साहित्यपोस्ट डट कम

संस्मरण : बौद्धिक बोको

संस्मरण : बौद्धिक बोको

प्रेमिकाहरूमध्ये एउटी थिई, जो अहिले स्पेनमा छे । स्पेन पुगेपछि झन बेसी लोभलाग्दी भएकी छे, हातबाट उम्किएको माछो ठूलो लागेजस्तै । प्रेम सम्बन्धमा रहँदा उसले बेलाबेला जिस्काउँदै मलाई भनिरहन्थी, “तपाईं त बौद्धिक बोको हो ।”

थोरै उत्सुक हुँदै मुस्कुराउँदै म सोध्थेँ, “त्यो भनेको चाहिँ कस्तो नि फेरि ?”

थप स्पष्ट पार्दै भन्थी, “खासमा केटा सबै बोकै हुन् । तर, तपाईं चाहिँ अलिक बौद्धिक पाराको हुनुहुन्छ ।”

“त्यो चाहिँ कसरी नि ?” फेरि प्रश्न तेर्साउँथेँ ।

मुस्कुराउँदै बोल्थी, “तरुनी कता छन् ? आइमाई कता छन् ? भन्दै आफू खोज्दै नहिँड्ने । तर, कोही जिस्किँदै, मस्किँदै आउनेलाई आफ्नो जालमा पारिहाल्ने । र, गर्नुपर्ने जति सबै गरिहाल्ने ।”

कुरा बुझेझैँ गरी मुस्कुराइदिन्थेँ ।

कुनै समय थियो जतिबेला म सम्बन्धप्रति यति धेरै इमानदार हुन्थेँ, त्यति इमानदार एउटा छोरा मान्छे शायदै हुन्छ । कुनै केटीले प्रेम प्रस्ताव राखिहाले भने पनि ‘मेरो त प्रेमिका छ’ भनेर टारिदिन्थेँ । कसै-कसैले त सेक्सका लागि मात्र भए पनि मसँग सम्बन्ध राख्न चाहन्थेँ । र, भन्थे, “मलाई तिम्रो घरमा भित्र्याउनु पर्दैन । तिम्रो प्रेमिकालाई पनि छोड्नु पर्दैन, बस मेरो सेक्स पार्टनर मात्र बनिदेऊ ।”

“माफ गर्नुहोला ! म आफ्नी प्रेमिकाबाहेक अरूसँग कुनै पनि किसिमको सम्बन्ध राख्न सक्दिनँ र चाहन्न पनि ।” गम्भीर हुँदै म जवाफ दिन्थेँ ।

त्यतिसम्मको इमानदारीता ममा थियो, जुन इमानदारिता मैले आफ्नो पहिलो प्रेमका लागि देखाएको थिएँ । पहिलो प्रेम भत्किएपछि त्यो इमानदारिता ममा फेरि कहिल्यै देखिएन ।

अहिले कहाँ गयो होला मेरो त्यो इमानदारीता ? “खोइ गाई ? खोलाले बगायो !” भनेजस्तै भयो मेरो इमानदारीता पनि । कता बग्यो-बग्यो ।

सम्झिन्छु – त्यस्तो इमानदार त्यो केटो आज कसरी यस्तो छाडा भयो ? कसरी यतिसम्मको छाडा हुन सक्यो होला ? आफैँलाई अचम्म र रमाइलो पनि लाग्छ । जवाफमा मनले एउटै कुरा भन्छ – पहिलो प्रेम ।

त्यति इमानदारपूर्वक गरिएको पहिलो प्रेम असफल भएपछि मैले आफूलाई यसरी खुल्ला छोडिदिएँ कि, चाहेको खण्डमा जसले पनि मलाई एकक्षणको लागि आफ्नो बनाउँथे र धेरैले बनाए पनि ।

जसले मलाई ‘बौद्धिक बोको’ भनेर नामाकरण गरिदिई, उसैसँग चाहिँ भौतिक रूपमा अहिलेसम्म भेट हुन सकेको छैन । भिजा लागेर युरोपको उडान भर्दै गर्दा उसलाई भनेको थिएँ, “दुबई ट्रान्जिट पार्नु । एक दुई दिनको ग्याप राख्नु । दुबईको भिजा म निकालिदिउँला । बाँकी खाने बस्ने व्यवस्था म गरिहाल्छु । एक दुई रात भए पनि सँगै बिताउन पाइन्छ ।”

मेरो कुरा सुनेर ऊ एकछिन त खुशी भएकी थिई । तर, त्यतिबेलासम्म एजेन्टले कतारको ट्रान्जिट राखेर उसको टिकट कन्फर्म गरिसकेको रहेछ । भेट हुने एउटा अवसर त्यहीँ चुक्यो । तर, हाम्रो भिडियो कल हुन्थ्यो । भिडियो कल हुनुको मतलब हो हामी एकार्कालाई एकार्काको रहस्यसँग भेट गराउनु हो । बरु मकैको घोगा नङ्ग्याउन समय लाथ्यो होला । तर, हामी… कति पनि समय लाग्दैन थियो ।

उसले मलाई सधैँ एउटै गुनासो गरिरहन्थी । ऊ भन्ने गर्थी र अहिले पनि त्यही भन्छे, “तपाईं मप्रति कहिल्यै इमानदार हुनु भएन । तपाईं मलाई प्रेम त गर्नुहुन्थ्यो । तर, कताकता बरालिरहनु हुन्थ्यो । तपाईंको प्रेममा समर्पण थिएन ।”

लाग्छ – पहिलो प्रेम भत्किएपछि कसैप्रति समर्पित भएर बसिरहन सक्ने क्षमता नै मैले गुमाएँ । त्यसैले त जसले जता-जता ललिपप देखाउँछन्, म उतै-उतै लोभिन्छु केटाकेटी जस्तै ।

प्रेम सम्बन्धमा भइरहँदा उसैकी अर्की साथीसँग पनि म बेलाबेला जिस्किरहन्थेँ, मस्किरहन्थेँ । उसकी साथी पनि उस्तै थिई फेरि, ऊ अहिले अमेरिकातिर छे । आफ्नै मिल्ने साथीको व्वाइफ्रेन्ड हो भन्ने जान्दाजान्दै पनि मलाई जिस्काइरहन्थी । मसँग मस्किरहन्थी । अनेक कुरा गरेर मलाई आफ्नो जालमा पार्ने कोशिश गरिरन्थी । एउटी राम्री केटीले जिस्काइरहँदा मेरो मन त्यसै-त्यसै पग्लिएर आउँथ्यो । तर, नाङ्गिने कुरामा भने ऊ कहिल्यै तयार भइन । मलाई चाहिँ नङ्ग्याउन खोज्थी । तर, म एक्लै नाङ्गिन राजी भइनँ । एक दिन म रङ्गेहात समातिएँ । त्यसपछि दुबैतिरको खेल एकैपटक समाप्त भयो ।

कुराकानीकै क्रममा एकदिन मैले उसलाई (अहिले स्पेनमा हुने) भनेँ, “बिहे गरेपछि एउटी छोरी र एउटा छोरा जन्माउनु पर्छ है ।”

उसले मुस्कुराउँदै भनी, “छोरो त नजन्माउने !”

“किन नि त्यस्तो चाहिँ ?” आश्चर्य मान्दै सोधेँ ।

भनी, “छोरा पाएर के गर्नु ? तपाईंजस्तै बोको निस्कियो भने !”

त्यतिबेला म मुस्कुराएँ मात्र । उसलाई मप्रति त विश्वास थिएन-थिएन, उसैको कोखबाट जन्मिन लागेको आफ्नै छोराप्रति पनि विश्वास लागेन । खासमा छोरा मान्छेको जातै यस्तै हो ? कि हामीले आफ्नो मति बिगार्दै गएको मात्र हो ? सामाजिक सञ्जालमा आदर्श छाँट्ने र इन्बक्समा गएर नाङ्गिने पुरुषहरू धेरै छन् । त्यही ड्याङको एउटा मुला म पनि हो । जसलाई मेरी पूर्व प्रेमिकाले ‘बौद्धिक बोको’ नामाकरण गरिदिएकी थिई ।

यतिबेला मलाई भने कवि/गीतकार श्रवण मुकारुङको भर्खरै बजारमा आएको पहिलो उपन्यास ‘सलह’की मुख्यपात्र नायुमाले भनेको कुरा याद आयो । ऊ भन्छे, “नारीले देखाएको आदरसम्मान, स्नेह वा प्रेमलाई पुरुषहरू किन ठीक ढङ्गले महसूस गर्न सक्दैनन् ? कि पुरुषको कामवासनाको आँखा हुँदैन ? कि विवेक हुँदैन ? प्रकृतिले कि समाज कसले उनीहरूलाई यस्तो बनायो ?” उपन्यासको अन्त्यतिर ऊ फेरि भन्छे, “लोग्ने मान्छे खासमा पशु नै हो । तिनलाई स्वास्नी मान्छेले नै भगवान् बनाको हो । तथाकथित भगवान् ।”

= = = =

बिहानको साढे ६ भइसकेको रहेछ । मेरा आँखा खुले । आँखा खुल्ने बित्तिकै मोबाइलको डाटा अन गरेँ । र, उनलाई म्यासेज लेखेँ, “गुड मर्निङ डियर ।”

म्यासेज पठाउनुअघि उनको म्यासेज आइसकेको रहेछ, जो हिजो म सुत्नेबेलामा उनले पठाएको अन्तिम म्यासेज थियो ।

“राति म आउँछु है ! सुत्ने ठाउँ राखिदिनु मलाई ।”

“गुड नाइट डियर” भनेर म अफलाइन भएको थिएँ । त्यसपछि आएको उनको यो म्यासेज मैले बिहान मात्र देखेँ । मलाई थप ढुक्क पार्दै उनको अर्को पनि म्यासेज आएको थियो ।

“ल ल ! स्योर आउँछु नि !”

आउन त उनी राति सपनीमा आइनन् । तर, बिहान बिउँझिएपछि मलाई भने उनको याद आउन थाल्यो । “यस्तो पनि हुँदो रैछ है ?” मनमनै कुरा खेलाएँ । एकैदिनको च्याटिङमा हामी साहित्य लेखनको कुरादेखि सँगै रात बिताउनेसम्म पुग्यौँ । राति अबेरसम्म च्याटिङमा बोलेकोले गर्दा बिहान सधैँको समयमा उठ्न सकिएन । समयमा उठ्न नसकेपछि नियमित गर्दै आएको व्यायम पनि छुट्यो । नयाँ सम्बन्धको चक्करमा मैले आफ्नो एकदिनको स्वास्थ्य गुमाएँ । हुन त रातिसम्म त्यसरी नबोलेको भए हामी त्यति परसम्म शायद पुग्ने पनि थिएनौँ । कुराकानी जुन स्पिडमा दौडिरहेको थियो त्यसलाई ब्रेक लाउने पक्षमा म थिइनँ । यदि मैले ब्रेक लगाएको भए हामीबीच यो किसिमको सम्बन्धको सुरुवात पक्कै हुने थिएन । हिजोको कुराकानी बिचैमा रोकेर आज सुरु गरेको भए, हाम्रो सम्बन्धले यो उचाइ पक्कै हाँसिल गर्ने थिएन । रात बितिसक्दा कुरोको चुरो अन्तै पुग्ने थियो । त्यसैले, राति अबेरसम्म कुराकानी गरेर भए पनि हाम्रो सम्वादलाई एउटा यस्तो बिन्दुमा पुर्याइदिएँ, जहाँ पुगेपछि अब मलाई कुनै संकोच हुने छैन उनीसँग कुराकानी गर्न र मस्ती गर्न ।

“यही बेला म काठमाडौँमा हुन पाएको भए कस्तो रमाइलो हुन्थ्यो होला है ? ओ हो !” मनमनै घिउको लड्डु खाइरहेको थिएँ । भौतिक रूपमा सशरीर भेट हुने अवसर आउला नआउला, अथवा कहिले आउला ? म त्यो भन्न सक्दिनँ । तर, कम्तीमा अनलाइन सेक्सका लागि नयाँ साथी पाएकोमा चाहिँ म मक्ख थिएँ ।

“म यसरी किन बिग्रेको होला है ?” आफैँ प्रश्न गरेँ । बिहान बेलैमा उठेर आफ्ना सबै काम सक्ने म, आज त्यो भएन । तर, मनमा एक किसिमको खुशी भने थियो – केही दिनलाई नै सही एउटा नयाँ पार्टनर पाइयो ।

सामाजिक सञ्जालमा उनीसँग जोडिएको केही दिन मात्र भएको थियो । जोडिएकै दिन केही म्यासेज आएका थिए । जहाँ मेरा कविताको प्रशंसा गरिएको थियो । मैले पनि धन्यवाद दिएपछि हाम्रो सम्वाद टुङ्गिएको थियो । केही दिनसम्म हामीबीच फेरि केही सम्वाद भएन । मैले पनि त्यसलाई जरुरी ठानिनँ । त्यसरी कविताको प्रशंसा गर्नेहरूसँग फेरि-फेरि के भनेर कुराकानी गर्नु ? तर, कसैले दोहोर्याएर म्यासेज गर्छ भने जवाफ दिन चाहिँ म जहिल्यै तयार हुन्छु । मैले पो कसैलाई अनावश्यक म्यासेज गरेर दु:ख दिनु भएन त, तर कोही मसँग बोल्न इच्छुक छ र बोल्न चाहन्छ भने बोलिदिनमा मलाई के समस्या ? कसैप्रति इमानदार भएर बस्नु पर्ने बाध्यता नभएपछि सजिलो हुँदो रहेछ, जोसँग जसरी बोले पनि हुने ।

केही दिनको अन्तरालपछि उनले फेरि म्यासेज गरिन् । यसो नाम हेरेँ, उही नामबाट पुनः म्यासेज आएको रहेछ । कुराकानीको केही समयसम्म हालखबर र आफू बसेको ठाउँको जानकारी आदन प्रदान भए । त्यसपछि म रोकिएँ । किनभने उताबाट थप म्यासेज नआएपछि मैले पनि थप म्यासेज गरिरहनु आवश्यक ठानिनँ । सोचेँ – सायद उनलाई पुग्यो । मबाट कुनै म्यासेज नगएपछि एकछिनमा उतैबाट म्यासेज आयो, “कति राम्रा-राम्रा क्याप्सन पोस्ट गर्नुहुन्छ, अति मन पर्छ ।”

मलाई फुर्क्याउन मात्र त्यसो भनिएको थियो अथवा उनलाई साँच्चै नै मेरा शब्दहरुले छोएको थियो, त्यो त मलाई थाहा हुन सकेन । तर, मैले बदलामा भनेँ, “है..! धन्यवाद मन पराइदिनुभएकोमा ।”

उताबाट प्रशंसा रोकिने छाँटकाँट थिएन । पुन: उस्तै खालको प्रशंसाले भरिएको म्यासेज आयो, “कहिले पढेर रुन्छु त कहिले मन खुशी हुन्छ । अति मन छुने हुन्छ । कति सिपालु हो के तपाईं त !”

मख्ख पर्दै मैले भनेँ, “आफ्नो जिन्दगीसँग मेल खायो भने पनि यस्तो हुन्छ नि । हजुरको जिन्दगीमा मेल खाएर होला शायद ।”

“होइच त !” मेरो कुरामा सहमति जनाउँदै उनको जवाफ आयो ।

“किन त्यस्तो-त्यस्तो लेख्नु हुन्छ ?” उत्सुकता जनाउँदै उताबाट प्रश्न तेर्सियो ।

जवाफमा मैले के कारण भन्ने ? धेरैलाई के लाग्छ भने – मान्छे जस्तो-जस्तो जिन्दगी बाँचिरहेको छ, उसले त्यस्तै-त्यस्तै लेख्छ । केही हदसम्म यो सोचाइ ठीकै पनि हो । तर, एउटा कवि लेखकले लेखेको कुरालाई उसैको जिन्दगीसँग जोडेर किन पो हेर्नु पर्यो र ? लेखेको कुरा मन पर्नु र नपर्नुमा नै सीमित रहन पर्छ, लेखक र पाठाक बीचको सम्बन्ध, मलाई यस्तो लाग्छ । त्यसैले भनेँ, “हामी लेख्ने मान्छे यस्तै त हो नि । बेलाबेला लेख्न मन लाग्छ । त्यही भएर हो ।”

जवाफ शायद चित्त बुझेछ क्यार, त्यसमा सहमति जनाउँदै उनले भनिन्, “मलाई पनि एउटा क्याप्सन लेखेर पठाउनु त ऐले ।”

यसरी आदेश दिइन्, मानौँ हामी वर्षौँ पहिलेदेखि च्याटमा कुराकानी गरिरहेका छौँ । एकदुई दिन च्याटमा बोलेको मान्छेले यसरी आदेश दिएको कुराले म मुस्कुराएँ । र, जवाफमा लेखेँ, “अहिलेको अहिले त के पो लेख्नु होला र अनि ? मन परेका मेरा कुनै साभार भनेर लेख्नु न ।”

“म कस्तो छु भनेर टिकटक हेरेर थाहा पाउनु भो होला । त्यही अनुसारको क्याप्सन लेखेर सेन्ड गर्नु है !” थप स्पष्ट पार्दै उनले पुन: त्यही आदेश दोहोर्याइन् ।

टिकटकमा हालिएको भिडियो हेरेर अनि केही क्षण कुराकानी गरेको भरमा कोही कसैको बारेमा कसरी थापा पाउन सकिएला र ? त्यो सजिलो काम पनि हैन । त्यसैले मैले भनेँ, “पर्दामा देखेको भरमा सबै कुरा कहाँ थाहा हुन्छ र अनि ? धेरै कुरा त पर्दा पछाडि लुकेका हुन्छन् नि त ।”

सहमति जनाउँदै उनले लेखिन्, “त्यो त सही हो ।”

फेरि मौन भएँ । भन्नुपर्ने थप केही कुरै थिएन । नयाँ मान्छेसँग आवश्यकताभन्दा बेसी बोल्नु पनि उचित हैन भन्ने ठानेर म मौन नै रहिरहेँ ।

केही समयपछि फेरि उतैबाट म्यासेज आयो, “भोट दिन नेपाल आउनु भएन ?” अचानक कुराकानीको प्रसङ्ग बद्लियो । हामीले कुराकानी गरेको दिन नेपालमा निर्वाचन थियो र हाम्रो कुराकानी भइरहेको समयमा मतदान सम्पन्न भइसकेको थियो । उनलाई मसँग धेरै कुरा गर्न मन छ, तर बोल्ने कुरा केही छैन । त्यसैले होला उनले चुनाव र भोटको कुरा निकालिन् ।

अनायसै बद्लिएको प्रसङ्गमा जवाफ लेखेँ, “आइनँ नि । जाबो एक भोटका लागि यत्रो दु:ख गरेर के नेपाल आउनु !”

“मैले दिएँ है दुई भोट । हजुरको एक भोट, मेरो एक भोट ।” उनले मुस्कुराएको इमोजीसहित म्यासेज गरिन् ।

एकछिन त म थोरै चकित भएँ । अनि बल्ल मनको बत्ती बल्यो र लाग्यो – यो मान्छे साँच्चै मसँग धेरै कुराकानी गर्न चाहन्छ र जिस्किन पनि । यो उनले दिएको ग्रिन सिग्नल हो भन्ने मनले बुझ्यो । अघिसम्म मभित्र जुन किसिमको संकोच थियो उनीसँग कुराकानी गर्न, अब त्यो संकोच हटेर गयो । किनभने उताबाट हरियो बत्ती बलिसकेको थियो अगाडि बढ्नका लागि । अब मौकामा चौका हान्ने पालो मेरो थियो । मनले सोचिहाल्यो – यसलाई पट्याउन पाए त दुई चार दिन भए पनि आनन्द हुन्थ्यो । यही लोभले म उनीसँग कुराकानी गर्न थालेँ । र, सकेसम्म कसरी हुन्छ उनलाई पट्याउने ध्याउन्नमा लाग्न थालेँ ।

जिस्किने शैलीमा भनेँ, “मेरो पनि भोट हालिदिनुभएकोमा धन्यवाद छ है । कस्तो ज्ञानी मान्छे । आफैँले जानेर मेरो पनि भोट हालिदिने मान्छे कहाँ पाउनु ?”

मेरो प्रशंसाले उनी खुशी त भइन् होला । तर, जवाफमा त्यो खुशी आधा मात्र भेटिन्थ्यो । भनिन्, “मान्छे राम्रो, तर भग्य नराम्रो छ मेरो !”

मान्छे राम्रो हुने अनि भाग्य चाहिँ खराब हुने, यो आफैँमा एउटा विरोधाभास जस्तो कुरा पनि थियो । उनले यसो भनिरहँदा मैले भने आफ्नी पहिलो प्रेमिकालाई सम्झिएँ । उनी पनि साह्रै राम्री थिइन् । र, बेलाबेला भनिरहन्थिन्, “यो अनुहार राम्रो हुनेहरूको भाग्य राम्रो हुँदैन भन्छन् । मलाई त यसैको डर लाग्छ ।” यस्तो भनाइले मलाई भने आत्माग्लानी हुन्थ्यो । किनभने, उनले खोजेकोजस्तो सम्पन्नता मसँग थिएन । शायद त्यसैले पनि होला उनी हाम्रो सम्बन्धलाई लिएर बेलाबेला चिन्ता प्रकट गरिरहन्थिन् । उनको भाग्य उनको अनुहारजस्तै चम्किरहेको छ अथवा अनुहारजस्तो चम्किलो छैन ? त्यो त मलाई थाहा छैन । सामाजिक सञ्जालमा देखिने उनका तस्बिर र भिडियोहरूले त यही भन्छ कि उनी बहुत सुख सयलको जिन्दगी बाँचिरहेकी छिन् । अनि सोच्छु – हामी छुट्टिएर ठीकै भयो । त्यत्रो सुख त म कहाँ दिन सक्थेँ र ?

पूर्व प्रेमिकाको स्मृतिबाट बाहिर निस्किँदै थोरै उत्सुक हुँदै भनेँ, “यति राम्रो मान्छे हुनुहुन्छ, त्यसो नभन्नु न । मान्छे राम्रो, भाग्य नराम्रो, यस्तो चाहिँ कसरी हुन्छ नि ?”

थोरै संकोच मानेझैँ गरी भनिन्, “कसरी हो कसरी ?”

जवाफमा के लेख्ने होला ? सोच्दै थिएँ, त्यतिकैमा फेरि उतैबाट म्यासेज आयो, “मान्छे राम्रो भएर हुँदैन, भाग्य राम्रो हुन पर्छ के ।”

“यसमा खराब चाहिँ के छ ?”

थप स्पष्ट पार्दै भनिन्, “छ नि धेरै कुरा । आफ्नो भनेको मान्छे नै साथमा नभएसी यस्तै त हो नि !”

उनको जवाफले थाहा दिइसकेको थियो कि उनी एक्लो जिन्दगी बाँचिरहेकी छिन् भन्ने कुरा । तर, डिभोर्स भएको हो ? श्रीमान बितेको हो ? अथवा अरू नै केही ? त्यो भने थाहा हुन सकेन । त्यही कुरालाई मनन गर्दै मैले उनलाई ढाडस दिने उद्देश्यले भनेँ, “आफूले आफैँलाई साथ दिन पर्छ ।”

म्यासेज सिन भयो । तर, जवाफ केही आएन । अब उताबाट जवाफ नआए पनि उनलाई म्यासेज गर्न मलाई कुनै अप्ठ्यारो थिएन मनमा । त्यसैले उनको जवाफ आउनुभन्दा पहिल्यै फेरि म्यासेज लेखेँ, “के भाको हो र ? भन्न मिल्छ ?”

भावुक हुँदै भनिन्, “एउटी महिलालाई जसको साथको सबैभन्दा बेसी खाँचो हुन्छ, उसैको साथ नभएसी कस्तो हुन्छ होला ? आफैँ भन्नु न । मैले मेरो बुढाको साथ कहिल्यै पाइनँ, बिहे गरेकै समयबाट ।”

“किन ? के भयो र त्यस्तो ?” उत्सुक हुँदै सोधेँ मैले ।

टाइपिङ देखाइरहेको थियो । एकैछिनमा म्यासेज आयो, “घरमा श्रीमती हुँदाहुँदै पनि बाहिर केटी घुमाउँदै हिँड्थ्यो । कति सम्झाएँ, कति रोइकराई गरेँ, कहिल्यै सुनेन मेरो कुरा । कति पटक त म आफैँले रङ्गे हात समाएँ । तर के गर्नु ? कहिल्यै सुध्रिएन उसको बानी ।”

“है..! त्यस्तो पो हो कुरो ?” आश्चर्य प्रकट गरेँ ।

“घरमा श्रीमती हुँदाहुँदै यी छोरा मान्छेलाई बाहिरका तरुनी किन मन पर्दा रछन् ?” थोरै आक्रोशित हुँदै उनले सोधिन् ।

“त्यो त मलाई के था त अनि !” भनेँ, “त्यसपछि के भो ।“

“पछि त अति नै भयो अनि डिभोर्स नै दिएँ । बिहे गरेको २२/२३ वर्षसम्म पनि उस्को बानी नसुध्रिएपछि डिभोर्स गर्नुको विकल्प मसँग थिएन । अहिले म छोरासँग काठमाडौंमा छु, अर्को छोरा अमेरिका छ ।” उनले थोरै ढुक्कको सास फेरे झैँ गरिन् ।

उनको दु:खमा दु:ख व्यक्त गर्दै भनेँ, “अब पीर लिएर हुने केही हैन । आफ्नो भागमा जे छ, त्यो त भोग्नै पर्ने रैछ त । जिन्दगी यस्तै हो, चित्त बुझाएर बस्न पर्छ ।”

एकछिनपछि प्रसङ्ग बदलेर उनले सोधिन्, “हजुर चाहिँ विवाहित कि अविवाहित ?”

मेरो ओठमा मुस्कान भरियो । “म पनि हजुरजस्तै सिङ्गल हो । तर अविवाहितवाला सिङ्गल !”

“लौ हो र ? अनि अहिलेसम्म बिहे किन नगर्या त ?”

“मलाई श्रीमतीको रहर छैन ।” ।

“अनि अब नेपाल आएर बिहे गर्ने होला नि त ?” जिज्ञासा मिश्रित प्रश्न तेर्साइन् ।

“बिहे त नगर्ने । मन मिल्ने पाए गल्फ्रेन्डसम्म सोच्न सकिन्छ ।” मैले पनि कुनै अप्ठ्यारो नमानी भनेँ ।

आजबाट सुरु भएको हाम्रो कुराकानी अब निरन्तर भइरहोस् भन्ने चाहना प्रकट गर्दै उनले भनिन्, “हजुरसँग कुराकानी गरेर खुशी लाग्यो । अब कन्टिन्यु बोल्नु पर्छ है त ?”

कहिलेसम्म बोलिरहिन्छ त्यो त मलाई पनि थाहा थिएन । तर, उनको कुरामा सहमति जनाउँदै मैले भनेँ, “भैहाल्छ नि । मलाई पनि खुशी लाग्यो हजुरसँग कुराकानी गरेर ।”

उनले “बोलिरहनु पर्छ है” भन्नु नै हामीबीच अब जे पनि हुन सक्छ भन्ने कुराको पूर्व सङ्केत थियो । त्यसैले म निर्धक्कका साथ बोलिरहेँ ।

ड्युटीबाट आएर म उनीसँग कुराकानी गरिरहेको थिएँ । त्यहीबीचमा मैले खाना पनि बनाइसकेँ । ड्युटीबाट आएर खाना बनाउने, नुहाउने अनि खाना खाने – यो मेरो सधैँको दैनिकी थियो । तर, उनीसँगको कुराकानीले गर्दा आज अलिक ढिलो भइसकेको थियो नुहाउन जान ।

“अहिले के गर्दै हुनुहुन्छ ?” सोधिन् ।

भनेँ, “खाना बनाइसकेँ, अब नुहाउन जान लागेको । आएर कुरा गर्छु है त ।”

यति लेखेर म फटाफट बाथरुम छिरेँ, मनमा अनेक तरङ्ग पैदा गर्दै । सधैँकोभन्दा आज अलिक छिट्टै नुहाएर निस्किएँ । बाथरुमबाट निस्किएर लुगा फेर्ने बित्तिकै उनलाई म्यासेज लेख्न तम्सिएँ । मैले म्यासेज पठाउनुभन्दा पहिल्यै उताबाट म्यासेज आएर बसिरहेको रहेछ, “ल ल चाँडै नुहाएर आउनु । म हजुरको म्यासेजको पर्खाइमा हुनेछु ।”

“ओ हो ! कुराकानी भएको एकछिन भएको छैन, मेरो म्यासेजको पर्खाइ हुन थालिसक्यो ?” मनमनै म दङ्ग परेँ । मैले पनि तुरुन्तै म्यासेज पठाएँ, “नुहाएर आइसकेँ । अब खाना खान्छु, खाँदै कुरा गरम् है त ?”

“कति चाँडै नुहाएर सकेको त अनि ?” उनी आश्चर्यमा परेझैँ गरिन् ।

“नुहाउन मात्र त कति नै समय लाग्छ र ?”

जिस्किँदै सोधिन्, “अनि के गर्न चाहिँ समय लाग्ने रच ?”

भनेँ, “अब बाथरुम छिरेको मान्छे, मुड चल्यो भने के के गर्छ-गर्छ नि ।”

हाँसेको ठूलो इमोजी मात्र पठाइन् उनले । मैले पनि उनकै जत्रो हाँसेको इमोजी पठाइदिएँ । उनीसँग कुराकानी गर्दै म खाना पनि खाइरहेको थिएँ । खाना खाएर भाँडा धुने बेला

भइसकेको थियो । भाँडा मोल्दै च्याटिङ गर्न गाह्रो हुने भएकोले काम सकेर कुराकानी गर्ने मैले जानकारी गराएँ । त्यसैमा उनले जिस्काउँदै सोधिन्, “सघाउन म आम् ?”

“ओहो ! किचनसम्म आएर मेरा जुठा भाँडा मोलिदिने रहर ? जो मान्छे यति चाँडै किचनसम्म आउन तयार हुन्छ, उसलाई बेडरुमसम्म पुर्याउन कति समय लाग्ला ?”

सोचेरै मेरो तन र मन एकैपटक तरङ्गित भए । अनि मैले पनि जिस्किँदै भनेँ, “त्यस्तो रहर नै भए आउँदा हुन्छ । मिलेर पहिले भाँडा मोलम्ला अनि अर्थोक मोलम्ला ।”

हाँसेको इमोजी पठाउँदै उनले भनिन्, “फटाह मान्छे ।”

म मनमनै मुस्कुराउँदै आफूले खाएका, पकाएका भाँडा छिटोछिटो मोल्न थालेँ । थाल-बोटुकालाई पनि यसरी मस्काइरहेको थिएँ, मानौँ त्यो थाल-बोटुका नभएर उनकै कोमल शरीर हो । ओ हो ! जीवै सिरिङ्ग हुने ।

काम सकिएपछि हाम्रो कुराकानीले फेरि निरन्तरता पायो । त्यसैक्रममा उनले आफूलाई थोरै सन्चो नभएको जानकारी गराउँदै भनिन्, “हेर्नु न, मलाई त कस्तो जरो आउला जस्तो भा छ । चिसोले त होला ! खोकी लागेर रातभरि सुत्नै पाको छैन ।”

मैले थोरै दु:ख व्यक्त गरेँ । आफ्नो ख्याल राख्न अनुरोध गरेँ ।

भनिन्, “ओठ पनि कस्तो सुख्खा-सुक्खा भा छ ।”

“त्यो त रसाइदिने मान्छे नभएर होला ।” भनेँ ।

“छ्या ! तपाईं त, खाली जिस्किनु मात्र हुन्छ ।” उनी रिसाएझैँ गरिन् ।

सोधिन्, “रुममा एक्लै हो कि साथी पनि छन् ?”

जिस्किँदै भनेँ, “कोठामा त हामी दुई जना छौँ । तर, बेडमा चाहिँ म एक्लै ।”

“बेडमा सँगै हुने मान्छे चाहिएको हो र ?” म जस्तै उनी पनि जिस्किन् ।

“पाए त चाहिएको थियो नि ।”

“टाढा छु, नत्र त मै आउँथेँ नि !” उसैगरी जिस्काउँदै भनिन् ।

उनीसँगको कुराकानीले मलाई रोमान्चित बनाइरहेको थियो । शायद उनलाई पनि यस्तै केही भइरहेको होला । त्यसैले त मसँग यसरी बोलिरहेकी थिइन् ।

उनको टाइपिङ रोकिएकै थिएन । एकैछिनमा म्यासेज आयो, “अनि नेपाल कहिले आउने ? कस्तो देख्न मन लाग्यो ।”

“कहिले-कहिले, टुङ्गो छैन ।” अनिश्चितता प्रकट गरेँ ।

“नेपाल आउँदा गिफ्ट के ल्याइदिने ?”

“के ल्याइदिम् ?” उसैगरी सोधेँ ।

“केही पर्दैन, नेपाल आको बेला भेट होस्, त्यति भए पुग्छ ।”

शायद उनी गम्भीर हुँदै गइन् ।

“भेट हुनेबेलासम्म कुराकानी भइराखेछ भने पक्कै भेट्न पर्छ ।” मैले भनेँ ।

“कता-कता घुम्न जान पर्छ ल ?” आफ्नो चञ्चलेपन शब्दमा उतारिन् ।

त्यतिकैमा सोधिन्, “साँची तपाईंलाई कस्तो केटी मन पर्छ ? मोटी कि दुब्ली ?”

तुलनात्मक रुपमा उनी थोरै मोटी थिइन् । मोटी नै भए पनि त्यस्तो भद्दा देखिने खालको शरीर उनको थिएन । सलक्क परेको मिलेको ज्यान थियो । ठूला र पोटिला स्तन, सपक्क परेको भेट, ठूला र सलक्क परेका तिघ्रा, ठूल-ठूला र आकर्षक पुट्ठा, ओहो ! सम्झिँदा पनि तरङ्गित बनाउने ।

उनी मोटी छिन् भन्ने जान्दा-जान्दै मैले “मलाई त लुती केटी मन पर्छ” भन्ने कुरा पक्कै आउँदैन थियो । मक्ख पार्ने कोशिश गर्दै भनेँ, “मलाई त मोटी नै राम्रो लाग्छ हौ ।”

“किन हो र ? केटाहरूलाई त पातलो केटी मन पर्छ अरे भन्ने सुनेको थिएँ । तपाईंलाई चाहिँ मोटी मन पर्दो रच ।”

“हो त !”

“उसो भए मैले वेट घटाउनु नपर्ने भो हैन त ?” खुशी व्यक्त गरिन् । मैले पनि सहमति जनाइदिएँ उनको कुरामा ।

उनको टाइपिङ रोकिएकै थिएन । एकैछिनमा अर्को म्यासेज आयो, “नढाँटी भन्नु त, तपाईंको गल्फ्रेन्ड चाहिँ छ कि छैन ?”

“भए पनि तँलाई कस्ले छ भन्छ र ?” मनमनै सोचेँ । र, जवाफमा भनेँ, “छैन नि कोही पनि ।”

“म खोजिदिम् ?” उनले जिस्किँदै सोधिन् ।

मैले पनि जिस्किँदै भनेँ, “खोज्नु पर्दैन । त्यस्तो रहर नै भए तपाईं नै बन्नु मेरो गल्फ्रेन्ड ।”

हाँसेको ठूलो इमोजी मात्र पठाइन् उनले । यसरी “गल्फ्रेन्ड छैन” भनी-भनी कतिओटा गल्फ्रेन्ड बनाइसकियो, म आफैँलाई थाहा छैन । तर, जसले सोधे पनि भन्ने चाहिँ उही एउटै जवाफ हो – गल्फ्रेन्ड छैन ।

“यस्तरी कुरा नगरम् है । लप पर्ला फेरि । सम्हाल्न गाह्रो होला नि !”

उनको कुरा गर्ने शैलीले मलाई तानिरह्यो ।

“परोस् न त अनि । केही हुन्न, म छु त सम्हाल्ने ।“ भनें ।

“यदि तपाईंसँग मेरो साच्चै लप पर्यो भने के हुन्छ होला है ?”

भनेँ, “केही हुँदैन । धेरै भए दुई-चार ओटा रात रङ्गिन हुन्छन् । त्यति हो । त्याँभन्दा बेसी मसँग आस पनि नगर्नु ।”

“राम्-राम् !” उनी तर्सिए झैँ गरिन् र भनिन्, ” छ्या ! तपाईं त बोकै हुनुहुँदो रच ।”

म आफ्नै बानी सम्झिएर मुस्कुराएँ मात्र ।

थोरै रोमान्टिक हुँदै उनले फेरि भनिन्, “मलाई यस्तो मान्छे चाहिएको थियो, जस्ले मलाई हरेक दिन कविता सुनाओस् ।”

भनेँ, “त्यस्तै पोइ खोज्नु पर्थ्यो नि त । बिहे गर्ने बेलामा चाहिँ सरकारी जागिरे खोज्दै हिँड्ने । अहिले आएर कवि चाहियो ?”

गम्भीर भएझैँ गरिन् । “के गर्नु ! तपाईं ढिलो जन्मिनु भो त अनि !”

“है ….!” मुस्कुराएँ ।

उनीसँगको कुराकानी यस्तरी अघि बढिरहेको थियो कि त्यसलाई अब च्याटिङबाट उठाएर सिधै भिडियो कलमा पुर्याउन मन लाग्यो । भिडियो कलमा बोल्ने मेरो प्रस्तावलाई विनम्रताका साथ अस्वीकार गर्दै उनले भनिन्, “हेर्नु न, अहिले त म गाउँ आकी छु । यहाँ सबै छम् । बोल्न मिल्दैन । केही दिनमा म काठमाडौँ जान्छु अनि बोलम्ला है त ?”

मैले पनि सजिलै सहमति जनाइदिएँ । त्योबाहेक मसँग अर्को विकल्प पनि थिएन । भिडियो कलमा हेर्न नपाएपछि मैले उनलाई केही तस्बिर पठाउन आग्रह गरेँ । एकैछिनमा दुईचार ओटा आए पनि । तर, त्यसमा मैले खोजेकोजस्तो एउटा पनि थिएन । मैले तुरुन्तै म्यासेज पठाएँ, “अलिक हटवाला पनि पठाउनुस् न ?”

“कस्तो हो र त्यो भन्या ?” नबुझेझैँ गरिन् ।

“अलिक सेक्सीवाला के ।” मैले पनि उनको अनविज्ञतालाई चिर्दै भनेँ ।

“छ्या ! त्यस्तो त, लाज लाउँछ मलाई !” लजाएझैँ गरिन् र भनिन्, “अहिले केही मिल्दैन । गाउँको घरमा छु । पछि काठमाडौँ गएसी है त ? जे जे गर्न मन लाग्छ उतै गएसी गरम्ला है त ?”

उनको शरीरसँग परिचित हुन पनि काठमाडौँ नपुगिन्जेल कुर्नुको विकल्प थिएन मसँग । उनी काठमाडौँ गएपछि चाहिँ ती सब हुनेछ भन्ने कुरामा भने म ढुक्क थिएँ । एकै दिनमा यो हदसम्मको कुराकानी हुनु नै आफैँमा त्यसको सङ्केत थियो ।

अरूबेला रातको १० बजेसम्ममा म सुतिसक्थेँ । आज १२ बज्न लागिसक्दा पनि सुत्ने तरखर थिएन । अबचाहिँ अति नै भयो भनेर मैले उनीसँग बिदा मागेँ । उनले पनि सजिलै बिदा दिइन् र भनिन्, “हस हुन्छ, गुड नाइट । राम्रोसँग निदाउनु होला । कुराकानी गर्दै गर्न पर्छ है त ?”

मेरा हात र आँखा धेरै थाकिसकेका थिए । “गुड नाइट डियर ।” यतिमै मैले आफ्नो कुरा टुङ्ग्याएर उनीसँग बिदा लिएँ ।

उनीसँग बिदा मागिसकेपछि मैले मोबाइलको डाटा अफ गरेँ । र, निदाउने कोशिश गरेँ । लामो समयसम्म पनि मलाई निदाउन गाह्रो परिरहेको थियो । गाउँबाट उनी काठमाडौँ कहिले जान्छिन् र उनको शरीर हेर्न पाइएला भन्ने सोचले नै मन उद्वेलित भइरहेको थियो । ४५/४६ वर्षको त्यो छिप्पिएको शरीर बिनालुगा कस्तो देखिएला ? एकर्कालाई नङ्ग्याउने सिलसिला कहिलेसम्म जारी रहला ? लगायत प्रश्नहरुले मन यसै-यसै रोमान्चित भइरह्यो ।

साझा गर्नुहोस्:
डिजी शर्मा

लेखकको बारेमा

डिजी शर्मा

डिजी शर्मा साहित्यपोस्टका युएइ संवाददाता हुन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.