साहित्यपोस्ट डट कम

‘स्रष्टा सिर्जना हाम्रो गहना’ कार्यक्रममार्फत् साहित्य उत्सव सम्पन्न

‘स्रष्टा सिर्जना हाम्रो गहना’ कार्यक्रममार्फत् साहित्य उत्सव सम्पन्न

मोरङ। मोरङको बेलबारीमा जारी ‘दोस्रो बेलबारी महोत्सव–२०८२’ साहित्यिक गतिविधिले साहित्यमय बनेको छ। बेलबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस २६ गतेदेखि सुरु भएको महोत्सवअन्तर्गत माघ २ गतेलाई साहित्य उत्सवका रूपमा मनाइएको हो।

स्थानीय उद्योग तथा व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु भएको महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा हरेक दिन विभिन्न कलाकार तथा सर्जकका प्रस्तुति समावेश हुँदै आएका छन्।

‘स्रष्टा सिर्जना हाम्रो गहना’ नाम दिइएको साहित्यिक कार्यक्रम बेलबारी साहित्य विकास समितिको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रममा साहित्यकार हर्कमान तामाङ, बेलबारीका स्रष्टा एवं राजनीतिकर्मी इरान राई, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, आम्लाबुङ साहित्य संसारका अध्यक्ष धनजित पराजुली, अलङ्कार कला केन्द्रका अध्यक्ष चण्डी साङपाङ राईलगायत विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा भाषा–साहित्यसँगै विद्यालयका शिक्षक, विद्यार्थी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। साहित्यिक सत्रमा तिला लेकाली, नवराज पोखरेल ‘नवशिला’, कोपिला आस्था राई, विष्णु भण्डारी आचार्य, चिरञ्जीवी काफ्ले, गोविन्द हुक्पा चोङ्बाङ, नीरु गौतम, उमा सिजापती, शिव पराजुली, राजु परियार, शिक्षा भट्टराईलगायत स्रष्टाहरूले रचना वाचन गर्नुभएकाे थियाे ।

त्यस्तै, कमलमणि नेपाल (खुपीका बा), चण्डी साङपाङ राई, सुरेश राई, सानु राईलगायत कलाकारले सांगीतिक प्रस्तुति दिनुभएकाे थियाे । कार्यक्रममा रमेश निरौलाको ‘भावका भँगालाहरू’ (गजलसङ्ग्रह) भित्रका दुई गजल तथा चिरञ्जीवी काफ्लेको एक गजल सङ्गीतमा प्रस्तुत गरिएको थियो।

यस अवसरमा विद्यालय तहका विद्यार्थीहरूलाई पनि साहित्यिक मञ्च प्रदान गरिएको थियो। लक्ष्मी मावि, बेलबारी–११ की छात्रा सपना बुढाथोकी, भगवती मावि, बेलबारी–३ की छात्रा अनुशा सुवेदी, शिक्षा सन्देश इङ्ग्लिस स्कुल, बेलबारी–२ की छात्रा तपश्याश्री ढकाल तथा सगरमाथा इङ्ग्लिस स्कुल, बेलबारी–१ का छात्र युसन सापकोटाले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रमको सञ्चालन बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले गर्नुभएकाे थियाे । साहित्यिक कार्यक्रमले बेलबारी महोत्सवलाई सिर्जना, चेतना र संस्कृतिसँग जोड्दै साहित्यको प्रभावकारी उपस्थिति स्थापित गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.