सोलुखुम्बु । “मेरो राष्ट्र, मेरो ध्येय” मूल नारासहित नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको आयोजनामा सोलुखुम्बुको सल्लेरीस्थित द हिमालयन याक होटेलमा विशेष ‘सिर्जना उत्सव’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय संस्था श्री नवयुग साहित्य, कला सेवा समाजले सहकार्य गरेको थियो ।
स्रष्टा मणि लोहनीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा कवि–निबन्धकार मोमिलाको अध्यक्षता तथा अग्रज कवि एवं सडकनाटकका प्रणेता अशेष मल्लको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख संरक्षक डा. बिमल कोइराला, व्यङ्ग्य कवि लक्ष्मण गाम्नागे, समालोचक महेश पौड्याल तथा सोलुखुम्बुका जिल्ला समन्वय अधिकारी चन्द्रसिंह श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
उत्सवका अवसरमा ‘योगेश्वर वाङ्मय पुरस्कार–२०८२’ रुकुम पश्चिमका स्रष्टा पूर्ण ओलीलाई तथा ‘ग्रेगरी कला–संस्कृति पुरस्कार–२०८२’ सोलुखुम्बुका स्रष्टा मनुहाङ किराँती सोलु (युमन खालिङ)लाई प्रदान गरिएको थियो । प्रमुख अतिथि अशेष मल्ल र प्रमुख संरक्षक डा. बिमल कोइरालाले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा समालोचक महेश पौड्यालले की नोट प्रस्तुति दिँदै पुरस्कृत स्रष्टाहरूको परिचय प्रस्तुत गर्नुभयो भने केशवदेव गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । करिब पच्चिस जना कविहरूले कविता वाचन गर्दै कार्यक्रमलाई साहित्यिक रूपमा समृद्ध बनाउनुभएकाे थियाे ।
अतिथि कवि डा. कृष्णराज डी.सी.ले मन्दाक्रान्ता र शार्दूलविक्रीडित छन्दमा कविता प्रस्तुत गर्नुभएको थियो भने लक्ष्मण गाम्नागेले व्यङ्ग्यात्मक शैलीमा सोलुखुम्बु र काठमाडौँको तुलना गर्दै दर्शकलाई हसाउनुका साथै भावुक बनाउने कविता वाचन गर्नुभएको थियो ।
यसैगरी राजेश्वर कार्की, तुलसीहरि कोइराला, मणि लोहनी, अनीता कोइराला, लक्ष्मी रुम्बा, वीरेन्द्र ग्यावा तामाङ, तारा सुनुवार, जयदेव भट्टराई, मुकुन्द प्रयास, सुवास सजललगायतले कविता वाचन गर्नुभएकाे थियाे भने स्थानीय कविहरू सुष्मा बस्नेत, सुवास सङ्गम राई, मेरुदण्ड राई, केशव कुलुङ, रामकुमार राई, गङ्गा राई, तिब्बत राई, महेन्द्रदीप राई, शम्भु निःशब्द, मनुहाङ किराँती सोलुलगायतले स्थानीय रंगका सशक्त प्रस्तुति दिनभएकाे थियाे ।
प्रमुख अतिथि अशेष मल्लले स्थानीय कला, संस्कृति र उत्पादनको प्रवर्द्धनमार्फत सोलुखुम्बुलाई अझ आकर्षक बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । प्रमुख संरक्षक डा. बिमल कोइरालाले समाज विकासका लागि कला–साहित्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । पुरस्कृत स्रष्टाका तर्फबाट पूर्ण ओलीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्थानीय साहित्यकार उत्रकुमार राईले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष मोमिलाले सिर्जना र सद्भावमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको बताउनुभयो ।
२०६३ सालमा ललितपुरमा स्थापना भएको नेपाली कलासाहित्य डट कम प्रतिष्ठान कला, साहित्य, संस्कृति, दर्शन र इतिहासको प्रवर्द्धनमा सक्रिय रहँदै अध्ययन–अनुसन्धान, प्रकाशन, सम्मेलन तथा स्रष्टा सम्मानजस्ता विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

