साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

सुमी लोहनीको ‘अष्टावक्र महागीतामृत’ लोकार्पण

सुमी लोहनीको ‘अष्टावक्र महागीतामृत’ लोकार्पण

काठमाडौं । साहित्यकार सुमी लोहनीद्वारा अनुसिर्जित कृति ‘अष्टावक्र महागीतामृत’ लोकार्पण गरिएको छ ।

नागार्जुनस्थित ओशो तपोवनमा आयोजित विशेष समारोहमा अध्यात्म तथा अद्वैत वेदान्त दर्शनमा आधारित उक्त कृति सार्वजनिक गरिएको हो । साझा प्रकाशनबाट प्रकाशित कृतिको बोधिसत्व स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी तथा अनुसर्जक लोहनीले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।

दीप प्रज्ज्वलन र स्वस्तिवाचनबाट शुरू भएको कार्यक्रमको सञ्चालन स्वामी अर्हत्ले गर्नुभएको थियो ।
कार्यक्रमका मुख्य वक्ता स्वामी आनन्द अरुणले ओशोले सन् १९७४ मा आफ्ना निकटस्थ १८ साधकबीच अष्टावक्र गीतामाथि चर्चा गर्नुभएको स्मरण गर्नुभयो । उहाँले अष्टावक्र गीतालाई विलक्षण तथा दुर्लभ ग्रन्थका रूपमा उल्लेख गर्दै जनकपुरको माटोसँग जोडिएको यस ग्रन्थको प्रवर्द्धनमा संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो ।

अष्टावक्र गीतामा २ सय ९८ श्लोक रहे पनि ती श्लोकको अर्थ र प्रभाव असाधारण रहेको उहाँले बताउनुभयो । ओशोले अष्टावक्र गीतामाथि दिएका प्रवचनका आधारमा छवटा ग्रन्थ तयार भएको पनि उहाँले उल्लेख गर्नुभयो । स्वामी अरुणले जनकपुरमा अष्टावक्र मन्दिर निर्माणका लागि पहल गरिरहेको तथा अष्टावक्र गीतालाई राष्ट्रिय कृति घोषणा गराउन निरन्तर प्रयत्नरत रहेको बताउनुभयो ।

अनुसर्जक लोहनीले कोरोनाको समयमा अष्टावक्र महागीता अध्ययन गर्दा आफू प्रभावित भएको बताउँदै त्यसको भाव आमपाठकसम्म पुर्‍याउने उद्देश्यले कृतिको अनुसिर्जन गरेको जानकारी दिनुभयो ।

साझा प्रकाशनका अध्यक्ष गिरीले अष्टावक्र गीताको महत्त्वबारे धारणा राख्नुभएको थियो । कृतिमाथि समीक्षा गर्दै डा. रमा भट्टराईले आत्मबोधका सन्दर्भमा कृति उपयोगी रहेको बताउनुभयो। उहाँले कृतिलाई आमपाठकसम्म पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा लोहनीका शिष्य डा. अनन्त अर्यालले ‘अष्टावक्र महागीता’लाई ध्यान र सेवाभावसहित पढेमा यसको मर्म बुझ्न सकिने बताउनुभयो । उहाँले उक्त गीतामाथि स्वामी रविशङ्करले पनि सकारात्मक चर्चा गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

साझा प्रकाशनबाट प्रकाशित १ सय १२ पृष्ठको ‘अष्टावक्र महागीतामृत’को मूल्य २ सय ४० रुपैयाँ रहेको छ ।

साझा गर्नुहोस्:
साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.