले साहित्य सङ्गम नुवाकोटले साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता कृतिले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयाे । सुमीका यसअघि ‘एक्लो कुसुम’ (२०६३) र ‘नदेखिएका स्वप्नहरू’ (२०७१) नामक दुई गजल सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

गजल र कविताका साथै कथा, गीत, हाइकु तथा मुक्तकमा समेत सक्रिय सुमी शिक्षण पेशामा आबद्ध रहँदै साहित्य साधनामा निरन्तर लागिरहनुभएकाे छ । यसै अवसरमा विभिन्न विधामा कलम चलाउने ११ जना स्रष्टालाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाका सभापति रामप्रसाद जोशी, कवि हरि श्रेष्ठ, सञ्चारकर्मी तथा साहित्यकारहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.