“बाँच्न भन्दा मर्न गाह्रो हुँदो रहेछ । मर्नकै लागि बाँचिरहेकी छु यहाँ । बाँच्न पनि त कहाँ सजिलो छ र मरेतुल्य भएर बाँचेकी छु । भगवान् पनि कति निष्ठुरी हुन् क्यार ! मलाई किन जीवित राखेका होलान् अहिलेसम्म । भगवान् पक्षपाती हुँदैनन् भन्थे तर मेरो हकमा भने साह्रै पक्षपाती रहेछन् । मलाई कालको जिम्मा नलगाएर किन भाग्यको जिम्मामा छाडेका होलान् । हुन त बाआमाले भगवानको जिम्मा लगाएर जानुभएको भए पो भगवानलाई दोष दिनु । म त भाग्यको भागमा परेर बाँचेकी मान्छे । जे जस्ता भाग्यरेखा कोरिएका छन् त्यही र त्यस्तै भोग्नुछ यो संसारमा ।” भवदेवीले लामो सास फेरेर भनेका वाक्य थिए यी । भवदेवीको बोली सुनेर मेरा आँखाको बादल कतिखेर वर्षामा परिणत भयो पत्तै पाइनँ । आँसुका थोपा आँखाको डिलबाट गालामा पुगेपछि मात्रै थाहा पाएँ; म त रोएको पो रहेछु । भवदेवीको बोलीले मलाई यसरी तान्यो की मानौँ ऊ र म चुम्बकका दुई असमान ध्रुव हौँ । जो एक अर्काले एक अर्कालाई आफूतिर तानिरहन्छन् । एक आपसमा टाँसिएका दुई चुम्बक अलग गर्न सकिन्थे तर भवदेवीको बोलीबाट भने म अलग भएर बस्न सक्दिनथेँ । र त भवदेवीसँगै उकालो लागेँ ।
चौतारीमा बसेर भवदेवीले मनमा लागेका सबै प्रश्न एकै सासमा सोधी, “तपाईंको नाम के हो ? घर कहाँ हो ? के गर्नुहुन्छ ? यहाँ के गर्न आउनुभएको हो ?…”
भवदेवीले एकै सासमा सोधेका प्रश्नका उत्तर मैले भने एकै सासमा दिन सकिनँ । ऊ बसेको ढुङ्गाको पल्लो छेउमा बसेर भनेँ, “मेरो नाम शिवराज हो । म काठमाडौँबाट आएको हुँ…।”
मैले काठमाडौँबाट आएको हुँ भनेपछि भवदेवीले आफूले सोधेका सबै प्रश्नको उत्तर सुन्न चाहिन् । वा भनुँ उसले थप जान्ने इच्छा राखी । उसले मेरो पाउदेखि शिरसम्म हेरेर भनी,”काठमाडौँबाट…”
मैले भनेँ, “अँ ! काठमाडौँबाट ।”
उसले भनी, “काठमाडौँमा त धेरै गाडी हुन्छन् रे । ठूला-ठूला अस्पताल र स्कुल पनि छन् रे । यस्तै अरु…”
मैले सोधेँ, “तपाईं काठमाडौँ जानुभएको छैन ?”
उसले भनी, “अहँ ! गएकी छैन । पीडा लुकाउने बानी परेका हामीलाई त बाँच्न पाउनु नै सबैभन्दा ठूलो सौभाग्य हो ।”
भवदेवीले कति पीडा लुकाएकी थिई । न त भन्न सकिन्थ्यो । न त अनुमान गर्न नै । पीडा लुकाएर बाँच्न पाउनुलाई सौभाग्य ठानेर बाँचिरहेका मान्छेका पीडा कति र कस्ता होलान् अनुमान गर्न पनि गाह्रो थियो । उसले फेरि थपी, “पीडा लुकाउने बानी परेकाले अहिले त छाती पनि पत्थर बनिसक्यो । आफ्नो मृत्यु मात्रै अट्न सकेको छैन यो छातीमा, अरु त सबथोक अटेको छ । औषधी नपाएर आफ्नो बनाउन नसकेको चार वर्षको छोरो यही छातीमा अडेस लागेर भगवानको प्यारो बनेको हो । सर्पले टोक्दा उपचार नपाएर प्राण त्याग गरेकी दुई वर्षकी छोरी यही छातीमा अडेस लागेर भगवानकी बनेकी हो । उपचारको अभावमा दमले थलिएका ससुरा यही छातीमा अडेस लागेर भगवानका बनेका हुन् । म पाँच वर्षकी छँदा मेरा बाआमाले पनि मेरै छातीमा टाउको राखेर प्राण त्याग गरेका हुन् रे ! पीडा त कति हुन् कति । अहिलेसम्म भगवानकी प्यारी बन्न नसकेकी म मात्रै हुँ ।”
°°
उकालो चढ्दा एकछिन सन्नाटा छायो । न त मैले नै केही भाव व्यक्त गर्न सकेँ । न त भवदेवी नै बोली । लाग्यो पीडाको पहाड बोकेका मान्छेका पीडा लुकाउने ठाउँ कहीँ छैन । पीडाले थिल थिल भएपछि मात्रै मान्छे अक्करे भिर चढ्छन् होला । भिरलाई पनि पिर दिने पीडा बोकेर मान्छे कहाँ पुग्छन् होला । पीडा लुकाएर बाँच्न पाउनुलाई सौभाग्य ठानेर बाँचिरहेका मान्छेका बाँच्नुका अलावा अरु केही सपना छन् होला ? छन् भने के के छन् होला ? मनमा यस्तै प्रश्नहरू नाच्दै थिए । एक मनले सोचेँ मनमा साँचेका सबै प्रश्न भवदेवीलाई सोधूँ । तर मैले नसोधेरै उसले पोखेको मनले नै मेरो मन छियाछिया भइसकेको थियो । त्यसैले मनमा नाचिरहेका प्रश्नलाई मनमै नाच्न दिई उसको पछिपछि उकालो चढ्दै थिएँ । अलि पाँजलो ठाउँमा पुगेपछि पछाडि फर्केर चोर औंलाले देखाउँदै उसले भनी,”ऊ त्यो देखिने भिर लाउने । हामी गाउँलेको गाजो काटने ठाउँ । लाउनेले कति मान्छेको प्राण लियो ? कति पशुको प्राण लियो ? कुनै गिन्ती नै छैन । तर पनि मान्छेले जान छाडेका छैनन् त्यो ठाउँमा । नगएर पनि के गर्नु पशुलाई खुवाउनै पर्यो । आफू खानै पर्यो । पशु नपाले जग्गा जमिन बाँझो रहने । जग्गा जमिन बाँझो रहे आफूले भोक भोकै मर्नुपर्ने । परान छउनञ्जेल पाखापखेरा नपुगेर सुख्ख छैन । मैले पनि एक पटक आफ्ना सबै पीडा त्यही भिरलाई भिक्षा दिन खोजेकी थिएँ । यो प्राणलाई त्यहीँ भिरमा भेटी चढाउन गएकी पनि हुँ । तर त्यहाँ पुगेपछि मेरो मन कसरी बदलियो कुन्नि ! प्राण भेटी चढाउन भनेर गएकी मान्छे म त आफ्नै परानलाई माया पो गर्न थालेँ । भिरको सिकार हुनबाट जोगिन थालेँ । पीडाहरू बिर्सेर आफूलाई प्रेम गर्न थालेँ । अन्तत: मैले हारेँ र एक बिटो गाजो ल्याएर घर फर्किएँ ।”
भवदेवीलाई सुनेपछि मसँग लुकाउनलाई केही थिएनँ । अरु ठाउँ लुकाउने आँसु उसको जीवन कथा सुनेर लुकाउन सकिनँ । वा भनूँ लुकाउने सामर्थ्य ममा थिएन । उसको जीवनकथा कुनै सिनेमाको काल्पनिक कथा भन्दा कम्ति थिएन । अझ भनुँ यस्तो कथानक भएको कुनै सिनेमा नै बनेको छैन भन्दा अन्याय नहोला । बल्ल थाहा पाउँदै थिएँ उसले किन “बाँच्न भन्दा मर्न गाह्रो हुँदो रहेछ । मर्नकै लागि बाँचिरहेकी छु यहाँ ।” भनेर भनेकी रहेछ भनेर ।
मृत्युबाट जोगिनुलाई आफूले हार्नु सोचेर बाँचिरहेका मान्छेका पीडा कति र कस्ता होलान् । पीडा मापन गर्ने कुनै यन्त्र हुन्थ्यो भने शायद भवदेवीका पीडा अगाडि यन्त्रले पनि हार स्वीकार गरेर भन्थ्यो होला,”म मापन गर्न सक्दिनँ ।”
°°
विराटनगरमा जन्मेर अध्ययनपछि केही वर्ष काठमाडौँलाई कर्मथलो बनाएको म सरुवा भएर सुदूरपश्चिमका स्थानीय तहको अस्पतालमा नयाँ डाक्टरको रुपमा गएको थिएँ । उपचारका निम्ति दूरदराजबाट काठमाडौँ आएका मान्छेका मुखारविन्दुबाट पहाडका केही पीडा सुनेको थिएँ । तर पीडाको सिङ्गै पहाड बोकेर बाँचिरहेका मान्छेलाई भने पहिलो पटक देख्दै थिएँ । गाडी गाडीको भिडबाट गाडी नदेखेका मान्छेको भिडमा पुग्दा मलाई नौलो लाग्दै थियो । अवसरवादीहरूको नाराको नयाँ नेपाल शायद यही हो जस्तो पनि लाग्यो । यहाँको विकासले यहाँका मानिसलाई गिज्याउँदै थियो । त्यो गिज्याइबाट म पनि अछुत रहिनँ । पहिलो दिनमै गिज्याइ छोड्यो ।
औषधी नपाएर ज्यान गुमाएको भवदेवीको छोरालाई सम्झेँ । सर्पले टोक्दा उपचार नपाएर मृत्युलाई आत्मसात् गरेकी उसकी छोरीलाई सम्झेँ । यस्तै अरु पनि…
भवदेवी एक प्रतिनिधि पात्र मात्र थिई । गाउँका कयौँ भवदेवीका कथा यस्तै हृदयविदारक थिए । गाउँमा अस्पताल थियो । स्कुल थियो । तर अस्पतालमा औषधी थिएन । योग्य र दक्ष चिकित्सक थिएन । स्कुलमा आवश्यक मात्रामा शैक्षिक सामग्री थिएन । गुणस्तरीय शिक्षा थिएन । विश्व रिमोटमा चलिरहँदा पनि मान्छे औँला भाँचेर आयु र आम्दानीको हिसाब गरेर बाँचेका थिए ।
°°
म धेरै उत्साह बोकेर सेवा गर्न विकट गाउँको एक अस्पतालमा पुगेको थिएँ । अस्पतालले वर्षौँपछि डाक्टर पाएको थियो । अस्पतालमा डाक्टर आएकोमा गाउँलेहरू खुसी थिए । तर मेरो मन भने छियाछिया भइसकेको थियो । म टुटिसकेको थिएँ, वर्षौँदेखि रोग पालेर बसेका गाउँलेहरूलाई देखेर । रोग थाह भएको तर उपचार गर्न खर्च नभएर रोगलाई स्याहारिरहेका अशक्तहरूलाई देखेर ।
कुपोषणले हड्डी र छाला मात्रै बाँकी रहेका बालबालिकाहरुलाई देखेर ।…
रात छिप्पिसकेको थियो । घडीको घण्टा सुइ एकमा पुगिसक्दा पनि म निदाउन सकिनँ । मेरा आँखामा बिरामीका अनुहार मात्रै नाचिरहे । पेटभरि खान नपाएका बिरामीलाई भोको पेटमा औषधी खान दिएर उपचार गर्न कत्तिको सम्भव छ होला भनेर घोत्लिरहेँ । अझ भनुँ म टुटिरहेँ । शायद मान्छे आफैसँग टुटेपछि मान्छे मित्रको मान्छेले नै मान्छेलाई जोड्छ होला । आफूसँग टुटेको बेला आफ्नो सबैभन्दा नजिकको साथी आफू भित्रको आफू नै हुन्छ होला । मलाई त्यस्तै आभास भयो जब म भित्रको मान्छेले भन्यो, “हेर ! शिवराज यो सुविधासम्पन्न सहर होइन । यहाँका मान्छेहरू साधारण टाउको दुख्दा, रुघाखोकी लाग्दा पनि उपचार गर्न अस्पताल पुग्न सक्दैनन् । यहाँका मान्छेहरूलाई बिरामी हुँदा केही काम नगरी पोसिला फलफूल खाएर आराम गर्ने सुविधा छैन । यो त त्यो दूरदराज हो जहाँका मान्छेहरू मृत्युको मुखमा नपुग्दासम्म अस्पताल खोज्दैनन् । गाँस नछुटेसम्म आराम गर्दैनन् । तैँले यसरी टुटेर हुन्न शिवराज उठ्नुपर्छ । तँ नै यसरी टुटिस् भने वर्षौँपछि गाउँलेको अनुहारमा आएको खुसी उडेर जानेछ । तैँले त अस्पतालमा भएका सामग्रीलाई प्रयोग गरेर सेवा सूचारु गर्नुपर्दछ ।” हो त नि ! म नै विचलित भएँ भने यी गाउँलेको खुसी के होला ? मैले त यिनीहरूको घाउमा मलम लगाएर मनलाई शिथिल पार्नुछ । मनमा यस्तै भावहरूलाई नाच्न दिई अलिक सन्तुष्टिको सास फेरेर म निदाएँ ।
°°
बिहान उठेर अस्पताल जानुभन्दा अगाडि गाउँतिर डुलेँ । गाउँमा सद्दे घर एउटाको पनि थिएन । पानी पर्दा जुन फिको आकाशबाट खस्थ्यो त्यही फिको घरभित्र पस्थ्यो । घाम लाग्दा पनि त्यस्तै घरमा खपत भएका ढुङ्गा माटोभन्दा बढी प्रकाश (घाम) का किरण घरभित्र पस्थ्यो । एकाध घरका पणा मात्र सद्दे देखिन्थे भने केही केही घर त उइँठा र मुन्निउँताले बारेर खरले छाएका थिए ।
गाउँ डुलेर आएपछि अस्पताल गएँ । पहिलो दिन दश बजे अस्पताल गएको म दोस्रो दिनदेखि नौ बजे नै अस्पताल जान थालेको थिएँ । अस्पतालमा म पुग्नुभन्दा अगाडि नै बिरामीहरू आएर लाइनमा बसेका थिए । मलाई देखेपछि सबैले आफ्नो निधारमा पारेका गाँठा फुकाइ अनुहार उज्यालो बनाएर नमस्कार गरे । रोग, भोक, शोक र अभावले निधारमा पारेका सबै गाँठा एकैसाथ फुकाएको देख्दा मनमा खुसीका बिरुवा पलाए । मैले मनमनै प्रार्थना गरेँ,”जसरी यिनीहरूले निधारका सबै गाँठा एकैपटक फुकाए, त्यसैगरी यिनीहरूले खर्च र उपचारको अभावमा वर्षौँदेखि पालेका सबै रोग निका होउन् र शरीरमा स्वस्थपनको बत्ती बली अनुहार उज्यालो होस् ।”
मलाई गरेको नमस्कारको प्रत्युत्तर नमस्कार गर्दै म आफ्नो क्याबिनमा गएँ । मेरो मन कटक्क दुख्यो जसले पेटभरि खानुपर्ने थियो, तिनीहरू नै भोकभोकै लाइनमा बसेका देखेर । सोचेँ, “शायद भोक पचाउन सिकेका मान्छेसँग भोक पनि हारेर पर पुग्दो हो । र त बसिरहेका हुँदा हुन यहाँ ।”
कृतिका सिस्टरले पालो अनुसार बिरामीलाई मेरो क्याबिनमा पठाइन् ।
नाम : भाग्य धामी
उमेर : २ वर्ष
करिब ६० वर्षकी भाग्यकी हजुरआमा काखीमा कपडाको पोको च्यापेझैँ भाग्यलाई च्यापेर मेरो क्याबिनमा आइन् । मेरो सामुन्ने कुर्सीमा बसेर भनिन,”डाक्साब यइ अभागिलाई बचाइदिनु पर्यो जसरी भए पनि । यइ भनेर बाँचेकी छु मु पनि ।”
मेरो आँक सिरिङ्ङ भयो । मनलाई अलि दह्रो गरेर सोधेँ,”भाग्यकी आमा हुनुहुन्न ?”
“नाइ आथिन् डाक्साब कोइ पनि आथिन् । बाआमा दुयइ मरिगे । आमा दुई वर्ष अगि याइँ अस्पतालमा यसैलाई जन्म दिएर मरेकी हो । उइ बेला ञाँ कोइ पनि थेइनब । कृतिका मात्रै थिइ अस्पतालमा । अइलका जसा तुम भए त बाँचिहाल्थी मेरी ब्वारी । यो उल्टा जन्मियो । यो जन्मेपछि यइकी आमाको रगत बग्दु रोक्केइन । और ठाउँ लैगे बाँच्थी कि कसो पो काइँ पनि लैजान सक्केइन याइँ मरी । यइको बा पनि मलसिया थियो । घर आउन छुट्टी पाएइन । पर्भात सात बजे यो जन्म्यो । बासाइतक पाँच बजे यइकी आमाको परान गयो । ब्वारीको परान गएपछि आफ्ना बैला छाती चुसाएँ । गाईको दुध खुवाएँ । सास फेर्यो । रोयो । दिनको दिन तङ्ग्रिन थाल्यो । दुःख-सुख गरेर एक मुइना बित्यो । दुई तीन मुइना गर्दै छ मुइना बिते । अब त बाँच्छ जस्तो लाग्यो । हातखुट्टा चलाउन थाल्यो । अन्न खान थाल्यो । बाँच्यो पनि । ठूलै भाग्य लिएर आएको रहेछ । यइका भाग्यसँग कालले पन सकेइन । यइ एक वर्ष पुगेको एक मुइना पछि यइका बाले छुट्टि पाइने हो घर आउने हुँ भन्या थ्यो । दुई दिन अगि फुनमा बात पनि अरेकी थिएँ । चार दिन पछि त मर्यो भन्ने खबर सुनेँ । खबर सुनेपछि कान फुटे । आँखा तिरमिराए । म बौलाएँ । तर पनि मद्द सकेइनँ । छातीमा यइ थ्यो । यइका लागि भए पनि बाँच्नुपर्छ भनेर बाँचेँ । घरमा रुङ्ङ लाउने काम अद्दथ्यो । रुङ्ङ लाउनेबेला डोरी दुटिबट मरेको रे । यसइ भुन्थ्य उइसित काम अद्दे हुने । यसरी ऊ अरुकै माटोमा बिलायो । मुइले त मद्देबेला पनि चेलाको मुख देख्न पाइनँ । आँखाइ अगाडि ब्वारी मरी । चेलो मर्यो । अइल यइ भनेर बाँचेकी छु ।”
°°
भाग्यकी हजुरआमा मेरो अगाडि भाग्यको जीवन माग्दै हुनुहुन्थ्यो । वा भनुँ आफ्नो बुढेसकालको एक मात्र सहारा टुहुरो नातिको जीवन माग्दै हुनुहुन्थ्यो ।
हरेक मान्छेको औँठा छाप फरक-फरक हुन्छ भनेर पढेको थिएँ । तर यहाँ भने एउटै परिवारमा बाँचिरहेका मान्छेका जीवनकथा पनि फरक-फरक पाएँ । सहरमा बसेर किताबमा पढेको पहाड र आफ्नै आँखाले देखेको अनि आफ्नै हातले छामेको पहाडमा गहिरो अन्तर पाएँ ।
भाग्यलाई आफ्नो काखमा लिएँ । छामछुम गरेँ । बाहिरबाट नै उसका शरीरका सबै हड्डी गिन्ती गर्न सकिन्थ्यो । खाएको कहाँ कसरी पुग्यो खुला आँखाले प्रस्टै देखिन्थ्यो । मैले एकछिन उसलाई हेरिरहेँ । ऊ मलाई हेरेर मुस्कुराउँदै थियो । तर म भने उसँग मुस्कुराउन सकिनँ । टुटिरहेँ । भित्रभित्रै रोइरहेँ । टोलाइरहेँ । म टोलाएको देखेर भाग्यकी हजुरआमाले भन्नुभयो, “के भयो डाउटर यो बात्ते हुइन्ब । केलाई केइ नाइ भुन्नाँ ।” यत्ति भनेर मुखमा सलको बुजो हालेर आँसुले अनुहार धुन थाल्नुभयो । शायद आवाज ठूलो निस्किने हो भन्ने सोचेर मुख बन्द गर्नुभएको थियो होला । तर न त भित्रको चित्कारलाई रोक्न सक्नुभयो । न त आँसु लुकाउन सक्नुभयो । न त डाँको छोडेर रुन नै सक्नुभयो ।
उहाँका आँसु अगाडि मैले हासिल गरेको डाक्टरी शिक्षा अनुत्तीर्ण भयो । किताबका ठूला ठूला ठेलीहरू पढेको थिएँ । तनको घाउ निको बनाउने औषधीका परिकारको नाम जिब्रोमा झुण्ड्याएको थिएँ । तर त्यहाँ तिनीहरूको केही औचित्य थिएन । त्यहाँ त अदृश्य मनमा मलम लगाउने मान्छेको आवश्यकता थियो । वा भनुँ मनलाई शान्त बनाइदिने मान्छेको खाँचो थियो । जो मैले डाक्टरी शिक्षा पढ्दा कहिल्यै पढेको थिइनँ । बरु केही कुरा यही ठाउँमा आएपछि सिकेको थिएँ । जति सिकेको थिएँ त्यति मात्रैले भए पनि उहाँको मनमा सान्त्वनाको मलम लगाइदिएँ र भनेँ,”नातिको धेरै चिन्ता लिनु पर्दैन । निको भइहाल्छ । खानापानमा ख्याल गर्नुहोला । औषधी बराबर खुवाउने गर्नुहोला । दश दिनका लागि औषधी दिएको छु । दश दिनपछि फेरि आउनुहोला ।”
निको भइहाल्छ भनेपछि चेहरामा गुलाफ फुल्यो । अगाडिका थोते दाँत देखाउँदै ङिच्च हाँसेर भनिन्,”हुन्छ डाउटर अइल मु जान्छु । आज दिल बहादुरकोमा बाउरु जानुछ ।” यत्ति भनेर भाग्यलाई मजेत्रोले पिठिउँमा बाँधेर उनी आफ्नो घरतिर लागिन् ।
°°
दिनभरि थरीथरीका बिरामीको उपचार गरे पनि मेरा आँखामा भाग्यको अनुहार मात्रै नाचिरह्यो । मनमस्तिष्कमा ऊ बसिरह्यो । ऊ यसरी बस्नुमा खास त केही थिएन । थियो त केवल भाग्यकी हजुरआमाको विलाप ।
साँझको पाँच बजिसकेको थियो । आएका जति सबै बिरामी घर फर्किसकेका थिए । म फुर्सदमा थिएँ । मलाई भाग्यको बारेमा थप जान्ने इच्छा लाग्यो । भाग्यकी हजुरआमाले कृतिका सिस्टरको नाम लिनुभएकाले मैले सिस्टरलाई आफू भएको ठाउँमा बोलाएर सोधेँ, “तपाईं भाग्य र भाग्यकी हजुरआमालाई चिन्नुहुन्छ ?”
“अँ चिन्छु सर । अहिले त धनमाया बज्यैको हरिबिजोग छ ।”
“हरिबिजोग …”
“अँ ! हरिबिजोग ।”
” किन ?”
“खै ! के भनुँ सर । भवदेवी परलोक भएदेखि धनमाया बज्यै मरेतुल्य भएर बाँचेकी छन् ।”
“भवदेवी…”
“अँ ! भवदेवी ।”
कृतिका सिस्टरले भवदेवी भनेपछि मेरो आङ् सिरिङ्ङ भयो । मनमनै आफूले आफैलाई भनेँ,”कतै तिनै भवदेवी त होइनन् । जसलाई मैले यो ठाउँमा आउँदा बाटोमा भेटेको थिएँ । जोसँग म घण्टौँ गफिएर उकालो चढेको थिएँ । जसले सिङ्गै पीडाको पहाड छातीमा बोकेर बाँचेकी थिइन् ।”
फेरि कृतिकालले सुन्ने गरी मन्द स्वरमा भनेँ,”भवदेवी….”
“अँ ! भवदेवी सर । एक महिना अगाडि मात्रै भवदेवीले प्राण त्याग गरी । भाग्यकी सौतेनी आमा । भूमिरामले विवाह गरेको १०/१२ वर्षसम्म पनि सन्तान भएनन् । समाजले सन्तान हुन नसक्ने आइमाई भनेर हेप्न थाल्यो । भूमिरामले पनि दोस्रो विवाह गर्यो । भवदेवी यो सबै सहेरै बसेकी थिई । तर सन्तान नहुनुमा कमजोरी भवदेवीको थिएन । कमजोरी भूमिरामको थियो । वा भनुँ समस्या भूमिराममा थियो । दोस्री जहानबाट पनि सन्तान नभएपछि ऊ आफ्नो समस्या बोकेर उपचार गर्न काठमाडौँ गयो । उपचार गरेर आएपछि मात्रै ऊ बाउ बन्यो । त्यसपछि भवदेवी एक छोरा र एक छोरी गरी दुई सन्तानकी आमा बनी । तर ती दुवै सन्तान बाँचेनन् । चार वर्षको छोरा र दुई वर्षकी छोरी माटो बने । छोराछोरी दुवै उपचारको अभावले माटोमा मिसिएका थिए । भाग्य जन्मेकै दिन भवदेवीकी छोरीको मृत्यु भएको थियो । छोरी र सौताको एकै चिहान भएपछि वियोगको पीडा सहन नसकेर ऊ बौलाइ । सात आठ महिनासम्म त उसको दिमाग नै ठेगानमा थिएन । नौ दश महिना पछि बल्ल घरपरिवार सम्हाल्ने भएकी थिई । बिस्तारै निकी हुँदै थिई तर के गर्नु भाग्यले ढाँटेपछि भागमा परेको पनि नबच्दो रहेछ । केही महिना पछि उसमाथि अर्को वज्रपात आइलाग्यो । परदेशी पति परलोक भए । ऊ विक्षिप्त भई । पीडा सहन नसकेर मर्न खोजी । तर मर्न सकिन । भाग्यको लागि भए पनि बाँच्नुपर्छ सोचेर बाँची । यसरी बाँचेकी भवदेवी एक महिना अगाडि मरेकी थिई सर ।”
जन्मेदेखि मृत्युसम्म दु:खलाई स्याहारिरहेकी भवदेवी अन्ततः दु:खको पोको छातीमा बोकेर कहिल्यै नफर्किने बाटोमा गई । ऊ माटो बनेको खबरले मेरो मन विक्षिप्त भयो । म छाँगोबाट खसेको छहरो जस्तै भएँ । अब ऊ मेरो स्मृतिमा मात्र रही । म स्मृतिमा उसको अनुहार बोकेर घरतिर लागेँ ।

