यो कोरियोग्राफी (नाट्य–नृत्य) एक मानवतावादी साहित्यिक परिकल्पना हो । अमेरिका–इजरायल गठबन्धन र इरानयुद्ध अनि युक्रेन–यूरोपेली गठबन्धन र रुस युद्धसँगै विकसित पछिल्लो गाजा–लेवनान युद्धविरामबाट पृथ्वीले अलिकति राहतको श्वास फेरे पनि पुनः गाजामा महिला तथा बालबालिकामाथि भैरहेको क्रूर हिंसाले आज मानवता डराइरहेको छ । तत्कालीन विश्व घटनामध्ये अमेरिकाले भेनेजुयला, ग्रीनल्याण्ड र क्यूवामाथि थप आक्रमणको धावा बोलिरहँदा कतै संसार भयावह आणविक विध्वंशक तेस्रो विश्व–युद्धको रणमैदानतिर बढ्दै त गएको होइन ? यदि त्यसो भयो भने मानवताको अंश नै कति बाँकी रहला ? भन्ने चिन्तनका कारण सृजना भएको कारुणिक परिरचना हो ।
यसरी आज नेपालको आर्तनाद किन निसृत भयो भने हामीले पच्चिससय वर्ष अघिबाटै यस घर्तीमा शान्ति चाहिन्छ भनेका हौँ । मानवता विनासक युद्ध कदापि चाहिन्न भनेका हौँ । यो पृथ्वी साक्षी छ, लुम्बिनी साक्षी छ, “भवतु सब्ब मंगलम: सदासत्ती भवन्तूते” भन्दै सबैको कल्याण र सबैतिर शान्ति कायम गर्न आग्रह गरी महामानव गौतमबुद्धले शान्ति, अहिंसा र सह–अस्तित्वको मानवताबादी ज्योति–दर्शन नेपालबाटै संसारलाई दिनुभएको हो । यसै सन्दर्भलाई मनन गर्दैगर्दा मानव सभ्यता विराधी यी नरसंहारहरू र विनासक आणविक महायुद्धहरूको सदासर्वदा अन्त्य गर्न उही बुद्ध अवतार फेरि पृथ्वीमा आउनका लागि आग्रह र कामना गर्दै यो कोरियोग्राफी बनाइएको छ । यसैले यो नाट्य–नृत्य बुद्ध जयन्ती–२०८३ मा समर्पित गरिन्छ ।
समय: वर्तमान
दृश्य १: सिचुएसन रुम, व्हाइट हाउस (अमेरिका )
यो हो विश्वको सर्वशक्तिमान अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस ।
यसको दक्षिण पश्चिम भेगमा अवस्थित करीब पाँचहजार वर्गफिटको एउटै कोठा–यो सिचुएसन रुम हो । यसलाई जेकेएफ रुम पनि भनिन्छ । खासगरी अमेरिका आफैँ संलग्न हुने युद्धको अवस्थाबारे छलफल गर्न, भइरहेका युद्धहरू टेलिभित्तामा हेर्न, पेन्टागनबाट सिफारिस हुने सैन्य कारबाही बारे निर्देशन दिन र राष्ट्रपति स्वयंको इन्टेलीजेन्स र सुरक्षा संयन्त्रको कोर टीमको बैठकका लागि अति गोप्य रूपले तयार भएको ध्वनि निरोधक र हाइ–टेक संयन्त्र रहेको वाररुम हो ।
अमेरिका–इजरायल गठबन्धनसँग इरान युद्ध २ पटक भयो । पहिलोपटक सन् २०२५ जूनमा बाह्रौ दिनमा लडाई रोकिएपनि फेरि दोस्रो पटक सन् २०२६ फरबरी–मार्चको चालिसौँ दिनसम्म डरलाग्दो मिसाइल युद्धपछि हाललाई केही हप्ता युद्धविराम त भएको छ । आणविक संत्रास बढ्दैछ । यद्यपि पाकिस्तान यो लडाइँ पूरै रोक्न मध्यमार्गी शान्ति वार्ताकार भएको छ । तर वार्ताहरू सफल भैरहेका छैनन् । हर्मूज तेल संकट थपिएपछि वैश्विक आर्थिक कूप्रभावहरू थप विस्तार भएका छन् । बेरोजगारी, महँगी, ऊर्जा आपूर्ति भयावह बनेको छ । आम मानिसहरू संकटमा धकलिँदैछन् । संसारभर यो युद्ध रोक्न आम जनप्रर्दशन पनि भैरहेका छन् ।
आज २२ अप्रिल, २०२६ को सन्ध्याकाल छ, इजरायलले अमेरिकासँग झन ठूलो युद्ध गरौँ भन्ने अनुनय विनय गर्दैछ, हुन त यसले पहिलो चरणमा सजिलै इरान जित्ने भनिए पनि उसलाई गाह्रो हुँदै गएको छ । इरानसँग रहेको पर्याप्त मिसाइल भण्डार र हाइब्रिड लडाइँ शैलीले प्रतिदिन एक खरब डलरको युद्धखर्च धान्न सजिलो भइरहेको छैन अमेरिकालाई । आइरन डोम फितलो देखिँदैछ भने उता इरानी मिसाइलहरू प्रभावित भएका छन् । यतिबेला इरानलाई जसरी नि घुडा टेकाउन पर्नेछ अमेरिकाले ।
अयातोल्ला खमेनी सिध्याएपछि इरानको सैन्य क्षमतामा केही नोक्सानी भयो भन्दैछ ऊ । अनि तीनवटा आणविक केन्द्रमा बंकर बष्ट्रर बीयु–२ बम्बरले आक्रमण गरेपछि अब इरानले ४४० केजी यूरेनियमसहित आत्मसमर्पण गर्ला भनेको त यो अनुमान विपरीत ऊ झनै लड्ने पो भन्दैछ । पाकिस्तानको शान्ति वार्ता पनि सफल भएन । त्यसैले, इरानविरुद्ध थप कठोर लडाइँका योजना बनाउने गरी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, चिफ अफ स्टाफ, युद्ध (रक्षा) मन्त्री हेसगेथ समेत १२ जनाको कोरटिम जम्मा भएको छ । इरान वार थप लम्बियो भने के तेस्रो विश्वयुद्ध होला ? इरानविरुद्ध के आणविक प्रहार होला ? यी कोर टिमका कतिलाई त पुरै योजना थाहै छैन । यो केवल सिआइए र ट्रम्पलाई थाहा छ । कहाँसम्म भने सिआइए अब योजनाबद्ध तेस्रो विश्वयुद्धको कोरियोग्राफी तयार गर्न तम्सिरहेको छ ।
तेस्रो विश्वयुद्ध चाहने पाँचवटा अमेरिकी कम्पनीहरूका मालिकको डोनाल्ड ट्रम्पसँग समझदारी भएर होला कि हतियार बिक्रीबाट हुने नाफा आधाआधा गर्ने भन्ने योजना छ रे । होला पनि, पत्रिका र नागरिक यसै भन्छन् । सबैलाई थाहा छ ट्रम्प पैसामा मरिहत्ते गर्छन् । तिनीहरू जनरल डाइनामिक्स, रेथन, लकहेड र बोइङ कम्पनीका मालिक हुन् जसले चार वर्षका लागि सरकारसँग लगभग ७७१ खरब डलरको हतियार आपूर्ति सम्झौता गरेको तथ्य ब्राउन युनिभर्सिटीको अध्ययनले निकालेको पनि हो । अहिले पालान्टिर पनि थपिँदैछ, जो एआई मार्फत नरसंहारको योजना बनाउँदैछ । परिदृश्य यस्तै यस्तै छ, त्रासदी छ ।
एउटा ठूलो काठको टेबल छ, दायाँबायाँ ६-६ जनासहित प्रेसिडेन्ट भने अगाडिको आरामदायी कुर्सीमा बस्नेछन् । कोठाका भित्ताहरूमा २–२ वटा डिस्प्ले छन्, आकस्मिक कक्ष छ । यी सबै फाइटर जेट, आइसिबीएम रकेट, मिसाइल र आणविक बमहरूको स्वीच रहने ब्लेक बुक प्रेसिडेन्टको हातैमा रहने छ ।
यो भव्य रुमभित्र एकैछिनमा समग्र मानव सभ्यता नै ध्वस्त पार्न सक्ने सबै साधनस्रोत तम्तयार छन् । ट्रम्पसँग ५ हजार त आणविक वारहेड छन् जो रातो बटनबत्तीमा टिलिकटिलक गर्दैछन् भने हजारौँ ब्यालिष्टीक मिसाइल छन् जो क्षणभरमै संसार सिद्ध्याउने प्रतीक्षामा छन् । तातो तातो कफीको चुस्की लिँदै अमेरिकी सरकारका सुरक्षा प्रमुखहरू आपसमा गफिँदै छन् र यो बैठक राष्ट्रपतिको पर्खाइमा छ । भनौं, मिटिङ एक डरलाग्दो निर्णयको इन्तजारमा छ ।
(पर्दा खुल्छ )
डोनाल्ड ट्रम्पको प्रवेश भएको छ । उनको हाउभाउ अधैर्य छ । विजेता भए जस्तो कुरा गर्छन् । सबैजना उठेर अभिवादन गर्छन् ।
ट्रम्प: यो अमेरिकाको जित हो, यो मागा हो मागा । हाहाहाहा । इरानले हार स्वीकार गर्यो । इरान नेभर नेभर गेट एटम बम । नो नो नो– नो न्यूकिल्यर वीपेन फर इरान भनिरहेका छन् । थप उनले त्यहाँ यो जानकारी दिए कि इरान त निकै कमजोर भयो ।
यदि ऊ थप युद्ध बिराम गर्न मानेन भने इरानी सभ्यता सिध्याउने हो । हमूर्ज खोल्ने र सबै तेल भेसलहरू ल्याउने हो । आजैबाट यो सहमति लागू हुन्छ । इरानको सबै तेल अनि इरानको ४४० केजी प्रवर्धित यूरेनियम अब अमेरिकाले सित्तैमा पाउँछ ।
बिलियन डलर प्रोफिट । हाहाहा । के हो ? भन्दै युद्ध मन्त्री हेसगेथतिर हेर्छन्, प्रतिक्रिया सोध्छन् ।
हेसगेथ: महामहिम, दुश्मन इरान त कमजोर भएन हो । तर इजरायल त हाम्रै छोरो हो, उसको सुरक्षा के हुन्छ ? बेन्जामिन नेतन्याहूलाई बचाउनुपर्यो हजुर । पचास हजार निर्दोष फिलिस्तीनी बालकहरूको चिहान भोली उठ्ने त हैनन् ? अनि १६० इरानी स्कूले बच्चा पनि आउलान् । नरसंहार भन्दै आइसीसी अदालतको वारेन्ट पनि छ । बचाउनुहोस् उनलाई, उनले हमास सिद्ध्याए, नसरुल्लाह सिद्ध्याए, खमेनी पनि सके । लेबनान, गाजा र सबै फिलिस्तीन सिद्ध्याउन् न त । हामीले भनेरै त हो । उनी जे पनि गर्छन् । नरसंहार होस् वा इरानको तख्तापलट । अमेरिकी इजरेल सुरक्षित हुन हो । बचाउनुहोस् है त । हैन त स्टेट सेक्रेटरी रुबियो भनेर उता हेर्छन् ।
मार्क रुबियो हेसगेथको कुरामा हो मा हो थपेर उनी भन्छन्: बीबीलाई संरक्षण दिने काम हाम्रै हो । इरानसँग लड्न अरुले सक्दैनन् है । नेतन्याहूलाई जोगाउनुपर्छ । इरान सिद्ध्याए पनि सिद्ध्याउन् न त । एटम बम छँदैछ हामीसँग । बडो निहुँ खोज्छ इरान । शान्ति वार्ता नगर्ने रे ? ल ठोकौँ ।
ट्रम्प: हाहाहाहा । बेन्जामिन नेतन्याहूले गाजा हामीलाई दिन्छन् नि फ्रिमा । फ्रि ! त्यहाँ बालबालिका र अबोध नागरिक मारे पनि उनलाई सात खून माफ । पिस बोर्ड मार्फत म त्यहाँँ होटल बनाउँछु । त्यहीँ बसेर सारा मध्यपूर्वमा नियन्त्रण गर्छु । फिलिस्तीनी, छिछि: फोहरी हमास । दरिद्र इरानीहरू, मूर्ख अरबीहरू । इजरेलसँग निहुँ खोज्ने । सब सखाप भए त के भो ? अमेरिकाले गाजा पाउँछ, इरान पाउँछ, तेल पाउँछ । नेतन्याहूलाई केही हुन्न । हमास–हुथी–हिजबोल्लाह सब बेकार । हाहाहा । उनले मध्यपूर्वको समग्र अवस्थाबारे बेलिबिस्तार गर्न सैन्य चीफलाई आदेश गर्छन् ।
ट्रम्पले हातको इशारा गर्छन्: जर्नेल लानेभ, पेन्टागन चीफ अफस्टाफ, अँ भन्नुहोस् तपाईं नयाँ पनि हो । समग्र अवस्था, यो तेस्रो विश्वयुद्ध भए हामी के तयारी गर्छौं ? हाम्रा एटम बम खै ? ल भन्नोस् । अमेरिकाले संसार अब कसरी नियन्त्रण गर्ने ? अर्थतन्त्र, मेनुफेक्चर र एआईमा चाइना अगाडि आयो, हामीभन्दा अगाडि । नो नो । अमेरिकाभन्दा अगाडि कोही जान पाउँदैन । अब हामी के गर्ने ? हामी युद्ध गर्ने वा धम्काउने र डिल गर्ने । चाइनालाई जसरी पनि रोक्ने । हाहाहा कम्यूनिष्ट चाइना ? नो नो यू कान्ट ह्याभ सूपर पावर । हाहाहा । किनकि अमेरिकासँग जति पनि न्युक्लियर बम छन्, कति कति । एफ–३५ रकेट विमान, टोमाहक त भन्नै परेन । अरु के बी६१–१२, जिबीयु–५७ र बी८३ थर्मोबम त महाभयानक हुन् । संसारमा कसैसँग छैनन् यी । हाहाहा । आइसिबीएम र क्रुज मिसाइल त इनफ फोर अस । त्यसैले त अमेरिका सुपर पावरफूल । हाहाहहा । वी आर सुपर पावरफूल । हामीलाई यूरोप र नाटो नभए पनि चल्छ । यूरोप इज अल्सो पूअर । पुअर कम्युनिष्ट चाइना । नो नो यु कान्ट ह्याभ ग्लोबल पावर ।
ल भन्नुस् जर्नेल । लेट्स हियर योर प्लान फोर थर्ड वर्ल्ड वार ।
जर्नेल लेनेभ: महामहिम, हाम्रो अर्थतन्त्र मन्दीमा छ, आर्थिक वृद्धि दश वर्षदेखि कमजोर छ । मेनूफेक्चर निकै कम छ । अब मिलिटरी इकोनोमिक्स बढाउने हो । मध्यपूर्वलाई धम्काउने हो– तेल चाहियो नि । साउदीलाई बढी त्रासमा राख्ने हो । डेमोक्रेसी र कलर रिभोलुसन भन्दै डराउन दिने हो अनि त सस्तो तेल आइहाल्छ । हमूर्ज जसरी पनि हामीलाई चाहिन्छ । र मज्जाले फाइटर जेट, थाड, एफ–१६ रकेट बेच्ने पनि हो साउदी, कतार बहरीन र कूबेतलाई । हामी आफैँले शत्रु पैदा गर्ने अनि आफैँले मित्र पनि । दुवै सृजना गर्छौं नि हामी । ओसामा विन लादेन त हामीले बनाएकै हो । मूर्ख हविवी र शेख सलमानहरू, केही जान्दैनन् । पैसामात्रै छ उनीहरूसँग, हामीले त्यो पैसा धूत्ने हो मज्जाले बार्गेनिंग गरेर । सबभन्दा बढी नाफा नै यही व्यावसायमा हुने हो । हाम्रा जनतालाई के मतलब, अमेरिकी जनताहरू मस्त छन्, हामीले लुटेर ल्याऔँ कि जेनोसाइड गरेर ल्याऔं । अमेरिकी पिपुल आर अलरेडी ब्रेनवास्ड ।
हाहाहा, दे आर दि ओन्ली कन्जुमर्स– खान मात्रै जानेका अमेरिकीहरू– खासमा चेतना छैन भाते अमेरिकीहरूमा । आप्रवासी, वैज्ञानिक र प्राध्यापकलाई आइसिई लगाउँदै देश निकाल्ने हो । तिनीहरू कम्युनिष्ट भन्दै निकाल्ने नि । मिडियाले प्रोपागान्डा गरिहाल्छ नि यहाँ । यो हो नाफा, अमेरिका नाफा चाहन्छ, नाफामा बाँच्छ, केबल नाफा चाहियो यसलाई । वी निड ओन्ली प्रोफिट । हुमानिटी एण्ड सिभिलाइजेसन आर सेकेण्डरी ।
तर रसिया, ओह ! पूटिनलाई नजिस्काऔं । हामी ग्रीनल्याण्ड पनि कब्जा गर्छौं । ग्रीनल्याण्ड र युक्रेनको लिथिएम, थोरियम र अन्य दूर्लभ खनिज भए हामीलाई १०० वर्ष पुग्छ । हाहाहहा ।
यसमा पूटिन सहमत छन् । मेक्सिको, क्यानाडा र युरोप कागजका पुतली हुन् । तिनीसँग केही सामर्थ्य छैन, अब नाटोको खर्च पूराका पूरा पैसा पनि युरोपले तिर्छ । ५% जिडीपी युरोपले तिर्छ । नभए नाटो फिर्ता । अब अमेरिका नाफा, मागा र पागा (पावरफूल अटेक अगेन) ले टिक्छ । सब पैसा हाम्रै हो । संसार हाम्रै नियन्त्रणमा छ । डोन्ट वरी महामहिम । थर्ड वर्ल्ड वार भए उनीहरूलाई लडाउने हो । उनीहरू लडिरहुन्, वैश्विक अस्थिरता अमेरिकालाई राम्रो हुन्छ । हामी त हतियार बेच्ने हो मोर वार, मोर प्रोफीट । थर्ड वर्ल्ड वार इज बेटर फर अस । हाहाहाहा । जति अस्थिरता उति हतियार सप्लाई अनि नाफै नाफा । दे डिस्ट्रोय देमसेल्फ्ज । पुटिन भने शक्तिशाली छन् है । रसियासँग खतरनाक सर्मत–२ एटम बम छ, किन्जल वारहेड छ, ओरसेनिक पनि छ अनि १२ हजार न्युकिलयर बमहरू छन् । हाम्रोभन्दा दोब्बर बढी छ । उनलाई अलमल गराइरहने हो अब । केही हतियार दिएजस्तो त गरौं ।
ट्रम्प: युक्रेन एण्ड जेलेन्सकी महामूर्ख, अ स्केपगोट जेलेनस्की । हाहाहाहा । जेलेन्सकी प्रयोग गर्ने र युरोपलाई बार्गेनिङ गर्ने । हि इज स्केपगोट – यो हो हाम्रो रणनीति ।
इन्डिया, चाइना र रुस मिल्न नदिएपछि सबका सब हाम्रो । सिआए प्रमुख यही छन् अब फर्मल्ली तख्ता पलट हुँदैछ क्यूवामा र पछि बङ्गलादेशमा, हसिनालाई आइसिसी लगाइदिने, पाकिस्तान उचाल्ने र इन्डिया डरले थुरथुर पार्ने । पुअर इन्डिया, गरीब साउथ एसिया । अब चाइना घेर्ने, हाहाहाहा ।
अन्य सबैले टाउको हल्लाउँछन्, ओके ओके, गुड प्लानिङ । अनि स्याम्पेन पार्टी शुरु हुन्छ । कोही ब्रान्डी खान्छन् । कोही रेडवाइन लिन्छन् । यही अन्धकारको पछाडिबाट एक कर्कश आवाज आएको जस्तो छ: लोफर आवाजमा, अमेरिका इज ग्रेट, वेलकम थर्ड वर्ल्ड वार । हाहाहाहा ।
ट्रम्प, हेसगेथ र रुवियो समेत : गज्जब, गज्जब । डेमोक्रेस्री, ह्युमन राइट्स, क्लाइमेट चेन्ज भाडमा जाओस्, इट इज होक्स । मेक अमेरिका सूपर अगेन इन एनि कष्ट । ओके, मैले त पैसा पनि पाउने अनि नोबेल शान्ति पूरस्कार पनि पाउने । अब तेस्रो विश्वयुद्ध हुन्छ हुन्छ । फेरि शान्ति पनि हुन्छ । सब मै गर्ने हो । ट्रेड वार पनि गर्ने हो, एटम बम पनि हान्ने हो, पिस पनि ल्याउने हो, बिकज अमेरिका इज मेड फोर बिलिनेयर्स । अझै धम्काउने हो । पैसा र पावर भए अमेरिकीलाई पुग्यो । हाहाहा । यूएन भाडमा जावोस् ।
समय: केही फ्ल्यास् ब्याक्सहरू
अक्टोबर ३० ,२०२५
त्यो दिन पनि ट्रम्प आए, मार्क रोयिबो र अरु सैन्य कमाण्डर पनि छन् सोही सिचुयसन रुममा ।
ट्रम्प: हाहाहा, म त शान्ति चाहने मान्छे । ल हेर गाजा युद्ध विराम जस्ता आठवटा युद्ध रोकें । तर पनि नोबेल पूरस्कार दिन्नन् । छोड यार, लेट्स वार अगेन्स्ट भेनेजुएला । त्यो मडुरो कम्यूनिष्ट, कोकिन तस्कर, हटाइहाल त्यसलाई । अब भेनेजूएलाको सुनखानी र पेट्रोल खानी कब्जा गर्ने हो । ल भन्नुस् रुबियो, तपाईं त यसको डिजाइनर हो । बताउनोस् मडुरो कसरी सकिन्छ त ? उता रुसले वोरसेनिक आणविक मिसाइल बनायो रे । अमेरिका पनि के कम । चलो, यहाँ पनि आणविक हतियार मोर्डनाइज गरौं । लौ चीन पनि आणविक तयारीमा आयो त । ल ल, नयाँ एटोमिक वारहेड बनाउनोस् । मेरो आदेश छ ।
मार्क रुवियोः हेर्नुस् महामहिम, लेटिना सबै पहिले नि हाम्रो उपनिवेश हो । मनोरो डक्ट्रीन हाम्रो पो हो । तर चाइना पो हाबी छ यहाँको व्यापारमा । अब डोनरो डक्ट्रीन लाग्छ । जे होस् भेनेजुएला कब्जा हुन्छ हुन्छ, त्यहाँ मेरो पेट्रोल कम्पनीमार्फत कू गर्ने । पुरै लेटिना अब हाम्रो प्रभावमा ल्याउने हो । मूचाडोलाई राष्ट्रपति बनाइन्छ । नोबेल प्राइज पाइन् यिनले त भर्खरै । यो हाम्रै योजनाभित्रको खेल हो । थप युद्ध योजना, मिसाइल, आणविक बम्बार्ड सबै तयार छन् । सिआइए र पेन्टागन रेडी छ । ओके, गो टू थर्ड वर्ल्ड वार ।
(पर्दा बन्द हुन्छ )
नेपथ्यमा: यति नै बेला अमेरिकी आकाशमा गड्याङ्ग गुडुङ् आवाज छ । मानवताको चित्कार छ । टेक्सासमा बाढी छ । स्कूलमा गन सुटिंग छ । बच्चाहरू बन्दुकले उडाइएका छन् । अपराध बढेको छ । काला जातिहरू भित्रभित्र मुरमुरिएपनि के न के, श्वेत अमेरिका मस्त छ । पूरै अमेरिकीहरू ब्रेनवास्ड छन्, गज्जब छ । श्वेत साम्राज्य अविछिन्न छ, निरन्तर छ–श्वेत क्रिस्तानी वर्चस्ववाद । चुनौती छैन, अमेरिकी शासकहरू चर्का हुँकार गरेकै छन् ।)
दृश्य २: क्रेमलिन–रसिया,
अप्रिल ७–२२, २०२६
दश वर्षअघिबाटै मस्कोको क्रेमलिन दरबार पुनर्निर्माण गरिँदा पुटिनले रेड स्कवायर अगाडि एउटा वार रुम बनाएका छन्, जो अमेरिकाको पेन्टागन सचिवालय जतिकै छ । यसैमा सयजना जति वरिष्ठ सैन्य पदाधिकारी र राष्ट्रपति भ्लादिमीर पुटिन छन् । केही पाहुना छन्, केही केजीबीका मान्छे छन् । उत्तर कोरियाका किम जोन ऊन, इरानका विदेशमन्त्री अब्बास अगाची, बेलारुसका लुकासेन्को, बुर्किना फासोका इब्राहिम टाउरे र रसियन विदेशमन्त्री सर्गेइ लाभरोभसहित केजीबी प्रमुख र सेनाध्यक्षसँगै छन् ।
यो वार रुम पनि अत्याधुनिक छ । दश मिनेटमा संसार सिद्ध्याउने थर्मोन्युकिल्यर शस्त्रअस्त्रको बटन टल्किरहेका छन् । प्रसँग छ, अब कसरी इरानलाई सहयोग गर्ने र त्यहाँ एटम बम तयार पार्ने अनि युक्रेन वार जित्ने भन्ने, अर्कोतिर तेस्रो विश्वयुद्धको तयारी नगरी नहुने भएको छ । किनकि नाटो नजिकै आएको छ भने बेलायत र फ्रान्स निहुँ खोज्ने क्रममा छन् ।
(पर्दा खुल्छ )
पुटिन: अब मेरो धैर्यताको बाँध टुट्ने बेला भयो । जेलेन्स्की अरुको बुई चढेर हामीलाई सिद्ध्याउने भन्छ । मूर्ख छ त्यो । उसलाई किन चाहियो नाटो ? किन टोमाहाक मिसाइल माग्छ ? जरुरी नै थिएन । युक्रेनी र रसियन ब्लड उही हो । अब वार कि पार गर्ने बेला आयो । ट्रम्पले त मैले भनेको मान्छन् तर सिआइएले मान्दैन । डिपस्टेट हो अमेरिका । युरोपले रसिया नै फेरि टुक्रा टुक्रा पार्ने भन्छ । अब मध्य–युरेशिया मै आँखा लगायो युरोपले किनकि उनीहरूलाई तेल, ग्यास र सबै इनर्जी स्रोत कब्जा गर्नुछ नि । इरानलाई पनि आणविक सहयोग गर्नैपर्छ जो ऐतिहासिक मित्र हो हाम्रो । उत्तर कोरियालाई पनि हेर्नुपर्छ किनकि हामीलाई अप्ठेरोमा सहयोग गर्दैछ । शायद ट्रम्प इरान युद्धमा फसिरहे त गज्जब नि । कतै तेस्रो महायुद्ध होला ? सर्तकताका साथ तयारी त गरौं है । खासगरी तेस्रो महायुद्ध कसरी गर्ने ? आणविक शस्त्र त मसँग धेरै छ नि । लौ लाभ्रोभ ! भन्नुहोस् के छ हाम्रो योजना ? उनले विदेशमन्त्रीलाई बोल्न भन्छन् ।
सेर्गेइ लाभ्रोभ: महामहिम पुटिन । हामीसँग युद्ध लडन शस्त्रास्त्रहरू पुग्दो छ । जासूसी रिर्पोट भन्छ– इरानसँग लड्दा अमेरिकाको ४०% मिसाइलस्टक कम त भएको छ । यो ठीक छ । अब चीनलाई हामीले राख्न सक्यौँ र भारत यतै मोर्चामा आयो भने डर मान्नै पर्दैन । भारत यतै आउँछ किनकि अमेरिकी टेक्स धेरै खप्न सक्दैन ऊ, तेल चाहिन्छ उसलाई । रसिया खरानीबाट बनेको देश हो । लड्ने हाम्रा वीर योद्धाहरू छन् । मध्यपूर्वमा टर्कीले इरानको विरोध गरेन भने आत्तिनु नपर्ला, उसलाई फकाउने हो । इरान अमेरिका लडेकै रुसलाई राम्रो नि । बरु आकाशे युद्धका सूचनाहरू बढाउँदै गरौं इरानलाई ।
रसियासँग अथाह स्रोत छ । के छैन र हामीसँग ? अमेरिकामा भन्दा बढी युरेनियम छ, धेरै एटम बम्बहरू छन् । जार–बम्बा भन्ने शक्तिशाली फादर अफ बम छँदैछ । एस–४०० र एस–६०० थाडभन्दा राम्रो छ । सर्मत–२, टियु १६०, आइसिबीएम, टर्पेडोको शक्तिसँग कसैले सक्दैन ।
संसार खरानी बनाउने ताकत छ हामीसँग पनि । भखरै त आणविक अरेन्सीक मिसाइल बन्यो, पोइज्डन टर्पेडो बन्यो । यस्ता भयानक मिसाइलहरू अमेरिकासँग त छैन । यतिखेर सबभन्दा बलिया छौं हामी । हामी पनि रसियन हौ । नर्थ कोरिया र चाइनासँग पनि त्यस्तै छन् त किन चिन्ता । भरसक लडाइ नगरौं, परिआए लडौं । रसिया कसैको दास भएको छैन, इतिहास हेर्नुहोस्, महान पिटर, लेनिन र स्टालिनहरूले लडेरै देश बचाएका हुन् । लड्न परे लडौँ थर्ड वार ।
किम जोन उनः ठीक छ । लडने हो । म यति सानो देश त लड्दैछु । अमेरिकी साम्राज्यवादसँग नलडी नहुने भयो । अमेरिकाको मेनलेण्डसम्म त एटम बम, मै हान्न सक्छु । ट्रम्प मसँग डराउँछ । हाहाहाहा । म त पहिला दक्षिण कोरिया र जापान हान्ने हो । अरु सब काम रसियाको है । हाहाहहा । लुकासेन्कोले किमको कुरामा सहमति जनाउँछन् । थर्ड वर्ल्ड वार लड्न परे लड्ने हो । इरानलाई पनि आणविक बम चाहियो, अब दिने हो भन्छन् सबैले । यसमा टाउरे र इरानी विदेशमन्त्री अगाचीले ताली पिटेर सहमति जनाउँछन्– ठीक छ ठीक । इरानको मिसाइल के कम । हाहाहाहा ।
दृश्य ३: संयुक्त राष्ट्र संघ, मानव अधिकार कार्यालय, जेनेभा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरस झोक्राएर बसेका छन् । पहिलो र दोस्रो विश्वयुद्धमा एटमबम प्रहार भएको अनि यी लडाइँमा करोडौं मानिसहरू हताहती भएपछि अब मानवजातिले कहिल्यै तेस्रो बिश्वयुद्ध लडन नपरोस् भनी कसम खाएर खडा गरिएको युएन बिचल्ली परेको छ आज । उनी चिन्ता गर्छन्: खै त युएनको स्वीकृति ? खै सुरक्षा परिषद्को निर्णय ? खै वर्ल्ड अडर र मेरो वडापत्रको मान्यता ? यतिकै युक्रेन युद्ध गर्ने, यतिकै गाजा युद्ध गर्ने अनि बालबच्चा मार्ने ? अनि इरान समेतमा अमेरिकाले आणविक बम हान्ने ? खै सार्वभौम राज्यको अधिकार ? गलत, गलत !
युरोपले विश्वासघात गर्यो । खै बौल्दैन त कोही । किम जोनलाई धिक्कार जस्तो लाग्छ युरोपका मानवअधिकारका फोस्रा गफहरू । अनि सबै युद्धपिपासुलाई धिक्कार गर्छन् उनी । उफ् !, उफ् ! ! कमसेकम लेबनान, तेहरान र गाजामा कलिला स्कूले बालबच्चा, गर्भवती आमाहरू र निर्दोष मानिस त युएनले बचाउन सक्नु पर्थ्यो, सकेन । एकलाख मानिसको रगत खाने नेतनन्याहू, धिक्कार छ तँलाई । उनी आत्मग्लानी गर्छन्, पश्चाताप गर्छन् । कतै संयुक्त राष्ट्रसंघ विघटन त हुन्न ? उफ् !, एक्लै छन् ! एक्लो गुटेरस । पीडा छ उनलाई । फेरि भेनेजूएला र इरानपछि क्यूवा युद्ध होला कि ? टम्प र पूटिन आणविक हमलाको तयारीमा पो छन् क्या हो ? लौ न रोक यिनलाई । उफ् !, एकल संवाद छ गुटेरसको ।
नेपथ्यमा जोन लेनन (सन् १९६९) ले भियतनाम युद्धको प्रतिरोधमा गाएको गीतको आवाज आइरहन्छ– गीभ पिस अ चान्स । गीभ पिस अ चान्स । उनी पनि मनमनै गुनगुनाउँछन् । सँगै उनी गौतम बुद्ध पनि सम्झिन्छन् । वास्तवमा बुद्ध र यूएन उस्तै हुन् । शान्ति शान्ति, ओम शान्ति ओम भनिरहन्छन् ।
(पर्दा बन्द हुन्छ )
दृश्य ४: वाङडुङ – इन्डोनेसिया
संयोग त्यस्तै परेको छ, इण्डोनेशियामा पनि गत वर्ष युवा आन्दोलन भयो, केही दिन त डरलाग्दो भयो, अहिले केही मत्थर भएको छ । आज इन्डोनेशियाका राष्ट्रपति पारबो साबियान्तो जाकार्ताबाट शान्तिको श्वास फेर्न नजिकै वाडडुङ पुगेका छन् । उनी त्यही स्थानमा छन् जहाँ उनका पुर्वज सुकार्नोले असंलग्न आन्दोलनको वीजारोपण गरेका थिए सन् १९५५ को अप्रिलमा । उपनिवेशबाद र शीतयुद्धबाट ग्लोबल साउथ र साना देशहरूको सार्वभौमिकता एवं स्वतन्त्रता बचाउने आन्दोलन थियो त्यो– नाम (नन एलिन्मेण्ट मुभमेण्ट) आन्दोलन । यसले शान्ति स्थापनाका पञ्चशील सिद्धान्तहरू बोकेको थियो । आणविक शस्त्र र तेस्रो विश्वयुद्धको निरन्तर विरुद्ध थियो त्यो नाम । यसका सदस्यहरू १३४ देश थिए ।
विडम्बना, यतिबेला यो संस्था अस्तव्यस्त बनाइएको छ, यूएन जस्तै !
तर वाडडुङ विचार अझै पनि सान्दर्भिक छ । यो विचार जिउँदै छ । महामहिम पारबोले यसो सम्झना गर्छन् र आफैँलाई प्रश्न गर्छन् ? के साँच्चै तेस्रो महायुद्ध होला ? भएमा यो कति भयावह होला ? उफ् ! ! कसले रोक्ने यस्तो महाविनाश ? उनी सम्झना गर्छन् ती अग्रजहरूलाई– सुकार्नो, नेहरू, नासीर, टिटो र चाउएनलाइलाई । महामानवहरू ! धन्य छ तिम्रो योगदान । इतिहास तिमीहरूलाई आदर गर्छ हमेसा । शान्ति, प्रगति, सहअस्तित्व, अहस्तक्षेप र असंलग्नताका यी पञ्चशील सिद्धान्तहरू मानवजातिका सम्पति हुन्, यी अजम्बरी विचार हुन् । यी पन्चशील विचार जिउँदै छन् ।
फेरि आफैँलाई प्रश्न गर्छन्:
तर आज खै त नेहरू ? खै त चाउएनलाई ? कसले रोक्ने तेस्रो विश्वयुद्ध ?
प्रारबो सम्झना गर्छन्– सन् २०२३ मा युक्रेन युद्ध रोक्ने मल्टीपोइन्ट पीस प्लान उनी आफैँले लगेका थिए । तर उनलाई रुससँग मिलेको आरोप लगाइयो । उफ् ! उनले गाजाका बच्चालाई खाना खुवाउन आफ्नै पाँच अरब पैसा पनि दान दिएका थिए, त्यो पनि नेतनयाउले खोस्यो । कति अमानवीय संसार ? के मानवताको मूल्य छैन ? उनी घोप्टो पर्छन् र सम्झन्छन्– तेस्रो संसार, जो साँचो रूपमा शान्ति चाहन्छ ।
यस संसारलाई आव्हान गर्छन्, ए लौ न आऊ यो युद्ध रोकौँ न । नो वार, नो एटम बम, नो नो नो नूक । वी निड पिस, ओन्ली पिस । प्लिज ।
(पर्दा बन्द हुन्छ । फेरि खुल्छ )
उफ् !
अमेरिका–इरजेल र इरान युद्धको साइरन फेरि बज्न थाल्यो । बम्बर, रकेट, मिसाइलको वर्षात् लगातार छ । उफ् ! न्यूल्कियर बम रेडी बनाउन आदेश पो आउँदैछ रे । डोनाल्ड ट्रम्प न्यूल्कियर कोड खोज्दैछन् रे । उफ् !
अनि, नेपथ्यमा इतिहास क्रूरतापूर्वक हाँस्छ, लामो कर्कश अट्टहास छ यसको– हाहाहा, हाहाहाहा !
पृथ्वीवासी हो, म क्रूर इतिहास हुँ । म सन् १९४५ को इतिहास हुँ । म आफैँ आएको छु चिहानबाट ।
लौ एटम बम खाओ, सधैँ लडिरहने अपराधी मानिसहरू हो, रक्त पिपासुहरू हो !
लौ एटम बम खाओ ।
लौ न्युकिल्यर बम खाओ । लौ यूरेनियम खाओ । लौ प्लूटोनियम खाओ ।
यही त बाँकी थियो । अरु त खाइसकेका थियौ । काँचै मान्छेको मासु त खाँदै थियौ । नरभक्षीहरू गाजामा त सासना बालबच्चा खाँदै थियौ त । लेबनान र इरानमा पनि मान्छे खायौ । अपराधीहरू । नरसंहारकारी हो । थू–थूक्क ।
ए महाअपराधीहरू हो !
म को हो ? चिन्छौ ?
ल चिन अब ।
म– हिरोशिमा हुँ ।
म– नागासाकी हुँ ।
अब ध्वस्त हुने पालो छ – तेल अबिब, मस्को र वासिङटनको । अनि लण्डन र पेरिस पनि ध्वस्त गर्ने हो । हिरोशिमा मात्रै किन सिद्ध्यायौ ? कोही बाँकी रहन्नौँ अब । अन्तिम शान्ति हुन्छ । मिलेर बस्न नजान्नेहरू महामूर्खहरू हुन् । पृथ्वी त सिद्ध्यायौ, अब तिमीहरू पनि सिद्धिनुपर्छ । पापी मानिसहरू हो । लौ उपहार । हाहाहाहाहा ।
म लिटिल बोय– २ हो ।
म फ्याट म्यान– २ हो ।
हाहाहा !
तेस्रो विश्व युद्धको उपहार– ध्वस्त संसार ! आगो, चिहान र खरानी । अब कालरात्री शुरु भयो ।
नेपथ्यमा एकोहोरो संगीत बज्छ: पृथ्वीको रोदन, क्रन्दन र चित्कारको । भयंकर आवाज आइरहन्छ, बिस्तारै बिस्तारै यो सुनसान हुन्छ । घर्ती चिहानघाट जस्तो हुन्छ । सभ्यता निष्पट्ट छ ।
पृथ्वी सयौं वर्षपछि फेरि उठ्छ । यो धर्ती आफ्नो मृत्युको इतिहास पढ्छ र पश्चाताप गर्छ । फेरि मानिसहरू उठछन् र ती मानिसहरूको डिएनए फरक छ । खासमा त यी महामानव बुद्धजस्ता भएका छन् । अर्थात् सबैले “भवतु सब्ब मंगलम: सदासत्ती भवन्तूते” भनिरहेका छन् । बुद्धका आँशुहरू बग्दैछन् मानवजातिको पुर्नःउद्धारका लागि । महामानव बुद्धका अवतार फेरि जागृत हुँदैछन् । क्रमशः क्रमशः पृथ्वी जाग्दैछ ।
(पर्दा खस्छ ) नाटक पटाक्षेप हुन्छ ।

