परिचय
इन्स्पेक्टर–सब इन्स्पेक्टर, स्टेसन– सब स्टेसन, इन्जिनियर–सब इन्जिनियर, वे–सबवे हामी नेपालीमा पनि यस्ता शब्द प्रयोग गर्दै आएका छौँ । यी हाम्रा लागि आगान्तुक शब्द भए । सन्दर्भअनुसार यिनका अर्थ खोजौँ त– इन्स्पेक्टरभन्दा सब इन्स्पेक्टर तल्लो दर्जाको, स्टेसनभन्दा सब स्टेसन सानो स्तरको, इन्जिनियरभन्दा सब-इन्जिनियर कनिष्ठ तहको, वेभन्दा सब–वे मुनिको बाटो । अङ्ग्रेजी शब्द sub र altrenus मिलेर subaltern शब्द बनेको छ । शाब्दिक अर्थअनुसार अङ्ग्रेजी शब्द सबाल्टर्नको नजिकको अर्थ दिन सवअर्डिनेट, सप्रेस्ड्, अप्रेस्डजस्ता शब्द प्रयोग गर्न सकिन्छ । नेपालीमा यसलाई दमित, दोस्रो दर्जाको, दलनमा परेको भुइँवर्ग, पिँध पात्र भनेर बुझ्न सकिन्छ । सङ्कुचित अर्थमा हेर्दा बेलायतमा सेनाको क्याप्टेनभन्दा तल्ला तहका सिपाहीलाई सबाल्टर्न अफिसर्स भनिन्थ्यो । अलिकति व्यापक अर्थमा हेर्दा यो शब्दले त्यस्तो समूहलाई जनाउँछ, जसको इतिहासको राष्ट्रियकरण भएको छैन । जो विकासको मूल प्रवाहमा आएको छैन । जसको योगदानलाई इतिहासले स्वीकार गरेको छैन । यो यस्तो किनारीकृत वर्ग हो, जसको योगदानको इतिहासलाई पुनर्लेखन गरी राष्ट्रिय इतिहासमा समावेश गर्न आवश्यक छ । नेपाल एकीकरणको इतिहासमा पृथ्वीनारायण शाहको योगदानबारे इतिहास लेखिनु तर शक्तिबल्लभ अर्याल, कुलानन्द ढकाल, बिसे नगर्ची, वंशु गुरुङ, जनन्त मगर, अभिमानसिंह बस्नेतलाई इतिहासमा नसमेटिने प्रवृत्तिलाई सबाल्टर्न लेखनले उत्खनन् गर्छ । इतिहासको पुनर्लेखनमा पिँध पात्रलाई पनि समेट्नुपर्ने मान्यता सबाल्टर्न लेखनले राख्छ । सबाल्टर्निस्टले राख्दछन् । उनीहरू इतिहासको पुनर्लेखन गरी एकीकरण अभियानमा योगदान दिने ती निमुखा वर्गलाई पनि राष्ट्रिय इतिहासभित्र समेट्नुपर्छ भन्दछन् ।
इटलीका नवमार्क्सवादी तथा संस्कृति विश्लेषक एन्टिनियो ग्राम्सीले सबाल्टर्न शब्दको पहिलो प्रयोग गर्दै समाजको पिँधमा रहेका वर्ग, खासगरी उत्तर साम्राज्यवादी (पोष्ट कोलोनियल) समाजले ल्याएको सामाजिक विभेदीकरणलाई बुुझाउन बाल्टर्न शब्दलाई लोकप्रिय बनाए । जेलमा रहेका ग्राम्सीले प्रोलेटारिएट (सर्वहारा) को प्रतिस्थापनमा सबाल्टर्न शब्द चलाए । प्रोलेटारिएट शब्द उल्लेख गर्दा सेन्सरसिप लाग्ने र मार्क्सले उल्लेख गरेकै शब्द प्रयोग गरेजस्तो हुने भएकाले वैकल्पिक शब्द प्रयोगमा ल्याए तर ग्राम्सी र उनीपछिका स्पिभाक र अन्य केही लेखक सबाल्टर्नलाई ‘सर्वहारा’ शब्दको समानार्थी भन्नेमा सहमत छन् । लेखक तारालाल श्रेष्ठ आवाज र इतिहासविहीन वर्गलाई सबाल्टर्न भन्न रुचाउनु हुन्छ र उनीहरूको अथाह योगदानलाई केन्द्रमा राख्दै इतिहासको पुनर्लेखन र पुनर्विश्लेषण गर्ने उद्देश्यले सबाल्टर्न लेखन/अध्ययनको आरम्भ भएको विचार व्यक्त गर्नुहुन्छ । भारतीय विद्वान् रञ्जित गुहा सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, कार्यगत दर्जालगायतका आधारमा विभेद गरिएका शोषण र उत्पीडनका शिकार भएका विशेषतः दक्षिण एसियाली समाजका व्यक्ति वा समुदायलाई जनाउने विचार व्यक्त गर्नुहुन्छ । यसैगरी, किनारा विमर्श (२०११) मार्फत मनप्रसाद सुब्बा र रेबिका थापा सबाल्टर्न शब्दलाई किनारीयता भन्न रुचाउनुहुन्छ र थप्नुहुन्छ– यो परिवर्तन सङ्घर्ष, गतिशिलता तथा बहुलतावादको प्रतीक हो ।
प्रयोग
साहित्यमा सबाल्टर्नको बहस आउनुपूर्व इतिहास लेखनमा रहेको असमावेशीकरण र उपेक्षामाथि यसले वैचारिक हस्तक्षेप गरेको थियो । सबाल्टर्नका पक्षधरहरू इतिहास मूलतः राज्यद्वारा शक्ति र सत्ताको प्रशंसाका लागि लेखाइन्छ/लेखिन्छ भन्ने मान्यता राख्दछन् । प्रेसका चार सिद्धान्तले भनेझैँ लेखनले अधिनायकवादी, स्वच्छन्दतावादी, सोभियत रुसी र सामाजिक उत्तरदायित्वपूर्ण चार तह पार गर्नुपर्छ । अधिनायकवादी लेखनले सत्ता र शक्तिका बारेमा लेख्थ्यो भने सामाजिक उत्तरदायित्वपूर्ण प्रेसले आवाजविहीनहरूका आवाजलाई ध्वनित (लाउडिङ) गर्ने मान्यता सबाल्टर्निस्टहरूले राख्दछन् । त्यसैले आधुनिक साहित्यमा सबाल्टर्नका लागि लेखिने वा स्वयम् सबाल्टर्नले आफ्ना अनुभवलाई साहित्यिक सन्दर्भमा लेख्न सक्छन्, लेख्नुपर्छ र पूर्वस्थापित लेखनका विषयवस्तुमा अलगाव ल्याउँछन् भन्ने मान्यतामा असहमत हुनुपर्ने छैन ।
सबाल्टर्न अध्ययन
सबाल्टर्न एउटा वर्ग हो भनेर सहमत हुने हो भने यसको अध्ययन क्षेत्र पनि त्यही वर्ग हुनेछ । तिनै वर्गलाई इतिहास र विकासको मूल प्रवाहमा ल्याउन सबाल्टर्न अध्ययनले महत्त्व राख्दछ तर यति सजिलैसँग सबाल्टर्नका अध्ययन क्षेत्र खुट्याउन सम्भव छैन । तारालाल श्रेष्ठ, सबाल्टर्न अध्ययनको एकमात्र घोषित उद्देश्य इतिहासको पुनर्लेखन हो भन्ने मतमा जोड दिनुहुन्छ जब कि ग्राम्सी भने खासगरी उत्तरसाम्रज्यवादले ल्याएका सामाजिक विभेद, उत्पीडन र त्यस्तो विभेदमा पारिएकाहरूको समग्र सामाजिक, आर्थिक जानकारी सबाल्टर्न अध्ययनले लिन्छ भन्नुहुन्छ । गुहा दक्षिण एसियाली इतिहास लेखनको ऐतिहासिक असफलताको लेखाजोखा गर्दै सबाल्टर्न अध्ययनले इतिहास पुनर्लेखनको थालनी गरेको बताउनुहुन्छ । यसरी हेर्दा, सबाल्टर्न अध्ययनको मुख्य उद्देश्य इतिहासको पुनर्लेखन गर्नु हो तर इतिहासको ‘पुनर्लेखन’ हुन सक्दैन । मात्र ‘इतिहास लेखन’को पुनर्लेखन वा परिमार्जन हुन सक्छ । त्यसैले, मार्क्सवादी सर्वहारा शब्द (प्रोलेटारिएट) को समानार्थ सबाल्टर्नले दिन्छ भनेर सहमत हुने हो भने यसको अध्ययन क्षेत्र वा विषय केवल इतिहास लेखनको पुनर्लेखन मात्र हुन सक्दैन । यसो भनियो भने सबाल्टर्न अध्ययनको क्षेत्र खुम्च्याइएको ठहर्ने छ । सर्वहाराको अध्ययन सरोकार केवल इतिहासको पुनर्लेखनले मात्र हुन सक्दैन । सवाल्टर्नको पहिचान वा परिचयमा मतैक्यता नभएसम्म यसको अध्ययन क्षेत्र तोक्नु विवादास्पद हुनेछ ।
सबाल्टर्न र सबाल्टर्निस्ट
सबाल्टर्न पिँधको मानिस/वर्ग हो भने सबाल्टर्निस्ट पिँधको वर्गका बारेमा लेख्ने लेखक हो । यसर्थ, सबाल्टर्न र सबाल्टर्निस्ट फरक हुन्, नारी र नारीवादी जस्तै । राजा महेन्द्र सबाल्टर्न होइनन् तर उनको ‘सन्तान थरिथरिका’ कवितामा सबाल्टर्नका आवाज सुन्न सकिने भएकाले यहाँ उनी सबाल्टर्निस्ट हुन् भन्न सकिन्छ । यदि यसो हो भने, सबाल्टर्न आवाज कसले लेख्ने, गाउने वा गाउन योग्य छ ? भनेर त्यस्ता अभिव्यक्ति र अभिव्यक्ति दिनेको विश्वसनीयता मापन गर्नुपर्छ । कुनै पनि प्रकारका वर्गको अस्तित्व स्वीकार नगर्ने बरु ‘वर्ग समन्वय’ भन्ने राजा महेन्द्रलाई वर्गमाथि विश्वास गर्नेहरूले ‘सबाल्टर्निस्ट’ भन्न सक्छन् ? सबाल्टर्न साहित्य सबाल्टर्नले नै लेख्नुपर्ने हो वा अरूले पनि लेख्न पाउने भन्नेमा विवाद पनि हुन सक्छ । सबाल्टर्न अध्ययनका सवालहरू के हुन् भन्नेमा पनि सम्बद्ध विद्वानहरू स्पष्ट छैनन् ।
इटलीमा उत्तरसाम्राज्यवादले ल्याएका सामाजिक संरचना, विभेद, औद्योगिक उन्नतिले थोपरेका आर्थिक विभेद र शोषण यसका मुख्य विषय देखिए भने भारतमा उपनिवेशका साथसाथै खासगरी त्यहाँका नेपालीभाषी भारतीयले नागरिकता, भूमि, श्रम र सहभागितालाई मुख्य रूपमा सवाल्टर्न अध्ययनको विषयवस्तु बनाइएको पाइन्छ । नेपालमा ग्राम्सीको इटली र गुहाको भारतको सवालभन्दा भिन्न परिवेश मात्र होइन पात्र, विषय, सवाल र समुदाय पनि छन् । यसैले, सबाल्टर्नका आवाज र आवाजका प्रकृति स्वतः नै भिन्न हुने गर्छन् । त्यसैले सबाल्टर्न अध्ययन, साहित्यमा सबाल्टर्न वा सबाल्टर्नका आवाज वैश्विक (ग्लोबल) रूपमा नभएर स्थानीय र सानासाना समूूह परिवार वा परिवारभित्रका पनि सदस्यमा खोज्नुुपर्ने हुन्छ । यो उत्तर आधुनिकतावादले स्वीकार गरेको ‘वैश्विक रूपमा सोच्ने र स्थानीय रूपमा काम गर्ने’ मान्यताबाट पनि पुष्टि हुन्छ । सबाल्टर्न अध्ययन र आवाजले समाजको सानो एकाइ, परिवारभित्रका सदस्यलाई न्याय दिन सकेन भने समग्र समुदाय, समाज, देश र विश्व सन्दर्भमा कस्तो न्याय स्थापना गर्छ ? यस सन्दर्भमा हामीले मार्टिन लुथर किङ जुनियरलाई बिर्सन हुँदैन जसले भनेका छन्– “कहीँ एक ठाउँमा मात्र पनि अन्याय भयो भने सबै स्थानमा न्याय पुर्याउनुपर्ने पहल चुनौतीमा पर्छ” त्यसैले, पूर्व तयारी, छलफलका साथ, दीर्घकालीन लक्ष्य र विशिष्ट घोषित उद्देश्य लिएर शुरु गरिएको भनिएको सबाल्टर्न अध्ययनले सबैलाई न्याय दिन सक्छ कि सक्दैन, सबैका सबै पक्षमा बोल्न सक्छ कि सक्दैन ? भन्ने कुराले थप महत्त्व राख्दछ ।
मानौँ सबाल्टर्न अध्ययनको मुख्य उद्देश्यअनुसार नेपाली इतिहासको पुनर्लेखन गर्ने हो भने नेपाल एकीकरणमा पृथ्वीनारायण शाहसँगै बिसे नगर्चीको पनि इतिहास लेखिनुपर्छ । यो सही हो तर एकीकरणका क्रममा संलग्न बिसेको मात्र इतिहास छुटेको हो त ? बिसे नगर्चीको इतिहास लेख्छ कि त्यो वर्गको इतिहासलाई इतिहासमा लिपिबद्ध गर्छ सबाल्टर्न अध्ययनले ? त्यसो हो भने नगर्ची समुदायको इतिहास लेखियो भने बिसेका मात्र इतिहास लेख्ने कि एकीकरण अभियानमा संलग्न अन्य समुदायका सबैलाई पनि समेट्ने ? बिसेको मात्र इतिहास लेखियो भने अरू सबाल्टर्न नगर्चीको इतिहासलाई कसरी लेख्ने ? यस्तो गर्न सम्भव छ ? यहाँ फेरि लुथरलाई स्मरण गर्नुपर्छ “एक ठाउँमा मात्र अन्याय भयो भने सबै ठाउँमा न्याय पुर्याउन चुनौती हुन्छ ।” एडवार्ड पाल्मर थोमसन, एरिक हब्सवानले भनेका ‘तलबाट इतिहासको लेखनले’ (Writing History from Below) बिसे नगर्चीलाई मात्र छुन्छ कि त्यो समुदायभित्रका सबै युनिट अर्थात् व्यक्तिलाई छुन्छ ? यस्ता विषयमा सबाल्टर्नवादी, सबाल्टर्न अध्ययन र वर्गीय साहित्य विश्वास गर्नेहरू स्पष्ट हुनुपर्छ ।
सबाल्टर्न पहिचानमा भ्रम
सबाल्टर्नप्रति उदार देखिन सहज छ तर यसलाई कसरी बुझ्ने भन्नेमा जटिलता छ । सबाल्टर्न व्यक्ति हो ? समुदाय हो ? लेखनको विषय हो ? अथवा सम्भ्रान्त वर्ग सवाल्टर्निस्ट हुन सक्छ कि सक्दैन । सबाल्टर्न पात्र हो कि प्रवृत्ति, आवाज हो कि आकार भन्नेमा स्पष्ट हुनुपर्छ । समाजशास्त्रीय आलोचनात्मक अवधारणा, दृष्टिकोण हुँदै सिद्धान्तको रूप धारण गर्दै गरेको सबाल्टर्न अध्ययनको क्षेत्र निर्धारण गर्नुअघि सबाल्टर्न भनेका को हुन् भनेर स्पष्ट गर्नुपर्छ । राज्य शक्ति, इतिहास र वर्चस्व आदिबाट किनारामा पारिएका तथा दलन गरिएका समुदायलाई सबाल्टर्न भनिन्छ भनेर अमूर्त परिभाषा दिइने गरिएकाले सबाल्टर्नको पहिचान ‘हात्ती छमाइ’ जस्तो भएकाले यसको अध्ययन क्षेत्र पनि अरूपण छ । विश्वलाई एउटा समाज मान्ने हो भने विश्वव्यवस्था सिद्धान्तले भनेको कोरबाट सेमी–पेरिफेरियल सबाल्टर्न हुन् भने सेमी–पेरिफेरियलबाट पेरिफेरियल मुलुक सबाल्टर्न हुन् । यसलाई पुष्टि गर्दै मनप्रसाद सुुब्बा र रेबिका थापा लेख्नुहुन्छ– पश्चिमाहरूले पूर्वीय चिन्तन दर्शन र विधिलाई किनारीकरण गरे । उहाँहरूका अनुसार पश्चिमाहरू हैकमवादी (हाजेमोनी) हुने भने पूर्वीयहरू सबाल्टर्न । भारतीय विश्लेषक गुहा औपनिवेशिक भारतीय जनता साम्रज्यवादी शक्तिका पराधीन भएकाले उनीहरू सबै सबाल्टर्न हुन् । तारालाल श्रेष्ठ लेख्नुहुन्छ– सीमित सङ्ख्यामा रहेका सम्भ्रान्त/नवसम्भ्रान्त राजनीतिज्ञ, व्यापारी, उद्योग व्यवसायी, एनजीओवाला पनि विदेशी शक्ति केन्द्रका अगाडि पराधीन छन् । तिनीहरू स्थानीय स्तरमा सम्भ्रान्त देखिए पनि तिनलाई सबाल्टर्न नै भन्न सकिन्छ । यसैगरी, श्रेष्ठले आफ्नो पुस्तक शक्ति, स्रष्टा सबाल्टर्नमा ‘नेपाल साम्राज्यवादीको प्रत्यक्ष हैकममा कहिल्यै परेन तर नेपाल स्वाधीन पनि कहिल्यै भएन’ भन्नुभएकाले सबाल्टर्नलाई विश्व, देश, स्थानीय र समुदायभित्र गरी विभिन्न तह वा शृङ्खला तथा तहगतरूपमा बुुझ्नु पर्ने हुन्छ । यसरी हेर्दा सबाल्टर्नको परिचय यति विशाल हुन्छ गाईको कहाँसम्म पुच्छरको, कहाँसम्म टाउको र कहाँसम्म खुट्टाको रौँ भनेर सीमा तोक्न नसकिने जस्तै हुन्छ । अर्कोतिर समाजमा मार्क्सले भनेजस्तै आर्थिक र उत्पादन पद्दतिले निर्माण गरेका दुई वर्ग मात्र हुँदैनन् वर्गभित्र पनि वर्ग अर्थात् वर्गको स्तरीकरण (तहकरण/शृङ्खला) हुने भएकाले प्राकृतिक विज्ञानले वस्तु वा पदार्थको एकीन निरूपण गरेजस्तो सामाजिक विज्ञानको अध्ययन क्षेत्र भएकाले यो र यति नै ‘सबाल्टर्न’ हो भनेर पहिचान लिनु/दिनु वैज्ञानिक तर्क हुन सक्दैन ।
साहित्यमा सबाल्टर्न
सबाल्टर्न अध्ययनले इतिहासको पुनर्लेखनलाई मात्र जोड दिँदैन । वाङ्मयका हरेका क्षेत्रमा यस्ता विषयवस्तुको उठान हुन थालेका छन् । प्रयोगवादी साहित्यले केन्द्रियताको सट्टा विकेन्द्रियता र संस्थापना/निर्माणको विकल्पमा विनिर्माणलाई महत्त्व दिने भएकाले साहित्य लेखनमा भौतिक सहभागिता बढेसँगै लेखनका विषय (कन्टेन्ट) मा विविधता आएको छ । यसो भन्नुको अर्थ हिजोको लेखन देवताले गरे । ऋषिमुनिले गरे । ब्राह्मण/पुरोहितले गरे । यसले गर्दा, श्रुतिस्मृतिजन्य लेखनमा त्यही वर्गको वैचारिक र अनुुभवको प्रतिनिधित्व (छाप) रहनु स्वाभाविक थियो । जब लेखनमा सर्वसाधारणको भौतिक सहभागिता हुन थाल्यो उनीहरूको अनुभव, अनुभूति, भोगाइ र कल्पना, विम्ब, विषयले स्थान पाउन थालेपछि साहित्यका विषयवस्तुमा मात्र परिवर्तन भएनन् तल्लो वर्गको उपस्थितिले साहित्यलाई पनि यथार्थवादी बनाएको छ । जसले गर्दा, अबका साहित्यले स्वर्गबाट झरेकी परीको वर्णन होइन जुद्धसडकमा भारी बोक्ने भरियाको अनुभवलाई अनुभूत गर्नुपर्छ । अब कल्पनाबाट माथि उठी पाठकको मन छोएका अनुभवजन्य भोगाइ, बुझाइ साहित्यका सामग्री हुन पुगेका छन् । यस सन्दर्भमा, मलाई यति भन्नुछ, अब साहित्यको वैज्ञानिकीकरण हुन आवश्यक छ । यसका लागि तथ्यले पुष्टि हुनसक्ने र अनुभवजन्य प्रस्तुति अबको साहित्य लेखनमा आवश्यक हुन्छ । यसो गर्न सक्दा साहित्यलाई कल्पनाको आकाशबाट ओरालेर यथार्थको आँगनमा हिँडाउन सकिन्छ ।
अगष्ट कम्टले सामाजिक शिक्षालाई कलाबाट सामाजिक विज्ञान बनाउने अभियानको प्रतिनिधित्व गरेपछि सामाजिक विज्ञानका क्षेत्रमा व्यापक उपलब्धि भएका छन् । अब साहित्य कोरा कल्पनाको शिल्प मात्र रहेन विज्ञान पनि हो भनेर पुष्टि गर्ने जिम्मा हाम्रो पुस्तालाई आएको छ । यसर्थ, अबको साहित्यले ‘छोडपत्र’ हुनुलाई भाग्यको लेखोट मात्र नदेखेर त्यसका सामाजिक कारण र परिणामका तथ्यमार्फत सामाजिक प्रयोगशालाबाट पुष्टि गर्ने आँट गर्नुपर्छ । यसलाई यसरी पनि भन्न सकिन्छ अबका साहित्य केवल साहित्यका लागि होइनन् समाज र उसका सदस्यका लागि हुनुपर्छ । अन्यथा साहित्य धार्मिक विचारधारा बनेर समाजका सर्वसाधारणको पहुँच बाहिर पुग्छन् जुन अनुभव हाम्रा धार्मिक ग्रन्थले गरेका छन् । एकजमान यिनीहरू धार्मिक विचार नभएर साहित्य थिए । तिनलाई धार्मिक बनाउने काम हामीले पछि आएर गरेका हौँ ।
साहित्यको जनस्तरीकरण गर्नु भनेको साहित्यमा सबाल्टर्नको खोजी गर्नु हो तर अहिलेसम्मको सबाल्टर्न अध्ययनले राज्य विहीनता, नागरिकता विहीनता, औपनिवेशिक पीडालाई राजनीतिक भाषामा बोलेको छ, जसले गर्दा यो निश्चित वर्गको कुण्ठा, विरोध, आक्रोश, प्रतिशोध र चित्कार हो कि जस्तो बनाइएको छ । त्यसकारण सबाल्टर्न अध्ययनले साहित्यमा वर्ग सङ्घर्षको सट्टा वर्ग सौन्दर्य र वर्ग चेतनाको कुरा गर्नुपर्छ । यसो भएमा हामीले राजनीतिक नारा र साहित्यिक अभिव्यक्तिका लागि पृथक बाटो बनाइदिएका हुन्छौं । अन्यथा बालुवा र हलुवा मिसाइएको ठहर्ने छ । अहिले यिनै आधारभूत बहसलाई स्पष्ट गर्न नसकिएकाले साहित्यिमा सबाल्टर्न आकाशको बादलमा देखिने चित्र जस्तो अमूर्त भएको छ, जसले जसरी बुुझे पनि हुने ।
नेपाली साहित्यमा सबाल्टर्नका स्वर विगत लामो समयदेखि आएको छ तर समस्या के हो भने सबाल्टर्नलाई बिल्कुल राजनीतिक अर्थबाट बुझ्ने बुझाइने गरिएको छ । अर्कोतिर माथि उल्लेख गरिएजस्तै सबाल्टर्नको पहिचानमा समस्या छ । एउटै परिवारभित्र पनि कतिपय महिला दलन अवस्थाबाट गुज्रिएका छन् भने उनीहरूलाई सबाल्टर्न भन्नुपर्छ । सबाल्टर्न भनिएका समुदायभित्रका ठूला ठालुले आफ्नै समुदायका सदस्यलाई पनि दलन गरेका हुन्छन् । यसरी वर्गको सोपानीकरणमा विश्वास गर्नेका मतअनुसार कसका लागि कसले लेखेको साहित्यलाई सबाल्टर्नको आवाज भन्ने त भन्ने द्विविधा उत्पन्न हुन्छ । तारालाल श्रेष्ठ मविवि शाह (राजा महेन्द्र) ले लेख्नुभएको ‘सक्दिन देख्न भन्छिन् आमा सन्तान थरिथरिका’ लाई सबाल्टर्नका स्वर भन्नुहुन्छ । यसरी सबाल्टर्नका आवाजलाई व्यापक बनाउने हो भने नेपाली लोकसवाई, गीत र समग्र साहित्यले सबाल्टर्न आवाजलाई केन्द्रमा राखेका छन् भन्ने पुष्टि हुन्छ । नेपालको सीमा निर्धारणपछि आएका भक्ति रसमा मात्र होइन विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास हिटलर र यहुदीमा पनि सबाल्टर्न र उच्च सम्भ्रान्त वर्गको चित्रण देखिन्छ । यसरी सबाल्टर्नका आवाजलाई छरपस्ट गरियो भने, को सबाल्टर्निस्ट होइन ? कसले सबाल्टर्नका आवाज बोलनन्, लेखेनन् ? भन्ने गञ्जागोलमा परिन्छ । विद्वान् अभि सुवेदीले तारालालको ‘शक्ति, स्रष्टा, सबाल्टर्न’ मा भूमिका लेख्दै ‘सबाल्टर्नहरूको जागरणको कुरा नेपालमा माओवादी आन्दोलनले उठाएको थियो’ भन्नुभएको छ । छपाइमा गल्ती भएको होइन भने उहाँ जस्ता विद्वानले नेपालमा उठेको जोसमनी परम्परा, तीजमा गाइने विरही गीत, करिया मुक्ति, सातसाले प्रजातान्त्रिक आन्दोलन, नारी आन्दोलन, मजदुर आन्दोलनमा अभिव्यक्त विचारलाई सबाल्टर्न आवाज थिएनन्/होइनन् भन्नुभएको ठहर्छ, जुन अन्यायपूर्ण अभिव्यक्ति मानिनेछ । इतिहासलाई निषेध गरेर इतिहासको रचना गर्न सकिँदैन ।
सबाल्टर्नका कारण र मुक्ति
वर्ग मुक्तिलाई सम्भाव्य देख्ने सिद्धान्तले सबाल्टर्न मुक्तिलाई अस्वीकार गर्न सक्दैन । विभिन्न आयामले बन्ने वर्गलाई मार्क्सले अर्थिक पक्षसँग बढी जोडेर व्याख्या गरे । अहिलेसम्मको इतिहासलाई वर्ग सङ्घर्षको इतिहास मान्ने उनले वर्गभित्रका वर्ग वा वर्ग शृङ्खलालाई पनि स्वीकार गरेका छन् । वर्ग द्वन्द्व हुँदै वर्गविहीन नयाँ जनवादमा पुग्न सकिने परम्परागत मार्क्सवादका आधारमा भन्नुपर्दा वर्ग अस्थयी संगठन हो । यसमा परिवर्तन आइरहन्छ । वर्गमा फेरि चरित्रको कुुरा पनि हुन्छ । कुन चरित्रलाई प्रतिनिधित्व गर्छ भनेर पनि वर्गलाई बुझ्न सकिन्छ । जे होस् वर्ग विहीन समाजको परिकल्पना गर्नेले सबाल्टर्नको अन्त्यलाई स्वीकार गर्नैपर्छ । आज उत्पादनका तरिकामा आएका भिन्नताले श्रमिक र मालिकबीचको द्वन्द्वलाई घुमाउरो मात्र होइन अप्रत्यक्ष पनि बनाएको छ जसले वर्ग विभाजनको कठोरता विघटित गर्दैछ ।
यस्तो अवस्थामा सबाल्टर्न र उनीहरूका आवाजलाई हेर्ने/बुुझ्ने दृष्टिकोण र मार्क्सले परिकल्पना गरेका परम्परागत वर्गलाई भिन्न आँखाले हेर्नुपर्छ । उत्पादनका तरिका, प्रविधि आदिमा आएका परिवर्तनले वर्गलाई बुुझ्ने पाराडाइम सिफ्ट भएको सत्यलाई स्वीकार गर्नुपर्छ । यसैगरी वर्ग गतिशील आयाम वा संगठन भएकाले हिजोका सबाल्टर्न भोलिका सम्भ्रान्त र आजका सम्भ्रान्त भोलिका सबाल्टर्न हुन सक्ने भएकाले यस्ता वर्गका बारेमा लेखिने साहित्य उद्देश्यमूलक हुन्छ कि विशुद्ध साहित्य ? पत्रकारितामा ‘मिसन जर्नालिजम’ भनिएजस्तै साहित्यलाई उद्देश्यमा सीमित गर्न सम्भव छैन । वर्गविहीन समाज स्थापना भएको भोलिपल्ट सबाल्टनिष्टको भविष्य के हुन्छ ? साहित्यमा लेखिने सबाल्टर्न आवाज कसरी व्यक्त हुनेछन् ? अर्कोतिर सबाल्टर्नबाट आफैँ मुक्त हुने कि अरू गराइदिने भन्ने प्रश्न पनि यहाँ आउँछ । वनारस हिन्दु विश्वविद्यालय, नेपाली प्रभाग प्रमुख प्रा. डा. दिवाकर प्रधान मनप्रसाद सुब्बा र रेबिका थापाद्वारा लिखित किनारा विमर्शमा भन्नुहुन्छ– “साहित्यमा किनारीकरणको कुरा गर्दा किनारीकृत हुनुमा आफैँ कति जिम्मेवार छौं भनेर सोच्नुपर्छ, गोर्खाको किनारीकरण राजनीतिक किनारीकरण हो । सांस्कृतिक किनारीकरणबाट जोगिएर मूलप्रवाहमा संस्कृत हुनुपर्ने जिम्मेवारी त आफैँमा पनि हुन्छ । गतिछाडा त आफ्नैहरूबाट पनि किनारीकृत हुन्छन् ।”

